सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरको विश्राम” के हो?

“परमेश्‍वरको विश्राम” के हो?

“परमेश्‍वरको विश्राम” के हो?

“परमेश्‍वरका जनहरूका लागि विश्राम-दिनको आराम बाँकी नै छ।”—हिब्रू ४:९.

१, २. उत्पत्ति २:१-३ पढेर हामी सातौं दिनबारे कस्तो निष्कर्षमा पुग्न सक्छौं? यसबारे कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

 परमेश्‍वरले प्रतीकात्मक छ दिनमा पृथ्वीलाई मानिसजाति बस्न योग्यको बनाउनुभयो भनेर उत्पत्तिको पहिलो अध्यायले बताउँछ। यी प्रत्येक दिन समाप्त भएको कुरा बुझाउन बाइबलमा यसो भनिएको छ: “साँझ पऱ्‍यो र बिहान भयो।” (उत्प. १:५, ८, १३, १९, २३, ३१) तर उत्पत्ति २:१-३ मा सातौं दिनबारे भने यस्तो लेखिएको पाउँदैनौं।

त्यसकारण ती शब्दहरू लेखिएको बेला अर्थात्‌ ईसापूर्व १५१३ सम्म पनि सातौं दिन अर्थात्‌ परमेश्‍वरको विश्राम “दिन” चलिरहेको थियो भन्‍ने कुरा बुझ्न सक्छौं। के परमेश्‍वरको विश्राम दिन अहिले पनि चलिरहेको छ? त्यसो हो भने के आज हामी परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्छौं? हामीले यी प्रश्‍नहरूको जवाफ थाह पाउनु महत्त्वपूर्ण छ।

के यहोवा अहिले पनि “विश्राम” गर्दै हुनुहुन्छ?

३. येशू ख्रीष्टको समयसम्म पनि सातौं दिन चलिरहेको थियो भनेर यूहन्‍ना ५:१६, १७ मा लिपिबद्ध उहाँका शब्दहरूबाट कसरी देखिन्छ?

येशू ख्रीष्ट अनि प्रथम शताब्दीका ख्रीष्टियनहरूको समयसम्म पनि सातौं दिन चलिरहेको थियो। यसो भन्‍न सक्ने दुई वटा कारण छन्‌। येशू ख्रीष्टले आफ्ना शत्रुहरूलाई भन्‍नुभएको कुराबाट हामी त्यसको पहिलो कारण बुझ्न सक्छौं। उहाँले विश्राम-दिनमा बिरामीलाई निको पार्नुभएको थियो। मोशाको व्यवस्थामा विश्राम-दिनमा काम गर्न मनाही गरिएकोले उहाँले त्यो दिनमा बिरामी निको पार्नु गलत हो भनेर उहाँका शत्रुहरूले सोचे र उहाँसित रिसाए। त्यसैले येशूले तिनीहरूलाई यसो भन्‍नुभयो: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दैछु।” (यूह. ५:१६, १७) उहाँले के भन्‍न खोज्दै हुनुहुन्थ्यो? उहाँ यसो भन्‍न खोज्दै हुनुहुन्थ्यो: ‘म र मेरो बुबा एकै किसिमको काम गर्दैछौं। मेरो बुबाले हजारौं वर्ष लामो विश्राम-दिनमा पनि काम गरिरहनुभएको छ। त्यसैले म पनि विश्राम-दिनमा काम गर्छु।’ येशूका शब्दहरूबाट देखिन्छ, यहोवाले सातौं दिनमा सृष्टिको कामबाट लिनुभएको विश्राम येशूको समयसम्म पनि सिद्धिएको थिएन। तैपनि मानवजाति र पृथ्वीको लागि आफ्नो उद्देश्‍य पूरा गर्न परमेश्‍वरले काम गरिरहनुभएको थियो।  a

४. प्रथम शताब्दीका ख्रीष्टियनहरूको समयसम्म पनि सातौं दिन चलिरहेको थियो भनेर प्रेषित पावलका शब्दहरूबाट कसरी थाह पाउन सक्छौं?

येशू ख्रीष्ट अनि प्रथम शताब्दीका ख्रीष्टियनहरूको समयसम्म पनि सातौं दिन चलिरहेको थियो भन्‍न सक्ने दोस्रो कारण पनि छ। प्रेषित पावलले हिब्रूहरूलाई लेखेको पत्रमा परमेश्‍वरको विश्राम-दिनबारे उल्लेख गरे। त्यस पत्रको अध्याय ४ मा तिनले उत्पत्ति २:२ उद्धरण गर्नअघि यस्तो लेखे: “हामी जसले विश्‍वास गरेका छौं, हामी विश्राममा प्रवेश गर्छौं।” (हिब्रू ४:३, ४, ६, ९) यसबाट बुझ्न सक्छौं कि पावलको समयसम्म पनि सातौं दिन चलिरहेको थियो। त्यसो भए सातौं दिन कहिले अन्त हुन्छ त?

५. सातौं दिनको उद्देश्‍य के हो? त्यो उद्देश्‍य कहिले पूरा हुनेछ?

यसको जवाफ पाउन हामीले सातौं दिनको उद्देश्‍यबारे थाह पाउनै पर्छ। उत्पत्ति २:३ मा यस्तो लेखिएको छ: “परमेश्‍वरले सातौं दिनलाई आशिष्‌ दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो।” त्यो दिनलाई यहोवाले “पवित्र तुल्याउनुभयो” किनभने उहाँले त्यो दिनलाई आफ्नो उद्देश्‍य पूरा गर्ने दिनको रूपमा छान्‍नुभयो। उहाँको उद्देश्‍य भनेको आज्ञाकारी पुरुष तथा स्त्रीले यो पृथ्वी र त्यसमा भएका सबै जीवित प्राणीहरूको हेरविचार गरून्‌ भन्‍ने थियो। (उत्प. १:२८) पृथ्वीमा परमेश्‍वरको त्यो उद्देश्‍य पूरा होस्‌ भनेर नै यहोवा परमेश्‍वर र “विश्राम-दिनको प्रभु” येशू ख्रीष्टले “अहिलेसम्म काम” गरिरहनुभएको छ। (मत्ती १२:८) त्यसैले परमेश्‍वरको उद्देश्‍य पूरा नभएसम्म उहाँको विश्राम-दिन चलिरहनेछ। अनि परमेश्‍वरको त्यो उद्देश्‍य ख्रीष्टको हजार वर्षीय राज्यको अन्तमा मात्र पूरा हुनेछ।

‘अनाज्ञाकारिताको नमुना’ नपछ्याउनुहोस्‌

६. कस्ता उदाहरणहरूलाई हामी चेतावनीको रूपमा लिन सक्छौं? अनि ती उदाहरणहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

परमेश्‍वरले आदम र हव्वालाई आफ्नो उद्देश्‍य स्पष्ट रूपमा बताउनुभएको थियो। तर उनीहरूले उहाँको उद्देश्‍यविपरीत काम गरे। आदम र हव्वाले मात्र होइन उनीहरूका थुप्रै सन्ततिले पनि उहाँको उद्देश्‍यविपरीत काम गरे। परमेश्‍वरले इस्राएलीहरूलाई आफ्नो विशेष जातिको रूपमा छान्‍नुभएको थियो, तैपनि तिनीहरूले बारम्बार उहाँको आज्ञा उल्लङ्‌घन गरे। पावलले आफ्नो समयका केही ख्रीष्टियनहरू पनि इस्राएलीहरूजस्तै अनाज्ञाकारी हुन सक्ने सम्भावना देखे। त्यसैले तिनले यस्तो चेतावनी दिए: “त्यो विश्राममा प्रवेश गर्न हामी यथासक्दो गरौं, नत्र त कोही-कोहीले अनाज्ञाकारिताको त्यही नमुना पछ्याउलान्‌।” (हिब्रू ४:११) याद गर्नुहोस्‌, पावलले अनाज्ञाकारी मानिसहरू परमेश्‍वरको विश्राम-दिनमा प्रवेश गर्न सक्दैनन्‌ भन्‍न खोज्दै थिए। के यसको मतलब, हामीले परमेश्‍वरको उद्देश्‍यविपरीत काम गऱ्‍यौं भने उहाँको विश्राम-दिनमा प्रवेश गर्न सक्दैनौं भनेको हो? हामीले यसको जवाफ पाउनु एकदमै महत्त्वपूर्ण छ। हामी यस विषयमा थप चर्चा गर्नेछौं। तर सुरुमा इस्राएलीहरूले बसालेको खराब उदाहरणबारे र तिनीहरू किन परमेश्‍वरको विश्राम-दिनमा प्रवेश गर्न सकेनन्‌, त्यसबारे छलफल गरौं।

‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌’

७. यहोवाले इस्राएलीहरूलाई मिश्रबाट छुटाउनुको उद्देश्‍य के थियो? इस्राएलीहरूले के गर्नुपर्थ्यो?

आफूले इस्राएलीहरूको लागि राखेको उद्देश्‍यबारे यहोवाले ईसापूर्व १५१३ मा आफ्नो सेवक मोशालाई बताउनुभयो। उहाँले यसो भन्‍नुभयो: “तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट [मिश्रबाट] एक असल र ठूलो देश, अर्थात्‌ दूध र मह बहने, . . . देशमा ल्याउनलाई म ओर्लिएको छु।” (प्रस्थ. ३:८) अब्राहामसित प्रतिज्ञा गरेझैं इस्राएलीहरूलाई आफ्नो विशेष जाति बनाउन यहोवाले तिनीहरूलाई मिश्रबाट छुटाउनुभयो। (उत्प. २२:१७) परमेश्‍वरले इस्राएलीहरूलाई थुप्रै नियम दिनुभएको थियो। ती नियमहरूले तिनीहरूलाई उहाँसित राम्रो सम्बन्ध गाँस्न अनि उहाँको मित्र बन्‍न मदत गर्थ्यो। (यशै. ४८:१७, १८) उहाँले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चै नै सुन्यौ र मेरो करार पालन गऱ्‍यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो।” (प्रस्थ. १९:५, ६) त्यसकारण परमेश्‍वरको आज्ञा पालन गरेमा मात्र इस्राएलीहरू परमेश्‍वरको विशेष जाति हुनसक्थे।

८. परमेश्‍वरको आज्ञा पालन गरेमा इस्राएलीहरूले कस्तो सुअवसर पाउने थिए?

सोच्नुहोस्‌ त, इस्राएलीहरूसित कत्ति ठूलो सुअवसर थियो! यहोवाको आज्ञा पालन गरेमा तिनीहरूको जग्गा-जमिन, दाखबारी अनि वस्तुभाउमाथि उहाँले आशिष्‌ वर्षाउनुहुने थियो। उहाँले तिनीहरूलाई शत्रुहरूबाट जोगाउने प्रतिज्ञा पनि गर्नुभएको थियो। ( १ राजा १०:२३-२७ पढ्‌नुहोस्‌) तिनीहरू अरू राष्ट्रको अधीनमा बस्नुपर्ने थिएन। येशूको समयमा थुप्रै राष्ट्रहरू रोमी शासनको अधीनमा थिए। यस्तो बेलासमेत तिनीहरू स्वतन्त्र राष्ट्रको रूपमा रहनेथिए। इस्राएल अरू राष्ट्रहरूका लागि असल उदाहरण होस्‌ भन्‍ने परमेश्‍वर चाहनुहुन्थ्यो। परमेश्‍वरको आज्ञा पालन गर्नेहरूले आशिष्‌ पाउँछन्‌ भनेर सबैले छर्लङ्‌गै बुझून्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो।

९, १०. (क) इस्राएलीहरूले मिश्र फर्कने चाहना व्यक्‍त गर्नु किन गलत थियो? (ख) मिश्र फर्केका भए के तिनीहरूले यहोवालाई मनपर्ने तरिकामा उहाँको उपासना गर्न सक्थे?

यहोवाले इस्राएलीहरूमार्फत आफ्नो उद्देश्‍य पूरा गर्नुहुने थियो। तिनीहरूको लागि कत्ति राम्रो मौका! तिनीहरूले यहोवाको आशिष्‌ पाउने थिए। साथै सम्पूर्ण मानिसजातिले पनि तिनीहरूमार्फत आशिष्‌ पाउने थिए। (उत्प. २२:१८) तर तिनीहरूमध्ये अधिकांशले परमेश्‍वरको राष्ट्र हुने र अरू राष्ट्रहरूका लागि असल उदाहरण बन्‍ने सुअवसरलाई केही मोलको गनेनन्‌। तिनीहरूले ‘मिश्र फर्कन चाहन्छौं’ समेत भने! ( गन्ती १४:२-४ पढ्‌नुहोस्‌) मिश्र फर्केका भए तिनीहरूले यहोवालाई मनपर्ने तरिकामा उहाँको उपासना गर्न सक्दैनथे र अरू राष्ट्रहरूका लागि असल उदाहरण बसाल्न सक्दैनथे। तिनीहरू मिश्र फर्केर फेरि दास बनेको भए परमेश्‍वरको व्यवस्था पालन गर्न अनि पापको क्षमा पाउन सक्दैनथे। आफ्नैबारे मात्र सोचिरहेको कारण तिनीहरूले मिश्र फर्कने चाहना व्यक्‍त गरेका थिए। तिनीहरूले परमेश्‍वर र उहाँको उद्देश्‍यलाई वास्तै गरेका थिएनन्‌। त्यसैले त यहोवाले तिनीहरूबारे यसो भन्‍नुभयो: “यस पुस्तासित म रुष्ट भएँ र भनें, ‘तिनीहरूको मन सधैं मदेखि टाढा छ, अनि तिनीहरूले मेरो मार्ग चिनेका छैनन्‌।’ त्यसैले मैले रिसाएर यस्तो कसम खाएँ, ‘तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्‌।’ ”—हिब्रू ३:१०, ११; भज. ९५:१०, ११.

१० मिश्र फर्कने चाहना व्यक्‍त गरेर तिनीहरूले यहोवाबाट पाएको आशिष्‌को मोल नगरेको देखाए। ती अनाज्ञाकारी इस्राएलीहरूले मिश्रका असल-असल खानेकुरा भुल्न सकेनन्‌। (गन्ती ११:५) एक छाक भोजनसित आफ्नो ज्येष्ठ-अधिकार साट्‌ने एसावले जस्तै तिनीहरूले पनि पवित्र कुराहरूको कदर गरेनन्‌।—उत्प. २५:३०-३२; हिब्रू १२:१६.

११. मिश्र देश छोड्‌ने इस्राएलीहरूले यहोवामा विश्‍वास नदेखाए तापनि के उहाँले आफ्नो उद्देश्‍य बदल्नुभयो?

११ मिश्र देश छोड्‌ने इस्राएलीहरूले यहोवामा विश्‍वास नदेखाए तापनि उहाँले आफ्नो उद्देश्‍य बदल्नुभएन। तिनीहरूका सन्तान तिनीहरूभन्दा आज्ञाकारी थिए। उनीहरूले यहोवाको आज्ञा पालन गर्दै प्रतिज्ञा गरिएको देशमाथि अधिकार गरे। यहोशू २४:३१ मा यस्तो लेखिएको छ: “यहोशूका जीवनभरि र यहोशू मरेपछि बाँचेका र परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कार्यका विषय थाहा पाएका वृद्ध जनहरू रहुञ्जेल इस्राएलीहरूले परमप्रभुकै सेवा गरे।”

१२. आजका ख्रीष्टियनहरू पनि परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्छन्‌ भनेर हामी कसरी थाह पाउँछौं?

१२ तर ती आज्ञाकारी इस्राएलीहरू बूढाबूढी भए र मरे। उनीहरू पछिको पुस्ताले “परमप्रभुलाई चिन्दैनथियो” र “उहाँले इस्राएलको निम्ति गर्नुभएको कामलाई पनि जान्दैनथियो।” त्यसैले त्यो पुस्ताले “परमप्रभुको दृष्टिमा खराब” काम गर्न थाल्यो र झूटा देवताहरूको पूजा गर्न थाल्यो। (न्याय. २:१०, ११) अनाज्ञाकारी भएकोले तिनीहरूले परमेश्‍वरसित राम्रो सम्बन्ध कायम राख्न सकेनन्‌। त्यसैले प्रतिज्ञा गरिएको देश तिनीहरूको लागि “विश्राम गर्ने ठाउँ” साबित हुन सकेन। पावलले यी इस्राएलीहरूबारे यस्तो लेखे: “यदि यहोशूले तिनीहरूलाई विश्राम गर्ने ठाउँमा पुऱ्‍याइसकेका भए परमेश्‍वरले अर्को दिनको विषयमा फेरि भन्‍नुहुनेथिएन।” तिनले यस्तो पनि लेखे: “परमेश्‍वरका जनहरूका लागि विश्राम-दिनको आराम बाँकी नै छ।” (हिब्रू ४:८, ९) “परमेश्‍वरका जनहरू” भनेर पावलले ख्रीष्टियनहरूलाई सङ्‌केत गर्न खोजिरहेका थिए। यसको मतलब के ख्रीष्टियनहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्छन्‌ भनेको हो? हो, चाहे यहूदी पृष्ठभूमिका होऊन्‌ वा गैर-यहूदी पृष्ठभूमिका, सबै ख्रीष्टियनहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्न सक्छन्‌।

केही ख्रीष्टियनहरू परमेश्‍वरको विश्राममा प्रवेश गर्न सकेनन्‌

१३, १४. (क) मोशाको समयमा इस्राएलीहरूले परमेश्‍वरको विश्राममा प्रवेश गर्न के गर्नुपर्थ्यो? (ख) पावलको समयमा इस्राएलीहरूले परमेश्‍वरको विश्राममा प्रवेश गर्न के गर्नुपर्थ्यो?

१३ कोही-कोही हिब्रू ख्रीष्टियनहरू परमेश्‍वरको उद्देश्‍यविपरीत चलिरहेको हुनाले पावलले उनीहरूलाई पत्र लेख्नुपऱ्‍यो। ( हिब्रू ४:१ पढ्‌नुहोस्‌) उनीहरूले के गरिरहेका थिए? उनीहरूले अझै पनि मोशाको व्यवस्थाका केही नियमहरू पालन गरिरहेका थिए। यो कुरा साँचो हो कि लगभग १,५०० वर्षसम्म परमेश्‍वरका जनहरूले उहाँलाई खुसी पार्न मोशाको व्यवस्था पालन गर्नुपर्थ्यो। तर येशूको मृत्युपछि भने उनीहरूले त्यो व्यवस्था पालन गर्नु आवश्‍यक थिएन। किनकि येशूको मृत्युले त्यो व्यवस्था खारेज गरिसकेको थियो। तर केही ख्रीष्टियनहरूले त्यो कुरा बुझेनन्‌ अनि व्यवस्थाका केही नियमहरू पालन गरिनै रहे।  b

१४ येशू ख्रीष्ट मानव प्रधान पुजारीभन्दा कता हो कता उत्तम हुनुहुन्छ भनेर पावलले हिब्रूहरूलाई बताए। इस्राएलीहरूसित बाँधिएको करारभन्दा नयाँ करार उत्तम छ अनि “हातले बनाइएको” मन्दिरभन्दा यहोवाको महान्‌ मन्दिर “अझ ठूलो र पूर्ण” छ भनेर पनि तिनले बताए। (हिब्रू ७:२६-२८; ८:७-१०; ९:११, १२) परमेश्‍वरको विश्राम-दिनमा कसरी प्रवेश गर्न सकिन्छ भनेर बुझाउन पावलले मोशाको व्यवस्थामा उल्लेख गरिएको विश्राम-दिनबारे कुरा गरे। तिनले लेखे: “परमेश्‍वरका जनहरूका लागि विश्राम-दिनको आराम बाँकी नै छ। किनकि परमेश्‍वरको विश्राममा प्रवेश गरेको मानिसले आफ्ना कामहरूबाट विश्राम लिएको हुन्छ, जसरी परमेश्‍वरले पनि आफ्ना कामहरूबाट विश्राम लिनुभयो।” (हिब्रू ४:८-१०) मोशाको व्यवस्थाअनुसार चल्दैमा परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ भन्‍ने सोच हिब्रू ख्रीष्टियनहरूले हटाउनुपर्थ्यो। इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि यहोवाले येशू ख्रीष्टमा विश्‍वास गर्नेहरूलाई मात्र इनामस्वरूप आफ्नो अनुमोदन दिंदै आउनुभएको छ र उहाँले यस्तो इनाम उदार भएर दिनुहुन्छ।

१५. परमेश्‍वरको विश्राममा प्रवेश गर्न आज्ञाकारिता नभई हुँदैन, किन?

१५ मोशाको समयमा इस्राएलीहरू किन प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न पाएनन्‌? किनभने तिनीहरूले यहोवाको आज्ञा पालन गरेका थिएनन्‌। पावलको समयमा केही ख्रीष्टियनहरूले किन परमेश्‍वरको विश्राममा प्रवेश गर्न पाएनन्‌? हो, उनीहरूले पनि यहोवाको आज्ञा पालन गरेका थिएनन्‌। उनीहरूले मोशाको व्यवस्था पालन गर्न छोडेको र बेग्लै तरिकामा उपासना गरेको यहोवा चाहनुहुन्थ्यो। तर उनीहरूले यो कुरा बुझ्न सकेनन्‌।

आज परमेश्‍वरको विश्राममा प्रवेश गर्ने तरिका

१६, १७. (क) आज परमेश्‍वरको विश्राममा प्रवेश गर्नुको अर्थ के हो? (ख) अर्को लेखमा के छलफल गर्नेछौं?

१६ मुक्‍ति पाउन ख्रीष्टियनहरूले मोशाको व्यवस्था पालन गर्नुपर्छ भनेर अहिले हामीमध्ये कसैले पनि विश्‍वास गर्दैनौं। पावलले एफिसीहरूलाई लेखेको कुरा एकदमै स्पष्ट छ: “हो, यही असीम अनुग्रहले गर्दा विश्‍वासद्वारा तिमीहरूको उद्धार भएको छ; अनि यो तिमीहरूको प्रयासले गर्दा भएको होइन, यो त परमेश्‍वरको वरदान हो। अहँ, यस्तो उद्धार तिमीहरूको कामले गर्दा भएको पनि होइन, नत्र त मानिसले घमन्ड गर्ने कारण पाउनेछ।” (एफि. २:८, ९) त्यसो भए आज ख्रीष्टियनहरू परमेश्‍वरको विश्राममा कसरी प्रवेश गर्न सक्छन्‌ त? याद गर्नुहोस्‌, यहोवाले यो पृथ्वी अनि आज्ञाकारी मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा गर्न सातौं दिन छान्‍नुभएको थियो। यहोवाले आफ्नो उद्देश्‍य र हामीबाट चाहनुहुने कुरा बताउन आफ्नो सङ्‌गठन चलाउनुहुन्छ। यहोवाको आज्ञा पालन गऱ्‍यौं र उहाँको सङ्‌गठनसित काँधमा काँध मिलाएर उहाँको उद्देश्‍यअनुरूप हिंड्यौं भने मात्र हामी यहोवाको विश्राममा प्रवेश गर्न सक्छौं।

१७ आफूलाई ठीक लागेको कुराहरू मात्र गर्न खोज्छौं वा विश्‍वासी र बुद्धिमान्‌ दासको आज्ञा पालन गर्दैनौं भने हामीले यहोवाको उद्देश्‍यविपरीतको काम गरिरहेका हुन्छौं। अनि उहाँको उद्देश्‍यविपरीतको काम गर्छौं भने हामी उहाँको मित्र बन्‍न सक्दैनौं। कस्ता परिस्थितिहरूमा हामी आफ्नो आज्ञाकारिता देखाउने मौका पाउँछौं, त्यसबारे अर्को लेखमा छलफल गर्नेछौं। त्यस्ता परिस्थितिहरूमा गर्ने निर्णयले नै हामी परमेश्‍वरको विश्राममा प्रवेश गरेका छौं कि छैनौं भनेर देखाउँछ।

[फुटनोट]

a विश्राम-दिनमा पुजारी तथा लेवीहरूले मन्दिरको काम गर्नु मोशाको व्यवस्थाको विपरीत थिएन। परमेश्‍वरले येशूलाई हाम्रो प्रधान पुजारी नियुक्‍त गर्नुभएको छ। त्यसैले येशूले परमेश्‍वरबाट पाएको काम विश्राम-दिनमा गर्नु कुनै गलत कुरा थिएन।—मत्ती १२:५, ६.

b इस्वी संवत्‌ ३३ पेन्तिकोसपछि पनि हिब्रू ख्रीष्टियनहरूले प्रायश्‍चितको दिनमा बलि चढाउँथे कि चढाउँदैनथे, त्यो हामीलाई थाह छैन। यदि उनीहरूले त्यसो गरिरहेका थिए भने येशू ख्रीष्टको बलिदानलाई अनादर देखाइरहेका हुन्थे। जेहोस्‌, केही हिब्रू ख्रीष्टियनहरूले अझै पनि व्यवस्थाका रीतिथितिहरू अपनाइरहेका थिए भनेर चाहिं हामी भन्‍न सक्छौं।—गला. ४:९-११.

मननका लागि प्रश्‍नहरू

• परमेश्‍वरले सातौं दिनमा विश्राम लिनुको उद्देश्‍य के थियो?

• परमेश्‍वरको सातौं दिन अहिले पनि चलिरहेको छ भनेर हामी कसरी थाह पाउन सक्छौं?

• मोशाको दिनमा इस्राएलीहरूलाई अनि प्रथम शताब्दीमा केही ख्रीष्टियनहरूलाई परमेश्‍वरको विश्राममा प्रवेश गर्न कुन कुराले रोक्यो?

• आज परमेश्‍वरको विश्राममा प्रवेश गर्नुको अर्थ के हो?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको ठूलो अक्षरको क्याप्सन]

यहोवाको आज्ञा पालन गऱ्‍यौं र उहाँको सङ्‌गठनसित काँधमा काँध मिलाएर उहाँको उद्देश्‍यअनुरूप हिंड्यौं भने मात्र हामी यहोवाको विश्राममा प्रवेश गर्न सक्छौं

[पृष्ठ २६-मा भएको चित्र]

परमेश्‍वरको विश्राममा प्रवेश गर्ने हो भने उहाँका जनहरूले सधैं के गर्नु आवश्‍यक छ?