सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सफल वैवाहिक जीवनको रहस्य

सफल वैवाहिक जीवनको रहस्य

“तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्।”—एफि. ५:३३.

गीत: ८७, 

१. वैवाहिक जीवनका सुरुवाती दिनहरू रमाइलो नै भए पनि कस्तो कुराको आशा गर्नुपर्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

विवाहको दिन कल्पना गर्नुहोस्। सजिएकी नव-दुलही चिटिक्क परेर बसेका आफ्ना बेहुला भएतिर जाँदैछिन्‌। तिनीहरू दुवैको मुहारमा खुसीको किरण छचल्किरहेको छ। यो क्षणसम्म आइपुग्न तिनीहरूले कस्तो कदम चाले? तिनीहरूले विवाहअघि नै एकअर्कालाई राम्ररी चिन्न सकियोस् भनेर भेटघाट गरे; तिनीहरूको माया झन्‌-झनै झाङ्‌गिंदै गयो। अन्ततः दुवै जना आजीवनसँगै जिउने र एकअर्काप्रति वफादार रहने वाचा बाँध्न तयार भए। हो, वैवाहिक सम्बन्ध भनेको दुई बेग्ला-बेग्लै पृष्ठभूमिबाट आएका मानिसहरूको मिलन हो। त्यसैले नयाँ घरबार बसाल्न केही छाँटकाँट अवश्य पनि गर्नुपर्ने हुन्छ। तर परमेश्वरको वचनले विवाह गर्न चाहनेहरूलाई बुद्धिमानी सल्लाह दिन्छ। किनभने विवाहका सुरुवातकर्ता अर्थात्‌ मायालु परमेश्वर यहोवा हरेक जोडीले हाँसीखुसी जीवन बिताएको चाहनुहुन्छ। (हितो. १८:२२) तर उहाँको वचनमा एउटा तीतो यथार्थ पनि बताइएको छ; हामी सबै जना त्रुटिपूर्ण भएकोले “जसले विवाह गर्छ, उसले शारीरिक दुःखकष्ट झेल्नेछ” भनेर बाइबलमा लेखिएको छ। (१ कोरि. ७:२८) त्यसोभए त्यस्तो “दुःखकष्ट” कसरी कम गर्न सकिन्छ? अनि वैवाहिक जीवन कसरी सफल बनाउन सकिन्छ?

२. दम्पतीहरूले एकअर्कालाई कस्तो किसिमको प्रेम देखाउनुपर्छ?

बाइबलमा प्रेम भन्ने गुणलाई निकै जोड दिइएको छ। वैवाहिक जीवनमा कोमल स्नेह (ग्रीक, फिलिया) भन्ने गुण नभई हुँदैन। यसको अलावा रोमान्टिक प्रेम (इरोस) पनि चाहिन्छ, किनभने यस्तो किसिमको प्रेमले वैवाहिक जीवनमा खुसीको बहार ल्याउँछ। अनि बच्चाबच्ची भइसकेपछि परिवारलाई गर्ने प्रेमको (स्टोर्जे) पनि आफ्नै महत्त्व छ। तर वैवाहिक जीवन सफल बनाउन नभई नहुने गुण भनेको सिद्धान्तमा आधारित प्रेम (अगापे) हो। यो गुणबारे प्रेषित पावलले यस्तो लेखे: “तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्।”—एफि. ५:३३.

पति-पत्नीको भूमिका

३. दम्पतीबीचको प्रेम कत्तिको प्रगाढ हुनुपर्छ?

पावलले लेखे: “हे पतिहरू हो, आ-आफ्नो पत्नीलाई प्रेम गरिरहो, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो।” (एफि. ५:२५) येशू आफ्ना चेलाहरूलाई औधी माया गर्नुहुन्थ्यो। त्यसैले चेलाहरूले उहाँको अनुकरण गर्ने हो भने एकअर्कालाई उहाँले जस्तै प्रेम गर्नुपर्थ्यो। (यूहन्ना १३:३४, ३५; १५:१२, १३ पढ्‌नुहोस्) यसको मतलब, वैवाहिक जोडीहरू आवश्यक पऱ्यो भने एकअर्काको निम्ति ज्यान दिन पनि तयार हुनुपर्छ। तर चर्को मतभेद हुँदा कसै-कसैलाई यस्तो किसिमको प्रेम देखाउन गाह्रो लाग्न सक्छ। जेहोस्, अगापे प्रेमले “सबै कुरा खप्छ, सबै कुरा पत्यार गर्छ, सबै कुराको आशा गर्छ र सबै कुरा सहन्छ।” हो, “प्रेम कहिल्यै अन्त हुँदैन।” (१ कोरि. १३:७, ८) विवाह गर्दा एकअर्कालाई माया गर्छु अनि वफादार रहन्छु भनेर वाचा बाँधेकोले परमेश्वरको भय मान्ने जोडीहरू वैवाहिक जीवनमा समस्या आयो भने पनि परमेश्वरले दिनुभएको सिद्धान्तअनुसार चलेर त्यसको समाधान गर्ने प्रयास गर्छन्‌।

४, ५. (क) पतिले आफ्नो भूमिका कसरी निभाउनुपर्छ? (ख) पत्नीहरूले शिरत्वको प्रबन्धलाई कसरी हेर्नुपर्छ? (ग) एक दम्पतीले विवाहपछि कस्तो छाँटकाँट गर्नुपऱ्यो?

पति-पत्नी दुवैले निभाउनुपर्ने भूमिकालाई सङ्‌केत गर्दै पावलले यस्तो लेखे: “ख्रीष्टको अधीनमा बसेजस्तै पत्नीहरू आ-आफ्नो पतिको अधीनमा बसून्‌, किनकि पत्नीको शिर पति हो, जसरी ख्रीष्ट पनि आफ्नो शरीर अर्थात्‌ मण्डलीको शिर अनि उद्धारक हुनुहुन्छ।” (एफि. ५:२२, २३) यो प्रबन्धले पत्नीहरू पतिहरूभन्दा तुच्छ हुन्छन्‌ भनेर देखाउन खोजेको होइन। यसले त परमेश्वरले स्त्रीजातिको लागि राख्नुभएको उद्देश्य पूरा गर्न पत्नीहरूलाई मदत गर्छ। किनभने परमेश्वरले हव्वा सृष्टि गर्दा यसो भन्नुभएको थियो: “मानिस [आदम] एक्लो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।” (उत्प. २:१८) “मण्डलीको शिर” येशूले मायालु तरिकामा आफ्नो भूमिका निभाउनुभएजस्तै ख्रीष्टियन पतिहरूले पनि मायालु तरिकामा शिरत्वको भूमिका निभाउनुपर्छ। पतिले यसो गरेका छन्‌ भने पत्नीहरूले सुरक्षित महसुस गर्नेछन्‌ र तिनीहरूलाई पनि आफ्नो पतिको आदर गर्न, उनीहरूलाई साथ दिन र उनीहरूको अधीनमा बस्न सजिलो लाग्नेछ।

विवाहपछि छाँटकाँट गर्नुपर्छ भन्ने कुरालाई मानिलिंदै क्याथी [१] भन्छिन्‌: “विवाह नगर्दासम्म म आत्मनिर्भर थिएँ; आफ्नो ख्याल आफै राख्थें। तर विवाह गरिसकेपछि श्रीमान्‌मा भर पर्न सिकें। यसो गर्न सधैं सजिलो छैन। तर दुवै जना मिलेर यहोवाको तरिकामा मामिला सुल्झाउँदा एकअर्कासित अझ नजिक भएका छौं।” तिनका पति फ्रेड भन्छन्‌: “मलाई निर्णय गर्न निकै गाह्रो लाग्थ्यो। झन्‌ विवाह गरेपछि दुई जना मिलेर निर्णय गर्नुपर्दा त मलाई झनै सकस भयो। तर प्रार्थना गरेर यहोवाको डोऱ्याइ खोज्दा अनि श्रीमतीको विचार सुन्दा मलाई अहिले सजिलो भएको छ। मिलीजुली काम गर्दा सजिलो हुँदो रहेछ।”

६. वैवाहिक जीवनमा समस्या देखियो भने प्रेमले कस्तो भूमिका खेल्छ?

एकअर्काको कमीकमजोरीलाई सहँदै अघि बढ्‌ने पति-पत्नीको सम्बन्ध प्रगाढ हुन्छ। तिनीहरू ‘एकअर्कासित केही गुनासो छ भने पनि सहन्छन्‌ र खुला मनले क्षमा गर्छन्‌।’ हो, पति-पत्नी दुवैबाट गल्ती हुन्छ। तर यसलाई गल्तीबाट पाठ सिक्ने अनि क्षमा दिने मौकाको रूपमा हेर्नुपर्छ। यसो गर्दा हामीबीच भएको प्रेमले “पूर्ण एकतामा गाँस्ने बन्धन”-को रूपमा काम गर्नेछ। (कल. ३:१३, १४) साथै “प्रेम धीरजी र दयालु हुन्छ। . . . यसले खराबीको हिसाब राख्दैन।” (१ कोरि. १३:४, ५) पति-पत्नीबीच गलतफहमी भयो भने चाँडोभन्दा चाँडो कुरा गरेर समाधान खोज्नुपर्छ। मतलब, तिनीहरूले “घाम डुब्नुअघि नै” समस्या सुल्झाउने प्रयास गर्नुपर्छ। (एफि. ४:२६, २७) एकअर्कालाई “तिम्रो चित्त दुखाएँ, माफ गर” भन्नु सजिलो छैन। यसको लागि नम्रता र साहस चाहिन्छ। तैपनि यति शब्द मात्र भन्न सक्नुभयो भने पनि समस्याको समाधान निस्कन सक्छ अनि आफ्नो जोडीसित पहिलाभन्दा अझै घनिष्ठ हुन सक्नुहुनेछ।

कोमलताको खाँचो

७, ८. (क) वैवाहिक यौन जीवनबारे बाइबलमा कस्तो सल्लाह दिइएको छ? (ख) दम्पतीहरूले एकअर्कासित किन कोमल व्यवहार गर्नुपर्छ?

दम्पतीहरूले ‘वैवाहिक हक’ अर्थात्‌ शारीरिक सम्बन्धको विषयमा सन्तुलित दृष्टिकोण राख्नुपर्छ भनेर बाइबलले सल्लाह दिएको छ। (१ कोरिन्थी ७:३-५ पढ्‌नुहोस्) पति-पत्नीले एकअर्काको भावना र आवश्यकता राम्ररी बुझ्नुपर्छ। शारीरिक सम्बन्ध राख्ने विषयमा पत्नीसित कोमल व्यवहार गरिएन भने तिनले यौन आनन्द उठाउन सक्दैन। बाइबलले पतिहरूलाई “आ-आफ्ना पत्नीको मनको कुरा राम्ररी बुझेर” व्यवहार गर्न सुझाव दिएको छ। (१ पत्रु. ३:७) शारीरिक सम्बन्ध राख्न कहिल्यै पनि करबल वा जबरजस्ती गर्नुहुँदैन। यस मामिलामा प्रायजसो पुरुषहरू अग्रसर हुन्छन्‌ तर यस्तोबेला दुवैजना भावनात्मक रूपमा तयार छन्‌ कि छैनन्‌ विचार गर्नु बुद्धिमानी हुन्छ।

बाइबलले पतिपत्नी बीचको यौन क्रीडाबारे कुनै सीमा वा तरिका नबताए तापनि स्नेह व्यक्त गर्ने तरिकाबारे भने बताएको छ। (श्रेष्ठ. १:२; २:६) जेहोस्, ख्रीष्टियन दम्पतीले एकअर्कासित कोमल व्यवहार गर्नुपर्छ।

९. पति-पत्नीबाहेक अरूसित यौनसम्पर्क राख्नु किन अनुचित हो?

परमेश्वरप्रति अनि छिमेकीप्रति गहिरो प्रेम छ भने कसैले पनि अनि कुनै कुराले पनि वैवाहिक जीवनमा भाँजो हाल्न सक्दैन। तर दुःखको कुरा, पति वा पत्नीको अश्‍लील सामग्री हेर्ने लत छ भने त्यसले गर्दा कुनै-कुनै वैवाहिक जीवन असफल वा भनौं, तहसनहस नै भएको छ। त्यसैले यस्तो किसिमको लत वा अरू अनुचित किसिमको यौन क्रियाकलापलाई हामीले दृढ भई तिरस्कार गर्नुपर्छ। अनि आफ्नो जोडीबाहेक अरू कसैलाई गलत मनसायले जिस्केको छनक दिनु समेत गलत हो। किनभने यसरी जिस्किंदा अरूको भावनासित खेलबाड गरिरहेका हुन्छौं; त्यसैले यस्तो व्यवहार पटक्कै गर्नु हुँदैन। यहोवालाई हाम्रो एक-एक कुरा थाह छ। हाम्रो काम मात्र होइन, मनमा खेलाएको कुरा समेत उहाँ थाह पाउन सक्नुहुन्छ। यो कुराले हामीलाई परमेश्वरलाई खुसी बनाउने तरिकामा चल्न र स्वच्छ रहन मदत गर्छ।मत्ती ५:२७, २८; हिब्रू ४:१३ पढ्‌नुहोस्।

वैवाहिक जीवनमा दूरी आउँदा

१०, ११. (क) सम्बन्धविच्छेद गर्ने कुरालाई अहिले कसरी लिइन्छ? (ख) छुट्टिएर बस्ने विषयमा बाइबलले के भन्छ? (ग) दम्पतीहरूले छुट्टिएर बस्न किन हतारो गर्नु हुँदैन?

१० वैवाहिक जीवनमा गम्भीर समस्या रहिरह्यो भने पति वा पत्नी अथवा दुवै जनामा नै छुट्टिने वा सम्बन्धविच्छेद गर्ने सोचाइ आउन सक्छ। कुनै-कुनै देशमा आधाउधि विवाह त सम्बन्धविच्छेदमा गएर नै टुङ्‌गिन्छ। हुन त ख्रीष्टियन मण्डलीमा यसलाई सामान्य रूपमा लिइँदैन, तैपनि वैवाहिक जीवनमा ‘दिन दुई गुणा रात चौगुना’ समस्याहरू थपिंदै गएकोले यस विषयमा विचारविमर्श गर्नु बेस हुन्छ।

११ बाइबल भन्छ: “पत्नी आफ्नो पतिबाट अलग नहोस्। यदि अलग हुन परिहाल्यो भने कि त अविवाहित बसोस् कि पतिसित फेरि मिलाप गरोस्। पतिले पनि आफ्नी पत्नीलाई त्याग्नुहुँदैन।” (१ कोरि. ७:१०, ११) पति-पत्नीसित छुट्टै बस्ने कुरालाई हल्का रूपमा लिनु हुँदैन। हुन त वैवाहिक जीवनमा गम्भीर समस्याहरू देखिंदा छुट्टिएर बस्नु नै बेस हो भन्ने लाग्न सक्छ तर प्रायजसो अवस्थामा यसले अझै ठूलो समस्या निम्त्याउँछ। विवाह गरिसकेपछि पुरुषले आफ्नो आमाबुबालाई छोड्‌छ र आफ्नी पत्नीसित मिलिरहन्छ भनेर परमेश्वरले भन्नुभएको थियो; यही कुरालाई जोड दिंदै येशूले भन्नुभयो: “जसलाई परमेश्वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्टयाओस्।” (मत्ती १९:३-६; उत्प. २:२४) यसको मतलब पति वा पत्नी कसैसित पनि ‘एकअर्कालाई छुट्टयाउने’ अधिकार छैन। यहोवा परमेश्वर वैवाहिक बन्धनलाई आजीवन बन्धनको रूपमा हेर्नुहुन्छ। (१ कोरि. ७:३९) परमेश्वरलाई लेखा दिनुपर्छ भन्ने कुरा मनमा राखेर प्रत्येक दम्पतीले आलेटाले नगरी तुरुन्तै समस्या सुल्झाउने प्रयास गर्नुपर्छ र ‘तिल जत्रो कुरा पहाड’ हुन नदिन भरमग्दुर प्रयास गर्नुपर्छ।

१२. कस्ता कुराहरूले गर्दा दम्पतीहरू छुट्टिने हदसम्म पुग्न सक्छन्‌?

१२ सम्भवै नहुने कुराहरूको माग गर्दा पनि वैवाहिक जीवनमा खटपट सुरु हुन्छ। विवाहअघि नानाथरीको सपना बुनेको होला; विवाहपछि यस्तो होला, उस्तो होला भनेर कल्पनाको सागरमा डुबेको होला, तर वास्तविक जीवनमा ठ्‌याक्कै त्यस्तो नहुँदा थुप्रै जोडी पुर्पुरोमा हात राख्न बाध्य हुन्छन्‌, कोही-कोही त जीवनदेखि नै हरेस खान्छन्‌। एकअर्काको भावना अनि हुर्केको वातावरण फरक-फरक हुने भएकोले पैसा, सासू-ससुरा, बच्चाबच्ची हुर्काउने विषयमा ठाकठुक पर्न सक्छ। तर खुसीको कुरा थुप्रै ख्रीष्टियन जोडीले परमेश्वरको डोऱ्याइअनुसार चलेर यस्ता समस्याहरूको समाधान निकालेका छन्‌।

१३. कस्तो अवस्थामा छुट्टिएर बस्नु जायज हुन सक्छ?

१३ कहिलेकाहीं छुट्टिएर बस्नु जायजै पनि हुन सक्छ। जानाजानी परिवारको लालनपालन नगर्ने, अचाक्ली शारीरिक दुर्व्यवहार गर्ने अनि आध्यात्मिक जीवन नै खतरामा पर्ने अवस्था सृजना भयो भने कसै-कसैले छुट्टिएर बस्ने निर्णय गर्न सक्छन्‌। वैवाहिक जीवनमा गम्भीर समस्या भएका जोडीहरूले एल्डरहरूको मदत लिनु बेस हुन्छ। ती एल्डरहरूले धर्मशास्त्रीय सल्लाहअनुसार चल्न दम्पतीहरूलाई मदत गर्न सक्छन्‌। साथै धर्मशास्त्रमा उल्लेख गरिएका सिद्धान्तहरू लागू गर्न अनि पवित्र शक्तिका फलका पक्षहरू खेती गर्न सकौं भनेर जोडी आफैले पनि यहोवाको पवित्र शक्ति र मदतको लागि प्रार्थना गर्नुपर्छ।—गला. ५:२२, २३. [२]

१४. यहोवाको उपासना नगर्ने व्यक्तिसित विवाह गरेका ख्रीष्टियनहरूलाई बाइबलले कस्तो सल्लाह दिएको छ?

१४ कुनै-कुनै ख्रीष्टियनको पति वा पत्नी यहोवाको उपासक नहुन सक्छ। त्यसोभए तापनि ती दुवै सँगै बस्नुपर्छ भनेर बाइबलले बताउँछ। (१ कोरिन्थी ७:१२-१४ पढ्‌नुहोस्) हो, बेग्लै आस्था भएको पति वा पत्नी यहोवाको उपासकसितको वैवाहिक सम्बन्धले गर्दा पवित्र ठहरिन्छ। अनि तिनीहरूबाट जन्मिएको छोराछोरी पनि “पवित्र” हुन्छ; यसरी तिनीहरू परमेश्वरको नजरमा ग्रहणयोग्य हुन्छन्‌। पावलले कस्तो तर्क गरेका छन्‌, याद गर्नुहोस्; तिनले भने: “ए पत्नी हो, आफ्नो पतिसित बस्यौ भने तिमीले आफ्नो पतिलाई बचाउन सक्छौ कि के थाह? अनि ए पति हो, आफ्नी पत्नीसित बस्यौ भने तिमीले आफ्नी पत्नीलाई बचाउन सक्छौ कि के थाह?” (१ कोरि. ७:१६) नभन्दै अहिले प्रायजसो सबै मण्डलीमा आफ्नो पति वा पत्नीले गर्दा ‘जीवन बचाउन सकेका,’ मतलब सच्चाइ सिकेका थुप्रै दम्पती हामी पाउन सक्छौं।

१५, १६. (क) बेग्लै आस्था भएको पतिसित बस्ने पत्नीहरूका लागि बाइबलले कस्तो सल्लाह दिएको छ? (ख) बेग्लै आस्था भएको पति वा पत्नीले छुट्टिने निर्णय गऱ्यो भने के गर्ने?

१५ प्रेषित पत्रुसले ख्रीष्टियन पत्नीहरूलाई पतिको अधीनमा बस्न सल्लाह दिए, ‘ताकि तिनीहरूमध्ये कसै-कसैले परमेश्वरको वचन नमाने तापनि पत्नीहरूको असल चालचलनद्वारा विनावचन तिनीहरूलाई मनाउन सकियोस् अनि पत्नीहरूको चोखो चालचलन र गहिरो आदर आफ्नै आँखाले देखेर तिनीहरू परमेश्वरको वचन पालन गर्ने होऊन्‌।’ पत्नीहरूले आफ्नो पतिको मन जित्ने हो भने जतिखेर पनि बाइबलको कुरा गरेको गऱ्यै गर्नुभन्दा “शान्त अनि नम्र मनोभावको अविनाशी पोसाक” लगाउनु बेस हुन्छ, किनभने यस्तो गुणलाई यहोवा “ठूलो मोलको” ठान्नुहुन्छ।—१ पत्रु. ३:१-४.

१६ तर बेग्लै आस्था भएको पति वा पत्नीले छुट्टिने निर्णय गऱ्यो भनेचाहिं के गर्ने नि? बाइबल भन्छ: “यदि बेग्लै आस्था हुनेचाहिं अलग हुन्छ भने उसलाई अलग हुन देऊ। यस्तो परिस्थितिमा भाइ वा बहिनी बन्धनमा रहँदैन, किनकि परमेश्वरले तिमीहरूलाई शान्तिमा रहन बोलाउनुभएको हो।” (१ कोरि. ७:१५) तर यसको मतलब ख्रीष्टियन पति वा पत्नी धर्मशास्त्रीय सिद्धान्तअनुसार विवाह गर्न स्वतन्त्र हुन्छ भनेको चाहिं होइन अनि उसले बेग्लै आस्था भएको व्यक्तिलाई आफूसँगै बस्न जबरजस्ती गर्नुपर्छ भन्ने पनि होइन। छुट्टिएर बस्दा केही हदसम्म शान्ति छाउन सक्छ। अनि आफूसित छुट्टिएर जाने पति वा पत्नी फर्केर आउनेछ र कुनै दिन साक्षी बन्नेछ भनेर पनि ख्रीष्टियन जोडीले आशा मार्नु हुँदैन।

विवाह अनि प्राथमिकता

आध्यात्मिक गतिविधिलाई प्राथमिकता दिनुभयो भने तपाईंको वैवाहिक सम्बन्ध अझै आनन्ददायी हुनेछ (अनुच्छेद १७ हेर्नुहोस्)

१७. विवाहित जोडीहरूले कुन कुरालाई प्राथमिकता दिनुपर्छ?

१७ अहिले हामी अन्तको पनि “अन्तको दिनमा” बाँचिरहेकोले “असाध्यै कठिन समय” अनुभव गरिरहेका छौं। (२ तिमो. ३:१-५) तैपनि आध्यात्मिक रूपमा बलियो भयौं भने हामी संसारको जस्तोसुकै नकारात्मक प्रभावहरूबाट पनि बच्न सक्छौं। पावलले यस्तो लेखे: “समय थोरै मात्र बाँकी छ। त्यसैले ज-जसको पत्नी छ, तिनीहरू पत्नी नभएजस्तै होऊन्‌। . . . अनि संसारको उपभोग गर्नेहरू त्यसको पूरा उपभोग नगर्नेहरूजस्ता होऊन्‌।” (१ कोरि. ७:२९-३१) पावलले विवाहित जोडीहरूलाई वैवाहिक दायित्वलाई हेलचेक्य्राइँ गरे हुन्छ भन्न खोजिरहेका थिएनन्‌। बरु समय थोरै भएकोले तिनीहरूले आध्यात्मिक कामकुरालाई पहिलो स्थान दिनुपर्छ भन्न खोजिरहेका थिए।—मत्ती ६:३३.

१८. अहिलेको समयमा पनि वैवाहिक जीवन सफल र सुखी बनाउन सम्भव छ भनेर हामी किन भन्न सक्छौं?

१८ अहिले जताततै कठिनाइको बादल मडारिरहेको भए पनि अनि वैवाहिक सम्बन्ध टुक्रिने दर दिन प्रतिदिन बढ्‌दै गए पनि हामी आफ्नो वैवाहिक जीवनलाई सफल र सुखी बनाउन सक्छौं। यहोवाका सेवकहरूसित सङ्‌गत गर्ने ख्रीष्टियन दम्पतीहरूले धर्मशास्त्रीय सल्लाहहरू लागू गरेर अनि यहोवाको पवित्र शक्तिको डोऱ्याइ स्वीकारेर “परमेश्वरले एकसाथ जोड्‌नुभएको” सम्बन्धलाई जोगाउने प्रयास गर्छन्‌।—मर्कू. १०:९.

^ [१] (अनुच्छेद ५) नामहरू परिवर्तन गरिएका छन्‌।

^ [२] (अनुच्छेद १३) “आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख” भन्ने किताबको पृष्ठ २५१-२५३ मा भएको “सम्बन्धविच्छेद र छुट्टिएर बस्नेबारे बाइबल के भन्छ?” भन्ने अतिरिक्त लेख हेर्नुहोस्।