सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रवासमा छोराछोरी हुर्काउने चुनौती र इनामहरू

प्रवासमा छोराछोरी हुर्काउने चुनौती र इनामहरू

प्रवासमा छोराछोरी हुर्काउने चुनौती र इनामहरू

लाखौं मानिसहरू सुखद भविष्यको आशा गर्दै नयाँ भूमिमा बसाइँ सर्ने गर्छन्‌। युरोपमा मात्र २ करोड आप्रवासीहरू छन्‌, संयुक्‍त राज्य अमेरिका प्रवासमा जन्मेका २ करोड ६० लाख मानिसहरूको घर हो। अनि अष्ट्रेलियामा कुल जनसंख्याको २१ प्रतिशत भन्दा धेरै प्रवासमा जन्मेकाहरू बसोबास गर्छन्‌। यी आप्रवासी परिवारहरूले नयाँ भाषा सिक्न र नयाँ संस्कृतिमा भिज्न अक्सर संघर्ष गर्नुपर्ने हुन्छ।

अक्सर बच्चाहरूले नयाँ देशको भाषा छिट्टै सिक्नुका साथै नयाँ भाषामै सोच्न पनि थाल्छन्‌। तर तिनीहरूका आमाबाबुलाई नयाँ भाषा सिक्न त्यति सजिलो नहुनसक्छ। प्रवासमा बसिरहेका आमाबाबुबाट हुर्काइएका छोराछोरीहरू र आमाबाबुबीच भाषासम्बन्धी कठिनाइले गर्दा आपसी कुराकानीमा आउन सक्ने समस्यालाई सजिलै समाधान गर्न सकिंदैन।

नयाँ भाषाले छोराछोरीहरूको सोच्ने तरिकालाई मात्र होइन तर नयाँ देशको संस्कृतिले तिनीहरूको भावनामा पनि असर गर्छ। आमाबाबुलाई आफ्ना छोराछोरीको प्रतिक्रिया बुझ्न गाह्रो हुन सक्छ। त्यसैले, प्रवासमा बसेर आफ्ना छोराछोरीहरूलाई “प्रभुको शिक्षा र चेताउनीमा” हुर्काउन प्रयास गरिरहेका आमाबाबुहरूले अनौठो चुनौतीहरूको सामना गर्नुपर्छ।—एफिसी ६:४.

मन र हृदयसम्म पुग्ने चुनौती

आफ्ना छोराछोरीहरूलाई बाइबल सत्यको “शुद्ध भाषा” सिकाउने मसीही आमाबाबुहरूको इच्छा र जिम्मेवारी दुवै हुन्छ। (सपन्याह ३:९) यद्यपि, यदि छोराछोरीहरूसित आमाबाबुले बोल्ने भाषाको ज्ञान निकै सीमित छ र आमाबाबुले पनि छोराछोरीहरू भिजिसकेको भाषामा आफ्ना भावनाहरू व्यक्‍त गर्न सक्दैनन्‌ भने तिनीहरूले छोराछोरीहरूको हृदयसम्म यहोवाको व्यवस्था कसरी पुऱ्‍याउन सक्छन्‌ र? (व्यवस्था ६:७) आमाबाबुहरूले बोलेका शब्दहरू छोराछोरीहरूले बुझ्न त सक्लान्‌ तर त्यसले तिनीहरूको हृदय छोएन भने छोराछोरीहरू आफ्नै घरमा पराई बन्‍न सक्छन्‌।

पेद्रो र सान्ड्रा दक्षिण अमेरिकाबाट अष्ट्रेलिया बसाइँ सरे। आफ्ना दुई जना किशोर छोराहरूलाई हुर्काउँदा तिनीहरू यस्तै चुनौतीको सामना गर्छन्‌।  a पेद्रो भन्छन्‌, “आध्यात्मिक विषयमा कुरा गर्दा हृदय र भावना बिथोलित हुन्छ। तपाईंले गहिरो अनि अर्थपूर्ण विचारहरू व्यक्‍त गर्नुपर्ने हुनाले शब्दहरूको ठूलो भण्डार चाहिन्छ। सान्ड्रा यसो भन्छिन्‌, “हाम्रा छोराछोरीहरूमा आफ्नो मातृभाषा बुझ्ने क्षमता कम छ भने तिनीहरूको आध्यात्मिकता नराम्ररी खस्कन सक्छ। आफूले सिकिरहेको शिक्षाको मूल सिद्धान्त बुझ्न नसकेर तिनीहरूले सत्यको गहनता बेवास्ता गर्न सक्छन्‌। तिनीहरूको आध्यात्मिक समझ अपरिपक्व हुन सक्छ र यहोवासित तिनीहरूको सम्बन्ध टुट्‌न सक्छ।”

न्यानपिराकसम र हेलेन श्रीलंकाबाट जर्मनीमा बसाइँ सरे र अहिले तिनीहरूका दुई जना बच्चा छन्‌। तिनीहरू स्वीकार्छन्‌: “हाम्रो विचारमा हाम्रा छोराछोरीहरूले जर्मन भाषा सिक्दै गर्दा आफ्नो मातृभाषा बोल्नु अत्यन्तै आवश्‍यक छ। तिनीहरू हामीलाई आफ्ना भावनाहरू पोखाउन अनि मनको कुरा नलुकाई भन्‍न सक्ने हुनुपर्छ।”

उरुग्वेबाट अष्ट्रेलिया बसाइँ सरेका मिगल र कारमेन यसो भन्छन्‌, “हाम्रो जस्तै परिस्थिति भएका आमाबाबुहरूले थप परिश्रम गर्नै पर्छ। तिनीहरूले आध्यात्मिक विषयहरू बुझ्न र बुझाउन सक्ने हुन नयाँ भाषा सिक्नुपर्छ अथवा छोराछोरीलाई आफ्नो मातृभाषा बोल्न निपुण बनाउनुपर्छ।”

परिवारको निर्णय

प्रवासी परिवारहरू “परमप्रभुबाट सिकाइएका” भएर आफ्नो आध्यात्मिक स्वास्थ्य कायम राख्न तिनीहरूले प्रयोग गर्ने भाषाको पनि ठूलो भूमिका हुन्छ। (यशैया ५४:१३) परिवारको मातृभाषा बोल्ने मण्डली नजिकै छ भने परिवारले त्यस मण्डलीसित संगत गर्ने छनौट गर्न सक्छन्‌। अर्कोतर्फ आफू बसाइँ सरेको मुलुकको मुख्य भाषा बोलिने मण्डलीमा उपस्थित हुने छनौट गर्न सक्छन्‌। यस निर्णयलाई अरू कुन-कुन तत्त्वहरूले असर गर्नेछ?

साइप्रसबाट इंग्ल्याण्ड बसाइँ सरेका डिमिट्रिओस र पाट्रोउलाले प्रवासमा पाँच जना छोराछोरी हुर्काए अनि आफ्नो निर्णयलाई असर गरेका तत्त्वहरूबारे तिनीहरू यसो भन्छन्‌, “सुरुमा हामी ग्रीक भाषा बोल्ने मण्डलीमा उपस्थित भयौं। यसबाट हामी आमाबाबुले ठूलो मदत पाए तापनि हाम्रा छोराछोरीहरूको आध्यात्मिक उन्‍नति हुन सकेन। तिनीहरूलाई ग्रीक भाषाको आधारभूत ज्ञान भए तापनि आध्यात्मिक कुराहरूको गहिरो पक्षहरू बुझ्न गाह्रो भयो। तिनीहरूको आध्यात्मिक प्रगति हुनुपर्ने जति नहुँदा यो कुरा प्रस्टै भयो। स-परिवार अंग्रेजी भाषा बोल्ने मण्डलीमा सरेको केही समयमै हाम्रा छोराछोरीहरूमा राम्रो परिणाम देखापऱ्‍यो। तिनीहरू आध्यात्मिक तवरमा बलिया भए। बसाइँ सर्ने निर्णय गर्नु सजिलो कुरा थिएन तर हाम्रो निर्णय बुद्धिमानी साबित भयो।”

यो परिवारले आफ्नो मातृभाषालाई अझै त्यागेका छैनन्‌ र धेरै इनामहरू पाएका छन्‌। तिनीहरूका छोराछोरी यस्तो टिप्पणी गर्छन्‌: “एकभन्दा बढी भाषाको ज्ञान हुँदा ठूलो फाइदा हुन्छ। सुरुमा हामीले अंग्रेजी भाषा सिके तापनि ग्रीक भाषाको ज्ञानले हाम्रो पारिवारिक बन्धन अझ बलियो र घनिष्ठ भएको छ; विशेष गरी हजुरबुबा र हजुरआमासित राम्रो सम्बन्ध भएको छ। यसले हामीलाई प्रवासीहरूप्रति सहानुभूतिशील हुनुका साथै अरू भाषा पनि सिक्न सक्छौं भन्‍ने आत्मविश्‍वास दिएको छ। हामी हुर्किसकेपछि स-परिवार अल्बेनियाली भाषा बोल्ने मण्डलीमा सऱ्‍यौं।”

क्रिस्टोफर र मार्गारिता पनि साइप्रसबाट इंग्ल्याण्डमा बसाइँ सरे र त्यहीं नै तिनीहरूले आफ्ना तीन जना छोराछोरी हुर्काए। तिनीहरूले ग्रीक भाषा बोल्ने मण्डलीमा सेवा गर्ने निधो गरे। हाल ग्रीक भाषा बोल्ने मण्डलीमा प्राचीनको हैसियतमा सेवा गरिरहेका तिनीहरूका छोरा निकोस विगतलाई यसरी सम्झन्छन्‌: “हामी भर्खरै स्थापना भएको ग्रीक भाषा बोल्ने मण्डलीमा संगत गर्न प्रोत्साहित भयौं। हाम्रो परिवारले यसलाई एउटा ईश्‍वरतान्त्रिक जिम्मेवारी ठान्यो।”

मार्गरिता यसो भन्छिन्‌: “हाम्रा छोराहरू सात र आठ वर्षको छँदा तिनीहरू ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भर्ना भए। तिनीहरूसित ग्रीक भाषाको ज्ञान सीमित भएकोले हामीलाई केही चिन्ता लागेको थियो। परिवारको कुनै सदस्यले पाएको असाइनमेन्टलाई हामी पूरै परिवारको असाइनमेन्ट सम्झन्थ्यौं र स-परिवार सँगै बसेर घण्टौंसम्म तिनीहरूको भाषण तयार गर्न मदत गर्थ्यौं।”

तिनीहरूकी छोरी जोआना भन्छिन्‌: “बुबाले ब्ल्याकबोर्डमा एउटा-एउटा अक्षर लेख्दै हामीलाई ग्रीक भाषा सिकाउनुभएको कुरा म अझै सम्झन्छु र उहाँले सिकाउनु भएका सबै कुरा हामीले सुरुदेखि अन्तसम्मै सिक्नुपर्थ्यो। धेरै मानिसहरूले केवल एउटा भाषा सिक्न वर्षौं बिताउने गर्छन्‌ तर बुबा र आमाको मदत पाएर हामीले थोरै समयमै ग्रीक भाषा सिक्यौं।”

“आत्मिक . . . समझ” विकास गर्न र प्रगति गर्न मातृभाषामै सिक्नु आवश्‍यक छ भनी महसुस गर्ने केही परिवारहरू आफ्नो मातृभाषा बोल्ने मण्डलीमै सेवा गर्न रुचाउँछन्‌। (कलस्सी १:९, १०; १ तिमोथी ४:१३, १५) अथवा आफ्नो भाषा बोल्ने प्रवासीहरूलाई सत्य सिकाउन तिनीहरूलाई आफ्नो मातृभाषा अत्यन्तै उपयोगी लाग्न सक्छ।

अर्कोतिर कुनै-कुनै परिवारलाई आफू बसाइँ सरेको देशको मुख्य भाषा बोल्ने मण्डलीमा सेवा गर्दा फाइदा हुने जस्तो लाग्न सक्छ। (फिलिप्पी २:४; १ तिमोथी ३:५) परिस्थितिलाई परिवारसित बसेर छलफल गरिसकेपछि परिवारको शिरले प्रार्थनापूर्वक निर्णय गर्नुपर्छ। (रोमी १४:४; १ कोरिन्थी ११:३; फिलिप्पी ४:६, ७) यस्ता परिवारहरूलाई कस्ता सल्लाहहरू उपयोगी हुन सक्छन्‌?

केही व्यावहारिक सल्लाहहरू

माथि उल्लिखित पेद्रो र सान्ड्रा यसो भन्छन्‌: मातृभाषा नबिर्सन हामीले घरमा स्पेनी भाषा मात्र बोल्ने नियम बसाल्यौं। हामीले अंग्रेजी बुझ्छौं भनेर हाम्रा छोराहरूलाई थाह भएकोले यो नियम पालन गर्नु साह्रै गाह्रो थियो। तर हामीले यो नियम पालन नगरेको खण्डमा तिनीहरूले स्पेनी भाषा छिट्टै बिर्सने सम्भावना हुन्थ्यो।”

माथि उल्लिखित मिगल र कारमेन यस्तो सल्लाह दिन्छन्‌: “आमाबाबुले नियमित पारिवारिक अध्ययन र दिनहुँ पढ्‌ने दैनिक पदलाई मातृभाषामा सञ्चालन गरेको खण्डमा बच्चाहरूले उक्‍त भाषाको आधारभूत कुराहरूबाहेक अरू धेरै कुरा सिक्छन्‌। अर्थात्‌ तिनीहरूले उक्‍त भाषामा आफ्ना आध्यात्मिक भावनाहरू पोख्न सिक्नेछन्‌।”

मिगल अझै यस्तो सल्लाह दिन्छन्‌: “साक्षी कार्यलाई रमाइलो बनाउनुहोस्‌। हाम्रो इलाकाले एउटा ठूलो शहरको धेरै भागलाई ओगट्‌छ र आफ्नो भाषा बोल्ने मानिसहरूलाई भेट्टाउन हामीले गाडीमा धेरै समय यात्रा गर्नुपर्ने हुन्छ। हामी यात्राको समयलाई बाइबल खेलहरू खेलेर अनि महत्त्वपूर्ण विषयहरूमा कुरा गरेर सदुपयोग गर्ने गर्छौं। म साक्षी कार्यको लागि विशेष यात्राहरूको योजना बनाउने कोसिस गर्छु जसले गर्दा म धेरै फलदायी पुनःभेटहरू गर्न सक्छु। यसो गर्दा दिनको अन्तमा बच्चाहरूले कम्तीमा एक जनासित अर्थपूर्ण कुराकानी गर्न सकेका हुन्छन्‌।”

सांस्कृतिक भिन्‍नताहरूको सामना गर्ने

परमेश्‍वरको वचनले युवाहरूलाई यस्तो प्रोत्साहन दिन्छ: “हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्‌।” (हितोपदेश १:८) तर बुबाले दिने अनुशासनको स्तर अनि आमाको “अर्ती” छोराछोरी हुर्किरहेको परिवेशभन्दा फरक संस्कृतिबाट प्रभावित छ भने कठिनाइहरू आउन सक्छन्‌।

हो, आफ्नो घर परिवार कसरी चलाउने भनेर निर्णय गर्ने जिम्मेवारी परिवारको शिरको हुन्छ र उनले यसो गर्दा अन्य परिवारहरूको अनावश्‍यक रूपमा देखासिकी गर्ने गर्नु हुँदैन। (गलाती ६:४, ५;) तर छोराछोरी र आमाबाबुबीचको खुलस्त कुराकानीले आमाबाबुलाई नयाँ प्रचलनहरू स्वीकार्न सजिलो बनाउन सक्छ।

यद्यपि, विकसित देशहरूमा व्याप्त धेरैजसो प्रचलन वा आचरणहरू मसीहीहरूको आध्यात्मिक स्वास्थ्यको लागि हानिकारक हुन्छ। यौन अनैतिकता, लोभ र विद्रोहलाई अक्सर लोकप्रिय संगीत र मनोरञ्जनले बढवा दिने गर्छन्‌। (रोमी १:२६-३२) केवल भाषा बुझ्न गाह्रो भएकै भरमा आफ्ना छोराछोरीको संगीत तथा मनोरञ्जनको छनौटमा निगरानी राख्ने जिम्मेवारीबाट आमाबाबुहरू पन्छिन पाउँदैनन्‌। यस सन्दर्भमा तिनीहरूले केही खास निर्देशनहरू तोक्नै पर्छ। तर यसो गर्दा एउटा चुनौती खडा हुन सक्छ।

कारमेन यसो भन्छिन्‌: “हाम्रा छोराछोरीहरूले सुन्‍ने गीतका बोलहरू हामी अक्सर बुझ्दैनौं। धुन त ठीकै हुन सक्छ तर यदि शब्दहरू दोहोरो अर्थ लाग्ने वा अश्‍लिल छन्‌ भने हामीलाई थाह हुँदैन।” तिनीहरूले यस्तो परिस्थितिको सामना कसरी गरेका छन्‌? मिगल यसो भन्छन्‌, “हाम्रा छोराछोरीहरूलाई अनैतिक संगीतको खतराबारे सिकाउन हामी धेरै समय बिताउने गर्छौं र हामी तिनीहरूलाई यहोवाद्वारा अनुमोदित संगीत छनौट गर्न मदत गर्छौं।” हो, सांस्कृतिक भिन्‍नताहरूको सामना गर्न सतर्कता अनि व्यावहारिकता चाहिन्छ।—व्यवस्था ११:१८, १९; फिलिप्पी ४:५.

इनामहरू प्राप्त गर्दै

प्रवासमा छोराछोरी हुर्काउँदा थप समय अनि प्रयासको आवश्‍यकता पर्छ। यसमा कुनै दुई मत छैन। यस्तो प्रयास गर्दा छोराछोरी अनि आमाबाबु दुवैले थप इनामहरू पाउन सक्छन्‌।

अजाम र तिनकी पत्नी सारा टर्कीबाट जर्मनीमा बसाइँ सरे र त्यहाँ तिनीहरूले तीन जना छोराहरूलाई हुर्काए। तिनीहरूको जेठो छोरो हाल जर्मनीको जेल्टर्सस्थित यहोवाका साक्षीहरूको शाखा कार्यालयमा सेवा गर्छन्‌। अजाम भन्छन्‌, “एउटा ठूलो फाइदा हो, छोराछोरीले दुवै संस्कृतिहरूमा बहुमूल्य ठानिएका गुणहरू विकास गर्ने मौका पाउँछन्‌।”

एन्टोनियो र लुटोनाडियो अंगोलाबाट जर्मनीमा बसाइँ सरे र हाल तिनीहरू नौ जना छोराछोरी हुर्काउँदै छन्‌। उक्‍त परिवारले लिङगाला, फ्रान्सेली र जर्मन भाषा बोल्छन्‌। एन्टोनियो यसो भन्छन्‌, “विभिन्‍न भाषा बोल्न सक्ने क्षमताले हाम्रो परिवारलाई धेरै देशका मानिसहरूलाई साक्षी दिन मदत दिन्छ। वास्तवमा यसले हामीलाई ठूलो सन्तुष्टि दिन्छ।”

दुई जना छोराछोरी लिएर इंग्ल्याण्डमा बसाइँ सरेका एक जापानी दम्पती जापानी र अंग्रेजी दुवै भाषा जान्‍नाले ठूलो फाइदा भएको महसुस गर्छन्‌। छोराछोरीहरू यसो भन्छन्‌, “दुवै भाषाको ज्ञानले हामीलाई जागिर पाउन मदत गऱ्‍यो। हामीले अंग्रेजी भाषाको विशाल अधिवेशनहरूबाट लाभ उठाएका छौं। साथै, हामीले आवश्‍यकता बढी भएको जापानी भाषा बोल्ने मण्डलीमा सेवा गर्ने विशेष सुअवसर पाएका छौं।”

तपाईं सफल हुन सक्नुहुन्छ

आफ्नो जस्तो सांस्कृतिक मूल्य मान्यता नराख्ने व्यक्‍तिहरूबीच छोराछोरी हुर्काउनु एउटा चुनौती हो। यो कुरा बाइबलकालीन परमेश्‍वरका सेवकहरूले सामना गर्दै आएका थिए। मोशा मिश्रमा हुर्के तापनि उनका आमाबाबु सफल भए। (प्रस्थान २:९, १०) बेबिलोनका निर्वासित धेरै यहूदीहरूले हुर्काएका बच्चाहरू साँचो उपासना पुनर्स्थापित गर्न यरूशलेम फर्कन इच्छुक भए।—एज्रा २:१, २, ६४-७०.

आज पनि मसीही आमाबाबुहरू सफल हुन सक्छन्‌। तिनीहरूले पनि आफ्ना छोराछोरीबाट, एक जना दम्पतीले आफ्ना छोराछोरीबाट सुनेका यी शब्दहरू सुन्‍ने आशा राख्न सक्छन्‌: “बुबा र आमाको मायालु हेरचाहले हाम्रो परिवारका सदस्यहरूबीच घनिष्ठ सम्बन्ध छ र उहाँहरूसितको राम्रो कुराकानीबाट हामीले सधैं धेरै आनन्द उठाएका छौं। यहोवालाई सेवा गरिरहेको विश्‍वव्यापी परिवारको भाग हुन पाएकोमा हामी आनन्दित छौं।”

[फुटनोट]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ २४-मा भएको चित्र]

घरमा आफ्नो मातृभाषामा मात्र कुराकानी गर्नाले छोराछोरीहरूले त्यस भाषाको आधारभूत ज्ञान हासिल गर्छन्‌

[पृष्ठ २४-मा भएको चित्र]

मातृभाषाले हजुरबुबा, हजुरआमा र नातिनातिनाहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ

[पृष्ठ २५-मा भएको चित्र]

छोराछोरीहरूसित बाइबल अध्ययन गर्नाले तिनीहरूको “आत्मिक . . . समझ” विकास हुन्छ