सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

के यहोवाका सेवकहरूमाझ स्त्रीहरू सेवक हुन्छन्‌?

के यहोवाका सेवकहरूमाझ स्त्रीहरू सेवक हुन्छन्‌?

हो, हुन्छन्‌। संसारभरि यहोवाका साक्षीहरूमाझ लाखौँ स्त्रीले सेवकको रूपमा सेवा गरिरहेका छन्‌। परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्ने स्त्रीहरूको ठूलो दल छ। ती स्त्रीहरूबारे भजन ६८:११ मा यस्तो भविष्यवाणी गरिएको छ: “यहोवाले आज्ञा दिनुहुन्छ; स्त्रीहरूको विशाल सेनाले उहाँको सुसमाचार घोषणा गर्छ।”

तर यहोवाका साक्षीहरूमाझ स्त्रीहरूले गर्ने सेवा र अरू धर्मका महिला धर्मगुरुहरूले गर्ने सेवाचाहिँ एउटै होइन। तिनीहरूबीचको भिन्‍नता प्रस्टै देखिन्छ। तिनीहरू कसरी भिन्‍न छन्‌?

तिनीहरूले कसलाई सिकाउँछन्‌ भन्‍ने कुरा फरक छ। खासगरि चर्चजगत्‌का महिला पादरीहरू आफ्नो चर्चभित्र नेतृत्व लिन्छन्‌ र मुख्यतया आफ्नै चर्चका सदस्यहरूलाई सिकाउँछन्‌। तर यहोवाका साक्षीहरूमाझ महिला सेवकहरू भने मण्डलीबाहिरका जनसाधारणलाई प्रचार गर्छन्‌, जसलाई तिनीहरूले घरघरको प्रचारकार्यमा र अन्य ठाउँमा भेट्‌छन्‌।

अरू धर्मका महिला सेवकहरू र यहोवाका साक्षीहरूमाझ भएका महिला सेवकहरूबीचको अर्को भिन्‍नता भनेको मण्डलीमा तिनीहरूले गर्ने काम हो। चर्चजगत्‌ र अरू धर्मका महिला धर्मगुरुहरू आफ्नो समूहका सदस्यहरूमाझ अगुवाइ लिन्छन्‌ र उनीहरूलाई आफ्नो धर्मबारे सिकाउँछन्‌। तर यहोवाका साक्षीहरूमाझ महिला सेवकहरू भने मण्डलीमा बप्तिस्मा गरेका पुरुषहरू भएको बेला सिकाउँदैनन्‌। शिक्षकको रूपमा नियुक्‍त भएका पुरुषहरूले मात्र मण्डलीमा सिकाउँछन्‌।—१ तिमोथि ३:२; याकुब ३:१.

बाइबलमा बताइएअनुसार मण्डलीको निरीक्षण गर्ने जिम्मेवारी पुरुषहरूलाई मात्र दिइएको छ। प्रेषित पावलले सङ्‌गी निरीक्षक तितसलाई लेखेको पत्रमा यसको नमुना पाइन्छ। तिनले लेखे: “मैले तिमीलाई यसैकारण क्रेटमा छोडेको थिएँ कि तिमीले . . . सहर-सहरमा एल्डरहरू नियुक्‍त गर्न सक।” नियुक्‍त हुने हरेक पुरुषमाथि ‘कुनै दोष लागेको हुनु हुँदैन र एउटै स्त्रीको पति हुनुपर्छ’ भनेर पनि पावलले लेखे। (तितस १:५, ६) यस्तै निर्देशन पावलले तिमोथिलाई पनि दिए: “यदि कुनै पुरुष निरीक्षक बन्‍न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ। त्यसैले निरीक्षकलाई कुनै दोष लागेको हुनु हुँदैन, तिनी एकै जना स्त्रीको पति . . . हुनुपर्छ अनि तिनीसित सिकाउने योग्यता हुनुपर्छ।”—१ तिमोथि ३:१, २.

मण्डलीमा निरीक्षण गर्ने जिम्मेवारी किन पुरुषहरूलाई मात्र दिइन्छ? पावलले भने: “स्त्रीले सिकाउने वा पुरुषमाथि अख्तियार चलाउने अनुमति म दिन्‍नँ तर ऊ चुपचाप रहोस्‌। किनकि पहिला आदमलाई सृष्टि गरिएको हो, त्यसपछि मात्र हव्वालाई।” (१ तिमोथि २:१२, १३) परमेश्‍वरले सुरुमा आदमलाई सृष्टि गर्नुभएको कुराबाट उहाँले सिकाउने र निरीक्षण गर्ने जिम्मेवारी पुरुषहरूलाई दिनुभएको छ भनेर बुझ्न सक्छौँ।

यहोवाका सेवकहरू आफ्नो नेता येसु ख्रिष्टको उदाहरण पछ्याउँछन्‌। येसुको सेवाबारे चेला लुकाले लेखे: “उहाँ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र त्यसबारे घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो।” पछि येसुले चेलाहरूलाई आफूले गरेकै काम गर्न पठाउनुभयो। “तिनीहरू एकपछि अर्को गाउँ हुँदै पूरै इलाकामा सुसमाचार सुनाउँदै . . . हिँडे।”—लुका ८:१; ९:२-६.

आज यहोवाका सेवकहरू पुरुष होऊन्‌ या स्त्री, दुवैले येसुले भविष्यवाणी गर्नुभएको यस कार्यमा जोडतोडले भाग लिन्छन्‌: “सबै जातिलाई साक्षी दिनको लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४.