रुथ १:१-२२

  • एलिमेलेकको परिवार मोआबमा बसाइँ सर्छ (१, २)

  • नाओमी, ओर्पा र रुथ विधवा हुन्छन्‌ (३-६)

  • रुथ नाओमी र नाओमीको परमेश्‍वरप्रति वफादारी देखाउँछिन्‌ (७-१७)

  • नाओमी रुथलाई लिएर बेतलेहेम फर्कन्छिन्‌ (१८-२२)

 यो त्यो समयको कुरा हो, जतिबेला न्यायकर्ताहरूले इस्राएलमा न्याय गर्थे;+ त्यतिबेला इस्राएलमा अनिकाल पऱ्‍यो। त्यसैले यहुदाको बेतलेहेमका+ एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर मोआबीहरूको इलाकामा+ प्रवासीको रूपमा बसोबास गर्न गए। २  ती मानिसको नाम एलिमेलेक* थियो। तिनकी पत्नीको नाम नाओमी* अनि दुई छोराको नाम महलोन* र किल्योन* थियो। तिनीहरू यहुदाको बेतलेहेम अर्थात्‌ एप्राताका बासिन्दा थिए। तिनीहरू मोआबीहरूको इलाकामा गएर त्यहीँ बसोबास गर्न थाले। ३  केही समयपछि नाओमीका पति एलिमेलेकको मृत्यु भयो। त्यसपछि उनी र उनका दुई छोरा मात्र बाँकी भए। ४  पछि नाओमीका छोराहरूले ओर्पा र रुथ+ नाम गरेका मोआबी स्त्रीहरूसित विवाह गरे। तिनीहरू करिब दस वर्ष त्यहीँ बसे। ५  पछि नाओमीका दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमीले आफ्ना पति र दुवै छोरा गुमाइन्‌। ६  यहोवा परमेश्‍वरले आफ्ना सेवकहरूलाई खानेकुरा* दिएर फेरि आशिष्‌ दिन थाल्नुभएको छ भन्‍ने कुरा नाओमीले मोआबमा छँदा सुनिन्‌। त्यसैले उनले आफ्ना बुहारीहरूलाई लिएर मोआबीहरूको इलाकाबाट आफ्नो घर फर्कन यात्रा थालिन्‌। ७  उनी आफू बसोबास गरेको ठाउँबाट हिँडिन्‌ र उनले दुवै बुहारीलाई पनि सँगै लगिन्‌। उनीहरू यहुदा फर्कँदै गर्दा बाटोमा ८  नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्‌: “तिमीहरू आ-आफ्नै माइती फर्क। जसरी तिमीहरूले मृत्यु भइसकेका आफ्ना पतिलाई र मलाई अटल प्रेम* देखाएका थियौ, त्यसरी नै यहोवा परमेश्‍वरले पनि तिमीहरूलाई अटल प्रेम देखाऊन्‌।+ ९  म यहोवा परमेश्‍वरलाई यही बिन्ती गर्छु कि तिमीहरू दुवैले फेरि विवाह गरेर आ-आफ्ना पतिको घरमा सुरक्षा पाउन सक।”+ त्यसपछि नाओमीले तिनीहरूलाई म्वाइँ खाइन्‌ र तिनीहरू धुरुधुरु रोए। १०  तिनीहरूले नाओमीलाई बारम्बार यसो भने: “त्यसो नभन्‍नुहोस्‌। हामी पनि तपाईँसित तपाईँका मानिसहरूकहाँ जानेछौँ।” ११  तर नाओमीले तिनीहरूलाई भनिन्‌: “छोरीहरू, तिमीहरू फर्क! तिमीहरू मसित गएर के गर्छौ? तिमीहरूसित विवाह गराइदिनको लागि के म अझै पनि छोराहरू जन्माउन सक्छु र?+ १२  तिमीहरू फर्क छोरीहरू! जाओ किनकि मेरो विवाह गर्ने उमेर गइसक्यो। मैले आजै राती विवाह गरेँ र छोराहरू जन्माएँ भने पनि १३  उनीहरू ठूलो नहोउन्जेल के तिमीहरू कुरेर बस्छौ? उनीहरूलाई पर्खेर तिमीहरू पनि विवाह नगरी बस्छौ त? हे छोरीहरू, त्यसो नभन! यहोवा परमेश्‍वरको हात मविरुद्ध उठेको छ।+ तर यसले गर्दा तिमीहरूले पनि दुःख भोग्नुपरेको देख्दा मेरो मन खिन्‍न हुन्छ।” १४  तिनीहरू फेरि धुरुधुरु रोए। त्यसपछि ओर्पाले आफ्नी सासूलाई म्वाइँ खाइन्‌ र उनी त्यहाँबाट गइन्‌। तर रुथले भने नाओमीलाई छोडिनन्‌। १५  त्यसपछि नाओमीले भनिन्‌: “हेर! तिम्री देउरानी आफ्ना मानिस र आफ्ना देवीदेवताकहाँ फर्केर गई। तिमी पनि ऊसितै फर्क।” १६  तर रुथले भनिन्‌: “तपाईँलाई छोडेर जान मलाई कर नगर्नुहोस्‌। म तपाईँलाई एक्लै छोडेर जान्‍नँ। तपाईँ जहाँ जानुहुन्छ, म पनि त्यहीँ जानेछु। तपाईँ जहाँ रात काट्‌नुहुन्छ, म पनि त्यहीँ रात काट्‌नेछु। तपाईँका मानिसहरू मेरा मानिसहरू हुनेछन्‌ अनि तपाईँका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ।+ १७  तपाईँ जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र मेरो लास त्यहीँ गाडिनेछ। मृत्युले मात्र मलाई तपाईँबाट अलग पार्न सक्छ। अरू कारणले गर्दा मैले तपाईँलाई छोडेँ भने यहोवा परमेश्‍वरले मलाई अत्यन्तै कडा सजाय देऊन्‌।” १८  रुथले आफूसितै जाने दृढ सङ्‌कल्प गरेकी देखेर नाओमीले तिनलाई फर्कन कर गरिनन्‌। १९  त्यसपछि उनीहरू बेतलेहेमतिर अघि बढे।+ उनीहरू बेतलेहेम पुगेपछि सहरका मानिसहरू छक्क परेर उनीहरूलाई हेर्न थाले। अनि स्त्रीहरूले चाहिँ यसो भन्‍न थाले: “यिनी नाओमी नै हुन्‌ त?” २०  नाओमीले ती स्त्रीहरूलाई भनिन्‌: “मलाई नाओमी होइन, मारा* भन। किनकि सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मेरो जीवन दुःखैदुःखले भरिदिनुभएको छ।+ २१  यहाँबाट जाँदा मसँग सबथोक थियो तर अहिले यहोवा परमेश्‍वरले मलाई रित्तो हात फर्काउनुभएको छ। मलाई नाओमी नभन किनकि यहोवा परमेश्‍वर मविरुद्ध खडा हुनुभएको छ; सर्वशक्‍तिमान्‌ परमेश्‍वरले नै ममाथि यत्रो विपत्ति आइपर्न दिनुभएको छ।”+ २२  यसरी नाओमी आफ्नी मोआबी बुहारी रुथलाई लिएर मोआबीहरूको इलाकाबाट+ बेतलेहेम फर्किन्‌। उनीहरू बेतलेहेम आइपुग्दा जौ काट्‌ने समय भर्खरै सुरु भएको थियो।+

फुटनोटहरू

यसको अर्थ हो, “मेरा परमेश्‍वर राजा हुनुहुन्छ।”
यसको अर्थ हो, “मेरो मनको आनन्द।”
यो नाम “कमजोर हुनु; बिरामी पर्नु” भन्‍ने अर्थ लाग्ने हिब्रू शब्दबाट लिइएको हुन सक्छ।
यसको अर्थ हो, “कमजोर; अन्त्य हुनै लागेको।”
शा., “रोटी।”
शब्दावली हेर्नुहोस्‌।
यसको अर्थ हो, “तीतो।”