सीधै सामग्रीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | एलिया

तिनले अन्तसम्मै सहे

तिनले अन्तसम्मै सहे

 एलियाले राजा आहाबको मृत्यु भएको खबर सुने। कल्पना गर्नुहोस्‌, ती वृद्ध भविष्यवक्‍ता सोचमग्न हुँदै आफ्नो दाह्री मुसार्न थाल्छन्‌ र विगतका कुराहरू सम्झेर तिनका आँखा यताउता चलमलाइरहेका छन्‌। तिनी त्यस दुष्ट राजाले दशकौँसम्म दिएको दुःख सम्झन्छन्‌। हो, एलियाले निकै खेदो सहनुपरेको थियो! आहाब र तिनकी रानी ईजेबेलले तिनलाई मार्ने धम्की दिएका थिए, तिनको खेदो गरेका थिए अनि तिनी मृत्युको मुखमा पनि परेका थिए। ईजेबेलले यहोवाका थुप्रै भविष्यवक्‍तालाई मार्ने आदेश दिँदा राजा आहाब टुलुटुलु हेरेर बसेका थिए। लोभको कारण आहाब र ईजेबेलले षड्यन्त्र रचेर एक जना निर्दोष अनि धर्मी मानिस नाबोत र उनका छोराहरूको हत्या गरेका थिए। त्यसपछि एलियाले आहाब र तिनको पूरै वंशविरुद्ध यहोवाको न्यायदण्ड सुनाएका थिए। अहिले परमेश्‍वरले भन्‍नुभएका कुराहरू पूरा हुँदै थिए। यहोवाले आहाबको मृत्यु जसरी हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो, उनको मृत्यु त्यसरी नै भएको थियो।—१ राजा १८:४; २१:१-२६; २२:३७, ३८; २ राजा ९:२६.

 तर आफूले अझै पनि भीषण सतावट सहनुपर्नेछ भनेर एलियालाई थाह थियो। ईजेबेल जीवितै थिइन्‌ अनि उनले आफ्नो परिवार र पूरै राष्ट्रमा कुप्रभाव फैलाइरहेकी थिइन्‌। एलियाले अझै कठिन परीक्षाहरू सामना गर्ने थिए अनि तिनले आफ्नो सहयोगी र उत्तराधिकारी एलिसालाई थुप्रै कुरा सिकाउन बाँकी थियो। त्यसैले आउनुहोस्‌, एलियाले पाएका अन्तिम तीन वटा जिम्मेवारीलाई केलाऔँ। तिनको विश्‍वासले तिनलाई सहन कसरी मदत गऱ्‍यो भनेर विचार गर्दा हामी पनि अहिलेको यस कठिन समयमा आफ्नो विश्‍वास कसरी बलियो बनाउन सक्छौँ भनेर थाह पाउनेछौँ।

एलियाले आहाज्याहविरुद्ध न्यायदण्ड सुनाए

 आहाबको मृत्युपछि आहाज्याह राजा भए। आफ्नो बुबा आहाब र आमा ईजेबेलले गरेको गल्तीबाट पाठ सिक्नुको साटो आहाज्याह तिनीहरूकै खराब मार्गमा हिँडे। (१ राजा २२:५२) आफ्ना आमाबुबाले जस्तै आहाज्याहले पनि बाआलको उपासना गरे। बाआल उपासनाले मानिसहरूलाई पतित कुराहरू गर्न उक्साउँथ्यो, उनीहरू मन्दिरमा वेश्‍यावृत्ति गर्थे अनि छोराछोरीलाई बलिसमेत चढाउँथे। के आहाज्याहलाई आफ्नो मार्ग परिवर्तन गर्न अनि यहोवाप्रति अवफादार भएका प्रजाहरूलाई उहाँतर्फ फर्काउन कुनै कुराले उत्प्रेरणा दिन सक्थ्यो?

 ती हठी जवान राजाले अचानक दुर्दशा भोग्नुपऱ्‍यो। उनी आफ्नो महलको छतको झ्यालबाट खसे अनि गम्भीर घाइते भए। आफ्नो ज्यानै खतरामा परेको भए तापनि उनले मदतको लागि यहोवालाई पुकारेनन्‌। बरु उनले आफ्ना सन्देशवाहकहरूलाई एक्रोन पठाए, जुन उनीहरूका शत्रु पलिस्तियालीहरूको सहर थियो। उनले एक्रोनका देवता बाआल-जिबुबलाई आफू निको हुन्छु कि हुँदिनँ भनेर सोध्न आफ्ना सन्देशवाहकहरू पठाएका थिए। यो कुरा यहोवालाई पटक्कै मन परेन। उहाँले एलियाकहाँ एक जना स्वर्गदूत पठाउनुभयो अनि तिनलाई ती सन्देशवाहकहरूलाई रोक्न आदेश दिनुभयो। भविष्यवक्‍ता एलियाले ती सन्देशवाहकहरूलाई कडा न्यायदण्ड सुनाएर राजाकहाँ फर्काए। आहाज्याहले इस्राएलमा कुनै परमेश्‍वर नभएको जस्तो व्यवहार देखाएर गम्भीर पाप गरेका थिए। आहाज्याह आफ्नो ओछ्यानबाट उठ्‌नेछैनन्‌ भनेर यहोवाले निधो गरिसक्नुभएको थियो।—२ राजा १:२-४.

 अपश्‍चात्तापी राजा आहाज्याहले ती सन्देशवाहकहरूलाई सोधे: “तिमीहरूलाई भेटेर यी सबै कुरा बताउने त्यो मान्छे कस्तो देखिन्थ्यो?” तिनीहरूले भविष्यवक्‍ताको साधारण पहिरनबारे बताएपछि आहाज्याहले तुरुन्तै यसो भने: “तिनी त एलिया हुन्‌।” (२ राजा १:७, ८) याद गर्नुहोस्‌, एलियाले सरल जीवन बिताएका थिए अनि परमेश्‍वरको सेवा गर्नमा आफ्नो ध्यान केन्द्रित गरेका थिए। त्यसैले तिनको साधारण पहिरन नै तिनको परिचय भएको थियो। आहाज्याह वा उनका आमाबुबा एलियाजस्ता थिएनन्‌। तिनीहरू त लोभी अनि भौतिकवादी थिए। एलियाको उदाहरणले हामीलाई पनि सरल जीवन बिताउन अनि साँच्चै महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न झकझकाउँछ।—मत्ति ६:२२-२४.

 आहाज्याह जसरी भए पनि बदला लिन चाहन्थे। त्यसैले उनले एलियालाई पक्रन एक जना कप्तान र तिनका ५० जना सैनिकको दल पठाए। जब तिनीहरूले एलियालाई “डाँडाको टुप्पोमा बसिरहेका” * देखे, तब ती कप्तानले रुखो स्वरमा एलियालाई ‘तल आउन’ राजाको नाममा हुकुम दिए। तिनीहरू एलियालाई मृत्युदण्डको लागि लैजान चाहन्थे जस्तो देखिन्छ। कल्पना गर्नुहोस्‌ त! ती सिपाहीहरूलाई एलिया “साँचो परमेश्‍वरका सेवक” भनेर थाह भए तापनि तिनीहरूले एलियालाई डर-धम्की देखाउन उचित ठाने। तिनीहरूको सोचाइ कत्ति गलत थियो! एलियाले ती कप्तानलाई यसो भने: “यदि म परमेश्‍वरको सेवक हुँ भने आकाशबाट आगोको मुस्लो आओस्‌ र तिमी अनि तिमीसँग भएका ५० जनालाई भस्म पारोस्‌।” तब परमेश्‍वरले साँच्चै कदम चाल्नुभयो। “आकाशबाट आगोको मुस्लो आयो र ती कप्तान अनि तिनका ५० जना मानिसलाई भस्म पाऱ्‍यो।” (२ राजा १:९, १०) यहोवाका जनलाई घृणा वा अनादरपूर्ण व्यवहार गरिँदा उहाँ त्यसलाई हल्कासित लिनुहुन्‍न भनेर ती सिपाहीहरूले भोग्नुपरेको दुःखदायी परिणामले हामीलाई सम्झाउँछ।—१ इतिहास १६:२१, २२.

 आहाज्याहले फेरि अर्को कप्तान र तिनका ५० जना सैनिकको दल पठाए। यो दोस्रो कप्तान झन्‌ कठोर थिए। एउटा कुरा, तिनले ती ५१ जनाको मृत्युबाट कुनै पाठ सिकेनन्‌ जबकि तिनले ती सैनिकहरू आगोले भस्म भइसकेपछि डाँडामा बाँकी रहेका खरानीहरू देखेको हुनुपर्छ। अर्को कुरा, तिनले अघिल्लो कप्तानले जस्तै एलियालाई अपमानजनक ढङ्‌गमा बोलाए। तिनले एलियालाई “तल आऊ!” मात्र भनेनन्‌, बरु “झट्टै तल आऊ!” भनेर अझ रुखो तरिकामा आदेश दिए। कस्तो मूर्खता! त्यसैले तिनी र तिनका सिपाहीहरूले पनि पहिलो दलले भोगेजस्तै दुर्दशा भोग्नुपऱ्‍यो। तिनीहरूभन्दा अझ मूर्ख त राजा थिए। अझै पनि नचेतेर राजाले सैनिकहरूको तेस्रो दल पठाए। तर खुसीको कुरा, तेस्रो कप्तान बुद्धिमान्‌ थिए। तिनी नम्र हुँदै एलियाकहाँ आए अनि तिनी र तिनका सैनिकहरूको ज्यान बचाउन दयाको भीख मागे। परमेश्‍वरका सेवक एलियाले यहोवाको गुण अनुकरण गर्दै ती नम्र कप्तानलाई दया देखाए। यहोवाको स्वर्गदूतले एलियालाई ती सैनिकहरूसितै जान भने। एलियाले आज्ञा पालन गरे अनि त्यस दुष्ट राजाकहाँ गएर उनलाई यहोवाको न्यायको सन्देश सुनाए। परमेश्‍वरले भन्‍नुभएझैँ आहाज्याहको मृत्यु भयो। उनले जम्मा दुई वर्ष मात्र शासन गरे।—२ राजा १:११-१७.

एलियाले नम्र कप्तानप्रति यहोवाले जस्तै दया देखाए

 आफू वरपरका मानिसहरूको जिद्दी र विद्रोही स्वभावको बाबजुद एलियाले कसरी सहन सके? यो प्रश्‍न आज हाम्रो लागि पनि सान्दर्भिक छ, होइन र? आफूले माया गर्ने व्यक्‍तिलाई तपाईँले राम्रो मनसायले सल्लाह दिनुभएको थियो होला। तर ती व्यक्‍तिले त्यस सल्लाहलाई नकारे र आफैलाई हानि पुऱ्‍याउने बाटोमा हिँडिरहने जिद्दी गरे। त्यो देख्दा तपाईँले पक्कै दिक्क महसुस गर्नुभएको थियो होला। हामी कसरी यस्ता निराशाहरू सहन सक्छौँ? सैनिकहरूले एलियालाई कहाँ भेटाएका थिए, त्यसबाट केही छनक पाउन सक्छौँ। तिनी “डाँडाको टुप्पोमा बसिरहेका” थिए। एलिया त्यहाँ के गरिरहेका थिए भनेर हामी यकिनका साथ भन्‍न सक्दैनौँ तर तिनी परमेश्‍वरलाई निरन्तर प्रार्थना गर्ने मानिस थिए। त्यसैले तिनले त्यस एकान्त ठाउँमा गएर आफ्नो मायालु परमेश्‍वरसित नजिक हुने राम्रो मौका खोजेका हुन सक्छन्‌। (याकुब ५:१६-१८) हामी पनि एकान्तमा परमेश्‍वरसित कुरा गर्न नियमित तवरमा समय निकाल्न सक्छौँ अनि उहाँको नाम पुकार्दै उहाँलाई आफ्ना चिन्ता-फिक्री र मनको बह पोख्न सक्छौँ। यसो गऱ्‍यौँ भने वरपरका मानिसहरूले रुखो र आफैलाई हानि पुऱ्‍याउने तरिकामा व्यवहार गर्दा समेत हामी सहन सक्छौँ।

आफ्नो लुगा दिन्छन्‌

 अब एलियाले आफूलाई सुम्पिइएको काम अर्को व्यक्‍तिलाई हस्तान्तरण गर्नुपर्ने बेला भएको थियो। अब तिनी के गर्छन्‌, ध्यान दिनुहोस्‌। तिनी र एलिसा गिलगालबाट निस्केर जाँदै गर्दा एलियाले एलिसालाई गिलगालमै पर्खन भने र आफू एक्लै लगभग ११ किलोमिटर पर पर्ने बेथेल जाने कुरा बताए। तर एलिसाले एलियालाई यस्तो आग्रह गरे: “जीवित परमेश्‍वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, म तपाईँलाई छोडेर जादिनँ।” तिनीहरू दुवै जना बेथेल पुगेपछि एलियाले एलिसालाई आफू एक्लै लगभग २२ किलोमिटर पर यरिहो जाने कुरा बताए। यसपालि पनि एलिसाले पहिलो पटकजस्तै आग्रह गरे। यरिहोमा पुग्दा तेस्रो पटक पनि त्यस्तै भयो। एलिया एक्लै लगभग ८ किलोमिटर पर यर्दन नदीतिर जान खोजेका थिए। यतिबेला पनि एलिसाले एलियालाई एक्लै जान दिएनन्‌।—२ राजा २:१-६.

 यी तीनै पटक एलिसाले एउटा अनमोल गुण देखाइरहेका थिए। त्यो हो, अटल प्रेम। रुथले नाओमीप्रति पनि यस्तै वफादार प्रेम देखाएकी थिइन्‌, जुन प्रेमले अन्तसम्मै साथ दिइरहन्छ। (रुथ १:१५, १६) परमेश्‍वरका सबै सेवकलाई यो गुण पहिलेभन्दा झन्‌ धेरै आवश्‍यक भएको छ। के तपाईँ एलिसाले जस्तै यो गुणको महत्त्व बुझ्नुहुन्छ?

 आफ्नो जवान सहयोगीको अटल प्रेम देख्दा एलियाको मन पक्कै छोएको हुनुपर्छ। यो गुण देखाएकोले गर्दा एलिसाले एलियाको अन्तिम चमत्कार देख्ने सुअवसर पाए। यर्दन नदी कुनै-कुनै ठाउँमा तेज धारले बग्छ र गहिरो हुन्छ। यही नदीको किनारामा एलियाले आफ्नो लुगाले पानीमा हिर्काए। त्यसपछि नदीको पानी दायाँ र बायाँ अलग भयो! “भविष्यवक्‍ताहरूका छोराहरूमध्ये ५० जना”-ले पनि यो चमत्कार हेरिरहेका थिए। सायद यिनीहरू शुद्ध उपासनामा नेतृत्व लिनका लागि प्रशिक्षण पाइरहेका व्यक्‍तिहरू थिए। (२ राजा २:७, ८) सम्भवतः यिनीहरूलाई प्रशिक्षण दिने कार्यक्रमको निगरानी एलियाले गरिरहेका थिए। केही वर्षअघि एलियाले इस्राएलमा आफूबाहेक कोही पनि वफादार मानिस नभएको महसुस गरेका थिए। यस्तो गाह्रो अवस्था सहेकोमा यहोवाले एलियालाई आशिष्‌ दिँदै आउनुभएको थियो। यसै कारण तिनले यहोवाका उपासकहरूमाझ भइरहेको वृद्धि देख्न सके।—१ राजा १९:१०.

 यर्दन नदी तरिसकेपछि एलियाले एलिसालाई यसो भने: “म तिम्रो निम्ति के गरिदिऊँ?” एलियालाई आफ्नो बिदाइको समय नजिकै छ भनेर थाह थियो। तिनले आफ्ना जवान सहयोगीलाई आफ्नो सुअवसर र प्रतिष्ठा खुसीसाथ हस्तान्तरण गरे। एलिया एलिसालाई हर तवरमा मदत गर्न तत्पर थिए। एलिसाले केवल यो मात्र आग्रह गरे: “बिन्ती छ, मलाई तपाईँको शक्‍तिको दुई भाग दिनुहोस्‌।” (२ राजा २:९) यसको मतलब, एलियाले जति पवित्र शक्‍ति पाएका थिए, एलिसा त्यसको दोबर चाहन्थे भन्‍ने होइन। बरु उनले पहिलो सन्तानले पाउने जस्तै हक मागिरहेका थिए किनभने पहिलो सन्तानले परिवारको शिरको रूपमा नयाँ भूमिका निर्वाह गर्नको लागि सबैभन्दा धेरै अर्थात्‌ दोब्बर सम्पत्ति पाउँथे। (व्यवस्था २१:१७) एलियाको आध्यात्मिक उत्तराधिकारीको रूपमा आफूले पाएको काम पूरा गर्न आफूलाई एलियाको जस्तै साहसी मनोभाव चाहिन्छ भनेर एलिसाले बुझेको हुनुपर्छ।

 नम्र भई एलियाले यहोवाको बाटो हेरे। यदि यहोवाले एलियालाई माथि उठाएर लगिएको हेर्न दिनुभयो भने एलिसाले त्यसलाई परमेश्‍वरको सकारात्मक जवाफको रूपमा लिन सक्थे। केही समय नबित्दैको कुरा हो, यी दुई मित्र “आपसमा कुरा गर्दै हिँडिरहेको बेला” एउटा अचम्मको घटना घट्यो।—२ राजा २:१०, ११.

एलिया र एलिसाबीचको मित्रताले तिनीहरू दुवैलाई कठिनाइहरू सहन मदत गऱ्‍यो

 आकाशमा अचम्मको ज्योति देखियो अनि त्यो झन्‌झन्‌ आफ्नो नजिक आउँदै गरेको तिनीहरूले महसुस गरे। आँधीबेहरी चल्दा जस्तो आवाज सुनिन्छ, त्यतिबेला पनि त्यस्तै आवाज सुनिएको हुनुपर्छ। ती दुई पुरुषले आफ्नो अगाडि एउटा चहकिलो चिज आउँदै गरेको देखे र त्यसले गर्दा तिनीहरू तर्सिएर पछाडि सरे। तिनीहरूको अगाडि एउटा ठूलो अग्निमय रथ थियो। एलियाले आफूलाई उठाएर लगिने समय नजिकै आइसक्यो भनेर थाह पाए। के तिनी रथमा चढे? यसबारे बाइबलमा केही बताइएको छैन। जेहोस्‌, तिनले आफूलाई माथि हावामा उठाइएको र आँधीबेहरीमा उचालिएको महसुस गरे!

 एलिसाले आश्‍चर्यचकित भएर हेरिरहे। यस्तो अचम्मको दृश्‍य देख्न पाएकोले गर्दा यहोवाले आफूलाई एलियाको जस्तै साहसी मनोभावको “दुई भाग” दिनुहुनेछ भनेर उनी ढुक्क हुन सके। तर एलियासित बिछोडिनुपर्ने कुरा सम्झेर भने एलिसा असाध्यै दुःखी भए। उनलाई आफ्नो प्रिय साथी कता जाँदै छन्‌ भनेर थाह थिएन। अनि फेरि एलियालाई भेट्‌न पाइएला भन्‍ने आशा पनि उनले राखेका थिएनन्‌ होला। अनि एलिसा यसो भन्दै कराए: “हे मेरा बुबा! हे मेरा बुबा! मैले इस्राएलका रथ र घोडचढीहरू देखेँ!” आफ्नो प्यारो अभिभावक आफ्नो आँखाबाट ओझेल नहोउन्जेल एलिसाले मास्तिर हेरिरहे। त्यसपछि एलिसाले दुःखी हुँदै आफ्नो लुगा च्याते।—२ राजा २:१२.

 मास्तिर आकाशमा लगिँदै गर्दा एलियाले जवान साथीको रोदन सुने कि? अनि एलियाले पनि दुई-चार थोपा आँसु झारे कि? जे होस्‌, एलिसाजस्तो साथीको साथ पाएकोले आफूलाई कठिन समय सहन सजिलो भएको कुरा एलियालाई पक्कै थाह थियो। एलियाको उदाहरणबाट हामी राम्रो पाठ सिक्न सक्छौँ। हामीले पनि परमेश्‍वरलाई प्रेम गर्ने र उहाँको इच्छाअनुसार चल्न प्रयास गर्ने मानिसहरूसित मित्रता गाँस्नुपर्छ।

यहोवाले एलियालाई नयाँ असाइनमेन्टको लागि नयाँ ठाउँमा सार्नुभयो

अन्तिम असाइनमेन्ट

 त्यसपछि एलिया कहाँ गए? कुनै-कुनै धर्मले तिनी परमेश्‍वरसँग बस्नको लागि स्वर्गमा लगिए भनी सिकाउँछ। तर त्यो सम्भव छैन। किनभने सयौँ वर्षपछि येसु ख्रिष्टले आफूभन्दा पहिला कुनै पनि मानिस स्वर्ग उक्लेको छैन भनेर बताउनुभयो।—युहन्‍ना ३:१३.

 यहोवाले आफ्नो प्यारो अगमवक्‍तालाई नयाँ असाइनमेन्ट सुम्पनुभयो, उहाँले तिनलाई नजिकैको यहुदा राज्यमा खटाउनुभयो। बाइबल विवरणअनुसार सात वर्षपछि पनि एलिया यहुदामै सेवा गरिरहेका थिए। त्यतिबेला यहुदामा दुष्ट राजा यहोरामले शासन गरिरहेका थिए। तिनले आहाब र ईजेबेलकी छोरीसित विवाह गरेका थिए। त्यसैले तिनीहरूको दुष्ट प्रभाव अझै थियो। यहोवाले एलियालाई यहोराममाथि आइपर्ने सजायबारे चिठी लेख्न लगाउनुभयो। भविष्यवाणी गरिएझैँ यहोरामले दर्दनाक मृत्यु भोगे। त्यति मात्र होइन, “तिनको मृत्यु हुँदा कसैले पनि दुःख मनाएन।”—२ इतिहास २१:१२-२०.

 ती दुष्ट राजा र एलियाबीच कत्ति भिन्‍नता(मत्ति १७:१-९) के तपाईँ एलियाबाट सिक्न अनि कठिनाइहरू आइपर्दा सहन चाहिने विश्‍वास बढाउन चाहनुहुन्छ? त्यसो हो भने परमेश्‍वरलाई प्रेम गर्नेहरूसित मित्रता गाँस्न, आध्यात्मिक कुराहरूमा ध्यान केन्द्रित गर्न र मनैदेखि प्रार्थना गर्न कहिल्यै नबिर्सनुहोस्‌। यहोवाको मायालु हृदयमा तपाईँको ठाउँ सधैँभरि सुरक्षित भइरहोस्‌!

^ अनु. 6 केही शास्त्रविद्‌को विचारमा यहाँ उल्लेख गरिएको डाँडा कर्मेल डाँडा थियो र यही डाँडामा केही वर्षअघि परमेश्‍वरले एलियामार्फत बाआलका भविष्यवक्‍ताहरूलाई परास्त गर्नुभएको थियो। तर बाइबलमा भने त्यो डाँडा कुन थियो भनेर तोकेर बताइएको छैन।