सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाँच्ने इच्छा पाइयो

बाँच्ने इच्छा पाइयो

बाँच्ने इच्छा पाइयो

मेरी गम्भीर मानसिक उदासीनताका साथै अन्य शारीरिक समस्याहरूद्वारा पीडित थिइन्‌। तथापि, न त तिनी आफ्नो परिवारबाट भावनात्मक तवरमा अलग्गिएकी थिइन्‌ न तिनी मद्य तथा लागू पदार्थको दुर्व्यसनले नै पीडित थिइन्‌। आत्महत्या गर्ने गम्भीर प्रयास गर्नेहरूसित आत्महत्याका लक्षणहरू हुन्छ नै भन्‍नु मिल्दैन भनेर मेरीको घटनाबाट प्रस्टै देखिन्छ।

केही समयको लागि त मेरी, वृद्धहरू कति सजिलै आफ्नो जीवन अन्त गर्छन्‌ भनी प्रमाणित गर्ने तथ्यांकमा समावेश होलिन्‌ जस्तो देखिएको थियो। स्थानीय अस्पतालको सघन उपचार कक्षमा कुनै प्रतिक्रिया नजनाई बेहोस भएकी मेरीलाई तिनको शरीरले पनि साथ दिन छोड्‌ला जस्तो भइसकेको थियो। तिनका व्याकुल पति जोनले तिनलाई क्षणभरको लागि पनि एक्लै छोडेनन्‌। मेरी बाँच्दिनन्‌; बाँचिहाले पनि तिनको मस्तिष्क सधैंको लागि काम नलाग्ने हुनेछ भनी डाक्टरहरूले जोन र परिवारका अन्य सदस्यहरूलाई अवगत गराए।

मेरीलाई दिनदिनै तिनकी छिमेकी स्याली भेट्‌न आउँथिन्‌। तिनी यहोवाका साक्षी थिइन्‌। स्याली भन्छिन्‌: “आशा नमार्नुस्‌ भनेर मैले परिवारका सदस्यहरूलाई आग्रह गरें। मेरी आमालाई मधुमेह भएको थियो र वर्षौंअघि उहाँ हप्तौंसम्म बेहोस हुनुभएको थियो। डाक्टरहरूले हामीलाई आशा मार्नु भनिसकेका थिए तर उहाँ बाँच्नुभयो। मैले आफ्नी आमासित गरेझैं मेरीको हात आफ्नो हातमा राखेर उहाँसित कुरा गर्न थालें र मलाई उहाँले कता कता केही प्रतिक्रिया देखाउनुभएको जस्तै लाग्यो।” तेस्रो दिनसम्ममा मेरीको चेतना अलि खुलेको र मानिसहरूलाई अलि अलि चिन्‍नसक्ने भए तापनि तिनी बोल्नसक्नेचाहिं भइसकेकी थिइनन्‌।

‘यस्तो अवस्था आउनै नदिन मैले के गर्नसक्ने थिएँ होला?’

स्याली भन्छिन्‌, “जोनले अत्यन्त दोषी महसुस गरिरहेका थिए। सबै तिनकै कारण भएको हो भनेर तिनी पक्का थिए।” आफ्नो प्रिय व्यक्‍तिले आत्महत्या गर्दा वा गर्ने प्रयास गर्दा अक्सर यस्तै हुन्छ। “मैले उहाँलाई, मेरीको गम्भीर मानसिक उदासीनतीको लागि उपचार गरिंदै छ भनेर सम्झाएँ। मेरी बिरामी हुनुहुन्थ्यो र जसरी तपाईं आफूलाई बिरामी हुनदेखि जोगाउन सक्नुहुन्थिएन, त्यसै गरी उहाँले पनि आफूलाई उदासीनता हुनदेखि जोगाउन सक्नुहुन्थिएन।”

आफ्ना प्रियजनहरूले आत्महत्या गर्दा थुप्रैलाई अक्सर यस्तो प्रश्‍नले पिरोल्छ, यस्तो अवस्था आउन नदिन मैले के गरेको भए हुने थियो होला? खतराका पूर्व संकेत र कारणहरू देखिने बित्तिकै सतर्क भइहाल्दा आत्महत्या गर्ने प्रयासलाई विफल तुल्याउन सकिन्छ। सकिएन भने पनि नबिर्सनुहोस्‌, अर्को व्यक्‍तिले गरेको आत्मघातको लागि तपाईं दोषी हुनुहुन्‍न। (गलाती ६:५) आत्महत्या गर्ने व्यक्‍तिले त्यसको दोष जानाजानी अरूमाथि थोपर्न खोज्दा यो कुरा सम्झनु विशेष गरी महत्त्वपूर्ण हुन्छ। माथि उद्धृत डा. हेन्डिन उल्लेख गर्छन्‌: “मानिसहरू प्रायः आफू मरेर गए तापनि त्यसले अरू व्यक्‍तिहरूको भावनालाई असर वा परिवर्तन गरोस्‌ भन्दै आत्महत्या गर्छन्‌ भन्‍ने कुरालाई बिर्सनु हुँदैन।”

डा. हेन्डिन अझै बताउँछन्‌: “आत्महत्या गर्न चाहने वृद्धहरू चाहिं अक्सर आफ्ना छोराछोरीलगायत दिदीबहिनी, दाजुभाइ अथवा लोग्ने वा स्वास्नीलाई प्रभावित गर्न, आफूले भनेजस्तो गराउन, अथवा तिनीहरूलाई संरक्षकको भूमिका अझ बलियोसित निर्वाह गराउन खोज्छन्‌। आत्महत्या गर्ने व्यक्‍तिको माग अक्सर पूरा गर्न नसकिने खालका हुन्छन्‌ भने अर्कोतर्फ आफ्नो मागहरूमा आत्महत्या गर्ने व्यक्‍ति अडिग भएर बस्छ। फलतः माग पूरा नभएसम्म आत्महत्या गर्ने व्यक्‍ति एकपछि अर्को झन्‌ झन्‌ भयानक प्रयत्न गरिरहन्छन्‌।”

यस्तो अवस्थामा परिवारका सदस्यहरूले आफूलाई ठूलो दबाउमा वा सहनै नसक्ने अवस्थामा परेको महसुस गर्छन्‌। यद्यपि, यहोवा परमेश्‍वरले मृतकहरूलाई बिउँताउनुहुन्छ र यसमा उदासीनती, मानसिक रोग वा नैराश्‍यको कारण आफ्नो ज्यान लिने तपाईंका प्रियजनहरू पनि पर्नसक्छन्‌ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌।—ब्यूँझनुहोस्‌! अंग्रेजी अंकको सेप्टेम्बर ८, १९९० पृष्ठ २२-३ को “बाइबलको दृष्टिकोण: आत्महत्या—पुनरुत्थान हुन्छ?” हेर्नुहोस्‌।

आत्महत्यालाई कुनै हालतमा पनि मनासिब सम्झन सकिंदैन। यद्यपि, हाम्रा प्रियजनहरूको भावी प्रत्याशा, कमी कमजोरीका कारण मानिस यस्तो अवस्थामा धकेलिन्छ भनेर पूर्णतया बुझ्नुहुने परमेश्‍वरमा निर्भर गर्नु सान्त्वनादायी हुनेछ। बाइबल यहोवाबारे यसो भन्छ: “पृथ्वीबाट स्वर्ग जति अल्गो छ। उहाँसँग डराउनेहरूमाथि उहाँको कृपा त्यत्तिकै ठूलो हुन्छ। पश्‍चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिनै टाढ़ा हटाइदिनुभएको छ। जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्‌, त्यसरीनै उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।”—भजन १०३:११-१४.

आनन्ददायी परिणाम

मेरी दुई दिनसम्म जीवन र मृत्युको दोसाँधमा परिन्‌ तर उनी बाँचिन्‌। बिस्तारै बिस्तारै तिनको मस्तिष्कले काम गर्न थाल्यो अनि जोनले तिनलाई घर फर्काए। अनि जोनले घरमा भएभरको सबै औषधी सुरक्षित ठाउँमा ताल्चा मारेर राखेका छन्‌। अहिले मानसिक स्वास्थ्य सामाजिक कार्यकर्ताहरू मेरीकहाँ नियमित तवरमा भेट्‌न आइरहन्छन्‌। झन्डै आफ्नो ज्यान गुमेको त्यो घातक व्यवहारबारे मेरी बताउन वा सम्झनसमेत सक्दिनँ भन्छिन्‌।

अहिले जोन र मेरीकी छिमेकी स्याली तिनीहरूसित प्रत्येक हप्ता बाइबल अध्ययन गरिरहेकी छिन्‌। समाधानै गर्न नसकिएला जस्तो देखिने समस्याहरू विशेष गरी वृद्धजनहरूसित सम्बन्धित समस्याहरू परमेश्‍वरले चाँडै समाधान गर्नुहुनेछ भनेर तिनीहरूले बाइबलबाट सिकेका छन्‌। “बाइबल अध्ययन गर्नु मात्र पक्कै पनि सम्पूर्ण समस्याहरूको समाधान होइन,” स्याली बताउँछिन्‌। “धर्मशास्त्रबाट यी प्रतिज्ञाहरू वास्तविक हुन्‌ भनेर तपाईं आफैले प्रमाणित गर्नुपर्छ अनि सिकेको कुरा व्यवहारमा ल्याउनुपर्छ। तर मलाई जोन र मेरीले भविष्यबारे केही साँचो आशा पाइरहेका छन्‌ जस्तो लाग्छ।”

यदि तपाईंलाई आफ्नो भविष्य अन्धकार लाग्छ र तपाईं पनि एउटा साँचो आशा पाउन चाहनुहुन्छ भने यहोवाका साक्षीहरूसित भेट गर्नुभए कसो होला? परमेश्‍वरले समाधान गर्न नसक्ने र भविष्यमा समाधान नगर्नुहुने त्यस्तो कुनै समस्या नै छैन भनेर जसरी जोन र मेरीलाई प्रमाणित गरेर देखाए, तपाईंलाई पनि देखाउने मौका दिनुहोस्‌। परिस्थिति जतिसुकै नाजुक देखिए तापनि त्यसको समाधान छ। कृपया हामीसित सुन्दर भविष्यको पक्का आशाबारे छलफल गर्नुहोस्‌। त्यसबारे सिकेर थुप्रैले बाँच्ने नवीन चाहना पाइसकेका छन्‌।

[पृष्ठ ७-मा भएको चित्र]

पति वा पत्नीले आत्महत्या गरेको छ भने जीवित पति वा पत्नीलाई यो दुःख भुल्न अक्सर मदत चाहिन्छ