सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवन बहुमूल्य वा सस्तो?

जीवन बहुमूल्य वा सस्तो?

जीवन बहुमूल्य वा सस्तो?

“मानिस परमेश्‍वरको स्वरूपमा सृजिएको हुनाले मानिसको ज्यान लिनु भनेको संसारकै सबैभन्दा बहुमूल्य र पवित्र कुराको सर्वनाश गर्नु हो।”—विलियम बार्क्लेको द प्लेन म्यान्स्‌ गाइड टु एथिक्स्‌।

‘संसारकै सबैभन्दा बहुमूल्य कुरा।’ जीवनप्रति के तपाईं पनि यस्तै दृष्टिकोण राख्नुहुन्छ? मानिसहरूको व्यवहार हेर्ने हो भने धेरै जना उक्‍त लेखकको विचारसित सहमत छैनन्‌ भन्‍ने कुरा प्रस्ट हुन्छ। आफ्ना सँगी मानिसहरूको हितप्रति पटक्कै वास्ता नराख्ने र आफ्नो स्वार्थ मात्र खोज्ने हिंस्रक मानिसहरूले लाखौं मानिसहरूको निर्ममतापूर्वक हत्या गरेका छन्‌।—उपदेशक ८:९.

मूल्यहीन र फ्याँक्न लायक

प्रथम विश्‍वयुद्ध यसको एउटा ज्वलन्त उदाहरण हो। त्यो भयानक युद्ध मच्चिएको बेला धेरै चोटि “मानिसहरूलाई बित्थामा बलिको बोका बनाइयो” भनी इतिहासकार ए.जे.पी. टेलर बताउँछन्‌। प्रतिष्ठा र नाउँ कमाउन सुरिएका सैन्य नेताहरूले सैनिक जवानहरूलाई मानौं उनीहरूको कुनै मूल्य नभएझैं र फ्याँक्न लायक चीजजस्तो गरी प्रयोग गरे। फ्रान्सको भर्डनको लागि लडिएको युद्धमा पचास लाखभन्दा बढी मानिसहरू मारिए। टेलर लेख्छन्‌, “त्यतिबेला जित्नुपर्ने वा गुमाउनुपर्ने [कुनै सामरिक महत्त्वको] इनाम थिएन, जसरी हुन्छ मान्छे मारेर चम्किन पाए पुग्थ्यो।”— द फर्स्ट वर्ल्ड वार।

जीवनको मोलप्रति यस्तो अनादर अझै पनि व्याप्त छ। हिजोआज “जनसंख्या ह्वात्तै बढेको कारण संसारका श्रम बजारहरू गरिब तथा असुरक्षित लाखौं मानिसहरूको भीडले खचाखच भरिएको [छ]” भनी शास्त्रविद्‌ केभिन बेल्ज बताउँछन्‌। “जीवनलाई सस्तो ठानिने” दमनकारी व्यापारिक प्रणालीमाझ बाँच्न मात्र पनि उनीहरूले आजीवन सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। बेल्ज यसो भन्छन्‌, शोषण गर्नेहरूले उनीहरूलाई दाससरह व्यवहार गर्छन्‌ अर्थात्‌ “पैसा कमाउन एक चोटि चलाइसकेपछि फ्याँक्न मिल्ने चीजजस्तो गरी व्यवहार गर्छन्‌।”—डिस्पोजेबल पिपल।

“बतासलाई खेदेको जस्तो”

लाखौं मानिसहरूले आफ्नो कुनै मोल नभएको र मरे पनि बाँचे पनि कसैले केही पर्वाह गर्दैन भनी निराश महसुस गर्नुका अन्य थुप्रै कारणहरू छन्‌। युद्ध र अन्याय त छँदै छ, त्यसबाहेक खडेरी, अनिकाल, रोग, शोकलगायत अन्य अनगन्ती कुराहरूले सबै मानिसजातिलाई यतिबिघ्न पिरोल्छ कि त्यसले गर्दा मानिसहरू बाँचेर पनि के गर्नु भन्‍ने हदसम्म पुग्छन्‌।—उपदेशक १:८, १४.

हुन त हो, सबैले नै जीवनमा अभाव र चरम पीडा भोग्दैनन्‌। तर असह्‍य अत्याचार नभोगेका मानिसहरूको विचारसमेत पुरातन इस्राएलका राजा सुलेमानका शब्दहरूसित अक्सर मेल खान्छ, जसले यस्तो प्रश्‍न सोधेका थिए: “संसारमा मानिसले गरेका आफ्ना सबै परिश्रम, आफ्ना योजनाहरू र आफ्ना मेहनतको फल के पाउँछ र?” यसबारे राम्ररी विचार गरेपछि धेरै जना आफूले विगतमा गरेको काम वास्तवमा “बतासलाई खेदेको जस्तो मात्र” थियो भन्‍ने निष्कर्षमा पुग्छन्‌।—उपदेशक २:२२, २६.

आफ्नो अतीतलाई फर्केर हेर्दा धेरैले भन्‍ने गर्छन्‌, “के जीवन भनेको यति नै हो?” वास्तवमा, कुलपिता अब्राहामजस्तो ‘पूरा बूढेसकालसम्म’ बाँचेर साँच्चै सन्तुष्ट भई मर्ने मानिसहरू कति नै पो होलान्‌ र? (उत्पत्ति २५:८) धेरै मानिसहरूलाई आफ्नो जीवन साह्रै व्यर्थ लाग्छ। यद्यपि, जीवन व्यर्थ हुनै पर्छ भन्‍ने छैन। परमेश्‍वर हरेक मानिसको जीवनलाई बहुमूल्य ठान्‍नुहुन्छ र हामी प्रत्येकले साँच्चै पूर्ण सन्तोषजनक जीवन बिताएको चाहनुहुन्छ। त्यो कसरी सम्भव हुनेछ? यस विषयमा अर्को लेखले के भन्छ विचार गर्नुहोस्‌।