सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब जीवाणुहरूले कसैलाई हानि गर्नेछैनन्‌

जब जीवाणुहरूले कसैलाई हानि गर्नेछैनन्‌

जब जीवाणुहरूले कसैलाई हानि गर्नेछैनन्‌

जीवाणुहरू वा सूक्ष्मजीवहरू जीवनको लागि अत्यावश्‍यक छन्‌। ती धर्तीको माटो र हाम्रो शरीरका महत्त्वपूर्ण हिस्सा हुन्‌। पृष्ठ ७ मा “विभिन्‍न किसिमका जीवाणुहरू” भन्‍ने पेटीले टिप्पणी गरेझैं “हाम्रो शरीरमा खरबौं जीवाणुहरू छन्‌।” यीमध्ये प्रायजसो उपयोगी र वास्तवमा भन्‍ने हो भने, हाम्रो स्वास्थ्यको लागि अत्यावश्‍यक छन्‌। तुलनात्मक हिसाबले हेर्दा थोरैले मात्र रोग सार्ने भए तापनि पछि गएर कुनै पनि जीवाणुले कसैलाई हानि गर्नेछैन भनेर हामी विश्‍वस्त हुन सक्छौं।

जीवाणुहरूको सबै हानिकारक असर निर्मूल हुने माध्यमबारे केलाउनुअघि रोग सार्ने जीवाणुहरू विरुद्ध लड्‌ने वर्तमान प्रयासहरूबारे छलफल गरौं। सँगै दिइएको पेटी “तपाईं के गर्न सक्नुहुन्छ” केलाउनुअघि प्रतिरोधी जीवाणुहरू विरुद्ध लड्‌न स्वास्थ्य पेसेवरहरूका प्रयासलाई विचार गर्नुहोस्‌।

विश्‍वव्यापी रणनीति

विश्‍व-स्वास्थ्यसंघका भूतपूर्व महानिर्देशक, डा. ग्रो हार्लेम ब्रुन्टल्यानले प्रयासहरूबारे वर्णन गरिन्‌। संक्रामक रोगहरूको प्रतिवेदन २०००-मा “एन्टि-माइक्रोबियल प्रतिरोधमाथि विजयी हुने” शीर्षकअन्तर्गत तिनले जीवाणु “प्रतिरोधलाई सीमित गर्ने विश्‍वव्यापी रणनीति” विकास गर्नुपर्ने खाँचो औंल्याइन्‌। तिनले “सबै स्वास्थ्यसेवा प्रबन्धहरूबीच समन्वय” बढाउनुपर्ने कुरालाई जोड दिंदै यसो भनिन्‌: “संक्रामक रोगहरू विरुद्ध विशाल प्रयास सुरु गर्ने हामीले मौका पाएका छौं।”

सन्‌ २००१ मा विश्‍व-स्वास्थ्यसंघले “एन्टिमाइक्रोबियल प्रतिरोधलाई सीमित पार्ने विश्‍वव्यापी रणनीति” तय गर्ने प्रस्ताव राख्यो। यो दस्तावेजले “के गर्नेयो कसरी गर्ने” भन्‍ने विषयमा स्वास्थ्य-सेवा प्रबन्धक तथा जनसाधारणहरूको लागि सूचना प्रदान गऱ्‍यो। यो रणनीतिमा बिरामी हुनबाट कसरी बच्ने भनेर शिक्षा दिनुको अलावा संक्रमण हुँदा एन्टिबायोटिक तथा अन्य एन्टिमाइक्रोबियलको प्रयोगबारे निर्देशन प्रदान गऱ्‍यो।

साथै, स्वास्थ्य-सेवा कामदारहरू, डाक्टर र नर्सलगायत अस्पताल र नर्सिङ होममा काम गर्ने अन्य व्यक्‍तिहरूलाई संक्रमण फैलिन नदिने राम्रा कदमहरू चाल्न आग्रह गरियो। दुःखको कुरा, अध्ययनहरूले देखाएअनुसार थुप्रै स्वास्थ्यकर्मीहरूले अझै पनि हात धुन वा एउटा बिरामीपछि अर्कोलाई जाँच्दा पन्जा फेर्न हेलचेक्य्राइँ गर्छन्‌।

सर्वेक्षणहरूले देखाएअनुसार आवश्‍यक नभएको अवस्थामा पनि डाक्टरहरूले एन्टिबायोटिक लेखिदिन्छन्‌। यसो हुनुको एउटा कारण हो, मानिसहरूले तुरुन्तै निको हुनको लागि डाक्टरलाई एन्टिबायोटिक लेखिदिने दबाब दिन्छन्‌। त्यसकारण डाक्टरहरू केवल बिरामीलाई खुसी पार्न लेखिदिने गर्छन्‌। प्रायजसो अवस्थामा डाक्टरहरूले आफ्ना बिरामीहरूलाई सिकाउन वा संक्रमण गरेको जीवाणु चिन्‍न सकिने तरिकाहरूबारे बताउन समय निकाल्दैनन्‌। साथै, तिनीहरूले नयाँ तर बढी महँगा औषधीहरू लेखिदिन्छन्‌ जुन विभिन्‍न किसिमका जीवाणुहरू विरुद्ध प्रभावकारी हुन्छ। अनि यसले पनि प्रतिरोधी औषधीहरूको समस्यालाई अझ जटिल बनाउँछ।

विश्‍व-स्वास्थ्यसंघको विश्‍वव्यापी रणनीतिमा ध्यान दिइएका थप क्षेत्रहरू अस्पताल, राष्ट्रिय स्वास्थ्य प्रणाली, खाद्य उत्पादन, औषधी कम्पनी र कानुनवेत्ताहरू हुन्‌। यो रिपोर्टले प्रतिरोधी जीवाणुहरूको विश्‍वव्यापी खतरा विरुद्ध लड्‌न तिनीहरू सबैबीच सहयोग बढाउन प्रोत्साहन दिन्छ। तर के त्यस्तो कार्यक्रम प्रभावकारी हुनेछ?

सफलताका लागि अवरोधहरू

विश्‍व-स्वास्थ्यसंघको विश्‍वव्यापी रणनीतिले स्वास्थ्य समस्याहरू समाधान गर्ने प्रमुख अवरोधबारे संकेत गऱ्‍यो। यो नाफा कमाउने मनसाय हो—पैसा। बाइबलले पैसाको प्रेम “सबै किसिमका खराबीको” लागि जिम्मेवार छ भनेर बताउँछ। (१ तिमोथी ६:९, १०) विश्‍व-स्वास्थ्यसंघ यस्तो आग्रह गर्छ: “औषधी उद्योगहरूसित अन्तरक्रिया अनि बिक्रेता प्रतिनिधिहरूको अस्पताल कर्मचारीहरूसित भेट्‌ने उचित प्रबन्ध अनि प्रबन्धकहरूको लागि उद्योगद्वारा आयोजित शैक्षिक कार्यक्रमहरूमाथि निगरानी राख्ने जस्ता कुराहरू पनि विचार गर्नुपर्छ।”

औषधी कम्पनीहरूले आफ्ना उत्पादनहरू लिन डाक्टरहरूलाई जबरजस्ती गर्छन्‌। अहिले तिनीहरू टिभीमा विज्ञापनद्वारा सोझै जनसाधारणसमक्ष पुग्छन्‌। यसले गर्दा नै औषधीहरूको अचाक्ली खपत भएको छ अनि जसको फलस्वरूप औषधी प्रतिरोधी जीवाणुहरूको छ्यासछ्यासती वृद्धि भएको छ।

विश्‍व-स्वास्थ्यसंघको विश्‍वव्यापी रणनीतिको एउटा अध्यायमा खाद्य उत्पादन गर्ने जनावरहरूमा एन्टिमाइक्रोबियलको प्रयोगबारे यसो भनिएको छ: “कुनै-कुनै देशका पशु चिकित्सकहरूले औषधीको बिक्रीबाट आफ्नो आयभन्दा ४०% वा त्योभन्दा बढी कमाउँछन्‌, त्यसकारण एन्टिमाइक्रोबियलको प्रयोगलाई सीमित गर्न कुनै उत्साह देखिंदैन।” प्राप्त प्रमाणअनुसार प्रतिरोधी जीवाणुहरू पुनः देखा पर्नुका साथै फस्टाएका छन्‌ किनभने एन्टिबायोटिकको अचाक्ली प्रयोग भएको छ।

एन्टिबायोटिकको प्रयोग साँच्चै अचम्मैसित भइरहेको छ। संयुक्‍त राज्य अमेरिकामा मात्रै लगभग २ करोड किलोग्राम एन्टिबायोटिक वर्षेनी उत्पादन गरिन्छ! यो कुल उत्पादनमध्ये आधी जति मात्र मानिसहरूका लागि प्रयोग गरिन्छ। बाँकी चाहिं अन्‍नबालीमा छरिन्छ वा जनावरहरूलाई खुवाइन्छ। एन्टिबायोटिकहरू अक्सर जनावरको चारोसित मिसाएर खुवाइन्छ किनभने यसले गर्दा तिनीहरूको विकास छिट-छिटो हुन्छ।

सरकारहरूको भूमिका

उल्लेखनीय कुरा के हो भने, विश्‍व-स्वास्थ्यसंघ विश्‍वव्यापी रणनीतिको कार्यकारी उपसंहार यसो भन्छ: “यो रणनीति व्यवहारमा उतार्ने ठूलो जिम्मेवारी प्रत्येक राष्ट्रसितै छ। सरकारहरूले निर्णायक भूमिका खेल्नुपर्नेछ।”

वास्तवमा, थुप्रै सरकारहरूले एन्टिमाइक्रोबियल प्रतिरोधलाई सीमित पार्ने कार्यक्रमहरू विकास गरेका छन्‌ अनि तिनीहरूले आफ्नो राष्ट्रिय सीमा भित्र र बाहिरको सहयोगलाई जोड दिएका छन्‌। यी कार्यक्रमअन्तर्गत एन्टिमाइक्रोबियलको प्रयोग र प्रतिरोधी माइक्रोब्सको रेकर्ड राख्ने, अझ राम्ररी संक्रमण नियन्त्रण गर्ने, औषधी र कृषिमा एन्टिमाइक्रोबियलको उचित प्रयोग गर्ने, प्रतिरोधको कारण बुझ्न अनुसन्धान र नयाँ औषधीहरूको विकास इत्यादि पर्छन्‌। विश्‍व-स्वास्थ्यसंघको संक्रामक रोगहरूको प्रतिवेदन २००० त्यति आशावादी थिएन। किन?

त्यस प्रतिवेदनले “जन स्वास्थ्यलाई प्राथमिकता नदिने सरकाहरूले राजनैतिक संकल्प नदेखाएको” कुरा औंल्यायो। थप यसो भनियो: “रोग—अनि त्यसपछि प्रतिरोध—गृह कलह, गरिबी, ठूलो संख्यामा बसाइँसराइ र वातावरणीय भूक्षय भएको अवस्थामा पनि फस्टाउँछ जब थुप्रै मानिसहरूलाई संक्रामक रोगहरू सजिलै लाग्न सक्ने वातावरण हुन्छ।” दुःखको कुरा, मानव सरकारहरूले समाधान गर्न नसकेका समस्याहरू भनेका यिनै हुन्‌।

तथापि, बाइबलले ती सबै रोग ल्याउने समस्याहरू समाधान गर्ने मात्र होइन तर बिमारीलाई पूरै निर्मूल गर्ने सरकारबारे बताउँछ। तपाईंको विचारमा कुनै-कुनै जीवाणुहरूले सधैं हानि पुऱ्‍याइरहनेछ जस्तो लाग्ला तर भविष्यमा त्योभन्दा राम्रो हुनेछ भनेर आशा गर्न सकिने कारणहरू छन्‌।

जब कुनै जीवाणुले हानि गर्नेछैन

बाइबल अगमवक्‍ता यशैयाले धेरैअघि एउटा ईश्‍वरीय सरकारलाई औंल्याए र त्यसको शासक चिनाए। किङ जेम्स भर्सन बाइबलअनुसार यो भविष्यवाणी विचार गर्नुहोस्‌: “हाम्रा निम्ति एउटा बालक जन्मिएको छ, एउटा पुत्र दिइएको छ; उसको काँधमा त्यो सरकार हुनेछ; उसको नाउँ अद्‌भुत, सल्लाहकार, पराक्रमी परमेश्‍वर, सनातनका पिता, शान्तिका राजकुमार हुनेछ।”—छड्‌के अक्षर हाम्रो, यशैया ९:६.

शासन प्राप्त गर्ने यो बालक, यो राजकुमार को हो? तिनको जन्म हुनुअगावै कसरी तिनको चिनारी दिइएको थियो, ध्यान दिनुहोस्‌। गब्रिएल स्वर्गदूतले कन्या केटी मरियमलाई यसो भने: “हेर, तिमी गर्भवती हुनेछौ, र एउटा छोरो जन्माउनेछौ, र तिमीले उहाँको नाउँ येशू राख्नू। उहाँ महान्‌ हुनुहुनेछ . . . उहाँको राज्यको अन्त हुनेछैन।”—छड्‌के अक्षर हाम्रो; लूका १:३१-३३.

येशू शारीरिक तवरमा परिपक्व हुनुभएपछि परमेश्‍वरको राज्य सरकारको प्रतिज्ञाकृत शासक उहाँ नै हुनुहुन्छ भनेर प्रमाण दिनुभयो। येशूले देशभरि “राज्यको सुसमाचार” घोषणा मात्र गर्नुभएन तर सबै बिरामी र रोग हटाउन सक्ने शक्‍ति पनि प्रदर्शन गर्नुभयो। बाइबलको रिपोर्टअनुसार “लंगड़ा, अन्धा, लाटा, कूँजो र धेरै अरूहरूसित भएका ठूला भीड़ उहाँकहाँ आए र तिनीहरूलाई उहाँका चरणमा राखिदिए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। यहाँसम्म कि, लाटाहरू बोलेका, कूँजोहरू निको भएका, लंगड़ाहरू हिंड़ेका, अन्धाहरूका आँखा खोलिएका देखेर भीड़हरू छक्कै परे।”—छड्‌के अक्षर हाम्रो; मत्ती ९:३५; १५:३०, ३१.

हो, मानिसले जस्तोसुकै रोग वा अशक्‍तता भोगेको भए तापनि येशूले निको पार्नुभयो। उहाँले मरिसकेका थुप्रै मानिसहरूलाई पुनः जीवनसमेत दिनुभयो। (लूका ७:११-१७; ८:४९-५६; यूहन्‍ना ११:३८-४४) हो, निको भएका वा पुनरुत्थान भएकाहरूसमेत अन्तमा मरे। तैपनि, येशूका चमत्कारहरूले राज्य शासनअन्तर्गत उहाँले पृथ्वीका मानिसहरूलाई भविष्यमा के गर्नुहुनेछ भनेर देखायो। बाइबलले प्रतिज्ञा गरेअनुसार त्यतिबेला “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें।’ ”—यशैया ३३:२४; प्रकाश २१:३, ४.

आज, हामीलाई राम्ररी थाह भएको कुरा हो, सबै जना रोगबिमार र मृत्युको सिकार भएका छन्‌। जीवाणुहरूले लाखौंलाई हानि पुऱ्‍याउँछन्‌ र अक्सर घातक साबित हुन्छ। यद्यपि, मानव शरीर एकदमै अद्‌भुत ढंगमा रचना गरिएको हुँदा मानिस किन बिरामी परेको होला भनेर कोही-कोही छक्क पर्ने गर्छन्‌। चिकित्सा डाक्टर लुइस थमसले ब्याक्टेरियाको महत्त्वपूर्ण भूमिका र बिरामी भनेको “दुर्घटनाजस्तै” हुने गर्छ भनी लेखे। तिनले भने: “हुन सक्छ, प्रभावित मानिसहरूको प्रतिरोधात्मक प्रक्रिया बेग्लै तरिकाले त्रुटिपूर्ण हुन्छ।”

निस्सन्देह, बलियो रोग प्रतिरोधात्मक प्रणाली भएका व्यक्‍तिहरू विरलै मात्र ब्याक्टेरियाबाट संक्रमित हुन्छन्‌। तैपनि आखिरमा सबै जना वृद्धावस्था र मृत्युको सिकार हुन्छन्‌। बिमारी अनि मृत्युको लागि सुरुको सिद्ध मानिस आदमबाट जन्मजात पाएको पाप जिम्मेवार छ भनी बाइबल बताउँछ। बाइबल यसो भन्छ, “एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो। किनकि सबैले पाप गरेका छन्‌”—रोमी ५:१२.

तथापि, परमेश्‍वरले मानिसहरूलाई पापको असरबाट मुक्‍त गर्न आफ्नो पुत्रलाई तिनको सिद्ध शरीर बलिदान दिन पठाउनुभयो। (मत्ती २०:२८) बाइबल यसरी वर्णन गर्छ: “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो।” (रोमी ६:२३; १ यूहन्‍ना ५:११) परमेश्‍वरको राज्य शासनअन्तर्गत ख्रीष्टको छुडौतीको बलिदानको आधारमा निवारणका असरहरू वास्तविकतामा परिणत हुनेछन्‌। तब अहिले रोग सार्नेलगायत सबै किसिमका जीवाणुहरूले कसैलाई हानि गर्नेछैनन्‌।

के बाइबलमा प्रतिज्ञा गरिएको राज्य सरकारबारे सिक्नु बुद्धिमानी होइन र, जसले मानिसजातिका समस्याहरूको समाधान गर्नेछ? यहोवाका साक्षीहरू तपाईंलाई अझ बढी सिक्ने मदत दिन खुसी हुनेछन्‌। (g03 10/22)

[पृष्ठ ९-मा भएको पेटी]

तपाईं के गर्न सक्नुहुन्छ?

प्रतिरोधी जीवाणुहरूको खतरा कम गर्न तपाईं के गर्न सक्नुहुन्छ? विश्‍व-स्वास्थ्यसंघले केही निर्देशनहरू प्रदान गरेको छ। सर्वप्रथम, यसले रोग कम गर्ने तथा संक्रमण फैलिनदेखि रोक्ने कदमहरूबारे जानकारी दियो। दोस्रो, मानिसहरूले एन्टिमाइक्रोबियलको प्रयोगमा कसरी सुधार ल्याउन सक्छन्‌ भनी वर्णन गऱ्‍यो।

तर्कसंगत कुरा गर्ने हो भने, रोग र यसलाई धेरै फैलिन नदिने सर्वोत्तम तरिका स्वस्थ रहनको लागि आवश्‍यक सबै कुरा गर्नु हो। तपाईं बिरामी नपर्न के गर्न सक्नुहुन्छ?

बिरामी नपर्न चाल्न सकिने कदमहरू

१. यी तीनवटा कुरा प्राप्त गर्न यथाशक्य गर्नुहोस्‌: उचित पोषण, यथेष्ट व्यायाम र पर्याप्त आराम।

२. व्यक्‍तिगत सरसफाइ गर्नुहोस्‌। विशेषज्ञहरूले बिरामी नहुने तथा अरूलाई संक्रमण नगर्ने सबैभन्दा प्रभावकारी तरिका हात धुनु हो भनी जोड दिन्छन्‌।

३. तपाईं र तपाईंको परिवारले खाने भोजन सुरक्षित छ कि छैन पक्का गर्नुहोस्‌। तपाईंको हात र खाना तयार गरिने ठाउँको सरसफाइबारे विशेष गरी सजग हुनुहोस्‌। साथै, तपाईंको हात र खाना पखाल्न प्रयोग गरिने पानी सफा छ कि छैन पक्का गर्नुहोस्‌। जीवाणुहरू खानामा फस्टाउने हुँदा मासु राम्ररी पकाउनुहोस्‌। भोजनलाई उचित ढंगमा सञ्चय गर्नुहोस्‌ र चिस्याउनुहोस्‌।

४. उड्‌ने कीराहरूले गम्भीर रोग सार्ने ठाउँहरूमा बिहान सबेरै र राती जब यी किराहरू सक्रिय हुन्छन्‌, घर बाहिर त्यत्ति ननिस्किनुहोस्‌। अनि सधैं सुरक्षात्मक जाली प्रयोग गर्नुहोस्‌।

५. खोपले तपाईंको इलाकामा पाइने सामान्य जीवाणुहरू विरुद्ध तपाईंको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्षम बनाउँछ।

एन्टिमाइक्रोबियलको प्रयोग

१. एन्टिबायोटिक वा एन्टिमाइक्रोबियल किन्‍नु वा लिनुअघि स्वास्थ्य पेसेवरको राय लिनुहोस्‌। उपभोक्‍तालाई तारो बनाएर गरिएको बिक्रीले अक्सर किन्‍नेलाई भन्दा बेच्नेलाई फाइदा पुऱ्‍याउँछ।

२. एन्टिबायोटिक औषधीको लागि डाक्टरलाई जिद्दी नगर्नुहोस्‌। गर्नुभयो भने, तिनले बिरामी गुमाउनुपर्ला भन्‍ने डरले मात्र आवश्‍यक नभए पनि त्यो दिन सक्छन्‌। उदाहरणका लागि, रुघाखोकी भाइरसले गर्दा हुन्छ अनि एन्टिबायोटिकले रुघाखोकी निको पार्दैन। तपाईंलाई भाइरस लागेको बेला एन्टिबायोटिक लिंदा आवश्‍यक ब्याक्टेरियालाई दबाउन सक्छ, तर अर्कोतिर प्रतिरोधीहरूले बढ्‌ने मौका पाउँछन्‌।

३. सबैभन्दा नवीनतम औषधीको लागि जिद्दी नगर्नुहोस्‌—यो तपाईंको लागि अत्त्युत्तम नहुन सक्छ अनि आवश्‍यकभन्दा बढी महँगो पर्न सक्छ।

४. कुनै पनि औषधीबारे एउटा भरपर्दो स्रोतबाट जानकारी लिनुहोस्‌: यो केको लागि हो? यसका सम्भाव्य प्रतिकूल असरहरू के-के हुन्‌? यो खाँदा कस्तो प्रतिक्रिया हुन्छ अनि यो सेवन गर्दा खतरा हुन सक्ने अन्य कारणहरू के-के हुन्‌?

५. एन्टिबायोटिक औषधी साँच्चै उपयुक्‍त छ भने यसको मात्रा पूरा हुनुअघि नै तपाईंलाई सञ्चो महसुस भए तापनि सामान्यतया पूरै मात्रा सेवन गर्ने सुझाव दिइन्छ। अन्तिम मात्राले शरीरबाट सम्पूर्ण संक्रमण निकालेको पक्का गर्नेछ।

[पृष्ठ १०-मा भएको चित्र]

परमेश्‍वरको धार्मिक सरकारअन्तर्गत हानि गर्ने कुनै पनि प्रकारका जीवाणुहरूको खतराविना मानिसहरूले जीवनको आनन्द उठाउनेछन्‌