सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

असल धर्मले परमेश्‍वरको वचनलाई आदर गर्न सिकाउँछ

असल धर्मले परमेश्‍वरको वचनलाई आदर गर्न सिकाउँछ

असल धर्मले परमेश्‍वरको वचनलाई आदर गर्न सिकाउँछ

येशूले परमेश्‍वरको वचन बाइबललाई आदर गर्न सिकाउनुभयो। यो कुरा, शैतानले प्रलोभनमा पार्न खोज्दा उहाँले त्यसलाई जवाफ दिनुभएको तरिकाबाट स्पष्ट देखिन्छ। (मत्ती ४:४-११) उदाहरणको लागि, शैतानले चुनौती दिंदै ढुंगालाई रोटी बनाउनुहोस्‌ भन्दा येशूले के गर्नुभयो? उहाँले मोशाका प्रेरित शब्दहरू उद्धृत गर्दै त्यस प्रलोभनलाई तिरस्कार गर्नुभयो। मोशाका ती प्रेरित शब्दहरू तपाईं व्यवस्था ८:३ मा पाउन सक्नुहुन्छ। अनि शैतानले उहाँलाई एक पटक मात्र दण्डवत्‌ गरेमा संसारको सबै राज्य अधिकार दिन्छु भन्दा, येशूले के भन्‍नुभयो? उहाँले व्यवस्था ६:१३ मा पाइने धर्मशास्त्रीय सिद्धान्त बताउँदै त्यसलाई ठाडै इन्कार गर्नुभयो।

एकछिन सोच्नुहोस्‌ त! येशू परमेश्‍वरको पुत्र हुनुभए तापनि उहाँको शिक्षा सधैं बाइबलमा आधारित थियो अनि उहाँले मानव परम्पराको पक्ष लिएर परमेश्‍वरको वचनलाई बेवास्ता गर्ने कहिल्यै गर्नुभएन। (यूहन्‍ना ७:१६-१८) तर त्यस समयका थुप्रै धर्मगुरुहरूले परमेश्‍वरको वचनलाई येशूले जस्तो आदर गरेनन्‌। किन? किनभने तिनीहरूले मानव परम्परालाई पवित्र धर्मशास्त्रभन्दा महत्त्वपूर्ण ठाने। येशूले ती धार्मगुरुहरूलाई स्पष्ट भन्‍नुभयो: “तिमीहरूले आफ्नो परम्पराको खातिर परमेश्‍वरको वचनलाई बेकम्मा गराएका छौ। पाखण्डी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले आफ्ना ओठले मेरो सम्मान गर्दछ, तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्‌, र मान्छेको शिक्षालाई धर्म-सिद्धान्तहरूझैं सिकाउँछन्‌।’ ”—मत्ती १५:६-९, नयाँ करारको टिप्पणी।

चर्चहरू र अन्य थुप्रै धर्महरूले बाइबलप्रति आदर देखाएको दाबी गर्छन्‌। तर, मानव परम्पराहरू परमेश्‍वरको वचनमा पाइने स्पष्ट शिक्षासित बाझिंदा कति वटा धर्मले यस्ता परम्परालाई त्यागेका छन्‌? दुइटा उदाहरण विचार गर्नुहोस्‌।

विषय: धर्ममा मान-पदवीहरू।

बाइबलले के सिकाउँछ: आफ्नो समयका धर्मगुरुहरूले मान-पदवी खोजेको देखेर येशूले तिनीहरूको आलोचना गर्नुभयो। उहाँले भन्‍नुभयो, यी मानिसहरू “भोजहरूमा मुख्य स्थान र सभाघरहरूमा मुख्य मुख्य आसनहरू चाहन्छन्‌ र बजारहरूमा सलाम खोज्छन्‌ र मानिसहरूबाट गुरु कहलाइन रुचाउँछन्‌।” त्यसपछि चेलाहरूलाई भन्‍नुभयो: “तर तिमीहरूलाई कसैले गुरु नभनोस्‌ किनकि तिमीहरूका गुरु एउटै छन्‌, र तिमीहरू चाहिं सबै दाज्यू-भाइ हौ। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि तिमीहरूका पिता एउटै स्वर्गमा हुनुहुन्छ।”—मत्ती २३:१-१०.

प्रश्‍न: के यस धर्मका गुरुहरू उच्च मान-पदवी र समुदायमा उच्च स्थान खोज्छन्‌ वा यस्तो कुरा नखोज्नू भन्‍ने येशूको आज्ञा पालन गर्छन्‌?

विषय: उपासनमा मूर्तिहरूको प्रयोग।

बाइबलले के सिकाउँछ: “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू।”—प्रस्थान २०:४, ५.

प्रेरित यूहन्‍नाले ख्रीष्टियानहरूलाई यस्तो लेखे: “मूर्तिहरूबाट अलग बस।”—१ यूहन्‍ना ५:२१, नेपाली पवित्र बाइबलको नयाँ करार।

प्रश्‍न: के यस धर्मले परमेश्‍वरको उपासनामा मूर्तिहरूको प्रयोग नगर्नू भन्‍ने बाइबलको स्पष्ट आज्ञा पालन गर्छ?

तपाईं सही मार्ग पत्ता लगाउन सक्नुहुन्छ

आज थुप्रै धार्मिक मार्ग छन्‌ जसले गर्दा मानिसहरू अलमलमा पर्छन्‌। तैपनि तपाईं जीवनमा पुऱ्‍याउने एउटा मार्ग भेट्टाउन सक्नुहुन्छ। ‘परमेश्‍वरको अगाडि पवित्र र शुद्ध धर्म’ चिनाउने थुप्रै चिनारी छन्‌। (याकूब १:२७, NRV ) यी लेखहरूमा छलफल गरिएका बाइबल पदहरूले तपाईंलाई साँचो धर्म भेट्टाउन मदत गर्ने चिनारीको काम गर्न सक्छ।

यी लेखहरूमा उठाइएका प्रश्‍नहरूको जवाफ यहोवाका साक्षीहरूलाई सोधे कसो होला? तिनीहरूको जवाफ जाँच्नुहुँदा प्रथम शताब्दीको बिरिया सहरका मानिसहरूको असल उदाहरण पछ्याउनुहोस्‌। प्रेरित पावलको कुरा सुनेपछि तिनीहरूले “ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर . . . धर्मशास्त्रमा खोजी गर्थे।” (प्रेरित १७:११, पवित्र बाइबल, संशोधित संस्करण) यदि तपाईंले पनि बिरियावासीले जस्तै परमेश्‍वरको वचनलाई आदर र लगनशील भई अध्ययन गर्नुभयो भने जीवनको मार्ग भेट्टाउनुहुनेछ। त्यसपछि त्यो मार्गमा हिंड्‌ने/नहिंड्‌ने तपाईंको छनौट हो।

w 09 8/1)

[पृष्ठ ८-मा भएको चित्र]

कुन धर्मले मानिसहरूलाई आफूले सिकिरहेको कुरा साँचो हो कि होइन धर्मशास्त्र अध्ययन गरेर जाँच्न प्रोत्साहन दिन्छ?