सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा पक्का आशा

एउटा पक्का आशा

एउटा पक्का आशा

आजभन्दा करिब २,००० वर्ष पहिले, अक्सर आजसम्म बाँचेकाहरूमध्ये सबैभन्दा महान्‌ पुरुष कहलाइएका व्यक्‍ति, येशूलाई अनुचित मृत्युदण्ड दिइयो। कष्टदायी शूलीमा झुन्ड्याइनुभएको बेला उहाँसँगै झुन्ड्याइएका अपराधीले खिसी गर्दै उहाँलाई भन्यो: “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।”

तर त्यसलाई हपार्दै प्राणदण्ड पाएका अर्को अपराधीले चाहिं यसो भन्यो: “तँ पनि त्यही दण्डमा परिरहेको छस्‌, तापनि परमेश्‍वरको डर मान्दैनस्‌? औ हामी ता न्याय बमोजिमनै, किनकि हामीले ता हाम्रा कामको उचित फल पाइरहेछौ, तर यी मानिसले ता केही अनुचित काम गरेका छैनन्‌।” त्यसपछि येशूतिर फर्कंदै यसो भन्यो: “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्‌।”

येशूले जवाफ दिनुभयो: “आज, म तिमीलाई साँच्चै भन्दछु तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:३९-४३, NW.

येशूसित अद्‌भुत आशा थियो। यो आशाले येशूमाथि पारेको प्रभावबारे प्रेरित पावलले यसो भने: “विश्‍वासका कर्त्ता र सिद्ध तुल्याउनुहुने येशूलाई हेरौं। जसले उहाँको सामने राखिदिएको आनन्दको निम्ति शर्मलाई घिन गरेर क्रूसको शासना भोग्नुभयो, र परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।”—हिब्रू १२:२.

येशूको सामनेमा राखिदिएको “आनन्द[मा]” आफ्नो पितासित फेरि स्वर्गमा जीवन बिताउन पाउनु र अन्ततः परमेश्‍वरको राज्यको राजाको रूपमा सेवा गर्न पाउनु समावेश थियो। यसबाहेक, उहाँले स्वर्गमा शासन गर्न योग्य प्रमाणित भएका भरोसायोग्य चेलाहरूलाई स्वर्गमा स्वागत गर्ने आनन्द पनि उठाउनु हुनेथियो। (यूहन्‍ना १४:२, ३; फिलिप्पी २:७ -११; प्रकाश २०:५, ६) त्यसोभए, येशूले त्यस पश्‍चात्तापी अपराधीलाई ऊ प्रमोदवनमा हुनेछ भनेर गर्नुभएको प्रतिज्ञाको अर्थ के थियो त?

त्यस अपराधीको लागि के आशा?

त्यो मानिस येशूसित स्वर्गमा शासन गर्न योग्यको थिएन। ऊ, येशूले “तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु,” भनेर भन्‍नु भएकाहरूमध्ये थिएन। (लूका २२:२८, २९) यद्यपि, येशूले त्यस अपराधीलाई ऊ उहाँसित प्रमोदवनमा हुनेछन्‌ भनेर प्रतिज्ञा गर्नुभयो। यो प्रतिज्ञा कसरी पूरा हुनेथियो?

प्रथम पुरुष र स्त्री आदम अनि हव्वालाई यहोवा परमेश्‍वरले अदन भनिने आनन्ददायी बगैंचामा राख्नुभएको थियो। (उत्पत्ति २:८, १५) अदन यस पृथ्वीमा थियो र परमेश्‍वरले यो सम्पूर्ण पृथ्वी प्रमोदवनमा परिणत गर्ने अठोट गर्नुभएको थियो। तथापि, आदम र हव्वाले यहोवाको आज्ञा उल्लंघन गरे र तिनीहरू आफ्नो सुन्दर घरबाट बाहिर निकालिए। (उत्पत्ति ३:२३, २४) तर येशूले त्यो प्रमोदवन पुनःस्थापित हुनेछ र सारा पृथ्वी प्रमोदवनमा परिणत हुनेछ भनेर संकेत गर्नुभयो।

उहाँको पछि लाग्दा तिनीलगायत अन्य सँगी प्रेरितहरूले के इनाम पाउनेछन्‌ भनेर प्रेरित पत्रुसले प्रश्‍न गर्दा येशूले यस्तो प्रतिज्ञा गर्नुभयो: “नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्ना महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि इस्राएलका बाह्र कुलमाथि इन्साफ गर्दै बाह्रै सिंहासनमा बस्नेछौ।” (मत्ती १९:२७, २८) उल्लेखनीय कुरा के छ भने, लूकाको विवरणमा यो वार्तालापमा “नयाँ सृष्टि[को]” साटो येशूले “आउने संसारमा” भन्‍ने शब्द उद्धरण गरिएको छ।—लूका १८:२८-३०.

तसर्थ, येशू ख्रीष्ट आफूसँगै शासन गर्ने अरू शासकहरूसहित आफ्नो महिमित सिंहासनमा बस्नुहुँदा धार्मिक नयाँ रीतिरिवाज स्थापित गर्नुहुनेछ। (२ तिमोथी २:११, १२; प्रकाश ५:१०; १४:१, ३) सम्पूर्ण पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने परमेश्‍वरको मूल उद्देश्‍य ख्रीष्टको स्वर्गीय राज्यद्वारा पूरा हुनेछ!

यस राज्य शासनको दौडान येशूले आफूसँगै मर्ने त्यस अपराधीसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुनेछ। उहाँले त्यसको पुनरुत्थान गर्नुहुनेछ र त्यस मानिस उहाँको राज्यको जनता हुनेछ। त्यसपछि त्यो अपराधीलाई परमेश्‍वरका स्तरहरू पालन गर्ने र त्यस राज्यमा सदासर्वदा बाँच्ने मौका दिइनेछ। पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने बाइबल-आधारित यस्तो प्रत्याशामा हामी पक्कै रमाउँछौं!

जीवन अर्थपूर्ण हुनसक्छ

यस्तो महान्‌ आशाले हाम्रो जीवनलाई कत्ति अर्थपूर्ण बनाउँछ, कल्पना गर्नुहोस्‌ त। यसले हाम्रो मनलाई नकारात्मक सोचाइ पैदा गर्ने खतरनाक परिणामहरूदेखि जोगिन मदत गर्नसक्छ। यस्तो आशालाई प्रेरित पावलले आध्यात्मिक हतियारको महत्त्वपूर्ण भागसित तुलना गरे। तिनले हामीलाई “मुक्‍तिको आशाको टोप” पहिरिनैपर्छ भने।—१ थिस्सलोनिकी ५:८; भजन ३७:२९; प्रकाश २१:३, ४.

यस्तो आशाले जीवनको रक्षा गर्छ। आउँदै गरेको प्रमोदवनमा “मरेकाहरूलाई बिउँताउनुहुने परमेश्‍वर[ले]” मरेका हाम्रा प्रियजनहरूलाई फेरि जीवित पार्नुहुँदा एकाकीपनको आँसुको ठाउँ रमाहटले लिनेछ। (२ कोरिन्थी १:९) त्यसपछि शारीरिक कमजोरी, पीडा अनि असक्‍तताको कारण उत्पन्‍न भएको हतोत्साह उहिलेको कुरा हुनेछ। किनकि “लङ्‌गड़ा मृगझैं उफ्रनेछ।” मानिसको छाला “बालकको जस्तै नयाँ हुनेछ” र तिनी “मस्त जवानीको बेलाको जस्तै” हुनेछन्‌।—यशैया ३५:६; अय्यूब ३३:२५, नयाँ संशोधित संस्करण।

त्यतिखेर “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परें’ ।” हाम्रो शरीरलाई धमिरालेजस्तै खाने रोगहरूको सम्झनासमेत हुनेछैन। (यशैया ३३:२४) दीर्घकालीन उदासीनताले गर्दा भएको शून्यता “सदा आनन्द[मा]” परिणत हुनेछ। (यशैया ३५:१०) घातक रोगले गर्दा उत्पन्‍न भएको नैराश्‍य मानिसजातिको पुरानो शत्रु मृत्युसँगसँगै बेपत्ता हुनेछ।—१ कोरिन्थी १५:२६.

[पृष्ठ ९-मा भएको चित्र]

मनमा परमेश्‍वरको नयाँ संसारको सुन्दर आशा सजाउनुहोस्‌