सीधै सामग्रीमा जाने

बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ

के हामीले आफ्ना पापहरूको क्षमा पाउन सक्छौँ?

परमेश्‍वरको अनुमोदन पाउन सम्भव छ

बाइबलमा बताइएअनुसार सबै मानिस पापी हुन्‌। हामीले पहिलो मानिस आदमबाट पाप गर्ने झुकाव जन्मजात पाएका छौँ। त्यसैले कहिलेकाहीँ हामी नराम्रो काम गर्न पुग्छौँ र पछि पछुताउँछौँ होला। परमेश्‍वरको छोरा येसु ख्रिष्ट हाम्रो लागि मर्नुभएर उहाँले हाम्रा पापहरूको मोल तिरिदिनुभयो। उहाँले चढाउनुभएको फिरौतीको बलिदानले गर्दा हामीले क्षमा पाउन सक्यौँ। फिरौतीको बलिदान परमेश्‍वरले हामीलाई दिनुभएको उपहार हो।रोमी ३:२३, २४ पढ्‌नुहोस्‌।

कसै-कसैले गम्भीर पापहरू गरेका छन्‌। त्यसैले तिनीहरूलाई परमेश्‍वरले क्षमा दिनुहोला कि नहोला भनेर शङ्‌का लाग्न सक्छ। तर खुसीको कुरा, परमेश्‍वरको वचनले भन्छ: “उहाँको छोरा येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।” (१ युहन्‍ना १:७) हामीले सही मनसायले पश्‍चात्ताप गऱ्‍यौँ भने यहोवाले गम्भीर पापहरू समेत खुसीसाथ क्षमा गर्नुहुनेछ।यसैया १:१८ पढ्‌नुहोस्‌।

हामीले क्षमा पाउन के गर्नुपर्छ?

यहोवा परमेश्‍वरबाट क्षमा पाउन चाहन्छौँ भने हामीले उहाँबारे सिक्नुपर्छ। भन्‍नुको मतलब, उहाँको तौरतरिका सिक्नुपर्छ, उहाँको सल्लाह सुन्‍नुपर्छ अनि उहाँ हामीबाट के चाहनुहुन्छ, त्यो थाह पाउनुपर्छ। (युहन्‍ना १७:३) आफ्नो गलत आचरणको लागि पश्‍चात्ताप गर्ने र आफूलाई परिवर्तन गर्न खोज्ने व्यक्‍तिलाई यहोवाले खुला मनले क्षमा दिनुहुन्छ।प्रेषित ३:१९ पढ्‌नुहोस्‌।

हामीले परमेश्‍वरको अनुमोदन पाउन सम्भव छ। यहोवाले हाम्रा कमजोरीहरू राम्ररी जान्‍नुहुन्छ। उहाँ कृपालु र दयालु हुनुहुन्छ। उहाँको अपार प्रेमबारे थाह पाउँदा उहाँलाई कसरी खुसी बनाउन सकिन्छ भनेर थाह पाउन चाहनुहुन्‍न र?भजन १०३:१३, १४ पढ्‌नुहोस्‌।