सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका सेवकहरूसित साँचो आशा छ

यहोवाका सेवकहरूसित साँचो आशा छ

यहोवाका सेवकहरूसित साँचो आशा छ

“याकूबका बाँकी रहेकाहरू चाहिं धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत . . . झैं हुनेछन्‌, जसले नता कुनै मानिसलाई . . . पर्खनेछ।”—मीका ५:७.

१. आध्यात्मिक इस्राएल कसरी स्फूर्तिको स्रोत हो?

 यहोवा वर्षा र शीतको महान्‌ निर्माता हुनुहुन्छ। शीत वा वर्षाको लागि मानिसहरूको मुख ताक्नु बेकार छ। अगमवक्‍ता मीकाले यस्तो लेखे: “याकूबका बाँकी रहेकाहरू चाहिं धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैं हुनेछन्‌, जसले नता कुनै मानिसलाई न मानिसहरूका सन्तानलाई पर्खनेछ।” (मीका ५:७) वर्तमान समयमा “याकूबका बाँकी रहेकाहरू” को हुन्‌? तिनीहरू आध्यात्मिक इस्राएलीहरू, “परमेश्‍वरका इस्राएल[का]” बाँकी रहेकाहरू हुन्‌। (गलाती ६:१६) पृथ्वीका “धेरै मानिसहरूका” लागि तिनीहरू “परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरी” जस्तै छन्‌। हो, अभिषिक्‍त मसीहीहरू आज परमेश्‍वरले मानिसहरूलाई दिनुभएका आशिष्‌ हुन्‌। यहोवाले तिनीहरूलाई राज्य उद्‌घोषकहरूको हैसियतमा मानिसहरूलाई साँचो आशाको उहाँको सन्देश दिन चलाउनुहुन्छ।

२. यस संकटग्रस्त संसारमा बाँचिरहेको भए तापनि हामीसित किन साँचो आशा छ?

यो संसारसित साँचो आशा नभएकोमा छक्क पर्नु पर्दैन। राजनैतिक अस्थिरता, नैतिक पतन, अपराध, आर्थिक संकट, आतंकवाद, युद्ध—शैतान अर्थात्‌ दियाबल अधीनस्थ संसारबाट हामी यस्तै कुराहरू आशा गर्न सक्छौं। (१ यूहन्‍ना ५:१९) थुप्रै मानिसहरू भविष्यबारे त्रसित छन्‌। तथापि, यहोवाका उपासकहरूको हैसियतमा, हामी त्रसित छैनौं किनभने हामीसित भविष्यको लागि पक्का आशा छ। यो आशा साँचो छ किनभने यो परमेश्‍वरको वचनमा आधारित छ। हामी यहोवा अनि उहाँको वचनमा विश्‍वास राख्छौं किनभने उहाँले भन्‍नुभएको कुरा सधैं साँचो साबित हुन्छ।

३. (क) यहोवाले किन इस्राएल र यहूदा विरुद्ध कारबाही गर्नुहुनेवाला थियो? (ख) मीकाका शब्दहरू आज किन लागू हुन्छन्‌?

मीकाको ईश्‍वर-प्रेरित भविष्यवाणीले हामीलाई यहोवाको नाउँमा हिंड्‌न बल प्रदान गर्छ र साँचो आशाको आधार दिन्छ। सा.यु.पू. आठौं शताब्दीमा, मीकाले भविष्यवाणी गर्दा परमेश्‍वरले करार बाँध्नुभएको जाति—इस्राएल र यहूदा—दुई राष्ट्रमा विभाजित थियो र दुवैले परमेश्‍वरको करारलाई बेवास्ता गरिरहेका थिए। फलस्वरूप, नैतिक पतन, धार्मिक धर्मत्याग र भौतिकवाद व्याप्त भयो। यसर्थ, यहोवाले तिनीहरू विरुद्ध कारबाही गर्ने चेतावनी दिनुभयो। निस्सन्देह, परमेश्‍वरका चेतावनीहरू मीकाको समकालीनहरूप्रति केन्द्रित थिए। तथापि, वर्तमान परिस्थिति मीकाको दिनसँग यति मिल्दोजुल्दो छ कि तिनका शब्दहरू अहिले पनि लागू हुन्छन्‌। हामीले मीकाको पुस्तकका सातवटा अध्यायका केही विशेषताहरू विचार गर्दा यो स्पष्ट हुनेछ।

सरसरती हेर्दा कुन कुरा प्रकट हुन्छ

४. मीका १ देखि ३ अध्यायले कस्तो जानकारी दिन्छ?

मीकाको पुस्तकको विषयवस्तु छोटकरीमा हेरौं। अध्याय १ मा यहोवाले इस्राएल र यहूदाको विद्रोह पर्दाफास गर्नुहुन्छ। तिनीहरूको अपराधको नतिजास्वरूप, इस्राएलको विनाश हुनेछ र यहूदाको सजाय यरूशलेमका ढोकाहरूसम्म पुग्नेछ। अध्याय २ ले प्रकाश पारेझैं धनी तथा शक्‍तिशालीहरूले कमजोर तथा निस्सहायहरूको शोषण गरिरहेका छन्‌। यद्यपि, एउटा ईश्‍वरीय प्रतिज्ञा पनि छ। परमेश्‍वरका जनहरू एकै ठाउँमा जम्मा गरिनेछन्‌। अध्याय ३ ले दुष्ट शासक तथा झूटा अगमवक्‍ताहरू विरुद्ध यहोवाको घोषणाको विवरण दिन्छ। शासकहरूले गलत न्याय गरिरहेका छन्‌ र अगमवक्‍ताहरूले झूट बोलिरहेका छन्‌। यी सबका बावजुद आउन लागेको यहोवाको न्यायबारे घोषणा गर्न मीकालाई पवित्र आत्माद्वारा बलियो बनाइन्छ।

५. मीका अध्याय ४ र को सार के हो?

अध्याय ४ ले अन्तको दिनमा सबै जातिहरू यहोवाद्वारा सिकाइन यहोवाको भवनको डाँडामा आउनेछन्‌ भनेर अगमवाणी गर्छ। तर त्यसअघि यहूदा, बेबिलोनमा निर्वासित हुनेछ तर यहोवाले उसलाई बचाउनुहुनेछ। अध्याय ५ ले मसीहको जन्म यहूदाको बेतलेहेममा हुनेछ भनेर प्रकट गर्छ। उहाँले आफ्ना जनहरूलाई डोऱ्‍याउनुहुनेछ र दमनकारी राष्ट्रहरूबाट छुटकारा दिनुहुनेछ।

६, ७. मीकाको भविष्यवाणीको अध्याय ६ र ७ मा कस्ता बुँदाहरू प्रस्तुत गरिएका छन्‌?

मीका अध्याय ६ मा यहोवाले आफ्ना जनहरूमाथि लगाउनुभएको अभियोगलाई एउटा कानुनी मुद्दाको रूपमा बताइएको छ। उहाँले के गर्नुभएको छ जसले गर्दा तिनीहरूले विद्रोह गर्छन्‌? केही गर्नुभएको छैन। वास्तवमा, उहाँले चाहनुहुने कुराहरू व्यावहारिक छन्‌। उहाँ आफ्ना उपासकहरूले न्याय खेती गरेको र उहाँसित हिंड्‌दा दयालु तथा नम्र भएको चाहनुहुन्छ। त्यसो नगरी इस्राएल र यहूदाले विद्रोही मार्ग रोजेका छन्‌ र तिनीहरूले त्यसको परिणाम भोग्नुपर्नेछ।

आफ्नो भविष्यवाणीको अन्तिम अध्यायमा मीकाले आफ्ना समकालीनहरूको दुष्टताको निन्दा गर्छन्‌। तथापि, तिनी हरेस खाँदैनन्‌ किनभने तिनी यहोवाको ‘बाटो हेर्ने [“पर्खने,” NW]’ मनोवृत्ति देखाउन कटिबद्ध छन्‌। (मीका ७:७) यो पुस्तकको अन्तमा यहोवाले आफ्ना जनहरूमाथि दया देखाउनुहुनेछ भन्‍ने विश्‍वस्तता प्रकट गरिएको छ। यो आशा साकार भयो भनी इतिहासले पुष्टि गर्छ। सा.यु.पू. ५३७ मा यहोवाले आफ्ना जनहरूलाई अनुशासन दिने कार्य पूरा गर्नुहुँदा उहाँले दया गरेर बाँकी रहेकालाई आफ्नो भूमिमा पुनर्स्थापित गर्नुभयो।

८. मीकाको पुस्तकका विषयवस्तुहरू तपाईं सारांशमा कसरी बताउनुहुन्छ?

यहोवाले मीकामार्फत कस्तो राम्रो जानकारी प्रकट गर्नुहुन्छ! यस प्रेरित पुस्तकले परमेश्‍वरको उपासना गर्छु भनेर दाबी गर्ने तर विश्‍वासी नरहने मानिसहरूप्रति उहाँले कस्तो व्यवहार गर्नुहुन्छ भनेर चेतावनीमूलक उदाहरण प्रस्तुत गर्छ। यसले अहिले भइरहेका घटनाहरूबारे भविष्यवाणी गर्छ। अनि यसले हाम्रो आशा सुदृढ पार्न अहिलेको कठिन समयमा कस्तो व्यवहार गर्नुपर्छ भनेर ईश्‍वरीय सल्लाह दिन्छ।

सार्वभौम प्रभु यहोवा बोल्नुहुन्छ

९. मीका १:२ अनुसार, यहोवाले के गर्नुहुनेवाला हुनुहुन्थ्यो?

आउनुहोस्‌, अब हामी मीकाको पुस्तक अझ विस्तृत तवरमा केलाऔं। मीका १:२ मा हामी यस्तो लेखिएको पाउँछौं: “हे जाति जातिका मानिस हो, तिमीहरू सबैले सुन। हे पृथ्वी र त्यसमा भएका सबै, ध्यानसित सुन, परमप्रभु आफ्नो पवित्र मन्दिरबाट, परमप्रभु परमेश्‍वरनै तिमीहरूका विरुद्धमा साक्षी होऊन्‌।” तपाईं मीकाको समयमा बाँचिरहेको हुनुहुँदो हो त, यी शब्दहरूले पक्कै तपाईंको ध्यानाकर्षण गर्ने थियो। निस्सन्देह, त्यसले अवश्‍य तपाईंको ध्यानाकर्षण गर्छ किनभने यहोवाले आफ्नो पवित्र मन्दिरबाट बोलिरहनुभएको छ अनि उहाँले इस्राएल र यहूदा मात्र होइन तर सबै ठाउँका मानिसहरूलाई सम्बोधन गरिरहनुभएको छ। मीकाको समयमा मानिसहरूले सार्वभौम प्रभु यहोवाको बेवास्ता गरेको धेरै भइसकेको थियो। अब त्यो अवस्था धेरै रहने थिएन। यहोवा निर्णायक कदम चाल्न कटिबद्ध हुनुहुन्थ्यो।

१०. मीका १:२ का शब्दहरू हाम्रो लागि किन महत्त्वपूर्ण छन्‌?

१० आज हाम्रो समयमा त्यही कुरा लागू हुन्छ। प्रकाश १४:१८-२० ले देखाएअनुसार यहोवाले फेरि आफ्नो पवित्र मन्दिरबाट कुराकानी गरिरहनुभएको छ। उहाँले चाँडै निर्णायक कदम चाल्नुहुनेछ र महत्त्वपूर्ण घटनाहरूले मानवजातिलाई फेरि हल्लाउनेछ। यस पटक भने “पृथ्वीको दाखको” दुष्ट झुप्पाहरू यहोवाको क्रोधको ठूलो कोलमा फ्याँकिनेछन्‌, फलस्वरूप शैतानको रीतिरिवाजको सर्वनाश हुनेछ।

११. मीका १:३, ४ का शब्दहरूको अर्थ के हो?

११ यहोवा के गर्दै हुनुहुन्छ, सुन्‍नुहोस्‌। मीका १:३, ४ यसो भन्छ: “हेर, परमप्रभु आफ्नो स्थानदेखि आउँदैहुनुहुन्छ। पृथ्वीका उच्च स्थलहरूमा टेक्दै उहाँ आउँदैहुनुहुन्छ। आगोमा मैन पग्लेझैं र पहाड़बाट पानी बगेझैं ती पर्वतहरू उहाँको चरणमनि पग्लेर बेंसीतिर बगिजानेछन्‌।” के यहोवाले स्वर्गमा आफ्नो बासस्थान छोड्‌नुभएर प्रतिज्ञा गरिएको देशको पहाड तथा बेंसीहरूमै हिंड्‌नुहुनेछ? होइन। उहाँले त्यसो गर्नु आवश्‍यक छैन। उहाँले आफ्नो इच्छा पूरा गर्न पृथ्वीमा आफ्नो ध्यान केन्द्रित गर्नुभए पुग्छ। यसबाहेक, यहाँ बताइएका कुराहरू पृथ्वीको भौतिक संरचनाले होइन तर यसका बासिन्दाहरूले भोग्नेछन्‌। यहोवाले कदम चाल्नुहुँदा पहाडहरू मैन पग्लेझैं र भुइँचालोले बेंसी फटाएझैं अविश्‍वासी जनहरूले भयावह परिणाम भोग्नेछन्‌।

१२, १३. दोस्रो पत्रुस ३:१०-१२ अनुरूप, कुन कुराले हाम्रो आशा सुरक्षित बनाउँछ?

१२ मीका १:३, ४ को भविष्यसूचक वचनले तपाईंलाई पृथ्वीको विनाशबारे अगमवाणी गरिएको अर्को प्रेरित भविष्यवाणीको स्मरण गराउन सक्छ। दोस्रो पत्रुस ३:१० मा लिपिबद्ध गरिएअनुसार, प्रेरित पत्रुसले यस्तो लेखे: “प्रभुको दिन चोर जस्तैगरी आउनेछ, जसमा आकाशचाहिं ठूलो शब्दले बितिजानेछ, र पृथ्वी र त्यसमा भएका कामहरू चाहिं स्वाहा हुनेछ।” मीकाको भविष्यवाणी जस्तै पत्रुसका शब्दहरूले शाब्दिक स्वर्ग र पृथ्वीलाई संकेत गर्दैनन्‌। उक्‍त विवरणले अभक्‍त रीतिरिवाजमाथि आइपर्ने महासंकष्टबारे बताउँछ।

१३ आउँदै गरेको विनाशको बावजुद मसीहीहरू भविष्यबारे मीकाजस्तै विश्‍वस्त हुन सक्छन्‌। कसरी? पत्रुसको पत्रका बाँकी पदहरूमा दिइएको सल्लाह पालन गरेर। प्रेरित यस्तो उद्‌गार व्यक्‍त गर्छन्‌: “सबै पवित्र जीवन र भक्‍तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्‍वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्‍तासाथ इच्छा गरेर।” (२ पत्रुस ३:११, १२) हामीले आज्ञाकारी हृदय खेती गऱ्‍यौं, हाम्रो आचरण पवित्र बनायौं र ईश्‍वरीय भक्‍तिका कामहरू गरेर जीवन बितायौं भने भविष्यको लागि हाम्रो आशा पक्का हुनेछ। हाम्रो आशा सुरक्षित बनाउन हामीले यहोवाको दिन पक्कै आउनेछ भनेर पनि सम्झनै पर्छ।

१४. इस्राएल र यहूदा किन सजाय पाउन योग्यका थिए?

१४ यहोवाले आफ्ना प्रारम्भिक जनहरू किन सजाय पाउन योग्यका छन्‌ भनेर बताउनुहुन्छ। मीका १:५ यसो भन्छ: “यी सबै याकूबको अपराध र इस्राएलको घरानाको पापले गर्दा भएको हो। याकूबको अपराध के हो? के त्यो सामरिया होइन? औ यहूदाको घरानाको पाप के हो? के त्यो यरूशलेम होइन?” इस्राएल र यहूदाले आफ्नो अस्तित्वको श्रेय यहोवालाई दिनुपर्छ। यद्यपि, तिनीहरूले उहाँको विद्रोह गरेका छन्‌ अनि तिनीहरूको विद्रोह आ-आफ्नो राजधानी शहर, सामरिया र यरूशलेमसम्म पुगेको छ।

दुष्ट प्रचलनहरू व्याप्त हुन्छन्‌

१५, १६. मीकाका समकालीनहरू कस्ता दुष्ट कार्यहरूका लागि दोषी थिए?

१५ मीकाका समकालीनहरूको दुष्टताको एउटा उदाहरण मीका २:१, २ मा जीवन्त ढंगमा वर्णन गरिएको छ: “धिक्कार तिनीहरूलाई, जो आफ्नो ओछ्यानमा ढल्केर अधर्मको युक्‍ति र खराब विचार गर्दछन्‌। बिहान उज्यालो हुनुबित्तिकै त्यो काम तिनीहरू गरिहाल्दछन्‌, किनकि त्यो गर्ने सामर्थ तिनीहरूसँग छ। तिनीहरू खेतहरूको लोभ गरेर खोस्छन्‌, र घरहरूको लोभ गरेर लगिहाल्छन्‌। तिनीहरू मानिसहरू र तिनका घरानाहरूमाथि थिचोमिचो गर्दछन्‌।”

१६ लोभी मानिसहरू आफ्नो छिमेकीको घरबार कसरी लुट्‌ने भनेर षड्यन्त्र रच्न रातभरि जागा रहन्छन्‌। अनि बिहान हुनेबित्तिकै तिनीहरू आफ्नो षड्यन्त्रअनुसार काम गर्न हतारिन्छन्‌। तिनीहरूले यहोवाको करार सम्झेका भए त्यस्तो दुष्ट कार्य गर्ने थिएनन्‌। मोशालाई दिइएको व्यवस्थामा दरिद्रहरूको सुरक्षा गर्ने प्रबन्ध छ। यसअन्तर्गत कुनै पनि परिवारले आफ्नो पुर्ख्यौली सम्पत्ति सदाको लागि गुमाउनुपर्ने कारण थिएन। तथापि, ती लोभी मानिसहरूले यसको पर्वाह गर्दैनन्‌। तिनीहरू लेवी १९:१८ को सल्लाह वास्ता गर्दैनन्‌, जहाँ यसो भनिएको छ: “आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर।”

१७. परमेश्‍वरको सेवा गर्छु भनेर दाबी गर्नेहरूले जीवनमा भौतिक कुराहरूलाई प्रथम स्थानमा राख्दा के हुन सक्छ?

१७ परमेश्‍वरको सेवा गर्छु भनेर दाबी गर्ने व्यक्‍तिहरूले आध्यात्मिक लक्ष्यहरूलाई बिर्सेर भौतिक कुराहरू खोज्न थाल्दा के हुन सक्छ भनेर यसले देखाउँछ। पावलले आफ्नो समयका मसीहीहरूलाई यस्तो चेतावनी दिए: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्‌।” (१ तिमोथी ६:९) कुनै व्यक्‍तिले पैसा कमाउनुलाई आफ्नो जीवनको प्रमुख लक्ष्य बनाउँदा उसले वास्तवमा झूटो देव अर्थात्‌ धनसम्पत्तिको उपासना गरिरहेको हुन्छ। त्यो झूटो देवले भविष्यको लागि कुनै ठोस आशा प्रदान गर्दैन।—मत्ती ६:२४.

१८. मीकाको दिनका भौतिकवादी मानिसहरूलाई के हुनेवाला थियो?

१८ मीकाको समयका थुप्रै मानिसहरूले भौतिक सम्पत्तिमा भरोसा राख्नु व्यर्थ हो भन्‍ने कुरा कटु अनुभवद्वारा सिके। मीका २:४ अनुसार यहोवा यसो भन्‍नुहुन्छ: “त्यस दिन तिनीहरूले तिमीहरूको विरुद्धमा ठट्टा गर्दै यस्तो विलापको गीत गाउनेछन्‌, ‘हामी बिलकुलै नष्ट भयौं। उहाँले मेरो प्रजाको भाग बदली गरिदिनुभयो! कसरी उहाँले त्यो मबाट हटाउनुभयो? उहाँले हाम्रो जमीन हामीलाई कैद गर्नेहरूलाई [अविश्‍वासीहरूलाई] बाँड़िदिनुभयो।’ ” हो, ती घरबार चोर्नेहरूले आफ्नै परिवारको सम्पत्ति गुमाउनेछन्‌। तिनीहरू विदेशी भूमिमा पठाइनेछन्‌ र तिनीहरूको सम्पत्ति अविश्‍वासीहरू अथवा अन्य राष्ट्रका मानिसहरूले लुट्‌नेछन्‌। संवृद्ध भविष्यको आशा सबै चकनाचूर हुनेछ।

१९, २०. यहोवामा भरोसा राख्ने यहूदीहरूले कस्तो अनुभव गरे?

१९ तथापि, यहोवामा भरोसा राख्नेहरूको आशा निराशामा परिणत हुनेछैन। यहोवा अब्राहाम र दाऊदसित गरेको करारप्रति विश्‍वासी हुनुहुन्छ अनि उहाँलाई प्रेम गर्ने र आफ्ना देशवासीहरू परमेश्‍वरदेखि बिराना भएकोमा दुःख मान्‍ने मीकाजस्ता व्यक्‍तिहरूप्रति दया देखाउनुहुन्छ। सोझा व्यक्‍तिहरूको खातिर परमेश्‍वरले आफ्नै समयमा पुनर्स्थापना गर्नुहुनेछ।

२० सा.यु.पू. ५३७ मा बेबिलोनको पतन भएर बाँकी रहेका यहूदीहरू आफ्नो मातृभूमि फर्कंदा त्यो घटना हुन्छ। त्यतिबेला मीका २:१२ को प्रारम्भिक पूर्ति हुन्छ। यहोवा यसो भन्‍नुहुन्छ: “हे याकूब, म निश्‍चयनै तिमीहरू सबैलाई भेला गर्नेछु। इस्राएलका बचेकाहरूलाई म जम्मा गर्नेछु। म तिनीहरूलाई एकै ठाउँमा राख्नेछु—गोठमा भेड़ा–बाख्राहरू र खर्कको बीचमा बथानझैं, यी हल्ला गर्ने भीड़ मानिसहरूलाई!” यहोवा कत्ति मायालु हुनुहुन्छ! आफ्ना जनहरूलाई अनुशासन दिइसक्नुभएपछि उहाँले बाँकी रहेका जनलाई तिनीहरूको पुर्खालाई दिइएको भूमिमा फर्केर उहाँको सेवा गर्ने मौका दिनुहुन्छ।

हाम्रो समयमा उल्लेखनीय समानान्तर

२१. वर्तमान अवस्था कसरी मीकाको समयको अवस्थासित मिल्दोजुल्दो छ?

२१ मीकाको पुस्तकको सुरुका दुइटा अध्यायहरू विचार गर्दा, के तपाईंलाई आजको समय र त्यतिबेलाको समय कस्तो मिल्दोजुल्दो रहेछ जस्तो लाग्यो? मीकाको समयमा जस्तै अहिले थुप्रैले परमेश्‍वरको सेवा गर्ने दाबी गर्छन्‌। तथापि, यहूदा र इस्राएलजस्तै तिनीहरू विभाजित छन्‌ अनि आपसमा लडाइँसमेत गरेका छन्‌। मसीहीजगत्‌का थुप्रै धनीमानीहरूले गरिबहरूको थिचोमिचो गरेका छन्‌। बाइबलले निषेध गरेका थुप्रै आनीबानीहरूप्रति धार्मिक नेताहरू खुलेआम समर्थन जनाउँछन्‌। चाँडै “महान्‌ बेबिलोन” अर्थात्‌ झूटो धर्मको विश्‍व-साम्राज्यसँगसँगै मसीहीजगत्‌को पनि नाश गरिनु कुनै अचम्म मान्‍नुपर्ने कुरा होइन! (प्रकाश १८:१-५) तैपनि, मीकाको समयमा जस्तै पृथ्वीमा यहोवाका विश्‍वासी सेवकहरू बाँकी रहनेछन्‌।

२२. कुन दुई समूहले आफ्नो आशा परमेश्‍वरको राज्यमा राखेका छन्‌?

२२ सन्‌ १९१९ मा विश्‍वासी अभिषिक्‍त मसीहीहरू मसीहीजगत्‌बाट छुट्टिएर सबै राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्न अग्रसर भए। (मत्ती २४:१४) सर्वप्रथम तिनीहरूले आध्यात्मिक इस्राएलका बाँकी रहेकाहरूलाई खोजे। त्यसपछि, “अरू भेडा” जम्मा गर्न थालियो र यी दुवै समूह “एकै बगाल र एकै गोठालाका” भए। (यूहन्‍ना १०:१६) अहिले तिनीहरू २३४ मुलुकमा रहेर परमेश्‍वरको सेवा गरिरहेका भए तापनि यहोवाका यी विश्‍वासी उपासकहरू साँच्चै “एकै ठाउँमा” छन्‌। गोठमा अहिले लोग्नेमानिस, स्वास्नीमानिस र केटाकेटीको आवाजले “हल्ला” भएको छ। तिनीहरू यस रीतिरिवाजमा होइन तर चाँडै पृथ्वीमा प्रमोदवन ल्याउने परमेश्‍वरको राज्यमा आफ्नो आशा राख्छन्‌।

२३. तपाईंको आशा पक्का छ भनेर तपाईं किन विश्‍वस्त हुनुहुन्छ?

२३ यहोवाका विश्‍वासी उपासकहरूबारे मीका अध्याय २ को अन्तिम पदले यसो भन्छ: “तिनीहरूका राजा तिनीहरूका अगिअगि जानुहुन्छ। परमप्रभु तिनीहरूका अगुवा हुनुहुन्छ।” के तपाईं यहोवाको अगुवाइमा राजा, येशू ख्रीष्टको नेतृत्व पछ्याउँदै विजय यात्रामा हिंडिरहनुभएको कल्पना गर्नुहुन्छ? त्यसो हो भने, विजय निश्‍चित छ र तपाईंको आशा पक्का छ भन्‍ने कुरामा तपाईं विश्‍वस्त हुन सक्नुहुन्छ। हामीले मीकाको भविष्यवाणीका थप विशेषताहरू विचार गर्दा यो कुरा अझ प्रस्ट हुनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• मीकाको समयमा यहोवाले किन यहूदा र इस्राएल विरुद्ध कदम चाल्ने निर्णय गर्नुभयो?

• परमेश्‍वरको सेवा गर्छु भनेर दाबी गर्नेहरूले जीवनमा भौतिक चासोहरूलाई प्रथम स्थानमा राख्दा के हुन सक्छ?

मीका अध्याय १ र विचार गरेपछि, तपाईंको आशा पक्का छ भनेर तपाईं किन विश्‍वस्त हुनुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

मीकाको भविष्यवाणीले हामीलाई आध्यात्मिक तवरमा बलियो बनाउन सक्छ

[पृष्ठ १०-मा भएका चित्रहरू]

सा.यु.पू. ५३७ मा बाँकी रहेका यहूदीहरूले जस्तै, आध्यात्मिक इस्राएलीहरू तथा तिनीहरूका सहयोगीहरूले साँचो उपासनालाई बढवा दिन्छन्‌