सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आन्तरिक शान्ति कहाँ पाउन सकिन्छ?

आन्तरिक शान्ति कहाँ पाउन सकिन्छ?

आन्तरिक शान्ति कहाँ पाउन सकिन्छ?

अघिल्लो लेखमा उल्लेख गरिएका थोरस र हाम्रो समयबीच थुप्रै भिन्‍नता छन्‌। एउटा मुख्य भिन्‍नता हो, अहिले मानसिक शान्ति प्राप्त गर्ने सल्लाह र सुझाउको छेलोखेलो छ। मनोचिकित्सक, आफैले पढेर फाइदा उठाउन सकिने पुस्तकका लेखक र समाचार पत्रका स्तम्भकारहरू समेतले आ-आफ्नो उपायहरू पेस गरेका छन्‌। तिनीहरूका सल्लाहले केही समयसम्म त काम गर्ला तर चिरकालीन समाधानकै लागि भने अलि गहकिलो श्रोत नै चाहिन्छ। अघिल्लो लेखमा उल्लेखित व्यक्‍तिहरूले त्यस्तै श्रोत पत्ता लगाए।

आन्टोनियो, मार्कस, गेर्जोन, भानिया र मार्सेलु भिन्‍नाभिन्‍नै पृष्ठभूमिका हुन्‌ अनि तिनीहरूको बेग्लाबेग्लै समस्या थिए। तर तिनीहरूको तीनटा कुरामा भने समानता थियो। पहिलो, तिनीहरू कुनै समय “आशा नभएका, र यस संसारमा परमेश्‍वररहित भएका” थिए। (एफिसी २:१२) दोस्रो, तिनीहरू मानसिक शान्तिको खोजीमा थिए। अनि तेस्रो, यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न राजी भएपछि आफूले चाहेको आन्तरिक शान्ति पाए। प्रगति गर्दै गएपछि, परमेश्‍वरले तिनीहरूमा चासो राख्नुहुन्छ भन्‍ने कुरा महसुस गरे। हुन पनि, पावलले त्यतिखेरका एथेन्सवासीहरूलाई भनेजस्तै परमेश्‍वर “हामी हरेकबाट टाढ़ा हुनुहुन्‍न।” (प्रेरित १७:२७) सोझो मनले यस कुरामा विश्‍वस्त हुनु नै आन्तरिक शान्ति प्राप्तिको मुख्य कारक हो।

शान्तिको किन यस्तो हाहाकार?

आन्तरिक होस्‌ या मानिसहरूबीचको शान्ति नै किन नहोस्‌, बाइबलले शान्तिको यस्तो हाहाकार हुनुको खास दुई कारण बताउँछ। यर्मिया १०:२३ मा पहिलो कारण यसरी बताइएको छ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” कसैको मदतबिना आफूलाई बाटो देखाउन मानिससँग न बुद्धि छ, न दूरदर्शिता। महत्त्वपूर्ण सहयोगको एक मात्र स्रोत त परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरको निर्देशन नखोज्ने मानवहरूले कहिल्यै चिर शान्ति पाउन सक्दैनन्‌। शान्तिको अभाव हुनुको दोस्रो कारण यूहन्‍नाका यी शब्दहरूमा पाइन्छन्‌: “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” (१ यूहन्‍ना ५:१९) ईश्‍वरीय निर्देशनबिना शान्तिको खोजी गर्ने मानिसको प्रयास अदृश्‍य तर वास्तविक अनि अति शक्‍तिशाली “दुष्ट” शैतानको क्रियाकलापले विफल पारिदिन्छ।

यी दुई कारणले गर्दा प्रायजसो मानिस परमेश्‍वरको डोऱ्‍याइ खोज्दैनन्‌। अर्कोतिर शैतान संसारमा अति सक्रिय छ, परिणाम—प्रायजसो मानवजाति दुःखद स्थितिमा छन्‌। यस्तो अवस्थालाई प्रेरित पावलले उपयुक्‍त ढंगमा यसरी बयान गरेका छन्‌: “सारा सृष्टि पनि साथसाथै पीड़ाले सुस्केरा हाल्दै प्रसव वेदनामा अहिलेसम्म परेको छ।” (रोमी ८:२२) उक्‍त भनाइलाई कसले नकार्न सक्छ र? गरिब मुलुकको त कुरै छाडौं, धनी राष्ट्रहरूमा पनि पारिवारिक समस्या, अपराध, अन्याय, फरक व्यक्‍तित्वको कारण झगडा, आर्थिक अस्थिरता, जातीय अनि वर्गीय घृणा, अत्याचार, रोगबिमार र त्यस्तै अरू थुप्रै समस्याले मानिसहरूको मानसिक शान्ति हरण गरेको छ।

आन्तरिक शान्ति कहाँ खोज्ने

आन्टोनियो, मार्कस, गेर्जोन, भानिया र मार्सेलुले परमेश्‍वरको वचन बाइबल अध्ययन गर्न थालेपछि तिनीहरूले आफ्नो जीवनै परिवर्तन गर्ने कुरा सिके। जस्तै, संसारको परिस्थिति कुनै दिन परिवर्तन हुन्छ भन्‍ने कुरा तिनीहरूले सिके। पछि सबै कुरा ठीक भइहाल्छ नि भनेजस्तो यो फोस्रो आशा होइन। यो, परमेश्‍वरले मानिसजातिका लागि साँच्नु भएको वास्तविक अनि भरपर्दो उद्देश्‍य हो र हामी उहाँको इच्छाअनुसार चल्यौं भने अहिल्यै त्यस उद्देश्‍यबाट फाइदा उठाउन सक्छौं। तिनीहरूले बाइबलबाट सिकेका कुरा आफ्नो जीवनमा लागू गरे, त्यसपछि स्थितिमा सुधार आयो। त्यसरी, तिनीहरूले सोचेभन्दा प्रशस्त मात्रामा खुसीयाली र शान्ति पाए।

आन्टोनियो अहिले विरोध र मजदुर आन्दोलनमा लाग्दैनन्‌। त्यसरी ल्याएको परिवर्तन सीमित अनि अस्थायी हुन्छ भन्‍ने कुरा अहिले तिनले बुझेका छन्‌। यी भूतपूर्व मजदुर नेताले परमेश्‍वरको राज्यसम्बन्धी कुराहरू सिकेका छन्‌। यो त्यही राज्य हो जसका लागि लाखौं मानिसले प्रभुको (वा, हाम्रो पिताको) प्रार्थनाद्वारा बिन्ती गर्दै परमेश्‍वरलाई यसो भन्छन्‌: “तपाईंको राज्य आओस्‌।” (मत्ती ६:१०क) आन्टोनियोले, परमेश्‍वरको राज्य वास्तविक स्वर्गीय सरकार हो र यसले मानवजातिलाई साँच्चैको शान्ति दिन्छ भन्‍ने कुरा सिके।

मार्कसले, विवाहको विषयमा बाइबलको बुद्धिमान्‌ सल्लाह व्यवहारमा उतार्न सिके। त्यसो गरेर, ती भूतपूर्व राजनीतिज्ञ अहिले आफ्नी पत्नीसँग हाँसीखुसीसाथ बसेका छन्‌। तिनी पनि अब छिट्टै यस संसारको लोभी अनि स्वार्थी रीतिरिवाजको सट्टा परमेश्‍वरको राज्य आउने प्रतीक्षामा छन्‌। प्रभुको प्रार्थनामा भएको यो वाक्यको अर्थ तिनले राम्ररी बुझेका छन्‌: “तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०ख) पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा भएपछि मानिसहरूले पहिले कहिल्यै नदेखेको उच्चस्तरीय जीवनको अनुभव गर्नेछन्‌।

गेर्जोन नि? अब तिनी पहिलेजस्तो घुमन्ते र चोर होइनन्‌। यी पूर्वसडक बालकको जीवन अहिले अर्थपूर्ण छ। तिनी अरूलाई आन्तरिक शान्ति पाउन मदत गर्नमा आफ्नो सामर्थ्य प्रयोग गर्छन्‌। यी अनुभवहरूले देखाएजस्तै बाइबल अध्ययन गरेर यसले भनेका कुरा व्यवहारमा उतार्दा मानिसको जीवनमा साह्रै राम्रो परिवर्तन ल्याउन सकिन्छ।

समस्याग्रस्त संसारमा आन्तरिक शान्ति

परमेश्‍वरको इच्छा पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने ऐतिहासिक व्यक्‍ति येशू ख्रीष्ट नै हुनुहुन्छ। जसै मानिसहरूले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन सुरु गर्छन्‌, येशूको बारेमा थुप्रै कुरा सिक्छन्‌। उहाँ जन्मनुभएको रातमा स्वर्गदूतहरूले यसरी परमेश्‍वरको गुणगान गाएका थिए: “परमधाममा परमेश्‍वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्‍न हुनुभएका मानिसहरूलाई शान्ति।” (लूका २:१४) उहाँ हुर्केर ठूलो हुनुभएपछि मानिसको जीवनस्तर उकास्न उत्सुक हुनुहुन्थ्यो। उहाँले तिनीहरूको भावना बुझ्नुभयो अनि दीनदुःखी र बिरामीहरूलाई असाधारण अनुकम्पा देखाउनुभयो। अनि स्वर्गदूतहरूले प्रयोग गरेका शब्दहरूअनुरूप नम्रहरूलाई प्रशस्त मात्रामा आन्तरिक शान्ति दिनुभयो। आफ्नो सेवकाईको अन्ततिर उहाँले चेलाहरूलाई यसो भन्‍नुभयो: “शान्ति म तिमीहरूका निम्ति छोड़दछु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तो ता मैले तिमीहरूलाई दिने होइन। तिमीहरूको हृदय नता विचलित होस्‌, न भयभीत होस्‌।”—यूहन्‍ना १४:२७.

येशू परोपकारी पुरुष मात्र हुनुहुन्‍नथ्यो। उहाँले आफूलाई गोठालो र आफ्ना चेलाहरूलाई भेडासँग तुलना गर्नुहुँदै भन्‍नुभयो: “म ता तिनीहरूले जीवन पाऊन्‌, र त्यो प्रशस्त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ। म असल गोठालो हुँ। असल गोठालाले आफ्नो प्राण भेड़ाहरूका लागि अर्पण गर्दछ।” (यूहन्‍ना १०:१०, ११) हो, आफ्नै स्वार्थ अघि सार्ने वर्तमान थुप्रै नेताहरूजस्तो नभई येशूले आफ्ना भेडाहरूको लागि आफ्नो ज्यानै अर्पण गर्नुभयो।

येशूले गर्नुभएको कामबाट हामी कसरी लाभ उठाउन सक्छौं त? यी शब्दहरूसँग थुप्रै मानिसहरू परिचित छन्‌: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) येशूमाथि विश्‍वास गर्न सर्वप्रथम उहाँ र उहाँका पिता यहोवाको ज्ञान लिनुपर्छ। परमेश्‍वर र येशू ख्रीष्टको ज्ञानले यहोवा परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध बढाउन सहयोग गर्छ अनि यही सम्बन्धले हामीलाई मानसिक शान्ति पाउन मदत गर्छ।

येशूले यसो भन्‍नुभयो: “मेरा भेड़ाहरूले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछ। अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै पनि नष्ट हुनेछैन, औ कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।” (यूहन्‍ना १०:२७, २८) कस्तो न्यानो अनि सान्त्वनादायी शब्दहरू! हो, येशूले यी कुरा झन्डै दुई हजार वर्षअघि भन्‍नुभए तापनि त्यतिबेला जस्तै अहिले पनि उत्तिकै सशक्‍त छन्‌। नबिर्सनुहोस्‌, येशू ख्रीष्ट अझै जीवित र सक्रिय हुनुहुन्छ अनि परमेश्‍वरको स्वर्गीय राज्यको सिंहासनमा बसेर शासन गर्दैहुनुहुन्छ। धेरै वर्षअघि उहाँले पृथ्वीमा जीवन बिताउनु भएको बेलामा जस्तै अहिले पनि मानसिक शान्तिको खोजीमा भौंतारिएका नम्र मानिसहरूमा चासो राख्नुहुन्छ। साथै, उहाँ अझै आफ्ना भेडाहरूको गोठालो हुनुहुन्छ। यदि हामीले उहाँको अनुसरण गऱ्‍यौं भने आन्तरिक शान्ति भेट्टाउन उहाँले हामीलाई मदत गर्नुहुनेछ। हामीले पाउने त्यस्तो शान्तिमा हिंसा, लडाइँ र अपराधसमेत नहुने भावी संसारको निश्‍चित आशा पनि समावेश छ।

येशूमार्फत यहोवालाई चिन्यौं अनि विश्‍वास गऱ्‍यौं भने हामीले साच्चै लाभ उठाउन सक्छौं। थुप्रै जिम्मेवारी बोकेकी र परमेश्‍वरले वास्ता गर्नुहुन्‍न भनी सम्झेकी कलिलो उमेरकी भानियालाई सम्झनुभएको छ? परमेश्‍वरले तिनलाई त्याग्नु भएको रहेनछ भनेर अहिले भानियाले बुझिसकेकीछिन्‌। तिनी यसो भन्छिन्‌: “परमेश्‍वर मायालु गुणहरूका धनी वास्तविक व्यक्‍ति हुनुहुँदो रहेछ भनेर मैले सिकेकी छु। उहाँको प्रेमले, हामीलाई जीवन दिन आफ्नो पुत्र पृथ्वीमा पठाउन प्रेरित गऱ्‍यो। यो कुरा थाह पाउनु एकदमै महत्त्वपूर्ण छ।”

परमेश्‍वरसँगको आफ्नो सम्बन्ध वास्तविक हो भनी मार्सेलु आफ्नो अनुभव बताउँछन्‌। ती पहिलेका पार्टिको कीरो यसो भन्छन्‌: “उरन्ठेउलाहरूलाई के-कसो गर्नुपर्छ भनेर केही थाह हुँदैन अनि बरालिएर जीवनै खोक्रो बनाउँछन्‌। कोही कोही म पहिले भएजस्तै लागू पदार्थको दुर्व्यशनी हुन्छन्‌। मलाई आशा छ, त्यस्ता थुप्रैले परमेश्‍वर र उहाँको पुत्रबारे सिके भने मैले पाएजस्तै आशिष्‌ पाउनेछन्‌।”

गम्भीरतासाथ बाइबल अध्ययन गरेर भानिया र मार्सेलुले परमेश्‍वरमाथि गहिरो आस्था राख्न सके। साथै, उहाँ तिनीहरूलाई समस्याहरूसँग जुझ्न मदत गर्न इच्छुक हुनुहुन्छ भन्‍ने विश्‍वास विकास गर्न सके। हामीले पनि तिनीहरूले जस्तै बाइबल अध्ययन गरेर यसले भनेका कुराहरू व्यवहारमा उताऱ्‍यौं भने तिनीहरूले जस्तै प्रशस्त मात्रामा आन्तरिक शान्ति पाउनेछौं। त्यसोभए, प्रेरित पावलको यो प्रोत्साहन हामीमा पनि साँच्चै लागू हुन्छ: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्‍वरमा जाहेर होस्‌। औ परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.

आज साँच्चैको शान्ति प्राप्त गर्ने

येशू ख्रीष्टले सत्यका भोका मानिसहरूलाई पार्थिव प्रमोदवनतिर पुऱ्‍याउने अनन्त जीवनको बाटोमा डोऱ्‍याउँदै हुनुहुन्छ। उहाँले परमेश्‍वरको शुद्ध उपासनातिर डोऱ्‍याउनुहुँदा तिनीहरूले बाइबलमा उल्लेखित यो शान्ति अनुभव गर्छन्‌: “मेरो प्रजा चाहिं शान्त डेरा, सुरक्षित बासहरू र शान्तमय विश्रामका ठाउँहरूमा बस्नेछन्‌।” (यशैया ३२:१८) तिनीहरूले भविष्यमा अनुभव गर्ने शान्तिको यो त एक झलक मात्र हो। त्यसबारे हामी यसरी पढ्‌छौं: “नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌। धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:११, २९.

के त्यसोभए आज हामी आन्तरिक शान्ति पाउन सक्छौं त? सक्छौं। त्यति मात्र होइन, परमेश्‍वरले निकट भविष्यमै आज्ञाकारी मानिसजातिलाई कहिल्यै अनुभव नगरेको शान्तिको आशिष्‌ दिनुहुनेछ भनी हामी ढुक्क हुनसक्छौं। त्यसोभए, उहाँले दिनुहुने शान्तिको लागि बिन्ती गर्नुभए कसो होला? तपाईंको शान्ति हरण गर्ने त्यस्तो कुनै समस्या छ भने दाऊद राजाले जस्तै यसरी बिन्ती गर्नुहोस्‌: “मेरो हृदयका दुःखहरू बढ़ेका छन्‌। मलाई मेरा कष्टहरूबाट तपाईंलेनै छुटाउनुहोस्‌। मेरा दुःख र वेदनाको विचार गर्नुहोस्‌। र मेरा सबै पापहरू क्षमा गर्नुहोस्‌।” (भजन २५:१७, १८) त्यस्तो प्रार्थना परमेश्‍वरले सुन्‍नुहुन्छ भनी ढुक्क हुनुहोस्‌। उहाँले आफ्नो मुठी खोल्नुहुनेछ र सोझो मनले खोज्नेहरू सबैलाई शान्ति दिनुहुनेछ। हामीलाई यस्तो मायालु आश्‍वासन दिइएको छ: “उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकारने सबैका नजीक। उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्‍नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ।”—भजन १४५:१८, १९.

[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]

कसैको मदतबिना आफूलाई बाटो देखाउन मानिससँग न बुद्धि छ न दूरदर्शिता। महत्त्वपूर्ण सहयोगको एक मात्र स्रोत त परमेश्‍वर नै हुनुहुन्छ

[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वर र येशू ख्रीष्टको ज्ञानले यहोवा परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध बढाउन सहयोग गर्छ अनि यही सम्बन्धले हामीलाई मानसिक शान्ति पाउन मदत गर्छ

[पृष्ठ ७-मा भएको चित्र]

बाइबलका सल्लाहहरू पालन गर्नाले पारिवारिक जीवन शान्तिमय हुन्छ