सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मृत्युमाथि विजय—कसरी?

मृत्युमाथि विजय—कसरी?

हाम्रो प्रथम आमाबुबा आदम र हव्वाको अनाज्ञाकारिताले गर्दा सबै मानिसजाति पापी भए र मरे। तैपनि मानिसजातिको लागि परमेश्‍वरले राख्नुभएको उद्देश्‍य भने परिवर्तन भएको छैन। परमेश्‍वरले आफ्नो वचन बाइबलमा आफ्नो उद्देश्‍य परिवर्तन भएको छैन भनेर थुप्रै चोटि उल्लेख गर्नुभएको छ।

  • “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”भजन ३७:२९.

  • “उहाँले मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ। ब्रह्‍माण्डका मालिक यहोवाले सबैको अनुहारबाट आँसु पुछिदिनुहुनेछ।”यसैया २५:८.

  • “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।”१ कोरिन्थी १५:२६.

  • “मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन।”प्रकाश २१:४.

परमेश्‍वरले कसरी ‘मृत्युलाई निल्नुहुनेछ’ वा हाम्रो शत्रु मृत्युलाई नामेट पार्नुहुनेछ? माथि उल्लेख गरिएझैँ ‘धर्मीहरू सधैँभरि रहनेछन्‌’ भनेर बाइबलले स्पष्टसित बताएको छ। तर “सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन” भनेर पनि बाइबल बताउँछ। (उपदेशक ७:२०) त्यसोभए मृत्युलाई जित्न के परमेश्‍वरले आफूले तोकेको स्तर त्याग्नुहुनेछ? त्यस्तो त हुनै सक्दैन! उहाँले कहिल्यै त्यसो गर्नुहुनेछैन किनभने उहाँ “झूट नबोल्नुहुने” परमेश्‍वर हुनुहुन्छ। (तितस १:२) त्यसोभए परमेश्‍वरले मानिसजाति सृष्टि गर्नुहुँदा राख्नुभएको मायालु उद्देश्‍य उहाँले कसरी पूरा गर्नुहुनेछ?

परमेश्‍वरले “मृत्युलाई सधैँको निम्ति निल्नुहुनेछ।”—यसैया २५:८

फिरौतीको बलिदानद्वारा मृत्युमाथि विजयी

मानिसजातिलाई मृत्युबाट छुटाउन परमेश्‍वरले एउटा मायालु प्रबन्ध मिलाउनुभएको छ। त्यो हो—फिरौती। साधारणतया फिरौती भनेको कुनै वस्तुको क्षतिपूर्तिस्वरूप तिरिने मोल हो। सबै मानिसहरू पापी भएकोले र त्यसको सजायस्वरूप सबै जना मर्नुपर्ने भएकोले बाइबलले स्पष्टसित यस्तो बताएको छ: “तिनीहरूमध्ये कसैले पनि मोल तिरेर आफ्नो भाइलाई छुटाउन सक्दैन; परमेश्‍वरलाई उसको फिरौतीको मोल तिनीहरूले तिर्न सक्दैनन्‌। (उनीहरूको जीवनको फिरौतीको मोल असाध्यै धेरै छ, तिनीहरूले त्यो कहिल्यै तिर्न सक्दैनन्‌)।”—भजन ४९:७, ८.

त्रुटिपूर्ण मानिस मर्दा उसले आफ्नै पापको मोल मात्र तिर्छ। उक्‍त व्यक्‍तिले न त आफ्नो न त अरू कसैको जीवन नै मोल तिरेर छुटाउन सक्छ। (रोमी ६:७) त्यसैले हामीलाई मृत्युबाट छुटाउन त्यस्तो व्यक्‍ति चाहिन्छ, जो त्रुटिरहित अनि पापरहित होस्‌ ताकि उसले आफ्नो पापको लागि होइन तर हाम्रो पापको लागि आफ्नो जीवन अर्पण गरोस्‌।—हिब्रू १०:१-४.

परमेश्‍वरले हाम्रो लागि ठीक त्यस्तै प्रबन्ध मिलाउनुभएको छ। उहाँले आफ्नो छोरा येसुलाई त्रुटिरहित अनि पापरहित व्यक्‍तिको रूपमा स्वर्गबाट पृथ्वीमा पठाउनुभयो। (१ पत्रुस २:२२) येसुले आफू “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” आएँ भनेर बताउनुभयो। (मर्कुस १०:४५) हामीले जीवन पाओस्‌ भनेर हाम्रो पापको मोल तिर्न र हामीलाई मृत्युबाट छुटाउन उहाँले आफ्नो जीवन बलिदान दिनुभयो।—युहन्‍ना ३:१६.

मृत्युमाथि कहिले विजय प्राप्त हुनेछ?

बाइबलमा भविष्यवाणी गरिएअनुसारै अहिले हामी “असाध्यै कठिन” समयमा बाँचिरहेका छौँ। यसबाट हामी यस दुष्ट युगको “अन्तको दिनमा” छौँ भनेर स्पष्ट हुन्छ। (२ तिमोथि ३:१) “भक्‍तिहीन मानिसहरूको न्याय र विनाश” भएपछि अन्तको दिन समाप्त हुनेछ। (२ पत्रुस ३:३, ७) तर परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू भने त्यस विनाशबाट जोगिनेछन्‌ र तिनीहरूले “अनन्त जीवन” पाउनेछन्‌।—मत्ति २५:४६.

येसु “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन” आउनुभयो।—मर्कुस १०:४५

अरू लाखौँ मानिसहरू भने फेरि जीवित हुनेछन्‌ र तिनीहरूले सधैँभरि बाँच्ने मौका पाउनेछन्‌। येसु नाइन सहरमा जानुहुँदा मरेको मानिसलाई फेरि जीवित पार्न सकिन्छ भनेर देखाउनुभएको थियो। त्यहाँ एउटी विधवाको एक मात्र छोरा मरेको थियो। त्यो देखेर येसु “टिठाउनुभयो” र तिनलाई फेरि जीवित पार्नुभयो। (लुका ७:११-१५) प्रेषित पावलले यस्तो लेखे: “धर्मी र अधर्मी दुवै फेरि जीवित हुनेछन्‌ भनेर . . . मैले पनि परमेश्‍वरमा आशा राखेको छु।” परमेश्‍वरले दिनुभएको यो आशा मानिसजातिप्रति उहाँको अपार प्रेमको ज्वलन्त उदाहरण हो।—प्रेषित २४:१५.

अरबौँ मानिसहरूले सधैँभरि बाँच्ने मौका पाउनेछन्‌। बाइबल यसो भन्छ: “तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।” (भजन ३७:२९) लगभग दुई हजार वर्षअघि पावलले लेखेका यी सान्त्वनादायी शब्दहरू त्यतिबेला तिनीहरू आफैले महसुस गर्न पाउँदा हर्षित हुनेछन्‌: “ए मृत्यु, तेरो विजय खोइ? ए मृत्यु, तेरो खील खोइ?” (१ कोरिन्थी १५:५५) मानिसजातिको सबैभन्दा खतरनाक शत्रु मृत्यु पराजित हुनेछ!