सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो विश्‍वव्यापी भ्रातृत्वद्वारा बलियो पारिएको

हाम्रो विश्‍वव्यापी भ्रातृत्वद्वारा बलियो पारिएको

जीवनी

हाम्रो विश्‍वव्यापी भ्रातृत्वद्वारा बलियो पारिएको

थम्सन काङ्‌गालेको वृत्तान्तमा आधारित

अप्रिल २४, १९९३ मा मैले जाम्बियाको लुसाकामा १३ वटा भवन भएको नयाँ शाखा कार्यालयको समर्पण कार्यक्रममा सहभागी हुने निम्तो पाएँ। मलाई हिंड्‌न गाह्रो भएकोले हामीलाई ती भवनहरू घुमाउन लैजाने एक जना मसीही बहिनीले दया गर्दै सोधिन्‌: “तपाईंलाई बीच-बीचमा आराम गर्न म एउटा मेच पनि सँगै लगिदिन्छु, हुन्‍न?” म कालो वर्णको थिएँ तर तिनी भने गोरो वर्णकी तैपनि यसले तिनलाई कुनै फरक पारेन। मैले कृतज्ञता व्यक्‍त गर्दै तिनलाई धन्यवाद दिएँ किनभने तिनको दयाले गर्दा नै मैले ती सबै शाखा भवनहरू घुम्न सकें।

वर्षौंको दौडान मैले बटुलेका यस्तै अनुभवहरूले गर्दा मेरो मन आनन्दले भरिएको छ र यहोवाका साक्षीहरूको मसीही संगठनमा ख्रीष्टले भन्‍नुभएझैं उहाँका साँचो चेलाहरूको चिनारी प्रेम कायम रहेको छ भन्‍ने मेरो विश्‍वासलाई अझ निश्‍चित गरेको छ। (यूहन्‍ना १३:३५; १ पत्रुस २:१७) यी मसीहीहरूले बाइबल आधारित नाउँ यहोवाका साक्षीहरू भनेर खुल्लमखुल्ला घोषणा गर्ने चाहना व्यक्‍त गरेको वर्ष सन्‌ १९३१ मै मेरो कसरी उनीहरूसित भेटघाट भयो, म तपाईंहरूलाई बताउन चाहन्छु।—यशैया ४३:१२.

अफ्रिकामा सुरुतिरको सेवकाई

नोभेम्बर १९३१ मा म २२ वर्षको थिएँ र उत्तरी रोडेशियाको (अहिलेको जाम्बिया) कपरबेल्टमा अवस्थित किट्‌वेमा बसोबास गर्थें। मसँगै फुटबल खेल्ने एक जना साथीद्वारा साक्षीहरूसित मेरो सम्पर्क भयो। म तिनीहरूका केही सभाहरूमा उपस्थित भएँ र बाइबल अध्ययन सामग्री द हार्प  अफ गड a पठाइदिन आग्रह गर्दै दक्षिण अफ्रिकाको केप टाउनस्थित शाखा कार्यालयलाई पत्र लेखें। त्यो पुस्तक अंग्रेजीमा थियो र मलाई अंग्रेजी भाषा राम्ररी नआउने भएकोले बुझ्न गाह्रो भयो।

बाङ्‌ग्वेयुलु ताल नजिकै म हुर्केको थिएँ। त्यहाँबाट २४० किलोमिटर टाढा पर्ने कपरबेल्ट क्षेत्रको तामाखानीमा अन्य थुप्रै प्रान्तबाट मानिसहरू काम गर्न आउँथे। त्यहाँ बाइबल अध्ययन गर्न साक्षीहरूका केही समूहहरू नियमित तवरमा भेला हुन्थे। केही समयपछि म किट्‌वे नजिकैको शहर एन्डोलामा बसाइँ सरें र साक्षीहरूको एउटा समूहसित संगत गर्न थालें। त्यसबेला म प्रिन्स अफ वेल्स भनिने फुटबल टोलीको क्याप्टेन थिएँ। मैले मध्य अफ्रिकामा थुप्रै भण्डारहरू भएको अफ्रिकन लेक्स कर्पोरेशनमा प्रबन्धकको काम गर्ने एक जना गोरा जातिको घरमा पनि काम गरें।

मैले औपचारिक शिक्षादीक्षा हासिल गरेको थिइनँ र मैले जानेको धेरथोर अंग्रेजी पनि मैले काम गर्ने युरोपेली मानिसहरूबाट सिकेको थिएँ। तैपनि, म अझ धेरै शिक्षा हासिल गर्न चाहन्थें र त्यसको लागि मैले दक्षिणी रोडेशियाको (हालको जिम्बावे) प्लमट्रीमा रहेको स्कूलमा आवेदन दिएँ। तथापि, त्यतिन्जेल मैले केप टाउनको शाखा कार्यालयलाई दोस्रो पत्र लेखें। मैले द हार्प अफ गड प्राप्त गरेको र यहोवालाई पूर्ण-समय सेवा गर्न चाहेको कुरा बताएँ।

मैले त्यहाँबाट उहाँहरूले पठाउनुभएको जवाफ पाउँदा छक्क परें: “यहोवाको सेवा गर्ने तपाईंको चाहना सराहनीय छ। यसलाई तपाईंले आफ्नो प्रार्थनामा राख्नुहोस्‌ र यहोवाले तपाईंलाई सत्यबारे अझ बढी जान्‍न मदत गर्नुहुनेछ अनि तपाईंले उहाँको सेवा कसरी गर्नुपर्ने हो भनेर उहाँले नै बाटो देखाइदिनुहुनेछ।” मैले त्यो पत्र धेरै चोटि पढें र थुप्रै साक्षीहरूलाई म के गरूँ भनेर सोधें। तिनीहरूले यसो भने: “तपाईं साँच्चै यहोवाको सेवा गर्न चाहनुहुन्छ भने सुरु गरिहाल्नुहोस्‌।”

त्यो हप्ताभरि मैले यस विषयमा प्रार्थना गरें र अन्ततः आफ्नो पढाइ छोडेर साक्षीहरूसित बाइबल अध्ययन गर्न नछोड्‌ने निधो गरें। त्यसको एक वर्षपछि जनवरी १९३२ मा मैले यहोवा परमेश्‍वरप्रतिको आफ्नो समर्पणलाई पानीको बप्तिस्माद्वारा प्रतीकात्मक रूप दिएँ। एन्डोलाबाट नजिकैको लुआन्शा शहरमा बसाइँ सरेपछि, मैले त्यहाँ एक जना सँगी विश्‍वासी ज्यानेटलाई भेटें र सेप्टेम्बर १९३४ मा हामी विवाह बन्धनमा बाँधियौं। हामीले विवाह गर्दा ज्यानेटको छोरा र छोरी भइसकेका थिए।

मैले बिस्तारै आध्यात्मिक उन्‍नति गर्न थालें र १९३७ मा पूर्ण-समय सेवकाई सुरु गरें। त्यसको केही समय नबित्दै म अहिले क्षेत्रीय निरीक्षक भनेर चिनिने परिभ्रमण सेवकको रूपमा नियुक्‍त भएँ। परिभ्रमण निरीक्षकहरू यहोवाका साक्षीहरूको मण्डलीहरूमा गएर तिनीहरूलाई आध्यात्मिक तवरमा सुदृढ पार्छन्‌।

सुरुतिरको प्रचारकार्य

जनवरी १९३८ मा मलाई सोकोन्ट्‌वे नाउँ गरेका अफ्रिकी प्रमुखलाई भेट्‌ने निर्देशन दिइयो किनभने तिनले यहोवाका साक्षीहरूलाई आफूकहाँ पठाइयोस्‌ भनी आग्रह गरेका थिए। तिनको क्षेत्रमा पुग्न मैले तीन दिन लामो साइकल यात्रा गर्नुपऱ्‍यो। हाम्रो केप टाउनमा रहेको कार्यालयमा तिनले चिठी पठाएकोले त्यसको प्रत्युत्तरमा मलाई यहाँ पठाइएको हो भनेर बताउँदा तिनले हार्दिक कृतज्ञता जाहेर गरे।

म तिनको इलाकाका मानिसहरूको प्रत्येक झुप्रोमा गएँ र तिनीहरूलाई इन्साकामा (सार्वजनिक स्थल) आउने निम्तो दिएँ। तिनीहरू जम्मा भएपछि मैले भीडसित कुरा गरें। परिणामस्वरूप थुप्रै बाइबल अध्ययनहरू सञ्चालन भए। त्यस गाउँका प्रमुख तथा तिनको एक जना कारिन्दा नै त्यहाँको मण्डलीका सबैभन्दा पहिलो निरीक्षक भए। अहिले साम्फ्या प्रान्त भनेर चिनिने त्यस ठाउँमा ५० वटा भन्दा बढी मण्डलीहरू छन्‌।

सन्‌ १९४२ देखि १९४७ सम्ममा मैले बाङ्‌ग्वेयुलु ताल वरपरको इलाकामा सेवा गरें। मैले हरेक मण्डलीमा दस दिन बिताउँथें। त्यसबेला आध्यात्मिक कटनीमा भाग लिने कामदारहरू थोरै भएका हुनाले हाम्रा प्रभु येशू ख्रीष्टले जस्तै महसुस गऱ्‍यौं जब उहाँले भन्‍नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्‌। यसकारण तिमीहरूले फसलका प्रभुलाई उहाँको आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन्‌ भनी बिन्ती गर।” (मत्ती ९:३६-३८) ती सुरुसुरुका दिनहरूमा यात्रा गर्नु सजिलो थिएन त्यसैले म मण्डलीहरूमा भ्रमण गर्न जाँदा ज्यानेट प्रायजसो लुआन्शामा छोराछोरीसित बस्थिन्‌। त्यसबेलासम्ममा ज्यानेट र मेरो अर्को दुई जना बच्चा भइसकेका थिए र एक जना बच्चाको भने दस महिना हुँदा नै मृत्यु भयो।

त्यसबेला गाडीहरू थोरै थिए र बाटो पनि धेरै थिएन। एक दिन मैले ज्यानेटको साइकल चलाएर २०० किलोमिटरको यात्रा थालें। कहिलेकाहीं सानो नदी तर्नु पर्दा म एउटा हातले साइकललाई काँधमा बोक्थें र अर्को हातले तैरन्थें। यही समयताका लुआन्शामा साक्षीहरूको संख्या निकै बढ्यो। सन्‌ १९४६ मा ख्रीष्टको स्मरणार्थ उत्सवमा १,८५० जना उपस्थित भए।

हाम्रो कामप्रतिको विरोध सामना गर्दै

दोस्रो विश्‍वयुद्धको दौडान एक चोटि कवाम्ब्वाको जिल्ला आयुक्‍तले मलाई बोलाएर यसो भने: “तपाईंले अबदेखि वाच टावर सोसाइटीका पुस्तकहरू चलाउन बन्द गर्नुहोस्‌ किनभने ती प्रतिबन्धित छन्‌। बरु म तपाईंलाई केही सामग्रीहरू दिन्छु अनि त्यसैको आधारमा तपाईंले अरू पुस्तकहरू लेख्न सक्नुहुन्छ।”

“म हामीसित भएका साहित्यहरूमै सन्तुष्ट छु” भनेर मैले बताएँ। “मलाई थप केही पनि चाहिंदैन।”

“तपाईंलाई अमेरिकीहरू कस्ता हुन्छन्‌ भनेर थाहै छैन,” तिनले भने। (हाम्रा साहित्यहरू त्यसताका संयुक्‍त राज्य अमेरिकामा छापिन्थे) “तिनीहरूले तपाईंलाई बहकाउनेछ।”

“म जोसित काम गर्छु तिनीहरूले त्यसो गर्नेछैनन्‌” भनेर मैले जवाफ दिएँ।

त्यसपछि तिनले यस्तो प्रश्‍न गरे: “तपाईं पनि आफ्नो मण्डलीलाई प्रोत्साहन दिएर अरू धर्महरूले गरेजस्तै युद्धको लागि आर्थिक अनुदान दिन लगाउनुस्‌ न हुन्‍न?”

“त्यो काम सरकारी कामदारहरूको हो,” मैले भनें।

“घर गएर एक चोटि राम्रोसित सोचविचार गरेर जवाफ दिनु बेस होला कि?” तिनले भने।

प्रस्थान २०:१३ र २ तिमोथी २:२४ मा बाइबलले हामीलाई हत्या र झगडा नगर्ने आज्ञा दिनुभएको छ” भनेर मैले प्रत्युत्तर दिएँ।

तिनीहरूले मलाई त्यसबेला छोडे तापनि हाल मान्सा भनिने फोर्ट रोजबेरी शहरका जिल्ला आयुक्‍तले फेरि मलाई हाजिर हुन बोलाए। तिनले यसो भने, “सरकारले तपाईंहरूको पुस्तकमाथि प्रतिबन्ध लगाएको जानकारी दिन मैले तपाईंलाई यहाँ बोलाएको हुँ।”

मैले भनें, “हो, मलाई थाह छ। मैले त्यसबारे सुनें।”

“अब तपाईं आफ्ना मण्डलीहरूमा गएर तपाईंले जुन मानिसहरूसित उपासना गर्नुहुन्छ उहाँहरूलाई आफ्ना सबै पुस्तक यहाँ ल्याउन लगाउनुहोस्‌। कुरा बुझ्नुभयो त?”

“त्यो मेरो काम होइन” भन्दै मैले जवाफ दिएँ। “त्यो काम त सरकारी कामदारहरूको हो।”

फलदायी भेटघाट

युद्धपछि हामीले प्रचार गर्न सुरु गरिहाल्यौं। सन्‌ १९४७ मा मैले म्वान्जा गाउँको मण्डलीमा सेवा गर्न सिद्धयाउने बित्तिकै त्यहाँ चिया कहाँ पाइएला भनेर सोधपुछ गरें। मलाई एन्कोन्डे भन्‍ने मान्छेको घर देखाइयो र त्यहाँ एउटा चिया कोठा थियो। एन्कोन्डे र तिनकी श्रीमतीले मलाई राम्ररी स्वागत सत्कार गरे। मैले चिया पिउन्जेल “लेट गड बि ट्रु” नामक पुस्तकबाट “नरक, आशासहितको विश्राम गर्ने ठाउँ” विषय भएको अध्याय पढिदिन एन्कोन्डेलाई आग्रह गरें।

“उसोभए तपाईंले नरकबारे के बुझ्नुभयो?” भनेर चिया पिइसकेपछि मैले सोधें। आफूले पढेका कुराहरूबाट छक्क पर्दै तिनले साक्षीहरूसित बाइबल अध्ययन गर्न थाले र पछि आफ्नी श्रीमतीसितै बप्तिस्मा लिए। तिनी पछिसम्मै साक्षी रहेनन्‌ तर तिनकी श्रीमती तथा थुप्रै छोराछोरीहरू भने त्यसमा लागिरहे। तिनको एक जना छोरा पिल्नी जाम्बियामा रहेको यहोवाका साक्षीहरूको शाखा कार्यालयमा अहिले पनि सेवा गर्दैछन्‌। अनि पिल्नीकी आमा अहिले वृद्ध भइसकेकी भए तापनि अझै पनि विश्‍वासी साक्षीको हैसियतमा सेवा गरिरहेकी छिन्‌।

पूर्वी अफ्रिकाको छोटो बसाइँ

मलाई उत्तरी रोडेशियामा अवस्थित हाम्रो शाखा कार्यालयले तांगान्यिकामा (अहिलेको तान्जानिया) खटायो र यो शाखा १९४८ तिर लुशाकामा स्थापित भएको थियो। यस पहाडी इलाकाको पैदल यात्रामा म र मेरी श्रीमतीसित अर्को एक जना साक्षी पनि गएका थिए। हामीलाई यो यात्रा पूरा गर्न तीन दिन लाग्यो। यो एकदमै थकाइलाग्दो थियो। मैले किताबको पोका र मेरी श्रीमतीले चाहिं लुगाहरू बोकेकी थिइन्‌ अनि अर्को साक्षीले भने हामीलाई सुत्नको लागि चाहिने ओछ्यानहरू बोकेका थिए।

हामी मार्च १९४८ मा एमबेयामा पुग्दा भाइहरूलाई बाइबल शिक्षाहरूअनुरूप थुप्रै छाँटकाँटहरू गर्न मदत गर्नुपऱ्‍यो। उदाहरणका लागि, त्यहाँ हामीलाई सबैले वाचटावरका मानिसहरू भन्थे। त्यहाँका भाइहरूले यहोवाका साक्षीहरू भन्‍ने नाउँ ग्रहण गरेका भए तापनि जनसाधारणको अघि भने प्रयोग गरिएको थिएन। साथै, केही साक्षीहरूले मृतकहरूको आदर गर्ने कार्यसित सम्बन्धित केही प्रचलनहरू त्याग्नुपर्ने थियो। तर सबैभन्दा कठिन छाँटकाँट चाहिं, आफ्नो विवाह सबैको अगाडि आदरणीय तुल्याउन कानूनी रूपमा दर्ता गराउनु नै थियो।—हिब्रू १३:४.

पछि, मैले युगान्डालगायत पूर्वी अफ्रिकाका थुप्रै क्षेत्रहरूमा सेवा गर्ने सुअवसर पाएँ। मैले इन्टेबे र कम्पालामा झन्डै ६ हप्ता बिताएँ र त्यहाँ थुप्रैले बाइबल सत्यको ज्ञान सिक्ने मदत पाए।

न्यु योर्क शहरमा निमन्त्रणा

युगान्डामा केही समय सेवा गरिसकेपछि १९५६ को सुरुतिर म तांगान्यिकाको राजधानी दार ए सलाममा पुगें। त्यहाँ म पुग्नुभन्दा पहिले नै यहोवाका साक्षीहरूको मुख्यालयबाट आएको पत्र पुगिसकेको रहेछ। त्यस पत्रमा जुलाई २७ देखि अगस्त ३, १९५८ सम्म हुने अन्तरराष्ट्रिय अधिवेशनमा भाग लिन न्यु योर्क आउने तयारी गर्नु भनेर निर्देशन दिइएको थियो। त्यहाँ जाने विषयमा सोच्दा मात्र पनि म कत्ति उत्साहित भएँ भनेर भनिरहनु नपर्ला।

त्यहाँ जाने बेला भएपछि अर्को एक जना परिभ्रमण निरीक्षक लुका म्वाङ्‌गो र म दक्षिणी रोडेशियाको एन्डोलाबाट सालिसबुरी (अहिलेको हारारे) र केन्याको नाइरोबीको लागि उड्यौं। हामी त्यहाँबाट इंगल्याण्डको लण्डनमा गयौं। त्यहाँ हाम्रो हार्दिक स्वागत गरियो। हामी इंग्ल्याण्ड पुगेको रात सुत्न लाग्दा गोरा जातिका मानिसहरूले हामी अफ्रिकीहरूलाई पनि त्यस्तो राम्रो पाहुना सत्कार गरे भनेर उत्साहित हुँदै कुरा गरिरह्‍यौं। त्यस अनुभवबाट हामी असाध्यै प्रोत्साहित भयौं।

बल्ल हामी अधिवेशन भएको ठाउँ न्यु योर्क पुग्यौं। अधिवेशनको एक दिन मैले उत्तरी रोडेशियामा भइरहेको यहोवाका साक्षीहरूको गतिविधिको रिपोर्ट पेस गरें। त्यस दिन न्यु योर्क शहरको पोलो ग्राउन्ड्‌स र यांकी स्टेडियममा झन्डै २०,००,००० जना उपस्थित भएका थिए। मैले त्यस्तो अद्‌भुत सुअवसर पाएको कुरा सम्झँदा त्यो रात सुत्नै सकिनँ।

नभन्दै अधिवेशन पनि सिद्धियो र हामी घर फर्क्यौं। घर फर्कंदाको यात्रामा हामीले फेरि एकपल्ट इंगल्याण्डका भाइबहिनीहरूबाट मायालु अतिथिसत्कार पायौं। त्यस यात्राभरि जातीय तथा राष्ट्रिय भिन्‍नताका बावजूद हामीलाई यहोवाका जनहरूले देखाएको एकता बिर्सनै नसकिने अनुभव थियो!

अनवरत सेवा तथा परीक्षाहरू

सन्‌ १९६७ मा मलाई जिल्ला सेवक नियुक्‍त गरियो, त्यसको मतलव हो, क्षेत्रहरू परिभ्रमण गर्ने सेवक। त्यतिन्जेल जाम्बियाका साक्षीहरूको संख्या बढेर ३५,००० पुगिसकेको थियो। पछि, मेरो स्वास्थ्य अलि बिग्रँदै गएको हुनाले मलाई फेरि कपरबेल्टमा क्षेत्रीय निरीक्षककै रूपमा खटाइयो। समय बित्दै जाँदा ज्यानेटलाई स्वास्थ्य समस्याले पिरोल्न थाल्यो र डिसेम्बर १९८४ मा उनको मृत्यु हुँदा अन्तसम्मै यहोवाप्रति वफादार रहिन्‌।

उनको मृत्युपछि विश्‍वासमा नभएका उनका परिवारले मलाई बोक्सीविद्या गरेर उनलाई मारेको आरोप लगाउँदा मेरो साह्रै चित्त दुख्यो। तर ज्यानेटको रोगबारे थाह भएका र उनको डाक्टरसित कुरा गरिसकेका कोही-कोहीले ती नातेदारहरूलाई यससम्बन्धी तथ्य कुरा बताए। त्यसपछि थप परीक्षा आइपऱ्‍यो। केही नातेदारहरूले मलाई उकुप्यानीका भनिने परम्परागत रीति अपनाउने दबाउ दिन थाले। यस रीतिअनुसार म जन्मेको क्षेत्रमा पति वा पत्नीको मृत्यु हुँदा जीवित जोडीले मृत व्यक्‍तिको नजिकको नातेदारसित यौन सम्पर्क राख्नुपर्ने थियो। हो, मैले इन्कार गरें।

केही समयपछि नातेदारहरूले दबाउ दिन छोडे। मलाई यस्तो दह्रिलो रहन मदत गर्नुभएकोमा म यहोवाप्रति कृतज्ञ छु। मेरी श्रीमतीको अन्त्येष्टि गरेको झन्डै एक महिनापछि एक जना भाइ मकहाँ आएर यसो भने: “भाइ काङ्‌गाले, तपाईं आफ्नो श्रीमतीको मृत्युताका हाम्रोनिम्ति साँच्चै ठूलो प्रोत्साहनको स्रोत हुनुभयो किनभने तपाईंले कुनै पनि भ्रष्ट प्रचलनहरूमा भाग लिनुभएन। हामी तपाईंलाई धेरै धन्यवाद दिन चाहन्छौं।”

प्रशस्त कटनी

मैले यहोवाको साक्षीको हैसियतमा पूर्ण-समय सेवकाई गरेको अहिले ६५ वर्ष भइसक्यो। मैले परिभ्रमण निरीक्षकको हैसियतमा सेवा गरेका क्षेत्रहरूमा हाल सयौं मण्डलीहरू स्थापना भएको र थुप्रै राज्यभवनहरू निर्माण गरिएको हेर्न पाउनु मेरोलागि कत्ति आनन्दको कुरा भएको छ! सन्‌ १९४३ मा झन्डै २,८०० साक्षीहरू भएको जाम्बियामा अहिले त्यो संख्या बढेर १,२२,००० पुगिसकेको छ। अझ १ करोड १० लाखभन्दा कम जनसंख्या भएको यस देशको गतवर्षको कूल स्मरणार्थ उत्सवको उपस्थिति संख्या ५,१४,००० पुग्यो।

साथै यहोवा परमेश्‍वरले मेरो राम्रो हेरचाह गरिरहनुभएको छ। मलाई कुनै उपचारको आवश्‍यकता पऱ्‍यो भने एक जना मसीही भाइले अस्पताल लगिदिन्छन्‌। मण्डलीहरूले मलाई अझै पनि जनभाषण दिन बोलाउँछन्‌ र यी अवसरहरूबाट निकै लाभान्वित भएको छु। म जुन मण्डलीसित संगति गर्दैछु त्यस मण्डलीले मसीही बहिनीहरूलाई पालैपालो मेरो घर सफा गरिदिन प्रबन्ध मिलाएको छ र भाइहरूले पनि मलाई हरेक हप्ता सभामा ल्याउने लैजाने गर्छन्‌। मैले यदि यहोवाको सेवा नगरेको भए त्यस्तो मायालु हेरचाहको आनन्द कहिल्यै उठाउन पाउने थिइँन। मलाई निरन्तर पूर्ण-समय सेवकाईको लागि प्रयोग गर्नुका साथै अहिलेसम्म वहन गरिरहेका यत्तिका जिम्मेवारीहरूको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु।

मेरो आँखा धमिलो भएको छ र म राज्यभवनसम्म हिंडेर जाँदा पनि धेरै चोटि बाटोमा रोकिनुपर्छ। मेरो झोला पनि अहिले निकै गह्रुँगो लाग्न थालेको हुनाले मैले सभामा प्रयोग नहुने सामान सबै झिकेर हलुका पारेको छु। मेरो क्षेत्र सेवा विशेष गरी मेरो घरमा आउनेहरूलाई बाइबल अध्ययन गरेरै बित्छ। यद्यपि, मैले वर्षौंसम्म गरेको कामलाई फर्केर हेर्दा अनि यहाँ भएको प्रशस्त उन्‍नतिलाई सम्झँदा साह्रै आनन्द लाग्छ! मैले यशैया ६०:२२ मा अभिलेख गरिएको यहोवाको वचन उल्लेखनीय ढंगमा पूरा भएको ठाउँमा सेवा गर्न पाएको छु। त्यहाँ यसो भनिएको छ: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” त्यो कुरा जाम्बियामा मात्र होइन तर सारा संसारभरि पूरा भएको हेर्न पाएको छु। b

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित, अहिले छापिंदैन।

b दुःखको कुरा, भाइ काङ्‌गाले शारीरिक तवरमा दुर्बल हुँदै जानुभयो र यो लेख छाप्ने तयारी गरुन्जेलसम्म अन्तसम्मै विश्‍वासी रहेर उहाँको मृत्यु भयो।

[पृष्ठ २४-मा भएका चित्रहरू]

थम्सन, पछाडि जाम्बिया शाखा कार्यालय

[पृष्ठ २६-मा भएको चित्र]

अहिलेको जाम्बिया शाखा कार्यालय