सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २४

स्वर्गदूतहरूबारे साँचो कुरा के हो?

स्वर्गदूतहरूबारे साँचो कुरा के हो?

यहोवा हामीले स्वर्गमा भएको उहाँको परिवारबारे थाह पाएको चाहनुहुन्छ। त्यस परिवारमा स्वर्गदूतहरू छन्‌ र तिनीहरूलाई “परमेश्‍वरका छोराहरू” भनिएको छ। (अय्युब ३८:७) बाइबलले स्वर्गदूतहरूबारे के भन्छ? तिनीहरूले मानिसहरूमा कस्तो प्रभाव पार्न सक्छन्‌? के सबै स्वर्गदूत परमेश्‍वरको परिवारका भाग हुन्‌?

१. स्वर्गदूतहरू को हुन्‌?

यहोवाले पृथ्वी सृष्टि गर्नुअघि स्वर्गदूतहरू सृष्टि गरिसक्नुभएको थियो। उहाँजस्तै तिनीहरू अदृश्‍य छन्‌ र स्वर्गमा बस्छन्‌। (हिब्रू १:१४) स्वर्गदूतहरूको सङ्‌ख्या लाखौँलाख छ र तिनीहरू प्रत्येकको आ-आफ्नै व्यक्‍तित्व छ। (प्रकाश ५:११) तिनीहरू “यहोवाको . . . स्वर सुनेर उहाँको आदेश पालन” गर्छन्‌। (भजन १०३:२०) यहोवाले प्राचीन समयमा आफ्ना सेवकहरूकहाँ सन्देश पुऱ्‍याउन, तिनीहरूलाई मदत गर्न र छुटकारा दिन कहिलेकाहीँ स्वर्गदूतहरू पठाउनुहुन्थ्यो। आज स्वर्गदूतहरूले ख्रिष्टियनहरूलाई परमेश्‍वरबारे सिक्न चाहनेहरूकहाँ डोऱ्‍याउँछन्‌।

२. सैतान र त्यसका प्रेतहरू को हुन्‌?

केही स्वर्गदूत यहोवाप्रति वफादार रहेनन्‌। विद्रोह गर्ने पहिलो स्वर्गदूतलाई “दियाबल अनि सैतान . . . र सारा संसारलाई ठग्ने” भनेर बाइबलमा बताइएको छ। (प्रकाश १२:९) सैतान अरूमाथि शासन गर्न चाहन्थ्यो। त्यसकारण त्यसले आदम र हव्वालाई बहकायो अनि पछि अरू स्वर्गदूतलाई पनि विद्रोह गर्न उक्सायो। ती विद्रोही स्वर्गदूतहरूलाई नै प्रेतहरू भनिन्छ। पछि यहोवाले ती विद्रोहीहरूलाई स्वर्गबाट निकालिदिनुभयो। तिनीहरू अहिले पृथ्वीमा छन्‌ र चाँडै नाश हुनेछन्‌।—प्रकाश १२:९, १२ पढ्‌नुहोस्‌।

३. सैतान र प्रेतहरूले हामीलाई कसरी बहकाउन खोज्छन्‌?

सैतान र प्रेतहरूले मानिसहरूलाई बहकाउन चलाउने एउटा माध्यम प्रेतविद्या हो। प्रेतविद्या भनेको प्रेतहरूसित सम्पर्क गर्नु हो। उदाहरणको लागि, कतिपय मानिस ज्योतिषी, भावी बताउने मानिस र धामी-झाँक्रीकहाँ जान्छन्‌। अरूचाहिँ प्रेतविद्या मुछिएको उपचारविधि अपनाउँछन्‌। साथै प्रेतहरूले मरिसकेका मानिसहरूसित पनि सम्पर्क गर्न सकिन्छ भन्‍ने भान पारिदिन्छन्‌। तर यहोवाले हामीलाई यस्तो चेतावनी दिनुहुन्छ: “तिमीहरू भूतप्रेत खेलाउनेहरूकहाँ र भावी बताउने व्यक्‍तिहरूकहाँ नजानू नत्र त तिमीहरू अशुद्ध हुनेछौ। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।” (लेवी १९:३१) यहोवाले हामीलाई सैतान र प्रेतहरूबाट जोगाउन यस्तो चेतावनी दिनुभएको हो। तिनीहरू परमेश्‍वरका शत्रुहरू हुन्‌ अनि हामीलाई हानि पुऱ्‍याउन चाहन्छन्‌।

अझ खोतल्नुहोस्‌

स्वर्गदूतहरूले के-कस्ता असल काम गर्छन्‌, थाह पाउनुहोस्‌। साथै प्रेतविद्याका खतराहरू के-के हुन्‌ अनि हामी कसरी सैतान र प्रेतहरूबाट जोगिन सक्छौँ भनेर सिक्नुहोस्‌।

४. स्वर्गदूतहरूले मानिसहरूलाई यहोवाबारे सिक्न मदत गर्छन्‌

स्वर्गदूतहरूले सीधै मानिसहरूलाई सुसमाचार सुनाउँदैनन्‌। बरु तिनीहरू परमेश्‍वरका सेवकहरूलाई उहाँबारे सिक्न चाहने मानिसहरूकहाँ डोऱ्‍याउँछन्‌। प्रकाश १४:६, ७ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • सुसमाचार सुनाउन हामीलाई किन स्वर्गदूतहरूको मदत चाहिन्छ?

  • स्वर्गदूतहरूले तपाईँलाई सुसमाचार सुन्‍न चाहने मानिसहरूकहाँ डोऱ्‍याउँछन्‌ भनेर थाह पाउँदा के तपाईँले हौसला पाउनुभयो? किन?

५. प्रेतविद्याबाट अलग रहनुहोस्‌

सैतान र प्रेतहरू यहोवाका शत्रुहरू हुन्‌। तिनीहरू हाम्रा पनि शत्रुहरू हुन्‌। लुका ९:३८-४२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • प्रेतहरूले मानिसहरूलाई के गर्छन्‌?

हामी प्रेतहरूको बहकाउमा पर्न चाहँदैनौँ। व्यवस्था १८:१०-१२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • प्रेतहरूले के-कस्ता तरिका चलाएर हामीलाई बहकाउन र हामीसित सम्पर्क गर्न खोज्छन्‌? तपाईँ बस्ने ठाउँमा प्रेतविद्यासित सम्बन्धित के-कस्ता चलन व्याप्त छन्‌?

  • के तपाईँको विचारमा परमेश्‍वरले हामीलाई प्रेतविद्यासित सम्बन्धित चलनहरूबाट अलग रहन दिनुभएको आज्ञा व्यावहारिक छ? किन?

भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के तपाईँको विचारमा पलेसाकी छोरीको हातमा बाँधिएको जन्तर हानिकारक थियो? किन?

  • पलेसाले प्रेतहरूबाट बच्न के गर्नुपर्थ्यो?

साँचो ख्रिष्टियनहरूले सधैँ प्रेतहरूको विरोध गरेका छन्‌। प्रेषित १९:१९ र १ कोरिन्थी १०:२१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • प्रेतविद्यासित सम्बन्धित चिजबिज तपाईँसित छन्‌ भने ती नष्ट गर्नु किन जरुरी छ?

६. सैतान र त्यसका प्रेतहरूमाथि विजयी हुनुहोस्‌

प्रेतहरूको शासक सैतान हो। तर वफादार स्वर्गदूतहरू भने प्रधान-स्वर्गदूत माइकल अर्थात्‌ येसुको निर्देशनअनुसार चल्छन्‌। माइकल कत्तिको शक्‍तिशाली हुनुहुन्छ? प्रकाश १२:७-९ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • माइकल र उहाँका स्वर्गदूतहरू शक्‍तिशाली हुनुहुन्छ कि सैतान र त्यसका प्रेतहरू?

  • के तपाईँलाई येसुका अनुयायीहरू सैतान र त्यसका प्रेतहरूसित डराउनुपर्छ जस्तो लाग्छ?

तपाईँ सैतान र त्यसका प्रेतहरूमाथि विजयी हुन सक्नुहुन्छ। याकुब ४:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँ कसरी सैतान र त्यसका प्रेतहरूबाट जोगिन सक्नुहुन्छ?

कोही-कोही भन्छन्‌: “प्रेतविद्यासित सम्बन्धित खेलहरू खेल्नु वा फिल्महरू हेर्नुमा कुनै खराबी छैन। यो त रमाइलोको लागि मात्र हो।”

  • यस्तो दृष्टिकोण राख्नु किन खतरनाक हो?

सारांश

वफादार स्वर्गदूतहरूले हामीलाई मदत गर्छन्‌। सैतान र त्यसका प्रेतहरू यहोवाका शत्रुहरू हुन्‌ अनि तिनीहरू मानिसहरूलाई बहकाउन प्रेतविद्या चलाउँछन्‌।

तपाईँले के सिक्नुभयो?

  • यहोवाका स्वर्गदूतहरूले मानिसहरूलाई उहाँबारे सिक्न कसरी मदत गरिरहेका छन्‌?

  • सैतान र त्यसका प्रेतहरू को हुन्‌?

  • तपाईँ किन प्रेतविद्याबाट अलग रहन चाहनुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

येसु नै प्रधान-स्वर्गदूत माइकल हुनुहुन्छ भन्‍ने कुराको थप प्रमाण केलाउनुहोस्‌।

“प्रधान-स्वर्गदूत माइकल को हुनुहुन्छ?” (jw.org को लेख)

दियाबल हाम्रो खराब सोचाइ वा खराब गुण मात्र होइन भन्‍ने कुराको थप प्रमाण जाँच्नुहोस्‌।

“के दियाबल साँच्चै छ?” (jw.org को लेख)

एक जना स्त्रीले प्रेतहरूबाट कसरी छुटकारा पाउन सकिन्‌, पढ्‌नुहोस्‌।

“तिनले जीवनको उद्देश्‍य बुझिन्‌” (प्रहरीधरहरा, जुलाई १, १९९३)

सैतानले प्रेतविद्या चलाएर मानिसहरूलाई कसरी बहकाउँछ, थाह पाउनुहोस्‌।

“जादुगरी, टुनामुना र बोक्सीविद्याबारे साँचो कुरा” (अनन्त जीवनतर्फ लैजाने बाटो, भाग ५)