यहोसु २४:१-३३

  • यहोसु इस्राएलीहरूको इतिहास दोहोऱ्‍याउँछन्‌ (१-१३)

  • यहोवाको सेवा गर्न आग्रह (१४-२४)

    • “म र मेरो परिवारले भने यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ” (१५)

  • यहोसु इस्राएलीहरूसित करार गर्छन्‌ (२५-२८)

  • यहोसुको मृत्यु हुन्छ र तिनलाई गाडिन्छ (२९-३१)

  • युसुफका हड्डीहरू सकेममा गाडिन्छ (३२)

  • एलियाजारको मृत्यु हुन्छ र तिनलाई गाडिन्छ (३३)

२४  त्यसपछि यहोसुले इस्राएलका सबै कुललाई सकेममा भेला गराए अनि इस्राएलका नाइकेहरू, मुखियाहरू, न्यायकर्ताहरू र अफिसरहरूलाई+ बोलाए अनि तिनीहरू साँचो परमेश्‍वरसामु हाजिर भए। २  तब यहोसुले त्यहाँ भेला भएका सबैलाई भने: “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘धेरै वर्षअघि अब्राहामका र नाहोरका बुबा तेरहलगायत तिमीहरूका अरू पुर्खाहरू+ युफ्रेटिस नदीपारि बस्थे+ अनि तिनीहरू अर्कै देवताहरूलाई पुज्थे।+ ३  “‘पछि मैले तिमीहरूका पुर्खा अब्राहामलाई युफ्रेटिस नदीपारिबाट ल्याएँ+ र तिनलाई कनान देशको पूरै यात्रा गराएँ अनि तिनका सन्तान धेरै बढाइदिएँ।+ मेरो आशिष्‌ले तिनको छोरा इसहाक + जन्मियो ४  अनि इसहाकका दुई जना छोरा याकुब र एसाव भए।+ मैले एसावलाई सम्पत्तिको रूपमा सेइर डाँडा दिएँ;+ याकुब र उनका छोराहरूचाहिँ मिश्र देशतिर लागे।+ ५  पछि मैले तिमीहरूका पुर्खालाई बचाउन मोसा र हारुनलाई पठाएँ+ अनि मैले मिश्रीहरूमाथि एकपछि अर्को विपत्ति ल्याएँ+ र तिमीहरूका पुर्खालाई त्यहाँबाट छुटाएँ। ६  मैले तिमीहरूका पुर्खालाई मिश्रबाट छुटाएर+ लाल समुद्रसम्म ल्याएँ तर मिश्रीहरू आफ्ना रथ अनि घोडचढी लिएर तिनीहरूलाई खेद्‌दै त्यहीँ आइपुगे।+ ७  यो देखेपछि तिमीहरूका पुर्खाले यहोवालाई पुकार्न थाले।+ त्यसैले मैले तिमीहरूका पुर्खालाई बचाउन तिनीहरू र मिश्रीहरूबीच कालो बादल राखिदिएँ। त्यसपछि समुद्र उर्लेर आयो र सबै मिश्री डुबेर मरे।+ मिश्रमा छँदा मैले के-के गरेँ, त्यो तिमीहरूका पुर्खाले आफ्नै आँखाले देखे।+ त्यहाँबाट निस्केपछि तिमीहरूले निर्जनभूमिमा धेरै वर्ष* बितायौ।+ ८  “‘मैले तिमीहरूलाई एमोरीहरूको देशमा ल्याएँ, जो यर्दनपारि* बसोबास गर्थे अनि एमोरीहरूले तिमीहरूसित लडाइँ गरे।+ तर तिमीहरूले एमोरीहरूको इलाका कब्जा गर्न सक भनेर मैले एमोरीहरूलाई तिमीहरूको हातमा सुम्पिदिएँ। मैले ती एमोरीहरूलाई तिमीहरूकै सामने नाश गरिदिएँ।+ ९  त्यसपछि जिप्पोरका छोरा अर्थात्‌ मोआबका राजा बालाक तिमीहरूसित लडाइँ गर्न आए। बालाकले तिमीहरूलाई सराप्न बेअरका छोरा बालामलाई बोलाए।+ १०  तर मैले बालामको कुरा सुनिनँ।+ बरु तिनले उल्टै तिमीहरूलाई धेरै चोटि आशिष्‌ दिए+ अनि मैले तिमीहरूलाई तिनको हातबाट बचाएँ।+ ११  “‘त्यसपछि तिमीहरू यर्दन+ तरेर यरिहोमा+ आइपुग्यौ। अनि यरिहोका अगुवाहरू,* एमोरी, परिज्जी, कनानी, हित्ती, गिर्गासी, हिव्वी र यबुसीहरू तिमीहरूसित लडाइँ गर्न आए। तर मैले तिनीहरू सबैलाई तिमीहरूको हातमा सुम्पिदिएँ।+ १२  तिमीहरू ती जातिहरू बसोबास गरिरहेको इलाकामा पुग्नुभन्दा पहिल्यै मैले त्यहाँका मानिसहरूलाई हतोत्साहित तुल्याइदिएँ।* अनि त्यही डरले गर्दा जसरी एमोरीहरूका दुई जना राजा भागेका थिए, त्यसरी नै ती मानिसहरू पनि भागे।+ तिमीहरूले आफ्नो तरबार र धनुले तिनीहरूलाई जितेका होइनौ।+ १३  मैले तिमीहरूलाई यस्तो देश दिएँ, जसको निम्ति तिमीहरूले मेहनतै गर्नुपरेन अनि यस्ता सहरहरू दिएँ, जसलाई तिमीहरूले बसाल्नै परेन।+ तिमीहरू यहाँ आयौ र बसोबास गर्न थाल्यौ। अनि तिमीहरू आफूले नरोपेको अङ्‌गुर र जैतुनको बगानको फल खाँदै छौ।’+ १४  “त्यसैले यहोवा परमेश्‍वरको भय मान अनि सत्यनिष्ठ* र वफादार भई उहाँको सेवा गर।+ तिमीहरूका पुर्खाले युफ्रेटिस नदीपारि अनि मिश्रमा छँदा पुजेका देवताहरू हटाएर+ यहोवा परमेश्‍वरको उपासना गर। १५  तर तिमीहरू यहोवा परमेश्‍वरको उपासना गर्न चाहँदैनौ भने कसको उपासना गर्न चाहन्छौ, आजै रोज:+ तिमीहरूका पुर्खाले युफ्रेटिस नदीपारि पुजेका देवताहरूको+ कि अहिले तिमीहरू बसोबास गरिरहेको एमोरीहरूको इलाकाका देवताहरूको?+ तर म र मेरो परिवारले भने यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ।” १६  यो सुनेपछि मानिसहरूले भने: “यहोवा परमेश्‍वरलाई छोडेर अरू देवताहरूलाई पुज्ने कुरा हामी सोच्न समेत सक्दैनौँ। १७  यहोवा हाम्रा परमेश्‍वरले नै हामी र हाम्रा पुर्खालाई दासत्वको घर+—मिश्रबाट छुटाएर ल्याउनुभयो+ अनि उहाँले हाम्रै आँखाअगाडि ठूलठूला चमत्कारहरू गरेर देखाउनुभयो+ अनि पूरै यात्राभरि उहाँले हामीलाई डोऱ्‍याउनुभयो र हामी जुन-जुन जातिहरूको इलाका भएर हिँड्‌यौँ, त्यहाँ तिनीहरूको हातबाट जोगाउनुभयो।+ १८  यहाँ हामीभन्दा अघि बसोबास गर्ने एमोरी र अरू जातिहरू सबैलाई यहोवा परमेश्‍वरले धपाउनुभयो। त्यसैले हामी पनि यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ किनभने उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ।” १९  तब यहोसुले मानिसहरूलाई भने: “के तिमीहरू साँच्चै यहोवा परमेश्‍वरको मात्र उपासना गरिरहन सक्छौ? उहाँ पवित्र परमेश्‍वर हुनुहुन्छ;+ उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको उहाँ सहनुहुन्‍न।+ उहाँले तिमीहरूका अपराध* र पापहरू क्षमा गर्नुहुनेछैन।+ २०  यहोवा परमेश्‍वरले तिमीहरूको भलो गर्नुभएको छ। तर यदि तिमीहरूले उहाँलाई त्यागेर अरू देवताहरूलाई पुज्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ र तिमीहरूलाई सर्वनाश गर्नुहुनेछ।”+ २१  यो सुनेपछि मानिसहरूले यहोसुलाई भने: “होइन, हामी यहोवा परमेश्‍वरकै उपासना गर्नेछौँ!”+ २२  तब यहोसुले मानिसहरूलाई भने: “तिमीहरू आफैले यहोवा परमेश्‍वरको मात्र उपासना गर्ने छनौट गरेका छौ र तिमीहरू नै यस कुराको साक्षी पनि हौ।”+ यो सुनेपछि तिनीहरूले भने: “हो, हामी साक्षी हौँ।” २३  “त्यसोभए तिमीहरूमाझ भएका विदेशी देवताहरू हटाओ र आफ्नो सारा हृदयले इस्राएलका परमेश्‍वर यहोवाको उपासना गर।” २४  तब मानिसहरूले यहोसुलाई भने: “हामी यहोवा हाम्रा परमेश्‍वरको उपासना गर्नेछौँ र उहाँको कुरा मान्‍नेछौँ!” २५  त्यसैले यहोसुले त्यो दिन सकेममा मानिसहरूसित करार गरे अनि तिनीहरूको निम्ति नियम र कानुन दिए। २६  त्यसपछि यहोसुले यी सबै कुरा परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे+ अनि तिनले एउटा ठूलो ढुङ्‌गा लिए+ र त्यसलाई यहोवा परमेश्‍वरको पवित्र स्थानको* छेउमा भएको विशाल रूखमुनि राखे। २७  त्यहाँ भेला भएका सबै मानिसलाई यहोसुले भने: “हेर! यो ढुङ्‌गा हाम्रो साक्षी हो+ किनभने यहोवा परमेश्‍वरले हामीलाई भन्‍नुभएको सबै कुरा यसले सुनेको छ र तिमीहरूले परमेश्‍वरलाई मान्‍न इन्कार गऱ्‍यौ भने यसले तिमीहरूविरुद्ध साक्षी दिनेछ।” २८  यति भनेपछि यहोसुले मानिसहरूलाई पठाइदिए र तिनीहरू पैतृक सम्पत्तिको रूपमा पाएको आ-आफ्नो इलाकामा फर्के।+ २९  त्यसपछि नुनका छोरा, यहोवा परमेश्‍वरका सेवक यहोसुको ११० वर्षको उमेरमा मृत्यु भयो।+ ३०  तिनीहरूले यहोसुलाई तिम्नाथ-सेरहमा गाडे। यो ठाउँ गास डाँडाको उत्तरतिर यहोसुले पैतृक सम्पत्तिको रूपमा पाएको+ एप्रैमको पहाडी इलाकामा पर्थ्यो। ३१  इस्राएलीहरूले यहोसु बाँचुन्जेल यहोवा परमेश्‍वरको सेवा गरिरहे। साथै तिनीहरूले ती नाइकेहरू बाँचुन्जेल पनि उहाँको सेवा गरिरहे, जो यहोसुको मृत्युपछि पनि जीवितै थिए र जसले यहोवा परमेश्‍वरले इस्राएलीहरूको खातिर गर्नुभएको सबै काम देखेका थिए।+ ३२  मिश्र देशबाट निस्कँदा इस्राएलीहरूले आफूसँगै ल्याएको युसुफका हड्डीहरू+ सकेम भन्‍ने ठाउँको एउटा जमिनमा गाडे। त्यो जमिन याकुबले हामोरका छोराहरूबाट १०० टुक्रा चाँदीमा किनेका थिए।+ हामोरका एक जना छोराको नाम सकेम थियो। पछि त्यो जमिन युसुफका छोराहरूको पैतृक सम्पत्ति भयो।+ ३३  पछि हारुनका छोरा एलियाजारको पनि मृत्यु भयो।+ त्यसैले तिनीहरूले एलियाजारलाई ‘पिनहासको डाँडा’-मा गाडे।+ एप्रैमको पहाडी इलाकामा पर्ने त्यो डाँडा एलियाजारका छोरा पिनहासलाई दिइएको थियो।

फुटनोटहरू

शा., “दिन।”
अर्थात्‌, यर्दनको पूर्वपट्टि।
वा सम्भवतः “जग्गाधनीहरू।”
वा सम्भवतः “त्रसित तुल्याइदिएँ; आतङ्‌कित तुल्याइदिएँ।”
वा “निर्दोष।”
वा “विद्रोह।”
शब्दावली हेर्नुहोस्‌।