उपदेशक २:१-२६

  • सुलेमानले हासिल गरेका कुराहरूको जाँच (१-११)

  • मानव बुद्धिको तुलना (१२-१६)

  • कडा परिश्रमको व्यर्थता (१७-२३)

  • खानु, पिउनु र काममा रमाउनु (२४-२६)

 त्यसपछि मैले मनमनै यसो भनेँ: “अब मोजमस्ती गरेर हेर्छु। अनि हेरौँ, के फाइदा हुँदो रहेछ।” तर त्यो पनि व्यर्थ रहेछ।  २  मैले हाँसोको विषयमा भनेँ, “यो पागलपन हो!” अनि मोजमस्तीको विषयमा भनेँ, “यसबाट के फाइदा हुन्छ र?” ३  मैले रक्सीको मजा लिएर हेरेँ।+ तर आफ्नो होसहवास भने गुमाइनँ।* मैले मूर्ख भएर पनि हेरेँ किनकि दुई दिनको जिन्दगीमा मानिसले संसारमा के गर्दा सबैभन्दा राम्रो हुन्छ, म बुझ्न चाहन्थेँ। ४  मैले ठूलठूला कामहरू गरेँ।+ आफ्नो लागि महलहरू बनाएँ;+ अङ्‌गुरका बगानहरू लगाएँ।+ ५  मैले आफ्नो लागि बगैँचाहरू बनाएँ अनि त्यसमा थरिथरिका फलफूलका रूखहरू लगाएँ। ६  लहलहाउँदा रूखहरू भएको आफ्नो वनमा पानी लगाउन मैले पोखरीहरू बनाएँ। ७  मैले थुप्रै दासदासी राखेँ + र कति त मेरै घरमा पनि जन्मिए। मेरा थुप्रै वस्तुभाउ थिए।+ त्यति धेरै वस्तुभाउ त यरुसलेममा मेरा पुर्खासित पनि थिएन। ८  राजा-रजौटाहरूले आ-आफ्नो इलाकाबाट+ जम्मा गरेका सबै सुनचाँदी मैले थुपारेँ।+ मैले गायक-गायिकाहरू राखेँ। पुरुषहरूको मन बहलाउन स्त्रीहरूको सङ्‌गतभन्दा असल कुरो के होला र? त्यसैले मैले स्त्रीसित, हो, स्त्रीहरूसित सङ्‌गत गरेँ। ९  मसित के मात्र थिएन र? मसित जे-जति थियो, त्यो मभन्दा अघि यरुसलेममा अरू कसैसित थिएन।+ तैपनि मैले आफ्नो सुद्धीबुद्धि गुमाइनँ। १०  मैले आफूलाई इच्छा लागेको सबै कुरा गरेँ।+ मोजमस्ती गर्न मैले कुनै कसर बाँकी राखिनँ। कडा परिश्रम गरेबापत मैले आनन्द पाएँ। त्यो नै मेरो इनाम* थियो।+ ११  तर मैले आफ्ना सबै काम र कडा परिश्रम विचार गरेँ।+ ती सबै व्यर्थ रहेछन्‌, केवल बतासलाई खेदेजस्तो।+ संसारमा* जे गरे पनि केही फाइदा हुँदो रहेनछ।+ १२  त्यसपछि मैले बुद्धि, पागलपन र मूर्खता अपनाएर हेरेँ।+ (राजापछि आउने मानिसले के नै गर्न सक्छ र? त्यही, जुन पहिल्यै गरिसकिएको थियो।) १३  अँध्यारोभन्दा उज्यालो राम्रो भएझैँ मूर्खताभन्दा बुद्धि राम्रो रहेछ+ भनेर मैले बुझेँ। १४  बुद्धिमान्‌ मानिसले आफू कस्तो मार्गमा हिँडिरहेको छु भनेर राम्ररी देख्छ*+ तर मूर्खचाहिँ अन्धकारमा रुमलिन्छ।+ तर मैले के देखेँ भने, अन्तमा यी दुवैले एउटै नतिजा भोग्दा रहेछन्‌।+ १५  अनि मैले मनमनै भनेँ: “मूर्खलाई जे हुन्छ, त्यो मलाई पनि हुन्छ।”+ त्यसोभए धेरै बुद्धिमान्‌ भएर मलाई के नै फाइदा भयो र? त्यसैले मलाई यो पनि व्यर्थ नै रहेछ भन्‍ने लाग्यो। १६  किनकि बुद्धिमान्‌ होस्‌ या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्‌। बुद्धिमान्‌को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+ १७  संसारमा* जे-जति काम भइरहेका छन्‌, ती सबै सम्झेर मलाई दुःख लाग्यो+ र आफ्नो जीवनलाई मैले घृणा गर्न थालेँ। किनकि सबै कुरा व्यर्थ रहेछ,+ केवल बतासलाई खेदेको जस्तो।+ १८  संसारमा* मैले जे-जति मेहनत गरेँ, त्यसलाई घृणा गर्न थालेँ + किनकि त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ।+ १९  अनि त्यो मानिस मूर्ख हुने हो कि बुद्धिमान्‌, कसलाई के थाह?+ तैपनि मैले संसारमा* आफ्नो सारा बल अनि बुद्धि लगाएर प्राप्त गरेको कुरामाथि त्यसले नै राज गर्नेछ। यो पनि व्यर्थ रहेछ। २०  त्यसैले संसारमा* मैले गरेको कडा परिश्रम सम्झेर मलाई विरक्‍त लाग्यो। २१  मानिसले आफ्नो बुद्धि, ज्ञान र सीप चलाएर कडा परिश्रम त गर्छ तर त्यसको फल भने उसले त्यस्तो मानिसलाई सुम्पिनुपर्ने हुन्छ, जसले त्यसको लागि मेहनत गरेकै हुँदैन।+ यो पनि व्यर्थ र साह्रै दुःखलाग्दो कुरा हो। २२  संसारमा* ठूलठूला कुरा हासिल गर्न मरिमेटेर अनि कडा परिश्रम गरेर मानिसले आखिर के नै पाउँछ र?+ २३  बाँचुन्जेल उसले आफ्नो कामबाट दुःख-पीडा र दिक्दारीबाहेक अरू केही पाउँदैन।+ राती पनि ऊ मजाले निदाउन सक्दैन।+ त्यसैले यो पनि व्यर्थ रहेछ। २४  मानिसको लागि खानु, पिउनु र आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन।+ अनि यो पनि साँचो परमेश्‍वरकै देन हो भनेर मैले बुझेँ।+ २५  आखिर मजति मीठो खाने र पिउने अरू को नै छ र?+ २६  साँचो परमेश्‍वरलाई खुसी तुल्याउने मानिसहरूलाई उहाँ बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ।+ तर पापीहरूलाई भने उहाँ जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ। यसरी जम्मा गरिएको र बटुलिएको कुरा पनि उहाँलाई खुसी पार्ने व्यक्‍तिले नै पाउँछ।+ यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।

फुटनोटहरू

वा “बुद्धि भने गुमाइनँ।”
वा “भाग।”
शा., “सूर्यमुनि।”
शा., “बुद्धिमान्‌ मानिसको आँखा उसको शिरमा हुन्छ।”
शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”
शा., “सूर्यमुनि।”