सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘यदि कसैले तपाईंलाई जबरजस्ती गर्छ भने’

‘यदि कसैले तपाईंलाई जबरजस्ती गर्छ भने’

यदि कसैले तपाईंलाई जबरजस्ती गर्छ भने

“ओइ! आफ्नो काम छोडेर मेरो झोला बोक्न यहाँ तुरुन्तै आइहाल्‌।” प्रथम शताब्दीका कुनै व्यस्त यहूदीलाई एउटा रोमी सिपाहीले यसो भनेको भए तपाईंको विचारमा तिनले कस्तो प्रतिक्रिया देखाउँथे होलान्‌? येशूले आफ्नो डाँडाको उपदेशमा यस्तो सल्लाह दिनुभयो: “यदि कसैले तिमीलाई आधा कोशसम्म जबरदस्त लैजान्छ भने, उसित एक कोशसम्मै जाऊ।” (मत्ती ५:४१) येशूका श्रोताहरूले त्यो सल्लाहलाई कसरी बुझ्ने थिए? अनि यसले आज हाम्रो लागि कस्तो अर्थ राख्नुपर्छ?

यसको जवाफ पाउन हामीले पुरातन समयको अनिवार्य सेवाबारे थाह पाउनुपर्ने हुन्छ। येशूको समयमा इस्राएलका बासिन्दाहरूलाई त्यो प्रचलनबारे राम्ररी थाह थियो।

अनिवार्य सेवा

नियर इस्ट अर्थात्‌ दक्षिण-पश्‍चिम एसिया र उत्तरपूर्व अफ्रिकाका देशहरूमा पाइएको अनिवार्य सेवाको (वा बेगारी) प्रमाण लगभग सा.यु.पू. १८ औं शताब्दीतिरको हो। पुरातन सिरियन सहर अलालाखमा पाइएका प्रशासकीय पदहरूले व्यक्‍तिगत सेवाको लागि सरकारले बेगारी काममा लगाएका मानिसहरूको समूहलाई सङ्‌केत गर्छ। राजाले छुट नदिएको खण्डमा सिरियाको तटमा पर्ने उगारिटका मोहीहरूले पनि यस्तो खालको सेवा गर्नु पर्थ्यो।

निस्सन्देह, आफूले विजय हासिल गरेको वा आफूले दबाउन सक्ने व्यक्‍तिहरूलाई अक्सर जबरजस्ती काममा लगाइन्थ्यो। मिश्री ठेकेदारहरूले इस्राएलीहरूलाई दासको रूपमा इँटा बनाउने काम गर्न जबरजस्ती गरे। पछि, इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशका कनानी बासिन्दाहरूलाई दासको रूपमा काम गराए अनि दाऊद र सुलेमानले पनि यसै गराए।—प्रस्थान १:१३, १४; २ शमूएल १२:३१; १ राजा ९:२०, २१.

इस्राएलीहरूले राजाको माग गर्दा, कस्ता कुराहरू माग गर्ने अधिकार राजासित हुनेछ भनी शमूएलले बताए। आफ्ना प्रजाहरूलाई तिनले रथ हाँक्ने र घोडचढीको रूपमा सेवा गर्ने, खनजोत र फसलको काम गर्ने, हतियार बनाउने र त्यस्तै अन्य कामहरूमा लगाउने थिए। (१ शमूएल ८:४-१७) तथापि, यहोवाको मन्दिर निर्माण गर्ने समयमा विदेशीहरूलाई दासको रूपमा जबरजस्ती श्रममा लगाइए तापनि “सुलेमानले इस्राएलीहरू कसैलाई पनि बेगारी काममा लगाएनन्‌। इस्राएलीहरू चाहिं तिनका सिपाहीहरू, सेवकहरू, कप्तानहरू औ रथहरू र घोड-चढीहरूका सेनाका अधिपतिहरू तुल्याए।”—१ राजा ९:२२.

निर्माण परियोजनाको काममा लगाइएका इस्राएलीहरूबारे १ राजा ५:१३, १४ यसो भन्छ: “सुलेमान राजाले सारा इस्राएलबाट तीस हजार बेगार काम गर्ने मानिसहरू जम्मा गरे। तिनले तिनीहरूलाई प्रत्येक महिना दश-दश हजार गरी पालैपालो पठाउँथे, र यसरी मानिसहरू एक महिना लबानोनमा जान्थे र दुई महिना घरमा बस्थे।” एक जना विद्वान्‌ यसो भन्छन्‌: “आफ्नो निर्माण कार्यहरूका साथै राजाको खेतबारीमा सित्तैमा काम गर्न इस्राएल र यहूदाका राजाहरूले बेगारीहरूलाई चलाए भन्‍ने कुरामा कुनै शङ्‌का छैन।”

सुलेमानको समयमा बोक्नुपरेको बोझ दमनकारी थियो। यो बोझ यति दमनकारी थियो कि रहबामले यस्ता बोझहरू अझै बढाइदिने धम्की दिंदा सबै इस्राएलीहरूले विद्रोह गरे र बेगारी काममा लगाउने मानिसहरूका अधिपतिलाई ढुङ्‌गाले हानेर मारे। (१ राजा १२:१२-१८) तथापि, यो प्रथा उन्मूलन भएन। गेबा र मिस्पाका सहरहरू निर्माण गर्न रहबामका नाति आसाले यहूदाका हरेक मानिसहरूलाई आदेश दिए र “कोही पनि छोडिएन।”—१ राजा १५:२२.

रोमी शासनको अधीनमा

प्रथम शताब्दीका यहूदीहरूलाई ‘जबरजस्ती सेवामा’ लगाइने सम्भाव्यताबारे राम्ररी थाह थियो भन्‍ने कुरा डाँडाको उपदेशले देखाउँछ। यो अभिव्यक्‍तिको लागि चलाइएको युनानी शब्द आगारिभो सुरुमा फारसी सन्देशवाहकहरूसित सम्बन्धित थियो। लोकहितका कार्यहरू सम्पादन गर्न आवश्‍यक पर्ने मानिस, घोडा, जहाज वा अरू कुनै पनि कुरालाई जबरजस्ती सेवामा लगाउन सक्ने अख्तियार तिनीहरूसित थियो।

येशूको समयमा इस्राएललाई रोमीहरूले कब्जामा राखेका थिए र तिनीहरूले यस्तै खालको प्रणाली अपनाएका थिए। पूर्वीय क्षेत्रहरूमा, नियमित रूपमा तिरिने करहरू बाहेक जनताहरूबाट नियमित रूपले वा कुनै-कुनै असामान्य अवस्थामा अनिवार्य सेवाको माग गर्न सकिन्थ्यो। यस्तो अभिभारा पक्कै पनि लोकप्रिय हुँदैनथ्यो। साथै, राज्यको यातायात प्रयोजनको लागि जनावर, चालक वा रथहरू अनाधिकृत रूपमा खोस्नु सामान्य कुरा थियो। इतिहासकार माइकल रोस्टोफ्टसिफको भनाइअनुसार प्रशासकहरूले “यस प्रथालाई नियन्त्रित र व्यवस्थित पार्ने कोसिस त गरे तर सफल भएनन्‌ किनभने यो प्रचलन रहिरहुन्जेल खराब असरहरू भइरहने थियो। यस प्रणालीमा निहित निरंकुशता र दमन रोक्नको लागि इमानदारीपूर्वक प्रयास गरिरहेका उच्च तहका कर्मचारीहरूले एकपछि अर्को गर्दै नियमहरू बनाए . . . तर पनि यो प्रथा दमनकारी नै रहिरह्‍यो।”

एक जना युनानी विद्वान्‌ यसो भन्छन्‌: “सेनाको मालमत्ता कुनै खास दुरीसम्म बोकेर लैजान र रोमीहरूले चाहेको कुनै पनि काम गराउन जोसुकैलाई पनि जबरजस्ती गर्न सकिन्थ्यो।” शिमोन नाउँ भएको साइरिनीलाई पनि यस्तै गरिएको थियो, रोमी सिपाहीहरूले तिनलाई येशूको शासनाको खम्बा बोकेर लैजान “कर लाए।”—मत्ती २७:३२.

रब्बीहरूको लेखोटले पनि यो अलोकप्रिय प्रथालाई सङ्‌केत गर्छ। उदाहरणका लागि, दरबारमा मेहदी ओसार्न एक जना रब्बीलाई पक्राउ गरियो। कुनै व्यक्‍तिले काममा लगाएको मजदुरलाई जबरजस्ती खोसेर अरू नै काममा खटाइन सक्थ्यो तैपनि काममा लगाउने व्यक्‍तिले मजदुरको ज्याला नतिरी हुँदैनथ्यो। भारी बोक्ने जनावर वा गोरुलाई जबरजस्ती सैनिक प्रयोजनको लागि प्रयोग गरिन्थ्यो। ती जनावरहरू फेरि फिर्ता पाइयो भने पनि काम गर्नै नसक्ने भइसकेका हुन्थे। त्यसैले एक पटक जनावर लगिसकेपछि मानिसहरूले किन सधैंको लागि आश मार्थे भन्‍ने कुरा तपाईं बुझ्न सक्नुहुन्छ। त्यसैले एउटा यहूदी उखानले यसो भन्यो: “आगारिया र मृत्यु उस्ता-उस्तै हो।” एक जना इतिहासकार यसो भन्छन्‌: “आगारियाको लागि भारी बोक्न उपयुक्‍त हुने जनावरहरू लिनुको सट्टा हलो जोत्ने गोरु खोसेर पूरै गाउँलाई सखाप पार्न सकिन्थ्यो।”

विशेष गरी अहङ्‌कारपूर्ण भाव राखेर अनि अन्यायपूर्वक यस्तो काम गराइने भएकोले गर्दा यो प्रचलन कति अलोकप्रिय थियो होला भनेर तपाईं अनुमान लगाउन सक्नुहुन्छ। तिनीहरूमाथि प्रभुत्व जमाउने अन्यजातिको शक्‍तिप्रति यहुदीहरूमा पैदा भएको घृणालाई विचार गर्ने हो भने यस्तो पीडादायी श्रममा जबरजस्ती लगाइँदा भोग्नुपरेको अपमानको कारण तिनीहरू निकै रिसाएका थिए। कुनै पनि नागरिकलाई कति टाढासम्म भारी बोकाउन सकिन्थ्यो भनेर बताउने कुनै पनि नियम अहिले हामीसित छैन। सम्भवतः अधिकांश व्यक्‍तिहरू नियमले तोकेकोभन्दा एक पाइला पनि बढी जान तयार हुने थिएनन्‌।

यद्यपि, यही प्रथालाई सङ्‌केत गर्दै येशूले यसो भन्‍नुभयो: “यदि कसैले तिमीलाई आधा कोशसम्म जबरदस्त लैजान्छ भने, ऊसित एक कोशसम्मै जाऊ।” (मत्ती ५:४१) यो कुरा सुन्दा कसै-कसैलाई उहाँ अव्यावहारिक लागेको हुनुपर्छ। वास्तवमा उहाँले के भन्‍न खोज्दै हुनुहुन्थ्यो?

मसीहीहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्छ

सरल भाषामा भन्‍ने हो भने कुनै अख्तियारवालाले तिनीहरूलाई कुनै किसिमको सेवा गर्न जबरजस्ती गरेको खण्डमा खुसीसाथ र कुनै द्वेष नराखी तिनीहरूले यो काम गर्नुपर्छ भनी येशूले आफ्ना श्रोताहरूलाई बताउँदै हुनुहुन्थ्यो। यसरी तिनीहरूले “सिजरका चीजहरू सिजरलाई” दिनुपर्थ्यो तर “परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई” दिनुपर्ने आफ्नो दायित्वलाई बेवास्ता गर्नुहुँदैनथ्यो।—मर्कूस १२:१७. a

साथै, प्रेरित पावलले मसीहीहरूलाई यस्तो आग्रह गरे: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्‌, किनभने परमेश्‍वरका बाहेक अरूको अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्‍वरबाट खटिएका हुन्छन्‌। यसकारण अख्तियारवालाको विरुद्धमा खडा हुनेले परमेश्‍वरको धार्मिक-विधानको विरोध गर्दछ, . . . तिमीले खराब काम गस्यौ भने डराऊ, किनभने तिनले तरवार व्यर्थमा भिर्दैनन्‌।”—रोमी १३:१-४.

यसरी राजा वा सरकारले माग गरेअनुसार नगर्नेहरूलाई सजाय दिने तिनीहरूको अख्तियार येशू र पावल दुवैले स्वीकारे। कस्तो प्रकारको सजाय? सा.यु. प्रथम र दोस्रो शताब्दीका युनानी दार्शनिक इपिक्टेटसले यसको एउटा जवाफ दिन्छन्‌: “अकस्मात्‌ कुनै माग आउँछ र सिपाहीले तिम्रो जवान गधा लैजान्छ भने लैजान देऊ। कुनै प्रतिरोध वा गनगन नगर, नत्रभने गधा त गयो गयो तिमीले मुक्का पनि खानुपर्ला।”

यद्यपि, पुरातन समय र अहिले दुवै समयमा कहिलेकाहीं मसीहीहरूको अन्तस्करणले तिनीहरूलाई सरकारी नियमहरू अनुरूप चल्न नदिने महसुस गरे। यसो गर्दा कहिलेकाहीं गम्भीर परिणामहरू भएका छन्‌। कोही-कोही मसीहीहरूलाई मृत्युदण्ड दिइएको छ। अरू कतिपय भने आफ्नो तटस्थता भङ्‌ग गर्न सक्छ भन्‍ने लागेका क्रियाकलापहरूमा भाग लिन इन्कार गरेको कारण थुप्रै वर्ष थुनामा बसेका छन्‌। (यशैया २:४; यूहन्‍ना १७:१६; १८:३६) अरू कुनै-कुनै बेला भने मसीहीहरूले आफूबाट माग गरिए अनुरूप गर्न सकिन्छ भनी महसुस गरेका छन्‌। उदाहरणका लागि, केही मसीहीहरूले निजामती प्रशासनको मातहतमा रहेर समाजको लागि उपयोगी हुने काम गर्न तिनीहरूको अन्तस्करणले कुनै बाधा नपुऱ्‍याएको महसुस गर्छन्‌। यसमा वृद्ध वा अशक्‍तहरूलाई सघाउनु, अग्नि नियन्त्रकको रूपमा सेवा गर्नु, समुद्री तटहरू सफा गर्नु, पार्क, जङ्‌गल वा पुस्तकालयहरूमा काम गर्नुजस्ता कार्यहरू समावेश हुन सक्छन्‌।

पक्कै पनि देशअनुसार अवस्था फरक फरक हुन्छ। त्यसैकारण ती मागहरू अनुरूप चल्ने कि नचल्ने भनी निर्णय गर्दा हरेक मसीहीले आफ्नो बाइबल-प्रशिक्षित अन्तस्करण पछ्याउनै पर्छ।

एक कोशसम्मै जाने

वैध मागहरू पूरा गर्न इच्छुक हुने सन्दर्भमा येशूले सिकाउनुभएको सिद्धान्त सरकारले माग गर्ने कुराहरूमा मात्र नभई दैनिक जीवनको मानव सम्बन्धमा पनि लागू हुन्छ। उदाहरणका लागि, हुनसक्छ तपाईंमाथि अख्तियार भएको कुनै व्यक्‍तिले तपाईंलाई मन नपर्ने कुनै काम गर्न तपाईंलाई अह्राउँछ तर यो परमेश्‍वरको नियम विपरीत छैन। तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुनेछ? तपाईंलाई आफ्नो समय र शक्‍तिको अनुचित माग गरिरहेको जस्तो लाग्ला र त्यसकारण तपाईं रोष व्यक्‍त गर्नुहोला। परिणामस्वरूप वैमनस्यता राख्नुहोला। अर्कोतर्फ, रिसाउँदै त्यो काम गर्नुभयो भने तपाईंले आफ्नो मनोशान्ति गुमाउन सक्नुहुन्छ। यसको समाधान के हो त? येशूले बताउनुभएझैं गर्नुहोस्‌—अर्थात्‌ एक कोशसम्मै जानुहोस्‌। तपाईंबाट जति माग गरिएको छ त्योभन्दा बढ्‌ता गर्नुहोस्‌। यो काम राजीखुसीले गर्नुहोस्‌। यस्तो मनोवृत्ति राख्दा तपाईंलाई अरू कसैले तपाईंबाट अनुचित फाइदा उठाउन खोजिरहेको जस्तो लाग्नेछैन तर ती कामहरू तपाईंले आफ्नै इच्छाले गरिरहनुभएको हुनेछ।

एक जना लेखक यसो भन्छन्‌: “थुप्रै व्यक्‍तिहरूले आफ्नो जीवनभर गर्नै पर्ने कामहरू मात्र काम गर्छन्‌। तिनीहरूलाई आफ्नो जीवन नरमाइलो लाग्छ र तिनीहरूलाई धेरैजसो थकाइ लागिरहेको हुन्छ। अरू कोही-कोही भने आफूले गर्नुपर्ने कुनै बाध्यता नभएका कामहरू पनि गर्छन्‌।” त्यसैले बाध्यतामा परेर आधा कोश मात्र जाने कि एक कोशसम्मै जाने भनी रोज्नुपर्ने थुप्रै अवस्थाहरू आइपर्छन्‌। पहिलो अवस्थामा, कुनै व्यक्‍तिले आफ्नो हकहित र अधिकारको कुरामा मात्र ध्यान दिन सक्छन्‌। दोस्रो अवस्थामा भने तिनले सबैभन्दा इनामदायी अनुभवहरू सँगाल्न सक्नेछन्‌। तपाईं कस्तो खालको व्यक्‍ति हुनुहुन्छ? तपाईंले आफ्ना क्रियाकलापहरूलाई पूरा नगरी नहुने कर्तव्यको रूपमा नभई राजीखुसीका साथ गर्न चाहनुभएको कामको रूपमा हेर्न सक्नुभयो भने सम्भवतः तपाईं अझ बढी आनन्दित र फलदायी हुनुहुनेछ।

अनि तपाईं अख्तियारप्राप्त व्यक्‍ति हुनुहुन्छ भने नि? तपाईंले माग गर्नुभएको कुरा अरूलाई गर्न मन नलागेको भए तापनि जबरजस्ती गराउनु न मायालु हुन्छ न त यसो गर्न मसीहीलाई सुहाउँछ नै। येशूले यसो भन्‍नुभयो: “अन्य जातिका शासकहरूले तिनीहरूमाथि प्रभुत्व गर्दछन्‌, र तिनीहरूका ठूला ठूलाहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन्‌।” तर त्यो मसीही मार्ग होइन। (मत्ती २०:२५, २६) हैकम जमाएर काम अह्राउँदा काम त बन्ला तर दयालु र उपयुक्‍त ढङ्‌गमा गरिएको अनुरोध आदरपूर्ण तरिकामा र खुसीसाथ पालन गरियो भने त्यससित सम्बन्धित सबैको बीचमा कस्तो राम्रो सम्बन्ध कायम हुनेछ! हो, आधा कोशको सट्टा एक कोशसम्मै जान इच्छुक हुँदा यसले तपाईंको जीवनलाई साँच्चै आनन्दित बनाउन सक्छ।

[फुटनोट]

a मसीहीहरूले “सिजरका चीजहरू सिजरलाई” र “परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई” दिनुको अर्थ के हो भन्‍ने विषयमा विस्तृत छलफलको लागि प्रहरीधरहरा, मे १, १९९६, पृष्ठ १५-२० हेर्नुहोस्‌।

[पृष्ठ २५-मा भएको पेटी]

पुरातन समयमा जबरजस्ती गराइने श्रमको दुरुपयोग

यस प्रचनलनको दुरुपयोग गरेर जबरजस्ती सेवामा लगाइन्थ्यो भन्‍ने कुरा यस्ता दुर्व्यवहारहरू रोक्नको लागि बनाइएका नियमहरूबाट देखिन्छ। सा.यु.पू. ११८ मा मिश्रका टोलेमी युअरजेट्‌स द्वितीयले कसैले पनि “देशवासीहरूलाई व्यक्‍तिगत सेवामा लगाउनेछैन, न त आफ्नो व्यक्‍तिगत प्रयोगको लागि वस्तुभाउ माग्नेछ (आगारिउन)” भनी आफ्ना अधिकारीहरूलाई उर्दी दिएका थिए। उक्‍त उर्दी अझै यस्तो थियो: “कसैले पनि . . . कुनै बहानामा निजी प्रयोजनको लागि डुङ्‌गा माग्नेछैन।” मिश्रको ग्रेट ओएसिस मन्दिरमा कुँदिएको सा.यु. ४९ तिरको शिलालेखमा रोमी अधिकारी भर्जिलियस क्यापिटोले स्वीकारेअनुसार सिपाहीहरूले अवैध माग गरेका थिए र “मबाट लिखित अख्तियार नलिईकन . . . कसैले पनि कुनै कुरा लिने वा माग गर्नेछैन” भन्‍ने नियम तिनले बनाए।

[पृष्ठ २४-मा भएको चित्र]

शिमोन नाउँ भएको साइरिनीलाई जबरजस्ती सेवामा लगाइएको थियो

[पृष्ठ २६-मा भएको चित्र]

आफ्नो मसीही अडान कायम राखेको कारण थुप्रै साक्षीहरू केही समयको लागि थुनामा परेका छन्‌