सीधै सामग्रीमा जाने

परिवारका लागि

छोराछोरीसित रक्सीबारे कुराकानी गर्नुहोस्‌।

छोराछोरीसित रक्सीबारे कुराकानी गर्नुहोस्‌।

 “छोरी छ वर्षको हुँदा हामीले तिनीसित रक्सीबारे कुरा गरेका थियौँ। तर अचम्मको कुरा तिनलाई त्यसबारे धेरै कुरा थाह थियो। तिनलाई त्यति धेरै थाह होला भनेर त हामीले सोचेकै थिएनौँ।”—अलेकजेन्डर

 तपाईँले के बुझ्नुपर्छ?

 छोराछोरीसित रक्सीबारे कुरा गर्नु महत्त्वपूर्ण छ। छोराछोरी किशोरावस्थामा पुगेपछि त्यसबारे कुरा गरौँला नि भनेर नबस्नुहोस्‌। रूसका खामित नाम गरेका एक बुबा यसो भन्छन्‌, “मैले छोरालाई सानो छँदादेखि नै रक्सीको उचित प्रयोगबारे बताएको भए हुन्थ्यो जस्तो लाग्छ। यसो गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर मैले महसुस गरेँ। मेरो छोराले १३ वर्षदेखि नै रक्सी पिउन थाल्यो।”

 तपाईँ किन सचेत हुनुपर्छ?

  •   छोराछोरीले रक्सीप्रति राख्ने दृष्टिकोणमा स्कुलका साथीहरू, विज्ञापन र टिभीले प्रभाव पार्न सक्छ।

  •   अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रअनुसार, अमेरिकामा जति मादक पेय पदार्थ उपभोग हुन्छ त्यसको ११ प्रतिशत उमेर नपुगेका केटाकेटीहरूले उपभोग गर्ने गर्छन्‌।

 आमाबुबाले छोराछोरीलाई सानैदेखि रक्सीले गर्दा हुने हानिबारे सिकाउनुपर्छ भनी स्वास्थ्य अधिकारीहरू बताउँछन्‌। तपाईँ कसरी त्यसो गर्न सक्नुहुन्छ?

 तपाईँ के गर्न सक्नुहुन्छ?

 छोराछोरीले सोध्न सक्ने प्रश्‍नहरूबारे पहिल्यै विचार गर्नुहोस्‌। साना केटाकेटीहरू स्वभावैले जिज्ञासु हुन्छन्‌। हुर्किसकेका छोराछोरीहरू त झन्‌ बढी जिज्ञासु हुन्छन्‌। त्यसैले तिनीहरूको प्रश्‍नको जवाफ कसरी दिने भनेर तपाईँले पहिल्यै तयारी गर्नुपर्ने हुन्छ। उदाहरणको लागि:

  •   छोराछोरीलाई रक्सीको स्वाद कस्तो हुन्छ भनेर बुझ्न मन लागेको छ भने तपाईँ यसो भन्‍न सक्नुहुन्छ, ‘वाइन फलफूलको अमिलो रस जस्तै हुन्छ अनि बियरचाहिँ तीत-तीतो हुन्छ।’

  •   छोराछोरीले रक्सी चाख्न चाहन्छ भने रक्सी साना केटाकेटीको लागि एकदमै कडा हुन्छ भनेर तिनीहरूलाई बताउन सक्नुहुन्छ। रक्सी पियो भने कस्ता असरहरू हुन्छन्‌ भनेर पनि बताउनुहोस्‌, जस्तै, थकित हुँदा यसले हल्का महसुस गराउँछ तर धेरै खायो भने रिङ्‌गटा लाग्न सक्छ, मूर्खतापूर्ण काम गर्ने हुन सक्छ अनि यस्तो बोली बोल्न सक्छ जसले गर्दा पछि पछुताउनु पर्ने हुन्छ।—हितोपदेश २३:२९-३५.

 जानकारी लिइराख्नुहोस्‌। बाइबल भन्छ: “चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” (हितोपदेश १३:१६) रक्सीको प्रयोग अनि त्यसबारे देशको नियम कानुनले के कस्तो सीमा तोकेको छ भनेर जानकारी लिइराख्नुहोस्‌। त्यसो गर्दा तपाईँले आफ्नो छोराछोरीलाई राम्ररी सिकाउन सक्नुहुनेछ।

 आफै कुरा गर्न अग्रसर हुनुहोस्‌। बेलायतका मार्क नाम गरेका बुबा यसो भन्छन्‌, “रक्सीको प्रयोगबारे छोराछोरीहरू अलमलमा परिरहेका हुन सक्छन्‌। मैले १८ वर्षको मेरो छोरालाई रक्सी खानु हुन्छ या हुन्‍न भन्‍नेबारे तिनको विचार कस्तो छ भनी सोधेँ। मैले साधारण तरिकामा नै कुरा गरेँ त्यसले गर्दा तनले आफ्नो विचार नलुकाई व्यक्‍त गर्न सके।”

 बेलाबेलामा छोराछोरीसित रक्सीबारे कुराकानी गर्नुभयो भने तपाईँले तिनीहरूमा गहिरो छाप पार्न सक्नुहुनेछ। छोराछोरीको उमेर विचार गर्दै रक्सीको प्रयोगको साथसाथै अरू पाठहरू पनि सिकाउन सक्नुहुन्छ, जस्तै: बाटोमा होसियार भई हिँड्‌नेबारे अनि यौन शिक्षाबारे।

 राम्रो उदाहरण बसाल्नुहोस्‌। छोराछोरीहरू स्पन्जजस्तै हुन्छन्‌, तिनीहरू आफू वरपरको कुरा सजिलै सोस्ने गर्छन्‌। अध्ययनले देखाएअनुसार आमाबुबाले छोराछोरीमा धेरै प्रभाव पारिरहेका हुन्छन्‌। त्यसैले यदि तपाईँ रक्सी पिउनुलाई तनाव कम गर्ने मुख्य माध्यमको रूपमा लिनुहुन्छ भने छोराछोरीले जीवनमा चिन्ताफिक्री आइपर्दा रक्सी पिउनुपर्छ भनेर बुझ्नेछन्‌। त्यसकारण राम्रो उदाहरण बसाल्नुहोस्‌। आफूले ठीक तरिकामा रक्सीको प्रयोग गर्दै छु कि छैन भनेर पक्का गर्नुहोस्‌।

रक्सी प्रयोग गर्ने सन्दर्भमा तपाईँको छोराछोरीले तपाईँको उदाहरणबाट सिक्नेछन्‌।