सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको जीवन कत्तिको बहुमूल्य छ?

तपाईंको जीवन कत्तिको बहुमूल्य छ?

तपाईंको जीवन कत्तिको बहुमूल्य छ?

प्रथम विश्‍वयुद्धको दौडान युरोपमा असंख्य मानिसहरूले जीवन गुमाइरहेको बेला अन्टार्टिकामा चाहिं जीवन बचाउने उदेकलाग्दो प्रयास भइरहेको थियो। इन्ड्योरेन्स नामक जहाज हिउँको ढिस्कोमा ठोक्किएर डुब्दा एङ्‌ग्लो-आइरिस अन्वेषक अर्नेष्ट स्याकल्टन तथा तिनको टोली निकै ठूलो आपत्‌मा परे। स्याकल्टनले आफ्ना मानिसहरूलाई केही हदसम्म सुरक्षितस्थल, साउथ एट्‌लान्टिक ओसनस्थित एलिफेन्ट आइल्याण्डमा पुऱ्‍याउन सके। तर उनीहरूले सामना गर्नुपर्ने खतरनाक स्थिति अझै टरेको थिएन।

साउथ जर्जियाको द्वीपमा अवस्थित ह्वेलको सिकार गरिने ठाउँमा गएर त्यहाँका मानिसहरूको मदत माग्नुबाहेक बच्ने अर्को उपाय छैन भन्‍ने स्याकल्टनलाई लाग्यो। त्यो स्टेसन पनि १,१०० किलोमिटर टाढा थियो र तिनीसित इन्ड्योरेन्स डुब्दा बचेको ६.७ मिटरको एउटै मात्र लाइफबोट थियो। उनीहरूको बाँच्ने आशा एकदमै कम थियो।

तथापि १७ दिनको कष्टप्रद यात्रापछि सन्‌ १९१६ को मे १० तारिख स्याकल्टन तथा तिनको सानो टोली साउथ जर्जिया पुग्यो तर समुद्रको प्रतिकूल अवस्थाले गर्दा उनीहरू द्वीपको अर्को दिशामै रोकिन बाध्य भए। अन्तिम गन्तव्यस्थलसम्म आइपुग्न उनीहरूले अज्ञात, हिवैं-हिउँले ढाकेका पहाडहरू हुँदो ३० किलोमिटर लामो यात्रा गर्नुपऱ्‍यो। मुटु कमाउने जाडो र पहाड चढ्‌दा चाहिने सरसामान नभए तापनि स्याकल्टन तथा तिनको टोली आफ्नो गन्तव्यस्थल आइपुगे र अन्ततः तिनले एलिफेन्ट आइलेण्डमा अलपत्र परेका आफ्ना मानिसहरूको उद्धार गरे। स्याकल्टनले किन त्यत्ति साह्रो प्रयास गरे? “तिनको एउटै मात्र लक्ष्य भनेको आफ्ना सबै मानिसहरूलाई सकुशल उद्धार गर्नु थियो” भनी जीवनी लेखक रोनाल्ड हन्टफोर्ड लेख्छन्‌।

“तिनीहरूमध्ये एउटै पनि हराउनेछैन”

“एक छेउदेखि अर्को छेउसम्मै चट्टान र हिवैं-हिउँले ढाकेको उजाड तथा अत्यन्त दुर्गमस्थलमा” एक ठाउँमा थुप्रिएर पर्खिबस्दा पूरै आशा नमार्न स्याकल्टनका मानिसहरूलाई कुन कुराले मदत गऱ्‍यो? उद्धार गर्न आउनेछु भनी आफ्नो नाइकेले दिएको वचनमाथिको विश्‍वस्तताले।

आज मानिसजाति एलिफेन्ट आइलेण्डमा अलपत्र परेका असहाय मानिसहरूजस्तै छन्‌। कैयौं मानिसहरू पत्याउनै गाह्रो दुरावस्थामा बाँचिरहेका छन्‌ र बाँच्नको लागि मात्रै पनि सङ्‌घर्षरत छन्‌। यद्यपि, परमेश्‍वरले “दुःख पाउनेहरूलाई” अत्याचार र सङ्‌कटबाट “छुटाउनुहुन्छ” भन्‍ने कुरामा उनीहरू पूर्ण विश्‍वस्त हुन सक्छन्‌। (अय्यूब ३६:१५) परमेश्‍वरले हरेकको जीवनलाई बहुमूल्य ठान्‍नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। सृष्टिकर्ता यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “सङ्‌कटको दिनमा मलाई पुकार्‌। म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।”—भजन ५०:१५.

सृष्टिकर्ताले पृथ्वीका अरबौं मानिसहरूमध्ये तपाईं एक जनालाई व्यक्‍तिगत रूपमा बहुमूल्य ठान्‍नुहुन्छ भनेर पत्याउन के तपाईंलाई गाह्रो लाग्छ? यदि लाग्छ भने हामी वरपरको विशाल ब्रह्‍माण्डमा फैलिएका अरबौं आकाशगङ्‌गाहरूमा भएका अरबौं ताराहरूबारे अगमवक्‍ता यशैयाले के लेखे, ध्यान दिनुहोस्‌। हामी यस्तो लेखिएको पाउँछौं: “तिमीहरूका आँखा माथि उठाएर हेर, यी कसले बनाएका हुन्‌? उहाँलेनै होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।” (छड्‌के अक्षर हाम्रो।)—यशैया ४०:२६.

के तपाईं यसको मूल्याङ्‌कन गर्नुहुन्छ? मिल्की वे भनिने हाम्रो आकाशगङ्‌गामा घटीमा पनि एक खरब ताराहरू छन्‌ र हाम्रो सौर्यमण्डल त यसको एउटा सानो भाग मात्रै हो। अन्य कतिवटा आकाशगङ्‌गा छन्‌? यति छन्‌ भनी किटेरै भन्‍न त सकिंदैन तर कसै-कसैको अनुमानअनुसार १ खरब २५ अरब जति होलान्‌। त्यसोभए ताराहरू कत्ति असंख्य होलान्‌! यद्यपि, ब्रह्‍माण्डको सृष्टिकर्तालाई सबै ताराहरूको नाउँ थाह छ भनी बाइबल हामीलाई बताउँछ।

“तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्‌”

कसै-कसैले यसो भनेर आपत्ति जनाउलान्‌, ‘तर अरबौं तारा वा मानिसहरूको नाउँ थाह हुँदैमा उहाँले तिनीहरूको व्यक्‍तिगत रूपमा हेरविचार गर्नुहुन्छ भन्‍ने छैन।’ त्यसो त पर्याप्त मात्रामा मेमोरी भएको कम्प्युटरले पनि अरबौं मानिसहरूको नाउँ रेकर्ड गरेर राख्न सक्छ। यद्यपि, कम्प्युटरले तिनीहरूको हेरविचार गर्छ भनेर कसैले सोच्दा पनि सोच्दैन। तथापि, यहोवा परमेश्‍वरलाई अरबौं मानिसहरूको नाउँ थाह मात्र छैन तर उहाँले तिनीहरूको व्यक्‍तिगत रूपमा फिक्री पनि गर्नुहुन्छ। प्रेरित पत्रुसले यस्तो लेखे, “तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:७.

येशू ख्रीष्टले यसो भन्‍नुभयो: “के एक पैसामा दुइ भँगेरा बिक्‍तैनन्‌? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्‌। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ्‌ता मूल्यका छौ।” (मत्ती १०:२९-३१) याद गर्नुहोस्‌, येशूले भँगेरा अनि मानिसहरूलाई के भयो भन्‍ने कुरा परमेश्‍वरलाई थाह हुन्छ भनेर मात्र भन्‍नुभएन। उहाँले यसो भन्‍नुभयो: “तिमीहरू धेरै भँगेराहरूभन्दा बढ्‌ता मूल्यका छौ।” तपाईं किन बढ्‌ता मूल्यको हुनुहुन्छ? किनभने तपाईंलाई परमेश्‍वरका उच्च गुणहरू झल्काउने नैतिक, बौद्धिक तथा आध्यात्मिक गुणहरू खेती तथा प्रदर्शन गर्न सक्ने क्षमतासहित “परमेश्‍वरकै स्वरूपमा” सृष्टि गरिएको छ।—उत्पत्ति १:२६, २७.

“बौद्धिक रचनाको उपज”

सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरालाई ठाडै नकार्ने मानिसहरूको भनाइमा लागेर नबहकिनुहोस्‌। अदृश्‍य र प्रकृतिको व्यक्‍तित्वहीन शक्‍तिले तपाईंलाई बनाएको हो भनी तिनीहरू भन्छन्‌। तिनीहरूको दाबीअनुसार “परमेश्‍वरकै स्वरूपमा” सृष्टि भएको कुरा त परै छोडिदिऊँ, भँगेरालगायत यस ग्रहका अन्य सबै जीवजन्तुहरू भन्दा तपाईं फिटिक्कै फरक हुनुहुन्‍न।

संयोगवश वा कुनै अदृश्‍य शक्‍तिद्वारा जीवनको सुरुवात भएको थियो भन्‍ने कुरा के तपाईंलाई पत्यारिलो लाग्छ? अणु जीवविज्ञानी माइकेल जे. बेहीका अनुसार जीवनलाई नियन्त्रण गर्ने “अत्यन्तै जटिल जीवरसायन प्रक्रियाहरू”-ले त्यस्तो अवधारणालाई बिलकुलै गलत साबित गर्छ। तिनी यसो भन्छन्‌, जीवरसायनशास्त्रको प्रमाणले एउटा अकाट्य निष्कर्षमा पुऱ्‍याउँछ अर्थात्‌ “पृथ्वीमा भएका सबैभन्दा प्राथमिक तहको जीवन . . . बौद्धिक रचनाको एउटा उपज हो।”—डार्विन्स्‌ ब्ल्याक बक्स्‌—द बायोकेमिकल च्यालेन्ज टु इभुलुसन।

पृथ्वीमा भएका सबै तहको जीवन बौद्धिक रचनाको एउटा उपज हो भनेर बाइबलले हामीलाई बताउँछ। अनि यी सम्पूर्ण बौद्धिक रचनाको स्रोत ब्रह्‍माण्डको सृष्टिकर्ता यहोवा परमेश्‍वर हुनुहुन्छ भनी यसले हामीलाई बताउँछ।—भजन ३६:९; प्रकाश ४:११.

पीडा अनि दुःखकष्टले भरिएको संसारमा हामीले धैर्य धारण गर्नुपर्छ भन्‍ने यथार्थले तपाईंलाई पृथ्वी अनि यिनमा भएका सबै खाले जीवनको सृष्टिकर्ता तथा रचनाकार हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नदेखि नरोकोस्‌। दुईवटा आधारभूत सत्यलाई मनमा ठप्प राख्नुहोस्‌। एउटा हो, हामी वरपर व्याप्त असिद्धता परमेश्‍वरले गर्दा भएको होइन। अर्को हो, सृष्टिकर्ताले केही समयसम्मको लागि असिद्धता रहन दिनुका ठोस कारणहरू छन्‌। यस पत्रिकामा अक्सर छलफल गरिएझैं यहोवा परमेश्‍वरले दुष्ट कुराहरू सीमित समयको लागि अर्थात्‌ सुरुमा मानिसहरूले उहाँको सार्वभौमिकतालाई लत्याउँदा खडा भएका नैतिक विवादहरू सधैंको लागि नसुल्झेसम्म मात्र रहन दिनुभएको हो। aउत्पत्ति ३:१-७; व्यवस्था ३२:४, ५; उपदेशक ७:२९; २ पत्रुस ३:८, ९.

“दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ”

हो, आज कैयौं मानिसहरूले दयनीय अवस्थामा कष्टप्रद जीवन बिताउनुपरे तापनि जीवन एउटा अद्‌भुत उपहार हो। यस जीवनलाई हामी जे-जसो गरेर भए पनि बचाउन चाहन्छौं। परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको भावी जीवन स्याकल्टनका मानिसहरूले एलिफेन्ट आइलेण्डमा कठोर र पीडादायी अवस्थामा बाँच्न मात्र पनि सङ्‌घर्ष गर्नुपर्ने जीवनभन्दा कता हो कता भिन्‍न हुनेछ। हाल हामीले भोग्नुपरिरहेको पीडा र व्यर्थताको भावबाट हामीलाई मुक्‍त गर्ने परमेश्‍वरको उद्देश्‍य छ किनभने त्यसै उद्देश्‍यअनुसार हामीले आफ्नो मानव सृष्टिको लागि सुरुमा परमेश्‍वरले राख्नुभएको उद्देश्‍य ‘साँच्चैको जीवन पक्रिराख्न’ सक्नेछौं।—१ तिमोथी ६:१९.

परमेश्‍वरले यी सबै कुरा गर्नुहुनेछ किनभने हामी प्रत्येक उहाँको नजरमा बहुमूल्य छौं। हाम्रा प्रथम मातापिता आदम र हव्वाबाट हामीमा सरेको पाप, असिद्धता अनि मृत्युबाट हामीलाई मुक्‍त गर्न आवश्‍यक छुडौतीको बलिदान चढाउन उहाँले आफ्नो पुत्र येशू ख्रीष्टको प्रबन्ध मिलाउनुभयो। (मत्ती २०:२८) येशू ख्रीष्टले यसो भन्‍नुभयो, “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक[ले] . . . अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१६.

अहिले पीडा र अत्याचारको कारण जीवन नै हैरान भएकाहरूका लागि परमेश्‍वरले के गर्नुहुनेछ? आफ्नो पुत्रको विषयमा परमेश्‍वरको प्रेरित वचन हामीलाई यसो भन्छ: “किनकि दरिद्रहरूको पुकारा सुनेर उसले छुटकारा दिनेछ। र सहायता नभएका दु:खीहरूलाई उसले छुटकारा दिनेछ। कमजोर र दरिद्रलाई उसले टिठाउनेछ, र दरिद्रहरूको प्राण उसले बचाउनेछ। अत्याचार र थिचोमिचोबाट उसले तिनीहरूको प्राण मोल तिरेर छुटाउनेछ।” उहाँले किन यसो गर्नुहुनेछ? किनभने “उसको दृष्टिमा तिनीहरूको रगत [“अथवा तिनीहरूको जीवन”] बहुमूल्य हुनेछ।”—भजन ७२:१२-१४.

शताब्दीयौंदेखि मानवजाति पाप र असिद्धताको गह्रौं बोझमुनि थिचिएका छन्‌, लाग्छ पीडा र दुःखकष्टले उनीहरू “सुस्केरा हाल्दै प्रसव वेदनामा” छट्‌पटाइरहेछन्‌। यसले पुऱ्‍याउन सक्ने कुनै पनि किसिमको हानिलाई सच्याउन सकिन्छ भन्‍ने कुरा थाह भएकै कारण परमेश्‍वरले यसो हुन दिनभएको हो। (रोमी ८:१८-२२) अब चाँडै उहाँले आफ्नो पुत्र येशू ख्रीष्टले शासन गर्नुहुने राज्य सरकारद्वारा “सबै थोकको पुनःर्स्थापन” गर्नुहुनेछ।—प्रेरित ३:२१; मत्ती ६:९, १०.

विगतमा साह्रै दुःख पाएर मरेका व्यक्‍तिहरूको पुनरुत्थान हुनु पनि यसमा समावेश छ। उनीहरू परमेश्‍वरको स्मरणशक्‍तिमा सुरक्षित छन्‌। (यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५) चाँडै उनीहरूले “प्रशस्त मात्रामा” जीवन अर्थात्‌ पीडा र दुःखकष्टबाट मुक्‍त पार्थिव प्रमोदवनमा सिद्धतामा अनन्त जीवन प्राप्त गर्नेछन्‌। (यूहन्‍ना १०:१०; प्रकाश २१:३-५) तब बाँच्नेहरू सबैले जीवनबाट अपार आनन्द उठाउनेछन्‌ र “परमेश्‍वरकै स्वरूपमा” सृष्टि भएका व्यक्‍तिहरूको रूपमा चिनाउने अद्‌भुत गुण तथा क्षमताहरू विकास गर्न सक्नेछन्‌।

यहोवाले प्रतिज्ञा गर्नुभएको जीवनबाट भरपूर आनन्द उठाउन के तपाईं जीवित हुनुहुनेछ? यो त तपाईंको छनौटमा भर पर्ने कुरा हो। यी सम्पूर्ण आशिष्‌हरू वर्षाउन परमेश्‍वरले गर्नुभएका प्रबन्धहरूबाट लाभ उठाउनुहोस्‌ भनी हामी तपाईंहरूलाई आग्रह गर्छौं। यसो गर्न तपाईंलाई मदत दिन यस पत्रिकाका प्रकाशकहरू खुसी हुनेछन्‌।

[फुटनोट]

a यस बुँदामा विस्तृत छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ पुस्तकको “परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?” भन्‍ने अध्याय ८ हेर्नुहोस्‌।

[पृष्ठ ४ र ५-मा भएको चित्र]

उद्धार गर्ने आफ्नो वचन स्याकल्टनले पूरा गर्नेछन्‌ भन्‍ने कुरामा अलपत्र परेका तिनका मानिसहरू विश्‍वस्त थिए

[स्रोत]

© CORBIS

[पृष्ठ ६-मा भएको चित्र]

“तिमीहरू धेरै भँगेराहरूभन्दा बढ्‌ता मूल्यका छौ”