व्यवस्था ६:१-२५

  • यहोवालाई सारा हृदयले प्रेम गर्नू (१-९)

    • “हे इस्राएली हो, सुन” ()

    • आमाबुबाले छोराछोरीलाई सिकाउनुपर्ने (६, ७)

  • यहोवालाई नबिर्सनू (१०-१५)

  • यहोवाको परीक्षा नलिनू (१६-१९)

  • भावी पुस्तालाई बताउनू (२०-२५)

 “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउनू भनी मलाई यी आज्ञा, नीतिनियम र विधिविधान दिनुभएको छ। यर्दन नदी पार गरेर आफूले अधिकार गर्ने देशमा पुगेपछि तिमीहरूले यी आज्ञा, नियम र विधिविधान पालन गर्नू। २  त्यसो गऱ्‍यौ भने तिमीहरूले अनि तिमीहरूका छोरानातिले जीवनभर यहोवा तिमीहरूका परमेश्‍वरको भय मान्‍न सक्नेछौ अनि मैले तिमीहरूलाई आज्ञा गरेका उहाँका सबै नियम तथा आज्ञा पालन गर्न सक्नेछौ।+ अनि तिमीहरू सबै दीर्घायु हुनेछौ।+ ३  हे इस्राएली हो, यी सबै कुरा ध्यान दिएर सुन र होसियार भई पालन गर। त्यसो गऱ्‍यौ भने यहोवा तिमीहरूका पितापुर्खाका परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने त्यस देशमा तिमीहरूको फलिफाप हुनेछ र तिमीहरू सङ्‌ख्यामा पनि बढ्‌दै जानेछौ। ४  “हे इस्राएली हो, सुन! यहोवा हाम्रा परमेश्‍वर एक मात्र यहोवा हुनुहुन्छ।+ ५  तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले*+ र आफ्नो सारा बलले* प्रेम गर्नू।+ ६  आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू आफ्नो हृदयमा राख्नू। ७  अनि आफ्ना छोराछोरीको* हृदयमा पनि यी आज्ञाहरू राखिदिनू।*+ घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा तिनीहरूसित यसबारे कुराकानी गर्नू।+ ८  यी आज्ञाहरूलाई सम्झिरहन तिमीहरूले त्यसलाई आफ्नो हातमा बाँध्नू र निधारमा पट्टीसरह लगाउनू।+ ९  यी आज्ञाहरू तिमीहरूले आफ्नो घरको ढोकाको चौकोसमा र सहरका मूलढोकाहरूमा लेख्नू। १०  “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूका पुर्खा अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खानुभएको देशमा+ तिमीहरूलाई पुऱ्‍याउनुभएपछि त्यहाँ तिमीहरूले ठूलठूला र सुन्दर सहरहरू पाउनेछौ, जसलाई तिमीहरूले बनाएका होइनौ;+ ११  तिमीहरूले असल-असल थोकहरूले भरिएको घर पाउनेछौ, जसको निम्ति तिमीहरूले मेहनत गर्नै परेन; तिमीहरूले इनार पाउनेछौ, जसलाई तिमीहरूले खन्‍नै परेन; तिमीहरूले अङ्‌गुर र जैतुनको बगान पाउनेछौ, जसलाई तिमीहरूले रोप्नै परेन। अनि त्यहाँ तिमीहरूले नअघाउन्जेल खानेछौ र सन्तुष्ट हुनेछौ।+ १२  तब होसियार रहनू! तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा परमेश्‍वरलाई नबिर्सनू।+ १३  तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको डर मान्‍नू,+ उहाँकै सेवा गर्नू+ अनि उहाँकै नाममा कसम खानू।+ १४  तिमीहरू अरू देवीदेवताको पछि नलाग्नू, वरपरका मानिसहरूको कुनै पनि देवीदेवताको पछि नलाग्नू।+ १५  किनभने तिमीहरूमाझ हुनुहुने तिमीहरूका परमेश्‍वर यहोवा उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।+ तिमीहरू अरू देवीदेवताको पछि लाग्यौ भने यहोवाको क्रोध तिमीहरूमाथि दन्कनेछ+ र उहाँले तिमीहरूलाई यस धर्तीबाट मेटाइदिनुहुनेछ।+ १६  “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू,+ जसरी तिमीहरूले मास्साहमा उहाँको परीक्षा लिएका थियौ।+ १७  यहोवा तिमीहरूका परमेश्‍वरले दिनुभएका आज्ञा, सम्झौटा र नीतिनियम तिमीहरूले होसियार भई पालन गर्नू। १८  तिमीहरूले यहोवा परमेश्‍वरको नजरमा जे सही र असल छ, त्यही मात्र गर्नू। त्यसो गऱ्‍यौ भने तिमीहरूको फलिफाप हुनेछ र यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको असल देशमा तिमीहरू पस्न पाउनेछौ र त्यसलाई अधिकार गर्नेछौ।+ १९  यहोवा परमेश्‍वरले प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले आफ्ना सबै शत्रुलाई आफ्नो सामनेबाट धपाउनेछौ।+ २०  “भविष्यमा तिमीहरूका छोराहरूले, ‘यहोवा हाम्रा परमेश्‍वरले यी सम्झौटा, नीतिनियम र विधिविधान किन दिनुभयो’ भनेर सोधे भने २१  तिमीहरूले यसो भन्‍नू: ‘हामी मिश्रमा फारोका* दास थियौँ तर यहोवा परमेश्‍वरले आफ्नो पराक्रमी हातले हामीलाई त्यहाँबाट छुटाउनुभयो। २२  यहोवा परमेश्‍वरले मिश्रमा ठूलठूला चिन्ह र चमत्कार गर्नुभयो,+ जसले गर्दा मिश्र, फारो र तिनको पूरै घराना नाश भए। ती सबै हामीले आफ्नै आँखाले देख्यौँ।+ २३  त्यसपछि उहाँले हामीलाई त्यहाँबाट छुटाउनुभयो र हाम्रा पुर्खाहरूलाई दिन्छु भनेर कसम खानुभएको यस देशमा ल्याउनुभयो।+ २४  त्यसपछि यहोवा परमेश्‍वरले हामीलाई यी सबै नीतिनियम पालन गर्न र यहोवा हाम्रा परमेश्‍वरको डर मान्‍न आदेश दिनुभयो। हाम्रो सधैँ भलो होस्‌+ र हामी जीवित रहन सकौँ+ भनेर उहाँले त्यसो गर्नुभयो अनि हेर! अहिले त्यस्तै भइरहेको छ। २५  उहाँले भन्‍नुभएझैँ हामीले यी सबै कुरा होसियार भई पालन गऱ्‍यौँ भने र यहोवा हाम्रा परमेश्‍वरप्रति* आज्ञाकारी भयौँ भने हामी उहाँको नजरमा धर्मी* ठहरिनेछौँ।’+

फुटनोटहरू

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।
वा “आफूसँग भएको सारा कुराले।”
शा., “छोराहरूको।”
वा “यी आज्ञाहरू छोराछोरीसामु दोहोऱ्‍याउनू; छोराछोरीको मनमा छापिदिनू।”
मिश्रका राजाहरूको एउटा उपाधि।
शा., “परमेश्‍वरसामु।”
शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।