पहिलो राजा १९:१-२१

  • एलिया ईजेबेलको धम्कीले गर्दा भाग्छन्‌ (१-८)

  • यहोवा होरेबमा एलियाकहाँ देखा पर्नुहुन्छ (९-१४)

  • एलियालाई हाजाएल, यहु र एलिसालाई अभिषेक गर्न भनिन्छ (१५-१८)

  • एलिसालाई एलियापछि भविष्यवक्‍ता हुन रोजिन्छ (१९-२१)

१९  आहाबले+ ईजेबेललाई+ एलियाले गरेका सबै काम सुनाए। एलियाले सबै भविष्यवक्‍तालाई तरबारले मारे भनेर पनि आहाबले बताए।+ २  तब ईजेबेलले एक जना सन्देशवाहक पठाएर एलियालाई यस्तो धम्की दिइन्‌: “भोलि यही बेलासम्म मैले तेरो हालत पनि ती भविष्यवक्‍ताहरूको जस्तै बनाइनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्‌; अझ त्योभन्दा बढ्‌ता गरून्‌।” ३  यो सुनेर एलिया डराए र आफ्नो ज्यान बचाउन भागे।+ तिनी यहुदाको इलाकामा पर्ने+ बेर्सेबा पुगे+ र आफ्नो सेवकलाई त्यहीँ छोडे। ४  तिनी निर्जनभूमिमा एक दिनको बाटो हिँडे र एउटा झाडीमुनि गएर बसे। त्यसपछि तिनले मर्न पाऊँ भनी परमेश्‍वरलाई बिन्ती गर्न थाले। तिनले भने: “हे यहोवा! अब म सहन सक्दिनँ। मेरो ज्यान लिनुहोस्‌+ किनकि म आफ्ना पितापुर्खाभन्दा असल छैनँ।” ५  त्यसपछि तिनी त्यही झाडीमुनि ढल्किए र निदाए। अचानक एक जना स्वर्गदूत आए+ र तिनलाई छोएर भने: “उठ र केही खाऊ।”+ ६  तिनले यताउता हेरे र आफ्नो टाउकोनेर तातो ढुङ्‌गामा एउटा गोलो रोटी र एक सुराही पानी देखे। तिनले रोटी खाए, पानी पिए अनि फेरि सुते। ७  यहोवा परमेश्‍वरका स्वर्गदूत दोस्रो पटक आए र तिनलाई छोएर भने: “उठ र केही खाऊ किनकि अब तिमीले गर्नुपर्ने यात्रा साह्रै कठिन छ।” ८  त्यसैले तिनले उठेर खानपिन गरे। यही खानेकुराबाट बल पाएर तिनले ४० दिन र ४० रात यात्रा गरे अनि साँचो परमेश्‍वरको डाँडा होरेबमा आइपुगे।+ ९  एलिया एउटा ओडारभित्र पसे+ र त्यहीँ रात काटे। तब यहोवा परमेश्‍वरको वचन तिनीकहाँ आयो। उहाँले भन्‍नुभयो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?” १०  तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्‍वर यहोवाको सेवा गरेको छु।+ किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई तरबारले मारे।+ अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।”+ ११  तर उहाँले यसो भन्‍नुभयो: “यहाँबाट बाहिर जाऊ र पहाडमा यहोवा परमेश्‍वरसामु उभिऊ।” त्यतिबेला यहोवा परमेश्‍वर त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो।+ यहोवाको अघिअघि एउटा भयानक र शक्‍तिशाली आँधी पहाडहरू फोर्दै अनि चट्टानहरू फुटाउँदै गयो।+ तर यहोवा परमेश्‍वर आँधीमा हुनुहुन्‍नथ्यो। आँधीपछि भुईँचालो गयो।+ तर यहोवा परमेश्‍वर भुईँचालोमा हुनुहुन्‍नथ्यो। १२  भुईँचालोपछि आगोको मुस्लो आयो+ तर यहोवा परमेश्‍वर आगोमा पनि हुनुहुन्‍नथ्यो। आगोपछि एउटा सानो मधुर स्वर सुनियो।+ १३  त्यो स्वर सुन्‍नेबित्तिकै एलियाले आफ्नो अनुहार लुगाले* ढाके+ र बाहिर गएर ओडारको मुखमा उभिए। तब यस्तो स्वर सुनियो: “हे एलिया! तिमी यहाँ के गर्दै छौ?” १४  तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्‍वर यहोवाको सेवा गरेको छु। किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई तरबारले मारे। अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।”+ १५  यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “यहाँबाट फर्केर दमिसकको निर्जनभूमिमा जाऊ। त्यहाँ पुगेर हाजाएललाई+ सिरियाको राजा अभिषेक गर्नू। १६  अनि निम्सिका नाति येहुलाई+ इस्राएलको राजा अभिषेक गर्नू। साथै हाबिल-मेहोलाहमा बस्ने सापातका छोरा एलिसालाई* तिम्रो ठाउँमा भविष्यवक्‍ता नियुक्‍त गर्नू।*+ १७  जो हाजाएलको तरबारबाट उम्कन्छ,+ त्यसलाई येहुले मार्नेछन्‌+ अनि जो येहुको तरबारबाट उम्कन्छ, त्यसलाई चाहिँ एलिसाले मार्नेछन्‌।+ १८  अनि हेर, बाआलसामु घुँडा नटेकेका+ र त्यसलाई चुम्बन नगरेका+ ७ हजार मानिस इस्राएलमा अझै बाँकी छन्‌।”+ १९  त्यसपछि एलिया त्यहाँबाट गए र सापातका छोरा एलिसालाई बहर जोतिरहेको भेट्टाए। त्यहाँ १२ हल बहरले खेत जोतिरहेका थिए र एलिसाचाहिँ सबैभन्दा पछाडि थिए। एलिया त्यहाँ गए र एलिसालाई आफ्नो लुगा* ओढाइदिए।+ २०  एलिसा तुरुन्तै आफ्नो बहर छोडेर दौडँदै एलियाको पछिपछि गए र यसो भने: “बिन्ती छ! मलाई बुबाआमासित बिदा लिन* दिनुहोस्‌। त्यसपछि म तपाईँको पछि लाग्नेछु।” एलियाले भने: “हुन्छ, जाऊ। म तिमीलाई रोक्दिनँ।” २१  त्यसैले एलिसा गए र एक हल बहर काटेर बलि चढाए। उनले जुवा र हलोको दाउरा बाले अनि बहरको मासु उसिने। उनले त्यो मासु मानिसहरूलाई दिए र तिनीहरूले खाए। त्यसपछि उनी एलियाको पछि लागे अनि तिनको सेवा गर्न थाले।+

फुटनोटहरू

वा “भविष्यवक्‍ताले लगाउने विशेष किसिमको पोसाकले।”
यसको अर्थ हो, “परमेश्‍वर उद्धारक हुनुहुन्छ।”
शा., “अभिषेक गर्नू।”
वा “भविष्यवक्‍ताले लगाउने विशेष किसिमको पोसाक।”
शा., “बुबाआमालाई चुम्बन गर्न।”