व्यवस्था ११:१-३२

  • तिमीहरूले यहोवाका महान्‌ कामहरू देखेका छौ (१-७)

  • प्रतिज्ञा गरिएको देश (८-१२)

  • आज्ञा पालन गर्दा पाइने आशिष्‌ (१३-१७)

  • परमेश्‍वरका शब्दहरू हृदयमा राख्नुपर्ने (१८-२५)

  • “आशिष्‌ र सराप” (२६-३२)

११  “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्नू+ अनि सधैँ उहाँका नीतिनियम, विधिविधान र आज्ञाहरू पालन गर्नू। यसो गर्नु तिमीहरूको कर्तव्य हो। २  तिमीहरूलाई राम्ररी थाह छ, आज म यो कुरा तिमीहरूका छोराछोरीलाई होइन तर तिमीहरूलाई भन्दै छु। किनभने तिमीहरूका छोराछोरीलाई यहोवा परमेश्‍वरले दिनुभएको अनुशासनबारे थाह छैन, तिनीहरूले त्यो देखेका छैनन्‌।+ परमेश्‍वरका महान्‌ कामहरू,+ उहाँले आफ्नो शक्‍तिशाली अनि पराक्रमी हातले+ गर्नुभएका कामहरू पनि तिनीहरूले देखेका छैनन्‌। ३  मिश्रको फारो र तिनको सारा देशभरि उहाँले के-कस्ता चिन्हहरू देखाउनुभयो वा कस्ता कामहरू गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्‌।+ ४  फारोका घोडा अनि रथ लिएर मिश्रका पूरै सेना तिमीहरूलाई खेद्‌न आउँदा यहोवा परमेश्‍वरले तिनीहरूलाई लाल समुद्रमा डुबाएर कसरी सदाको लागि नाश गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्‌।+ ५  निर्जनभूमिदेखि यहाँसम्म आइपुग्दा परमेश्‍वरले तिमीहरूको कसरी हेरविचार गर्नुभयो, त्यो पनि तिनीहरूले देखेका छैनन्‌। ६  अनि रुबेनको कुलका एलिआबका छोरा दातान र अबिरामलाई उहाँले के गर्नुभयो, त्यो पनि तिमीहरूका छोराछोरीले देखेका छैनन्‌। त्यसबेला सारा इस्राएलीसामु उनीहरू, उनीहरूका घराना, उनीहरूका पालहरू अनि उनीहरूको पछि लाग्ने सबै मानिस र उनीहरूका वस्तुभाउलाई जमिनले निलेको थियो।+ ७  यहोवा परमेश्‍वरले जे-जति महान्‌ काम गर्नुभयो, ती तिमीहरूले आफ्नै आँखाले देखेका छौ। ८  “आज मैले दिएका सबै आज्ञा तिमीहरूले पालन गर्नू। यसो गऱ्‍यौ भने तिमीहरू साहसी हुनेछौ र यर्दनपारि गएर देश अधिकार गर्न सक्नेछौ। ९  साथै यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई र तिमीहरूलाई दिन्छु+ भनेर कसम खानुभएको दूध र मह बग्ने त्यस देशमा+ तिमीहरू दीर्घायु हुनेछौ।+ १०  “तिमीहरूले अधिकार गर्न लागेको देश तिमीहरू निस्केर आएको मिश्रजस्तो छैन। त्यहाँ तिमीहरूले खेतमा बिउ छरेपछि करेसाबारीमा जस्तै पानी लगाउनुपर्थ्यो र त्यसको लागि कडा परिश्रम गर्नुपर्थ्यो।* ११  तर तिमीहरूले अधिकार गर्न जान लागेको यर्दनपारिको देशमा पहाडहरू अनि बेँसीहरू छन्‌।+ आकाशबाट परेको पानीले त्यहाँको जमिन भिजाउँछ।+ १२  यहोवा तिमीहरूका परमेश्‍वरले नै त्यस देशको रेखदेख गर्नुहुन्छ। वर्षको सुरुदेखि अन्तसम्म निरन्तर यहोवा परमेश्‍वरको नजर त्यस देशमा रहन्छ। १३  “यदि तिमीहरूले मैले आज दिएको आज्ञा होसियार भई पालन गऱ्‍यौ र आफ्नो सारा हृदयले अनि सारा ज्यानले यहोवा तिमीहरूका परमेश्‍वरलाई प्रेम गऱ्‍यौ र उहाँको सेवा गऱ्‍यौ भने+ १४  परमेश्‍वरले त्यस देशमा तिमीहरूलाई ठीक-ठीक समयमा आकाशबाट पानी दिनुहुनेछ। शरद्‌ र वसन्त ऋतुको वर्षा समयमै हुनेछ अनि तिमीहरूले आ-आफ्नो अन्‍न भित्र्याउनेछौ, नयाँ मद्य बनाउनेछौ र तेल पेल्नेछौ।+ १५  उहाँले तिमीहरूका वस्तुभाउको लागि मैदानहरूमा प्रशस्त घाँस उमारिदिनुहुनेछ। त्यस देशमा तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+ १६  तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+ १७  त्यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले वर्षा रोक्न आकाश थुनिदिनुहुनेछ+ अनि तिमीहरूको जमिनमा उब्जनी हुनेछैन। यसरी तिमीहरू यहोवा परमेश्‍वरले दिनुहुने त्यस असल देशबाट छिट्टै नाश हुनेछौ।+ १८  “मैले भनेका यी शब्दहरू तिमीहरूले आफ्नो दिमागमा र आफ्नो हृदयमा राख्नू अनि यी शब्दहरू सम्झिरहन त्यसलाई आफ्नो हातमा बाँध्नू र निधारमा पट्टीसरह लगाउनू।+ १९  यी कुराहरू तिमीहरूले आफ्ना छोराछोरीलाई पनि सिकाउनू। घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा बारम्बार यसबारे कुराकानी गर्नू।+ २०  यी आज्ञाहरू तिमीहरूले आफ्नो घरको ढोकाको चौकोसमा र सहरको मूलढोकामा लेख्नू। २१  त्यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरू र तिमीहरूका छोराछोरी दीर्घायु हुनेछौ;+ धर्तीमाथि आकाश रहुन्जेल तिमीहरू त्यहाँ रहनेछौ। २२  “आज मैले तिमीहरूलाई यहोवा आफ्ना परमेश्‍वरलाई प्रेम गर्नू,+ उहाँले देखाउनुभएको बाटोमा हिँड्‌नू र उहाँसँग नजिक भइरहनू+ भनेर आज्ञा दिएको छु। तिमीहरूले यो आज्ञा होसियार भई पालन गरिरह्‍यौ भने २३  यहोवाले तिमीहरूको सामनेबाट सबै जातिलाई खेद्‌नुहुनेछ+ र तिमीहरूले आफूभन्दा शक्‍तिशाली र सङ्‌ख्यामा धेरै भएका जातिहरूलाई धपाउन सक्नेछौ।+ २४  तिमीहरू जहाँ-जहाँ आफ्नो पाइला राख्छौ, त्यो ठाउँ तिमीहरूको हुनेछ।+ तिमीहरूको इलाका निर्जनभूमिदेखि लेबनानसम्म अनि युफ्रेटिस नदीदेखि पश्‍चिमको समुद्रसम्म* हुनेछ।+ २५  तिमीहरूविरुद्ध कोही पनि खडा हुन सक्नेछैन।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ तिमीहरूका परमेश्‍वर यहोवाले सबै मानिसको मनमा तिमीहरूको डर र त्रास फैलाइदिनुहुनेछ।+ यसरी उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ। २६  “हेर, मैले आज तिमीहरूको अगाडि आशिष्‌ र सराप राखिदिएको छु:+ २७  यहोवा तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, जुन आज म तिमीहरूलाई दिँदै छु, ती पालन गऱ्‍यौ भने तिमीहरूले आशिष्‌ पाउनेछौ।+ २८  तर तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गरेनौ, मैले आज तिमीहरूलाई हिँड्‌नू भनेको बाटोमा हिँडेनौ र चिन्दै नचिनेको देवताहरूलाई पुज्न थाल्यौ भने तिमीहरूले सराप पाउनेछौ।+ २९  “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिन्छु भन्‍नुभएको देश अधिकार गरिसकेपछि तिमीहरूले गिरिज्जिम डाँडामा आशिष्‌को र एबाल डाँडामा सरापको घोषणा गर्नू।+ ३०  अराबाहमा बस्ने कनानीहरूको देशमा भएका यी डाँडाहरू यर्दनपारि पश्‍चिमतिर गिलगालको अगाडि छन्‌ भनेर तिमीहरूलाई थाहै छ, जहाँ मोरेका ठूलठूला रूखहरू पनि छन्‌।+ ३१  अब तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरले दिन लाग्नुभएको देश अधिकार गर्न यर्दनपारि जाँदै छौ।+ जब तिमीहरूले त्यो देश अधिकार गर्नेछौ र त्यहाँ बसोबास गर्नेछौ, ३२  तब तिमीहरूले मैले आज दिएका सबै नीतिनियम अनि विधिविधान होसियार भई पालन गर्नू।+

फुटनोटहरू

वा “तिमीहरू आफ्नो गोडाले पानी लगाउँथ्यौ।” मिश्रमा छँदा इस्राएलीहरूले गोडाले पानी-चक्का चलाएर वा कुलो बनाएर खेतमा पानी लगाउँथे।
अर्थात्‌, भूमध्यसागरसम्म।