सीधै सामग्रीमा जाने

डेटिङसम्बन्धी यहोवाका साक्षीहरूको नियम छ?

डेटिङसम्बन्धी यहोवाका साक्षीहरूको नियम छ?

 बाइबलमा थुप्रै आज्ञा र सिद्धान्त पाइन्छ। हामी यहोवाका साक्षीहरू यस अनुरूप जीवन बिताउँछौं। यी सिद्धान्त र आज्ञाहरू हामीले बनाएका होइनौं। यी सिद्धान्तहरूले परमेश्‍वरलाई खुसी तुल्याउने र हाम्रै हित हुने निर्णय गर्न मदत गर्छ। (यशैया ४८:१७, १८) यी सिद्धान्त र आज्ञाहरू डेटिङसित कसरी सम्बन्धित छन्‌, विचार गरौं। a

  •   विवाह स्थायी बन्धन हो। (मत्ती १९:६) यहोवाका साक्षीहरू विवाह गर्ने उद्देश्‍यले मात्र डेटिङ गर्छन्‌। त्यसैले हामी डेटिङलाई गम्भीरतासाथ लिन्छौं।

  •   डेटिङ विवाह गर्ने उमेर भइसकेकाहरूका लागि मात्र हो। तिनीहरू “बैंस पार गरिसकेको” अर्थात्‌ यौनइच्छा तीव्र हुने समय पार गरिसकेको हुनुपर्छ।—१ कोरिन्थी ७:३६.

  •   डेटिङ गर्नेहरू अरूसित विवाह बन्धनमा बाँधिएको हुनु हुँदैन। कानुनी रूपमा सम्बन्धविच्छेद भएको छ भन्दैमा फेरि विवाह गर्ने छुट पाइँदैन। किनभने बाइबलमा बताइएअनुसार सम्बन्धविच्छेद गर्ने एउटै मात्र आधार अवैध यौनसम्बन्ध हो।—मत्ती १९:९.

  •   कुनै यहोवाको साक्षी विवाह गर्न चाहन्छन्‌ भने तिनले यहोवाको उपासकसित मात्र विवाह गर्नुपर्छ भन्‍ने आज्ञा बाइबलमा दिइएको छ। (१ कोरिन्थी ७:३९) त्यसकारण कसैले हाम्रो विश्‍वासको आदर गर्छ भन्दैमा उक्‍त व्यक्‍तिसित विवाह गर्न मिल्दैन। हामीले विवाह गर्ने व्यक्‍ति बप्तिस्मा गरेको यहोवाको साक्षी नै हुनुपर्छ। (२ कोरिन्थी ६:१४) परमेश्‍वरले सुरुदेखि नै आफ्ना सेवकहरूलाई उहाँको उपासना गर्नेहरूसित मात्र विवाह गर्नू भन्‍ने आज्ञा दिंदै आउनुभएको छ। (उत्पत्ति २४:३; मलाकी २:११) बाइबलको यो आज्ञा अनुरूप चल्दा वैवाहिक जीवन स्थायी हुन्छ भनेर अनुसन्धानकर्ताहरूले मानिलिएका छन्‌। b

  •   छोराछोरीले बुबाआमाको आज्ञा पालन गर्नुपर्छ। (हितोपदेश १:८; कलस्सी ३:२०) यस्तो आज्ञामा डेटिङसम्बन्धी बुबाआमाले दिएको सल्लाह पनि समावेश छ। जस्तै: छोराछोरीले कुन उमेरदेखि डेटिङ गर्न सक्छन्‌, डेटिङ गर्दा के गर्न मिल्छ वा के गर्न मिल्दैन।

  •   यहोवाका साक्षीहरूले डेटिङ गर्ने कि नगर्ने र गर्ने हो भने कोसित गर्ने भनेर आफै निर्णय गर्छन्‌। यो कुरा यस सिद्धान्तसित मेल खान्छ, “हरेकले आफ्नो भारी आफै बोक्नेछ।” (गलाती ६:५) तैपनि थुप्रैले डेटिङ गर्नुअघि परिपक्व ख्रीष्टियनसित सल्लाह माग्ने गरेका छन्‌।—हितोपदेश १:५.

  •   बाइबलले अवैध यौनसम्बन्धबाट अलग रहनू भन्‍ने आज्ञा दिएको छ। यस आज्ञामा अविवाहित व्यक्‍तिबीच गरिने यौनजन्य क्रियाकलापहरू पनि समावेश छन्‌। जस्तै: यौन अङ्‌ग सुमसुम्याउनु, मुख मैथुन वा मलद्वार मैथुन। (१ कोरिन्थी ६:९-११) डेटिङ गर्ने प्रायजसो मानिसले यस्ता क्रियाकलापलाई सामान्य रूपमा लिन्छन्‌, जुन वास्तवमा गम्भीर पाप हो। यसबाहेक यौनइच्छा जगाउने अन्य क्रियाकलाप पनि “अशुद्धपन” हो, जुन कुरा परमेश्‍वर घृणा गर्नुहुन्छ। (गलाती ५:१९-२१) साथै छाडा कुराकानी पनि गर्नु हुँदैन किनभने बाइबलमा “अश्‍लील बोली” नबोल्नू भनी स्पष्टै बताइएको छ।—कलस्सी ३:८.

  •   हाम्रो हृदय छली छ। (यर्मिया १७:९) यसले मानिसलाई जानाजानी गलत काम गर्न उक्साउँछ। त्यसैले डेटिङ गर्दा सुनसान ठाउँमा जानु हुँदैन। बरु आफूसँगै कोही साथी लान सकिन्छ अथवा साथीभाइको जमघटमा रहेर डेटिङ गर्न सकिन्छ। (हितोपदेश २८:२६) जोडी खोजिरहेकाहरूले अनलाइन डेटिङ साइटमा जाँदा आइपर्ने खतराबारे बुझ्नुपर्छ। विशेषगरि, अपरिचित व्यक्‍तिसित हिमचिम बढाउँदा हुने खतराबारे राम्ररी बुझ्नुपर्छ।—भजन २६:४.

a कुनै-कुनै समाजमा डेटिङ गर्ने चलन छ भने कुनै-कुनैमा छैन। बाइबलमा विवाह गर्नुअघि डेटिङ गर्नै पर्छ भनी बताइएको छैन।

b उदाहरणको लागि, विवाहसम्बन्धी एउटा पत्रिकामा यस्तो लेखिएको छ, “विवाहित जोडीको धार्मिक आस्था एउटै छ भने यस्तो वैवाहिक सम्बन्ध स्थायी र सफल हुन्छ भनेर वैवाहिक जीवनसम्बन्धी गरिएको तीनवटा फरक-फरक अध्ययनले देखाएको छ।” उक्‍त पत्रिकाअनुसार २५ देखि ५० वर्षभन्दा लामो समयसम्म टिकेको विवाह स्थायी विवाह हो।—म्यारिज एन्ड फ्यामिली रिभ्यु, खण्ड ३८, अङ्‌क १, पृष्ठ ८८ (२००५).