सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वेच्छाले चढाएका त्यागहरूको कारण सन्तोषजनक र सुखी जीवन

स्वेच्छाले चढाएका त्यागहरूको कारण सन्तोषजनक र सुखी जीवन

जीवनी

स्वेच्छाले चढाएका त्यागहरूको कारण सन्तोषजनक र सुखी जीवन

मारियन र रोजा जुमिगाको वृत्तान्तमा आधारित

“म तपाईंलाई स्वेच्छा-बलि चढाउनेछु” भनी भजन ५४:६ मा घोषणा गरिएको छ। यो भनाइ नै फ्रान्समा बसोबास गर्ने मारियन जुमिगा र तिनकी पत्नी रोजाको जीवनको मूल आधार भएको छ। यहोवाको सेवामा बिताएको लामो र सन्तोषजनक जीवनको केही खास घटनाहरू तिनीहरूले हालै सुनाएका थिए।

मारियन: मेरा आमाबाबु रोमन क्याथोलिक हुनुहुन्थ्यो र उहाँहरू पोल्याण्डबाट आएको आप्रवासी हुनुहुन्थ्यो। बुबा साधारण व्यक्‍ति हुनुहुन्थ्यो। उहाँले स्कूले शिक्षा हासिल गर्ने मौका पाउनुभएन। तथापि, प्रथम विश्‍वयुद्धको दौडान सेनामा हुँदा कहिलेकाहीं सुरुङमा दिन काट्‌नुपर्थ्यो र त्यहीं उहाँले लेखपढ गर्न सिक्नुभयो। बुबा ईश्‍वरभीरु व्यक्‍ति हुनुहुन्थ्यो तर चर्चले उहाँलाई अक्सर निराश तुल्याएको थियो।

विशेष गरी उहाँले एउटा घटना कहिल्यै बिर्सन सक्नुभएन। युद्धको दौडान एक दिन एउटा पादरी बुबाहरूको गणमा भेटघाट गर्न आएका थिए। त्यति नै बेला नजिकै एउटा विस्फोट हुँदा पादरी डराएर भागे र तिनले आफ्नो घोडालाई छिटछिटो दौडाउन क्रूसले हिर्काए। परमेश्‍वरको “प्रतिनिधि” मानिने व्यक्‍तिले आफू छिटछिटो भाग्न “पवित्र” कुरा चलाएको देख्दा बुबा तीन छक पर्नुभयो। यस्ता अनुभव तथा युद्धलाई नजिकबाट देखेको पीडाको बावजुद परमेश्‍वरमाथि बुबाको विश्‍वास कहिल्यै ढलपल भएन। युद्धबाट सुरक्षितसाथ फर्कन सकेकोमा उहाँले अक्सर परमेश्‍वरलाई श्रेय दिनुहुन्थ्यो।

“लिटल पोल्याण्ड”

सन्‌ १९११ मा बुबाले छिमेकी गाउँको एक जना केटीसित विवाह गर्नुभयो। उहाँको नाउँ आन्‍ना सिस्वोस्की थियो। युद्धको केही समयपश्‍चात्‌ सन्‌ १९१९ मा आमा र बुबा पोल्याण्डबाट फ्रान्समा बसाइँ सर्नुभयो र त्यहाँ बुबाले कोइलाखानीमा काम गर्न थाल्नुभयो। सन्‌ १९२६ को मार्च महिनामा फ्रान्सको दक्षिणपश्‍चिममा पर्ने काँन्याक ले मेंन भन्‍ने ठाउँमा मेरो जन्म भएको थियो। त्यसपछि बुबाहरू उत्तरी फ्रान्समा लाँन्सको नजिकै पोलिस समुदाय भएको लुसाँगोय भन्‍ने ठाउँमा सर्नुभयो। त्यहाँ पाउरोटी बनाउने, मासु बेच्ने र स्थानीय पादरी सबै नै पोलिस थिए। त्यसकारण यो ठाउँलाई लिटल पोल्याण्ड अर्थात्‌ सानो पोल्याण्ड भनिनु कुनै छक्कलाग्दो कुरा थिएन। मेरा आमाबाबु सामुदायिक गतिविधिहरूमा संलग्न हुनुहुन्थ्यो। बुबाले अक्सर प्रर्दशनहरूको आयोजना गर्नुहुन्थ्यो जसमा नाटक, सङ्‌गीत र गानाहरू हुन्थ्यो। उहाँ नियमित तवरमा पादरीसँग छलफल गर्नुहुन्थ्यो तर पादरीले अक्सर यस्तो जवाफ दिंदा बुबा खुसी हुनुहुन्‍नथ्यो, “थुप्रै रहस्यहरू छन्‌।”

सन्‌ १९३० को कुरा हो, दुई जना युवती हाम्रो ढोकामा आए। तिनीहरू बाइबल स्टुडेन्ट्‌स थिए र त्यतिबेला यहोवाका साक्षीहरू त्यही नाउँले चिनिन्थे। बुबाले तिनीहरूबाट एउटा बाइबल प्राप्त गर्नुभयो र उहाँले यो पुस्तक वर्षौंअघिदेखि पढ्‌न चाहनुभएको थियो। आमा र बुबा दुवैले ती युवतीहरूले छोडेको बाइबल आधारित साहित्यहरू पनि उत्सुकतापूर्वक पढ्‌नुभयो। यी प्रकाशनहरूमा पढेको कुराबाट मेरा आमाबाबु अत्यन्तै प्रभावित हुनुभयो। उहाँहरूको व्यस्त तालिकाको बावजुद मेरा आमाबाबु बाइबल स्टुडेन्ट्‌सद्वारा सञ्चालन गरेका सभाहरूमा उपस्थित हुन थाल्नुभयो। पादरीसँगको छलफलमा झन्‌-झनै चर्काचर्की हुन थाल्यो र एक दिन त तिनले मेरा आमाबाबुले बाइबल स्टुडेन्ट्‌सहरूसित संगत गर्न नछोडेको खण्डमा मेरी दिदी स्टेफानीलाई धर्मबारे सिकाइने कक्षाबाट निकालिदिने धम्की दिए। “तपाईंले कष्ट नगर्नुभए हुन्छ” बुबाले जवाफ दिनुभयो। “अबदेखि मेरा छोराछोरीहरू हामीसँगै बाइबल स्टुडेन्ट्‌सका सभाहरूमा जानेछन्‌।” बुबाले चर्चबाट आफ्नो नाउँ हटाउनुभयो र सन्‌ १९३२ को सुरुतिर आमाबाबुले बप्तिस्मा लिनुभयो। त्यतिबेला फ्रान्समा त्यस्तै ८०० राज्य प्रकाशकहरू थिए।

रोजा: मेरा आमाबाबु हंगेरीको हुनुहुन्थ्यो र मारियनको परिवारजस्तै कोइलाखानीमा काम गर्न फ्रान्सको उत्तरी भागमा बसाइँ सर्नुभएको थियो। मेरो जन्म सन्‌ १९२५ मा भएको थियो। सन्‌ १९३७ मा एक जना यहोवाको साक्षी ओगस्टे ब्युगिन वा हामीले उनलाई बोलाउने नाउँ पापा ओगस्टेले आमाबाबुलाई हंगेरी भाषामा प्रहरीधरहरा ल्याइदिन थाले। उहाँहरूलाई पत्रिका रोचक लाग्थ्यो तर उहाँहरू दुवै जना यहोवाको साक्षी हुनुभएन।

म सानै भए तापनि प्रहरीधरहरा-मा पढेका कुराहरूले मेरो हृदय छोयो र पापा ओगस्टेकी बुहारी सुजान ब्युगिनले ममा व्यक्‍तिगत चासो देखाउन थालिन्‌। मेरा आमाबाबुले मलाई सभामा लैजान सुजानलाई अनुमति दिनुभयो। पछि मैले काम गर्न थालेपछि आइतबारको दिन सभामा जाँदा बुबा रिसाउनुहुन्थ्यो। उहाँ साधारणतया राम्रो स्वभावको व्यक्‍ति हुनुभए तापनि उहाँले यस्तो गुनासो गर्नुहुन्थ्यो, ‘तिमी हप्ताभरि पनि घरमा हुँदिनौं र आइतबार पनि सभामा जान्छ्‌यौ!” तैपनि म सभामा जान छोडिनँ। त्यसैले एक दिन बुबाले मलाई भन्‍नुभयो, “गुन्टा कसेर तिमी घरबाट निस्किहाल!” उहाँले त्यसो भन्‍नुहुँदा रात परिसकेको थियो। म भर्खरै १७ वर्षकी थिएँ र कहाँ जाने, के गर्ने मलाई केही थाह थिएन। त्यसैले म रुँदै सुजानको घरमा पुगें। सुजानकै घरमा एक हप्ता जति बसेपछि बुबाले मलाई लिन मेरी दिदीलाई पठाउनुभयो। म लजालु स्वभावकी थिएँ तर १ यूहन्‍ना ४:१८ मा व्यक्‍त भावले मलाई दृढ अडान लिन मदत गऱ्‍यो। त्यस शास्त्रपदमा “पूर्ण प्रेमले ता डरलाई हटाउँछ” भनिएको छ। सन्‌ १९४२ मा मैले बप्तिस्मा लिएँ।

अनमोल आध्यात्मिक सम्पदा

मारियन: मैले सन्‌ १९४२ मा मेरा दिदीहरू स्टेफानी र मेलानी र दाइ स्टेफानसँगै बप्तिस्मा लिएँ। घरमा हाम्रो पारिवारिक जीवन परमेश्‍वरको वचनमै केन्द्रित थियो। हामी सबै टेबुलमा बस्थ्यौं र बुबाले हामीलाई पोलिस भाषामा बाइबल पढेर सुनाउनुहुन्थ्यो। साँझमा प्रायजसो हामी राज्य प्रचारकार्यमा आमाबाबुले भाग लिनुहुँदा बटुल्नुभएका अनुभवहरू सुन्थ्यौं। यस्ता आध्यात्मिक तवरमा प्रोत्साहनदायी क्षणहरूले यहोवालाई प्रेम गर्न र उहाँमा झन्‌ बढी भरोसा गर्न हामीलाई सिकायो। अस्वस्थताको कारण बुबाले काम छोड्‌नुपऱ्‍यो तर उहाँले हाम्रो आध्यात्मिक तथा भौतिक तवरमा हेरचाह गर्न छोड्‌नुभएन।

बुबाको तालिका अब त्यति व्यस्त नभएकोले उहाँले हप्ताको एकचोटि मण्डलीका जवानहरूसँग पोलिस भाषामा बाइबल अध्ययन सञ्चालन गर्नुहुन्थ्यो। त्यहाँबाट नै मैले पोलिस पढ्‌न सिकें। बुबाले जवानहरूलाई अन्य तरिकामा पनि प्रोत्साहन दिनुभयो। त्यतिबेला फ्रान्समा यहोवाका साक्षीहरूको काममा सुपरिवेक्षण गरिरहेका भाइ गुस्ताभ सोप्फर हाम्रो मण्डलीमा भ्रमणको लागि एक चोटि आउँदा बुबाले एउटा समूह जम्मा गर्नुभयो र राजा बेलसजर र भित्तामा औंलाले लेखेको घटनामा आधारित बाइबल नाटक पूरै भेषभूषा लगाएर प्रस्तुत गर्न प्रबन्ध मिलाउनुभयो। (दानियल ५:१-३१) दानियलको भूमिका चाहिं लुई पिहोटाले खेलेका थिए जसले पछि नाजीहरू विरुद्ध दृढ अडान लिए। a हामी बच्चाहरू यस्तो प्रकारको वातावरणमा हुर्क्यौं। हामीले हाम्रो आमाबाबु आध्यात्मिक क्रियाकलापमा सधैं व्यस्त भएको देख्यौं। हाम्रा आमाबाबुले हामीलाई कस्तो अमूल्य सम्पदा छोड्‌नुभएको रहेछ भनी म अहिले बुझ्छु।

सन्‌ १९३९ मा दोस्रो विश्‍वयुद्ध सुरु हुँदा फ्रान्समा यहोवाका साक्षीहरूको गतिविधिमाथि प्रतिबन्ध लगाइयो। एक चोटि हाम्रो गाउँमा पूरै खानतलासी भएको थियो। सबै घरहरू जर्मन सेनाहरूले घेरेका थिए। हाम्रो लुगा राख्ने ठाउँमुनि बुबाले भुईं जस्तो देखिने अर्को भुईं बनाउनुभएको थियो र हामीले विभिन्‍न प्रकाशनहरू त्यही भुईंमुनि लुकायौं। तथापि, फासिज्म अर फ्रिडम भन्‍ने पुस्तिकाका केही प्रतिहरू काँटा-चम्चा राख्ने घर्रामै थिए। ढोका नजिकै झुन्ड्याएर राखिएको कोटको खल्तीमा बुबाले ती पुस्तिका हत्त न पत्त लुकाउनुभयो। दुई जना सिपाही र एक जना फ्रान्सेली प्रहरीले हाम्रो घरको खानतलासी लिएका थिए। त्यो क्षणमा साह्रै धुकचुक भयो। एउटा सैनिकले ढोका नजिकै झुन्ड्याएर राखिएको लुगाहरूमा हेर्न थाल्यो र त्यसको लगत्तै हातमा त्यही पुस्तिकाहरू लिंदै भान्छामा छिऱ्‍यो र हामी त्यहीं थियौं। उसले हामीलाई आँखा तऱ्‍यो र पुस्तिकाहरू टेबलमा राखेर अरू ठाउँमा खोज्न थाल्यो। मैले चाँडै ती पुस्तिकाहरू लिएर सेनाले हेरिसकेको घर्रामा घुसाएँ। त्यो सिपाहीले ती पुस्तिकाहरू फेरि खोज्दै खोजेन—यसबारे उसले चटक्कै बिर्सिसकेको जस्तै थियो!

पूर्ण-समय सेवामा प्रवेश गर्दा

सन्‌ १९४८ मा मैले अग्रगामी सेवाद्वारा यहोवालाई पूर्ण-समय सेवा गर्ने निर्णय गरें। त्यसको केही दिनपछि फ्रान्समा रहेका यहोवाका साक्षीहरूको शाखा कार्यालयबाट मैले एउटा पत्र प्राप्त गरें। त्यस पत्रमा बेल्जियमसँगै सेडान मण्डलीमा अग्रगामीको रूपमा सेवा गर्ने कार्यभार दिइएको थियो। मैले यस प्रकार यहोवाको सेवालाई अँगालेको देख्दा मेरा आमाबाबु हर्षित हुनुभयो। यद्यपि, बुबाले अग्रगामी कार्य सजिलो हुनेछैन भनेर पनि बताउनुभयो। मेहनत गर्नुपर्नेछ। तथापि, उहाँले मेरो निम्ति घरको ढोका सधैं खुला हुनेछ र समस्या आइपरेको खण्डमा उहाँकहाँ जुनबेला पनि आउन सक्ने कुरा बताउनुभयो। मेरा आमाबाबुसँग त्यति पैसा नभए तापनि उहाँहरूले मेरो लागि एउटा नयाँ साइकल किनिदिनुभयो। त्यो साइकल किनेको रसिद मसँग अझै छ र यो हेर्दा अहिले पनि मेरा आँखा रसाएर आउँछन्‌। सन्‌ १९६१ मा बुबा र आमा बित्नुभयो तर बुबाका बुद्धिमानी शब्दहरू मेरो कानमा अझै गुञ्जिरहन्छ। उहाँहरूले मेरो सेवाका वर्षहरूभरि नै प्रोत्साहन र सान्त्वना दिनुभयो।

प्रोत्साहनको अर्को स्रोत सेडान मण्डलीकी ७५ वर्षीया मसीही बहिनी थिइन्‌ जसको नाउँ एलिज मोट थियो। गर्मीका महिनाहरूमा सँगैका गाउँहरूमा प्रचार गर्न म साइकलमा जान्थें र एलिजचाहिं रेलबाट त्यहाँ आइपुग्थिन्‌। तथापि, एक दिन रेलका इन्जिनियरहरूको हडताल थियो र एलिजलाई घर फर्कन समस्या भयो। यस समस्याको एउटै मात्र समाधान उनलाई मेरो साइकलको सामान राख्ने ऱ्‍याकमा बसाएर घर पुऱ्‍याइदिनु थियो। यसरी यात्रा गर्नु पक्कै पनि आरामदायी थिएन। भोलिपल्ट बिहान मैले एउटा चकटी लगें र एलिजलाई लिन उनको घर गएँ। उनले रेल चढ्‌न छोडिन्‌ र रेलमा लाग्ने पैसा जम्मा गरेर उनले हाम्रो लागि तातो-तातो पेयपदार्थ किन्‍ने गर्थिन्‌। मेरो साइकलले पनि सार्वजनिक सवारीसाधनको काम गर्नेछ भनी कसले सोचेको थियो होला र?

थप जिम्मेवारीहरू

सन्‌ १९५० मा मलाई उत्तरी फ्रान्सको सम्पूर्ण इलाकामा क्षेत्रीय निरीक्षकको हैसियतमा सेवा गर्न भनियो। भर्खरै २३ वर्ष पुगेको हुँदा मेरो पहिलो प्रतिक्रिया थियो, डर। मलाई शाखा कार्यालय झुक्किएको होला जस्तो लाग्यो! मेरो दिमागमा यस्ता प्रश्‍नहरू घुम्न थाले: ‘के म यो काम गर्न आध्यात्मिक र शारीरिक तवरमा सक्षम छु? हरेक हप्ता फरक-फरक बसाइमा कसरी बस्ने होला?’ अझ त्यसमाथि, छ वर्षको उमेरदेखि मेरो आँखाको समस्याले गर्दा एउटा आँखा डेडो थियो। यसले गर्दा मेरो एउटा आँखा बाहिरतिर फर्केजस्तो देखिन्छ। मेरो यस्तो आँखाले गर्दा म सधैं अरूले मप्रति कस्तो दृष्टिकोण राख्लान्‌ भनेर चिन्तित हुन्छु। त्यतिबेला मैले गिलियड स्कूलका स्नातक स्टेफान बेहुनिकबाट पाएको ठूलो मदतको लागि म धन्यवादी छु। भाइ बेहुनिकलाई तिनको प्रचार गतिविधिको कारण पोल्याण्डबाट देश निकाला गरिएको थियो र फ्रान्समा खटाइएको थियो। तिनको साहस देखेर म साँच्चै प्रभावित भएँ। यहोवा र सत्यप्रति उहाँको गहिरो आदर थियो। कसै-कसैलाई तिनले मसँग असाध्यै कडा व्यवहार गर्छन्‌ जस्तो लाग्थ्यो तर मैले तिनीबाट धेरै कुरा सिकें। तिनको निर्भयताले मेरो विश्‍वस्तता बढाउन मदत गऱ्‍यो।

क्षेत्रीय कार्यको दौडान मैले क्षेत्र सेवकाईमा थुप्रै राम्रा अनुभवहरू बटुल्न पाएँ। सन्‌ १९५३ मा पाओली भनिने एक जना व्यक्‍तिसँग भेट्‌न मलाई पठाइयो। तिनी दक्षिण फ्रान्समा बस्थे र प्रहरीधरहरा-को ग्राहक थिए। हाम्रो भेट भयो र तिनी सेनाबाट अवकाशप्राप्त रहेछन्‌ र तिनलाई प्रहरीधरहरा असाध्यै राम्रो लाग्ने रहेछ भनेर मैले थाह पाएँ। तिनले ख्रीष्टको मृत्युको स्मरणार्थबारे हालैको अंकमा पढेपछि आफू एक्लैले स्मरणार्थ उत्सव मनाएको र त्यसपछि पूरै साँझ भजनको पुस्तक पढेको कुरा मलाई बताए। हाम्रो छलफल झन्डै दिउँसोभरि चल्यो। म त्यहाँबाट हिंड्‌नुभन्दा केही समयअघि बप्तिस्माबारे छोटकरीमा कुरा गऱ्‍यौं। पछि मैले तिनलाई सन्‌ १९५४ को सुरुतिर आयोजना हुने क्षेत्रीय सम्मेलनमा उपस्थित हुन निमन्त्रणा पठाएँ। तिनी आए र त्यस सम्मेलनमा बप्तिस्मा लिएका २६ जनामध्ये भाइ पाओली पनि थिए। यस्ता अनुभव अझै पनि मेरो निम्ति आनन्दको स्रोत हुन्‌।

रोजा: सन्‌ १९४८ को अक्टोबरमा मैले अग्रगामीको हैसियतमा सेवा गर्न थालें। बेल्जियम नजिकै आनोर भन्‍ने ठाउँमा सेवा गरिसकेपछि मलाई अर्को एक जना अग्रगामी आइरिन कोलान्स्कीसँगै (अहिले लिरोइ) पेरिसमा खटाइयो। हामी सहरको मुटुमा रहेको सें-झर्मेंन-डे-प्रेज भन्‍ने ठाउँमा एउटा सानो कोठा लिएर बस्यौं। गाउँकी ठिटी भएकीले पेरिसका बासिन्दाहरू देखेर म वाल्ल परें। मलाई तिनीहरू सबै सभ्य र एकदमै बुद्धिमान्‌ होलान्‌ जस्तो लाग्थ्यो। तर मैले प्रचार गर्दै जाँदा तिनीहरू अरू मानिसहरूभन्दा केही फरक नभएको पाएँ। हामीलाई अक्सर घरका पालेहरूले लखेट्‌थे र बाइबल अध्ययन सुरु गर्नु गाह्रो थियो। तैपनि कोही-कोही मानिसहरूले हाम्रो सन्देश स्वीकारे।

सन्‌ १९५१ मा क्षेत्रीय सम्मेलनको दौडान आइरिन र मलाई हाम्रो अग्रगामी सेवाबारे अन्तरवार्ता लिइयो। अन्तरवार्ता लिने व्यक्‍ति को थियो भनेर अड्‌कल लाउन सक्नुहुन्छ? मारियन जुमिगा नाउँ गरेको जवान क्षेत्रीय निरीक्षक। पहिला पनि एकचोटि हाम्रो भेट भइसकेको थियो तर सम्मेलनपछि हामीले पत्राचार गर्न थाल्यौं। मारियन र मेरोबीच समान कुराहरू थुप्रै थिए जसमा हाम्रो बप्तिस्माको वर्ष एउटै हुनु र अग्रगामी सुरु गरेको वर्ष पनि एउटै हुनु समावेश छ। तर सबैभन्दा महत्त्वपूर्ण चाहिं हामी दुवै जना पूर्ण-समय सेवा गरिरहन चाहन्थ्यौं। त्यसैले प्रार्थनापूर्वक विचार गरेपछि सन्‌ १९५६ को जुलाई ३१ मा हामी वैवाहिक बन्धनमा बाँधियौं। बिहे सँगसँगै मेरो लागि पूरै नयाँ जीवन सुरु भयो। पत्नीको हैसियतमा मात्र बानी बसाल्नुपर्ने नभई मारियनसँगै क्षत्रीय कामको लागि पनि जानुपर्थ्यो र यसको अर्थ हरेक हप्ता फरक-फरक ठाउँमा सुत्नु थियो। सुरु-सुरुमा त पटक्कै सजिलो भएन तर हाम्रो सामु थुप्रै आनन्दले पर्खिरहेको थियो।

सन्तोषजनक जीवन

मारियन: वर्षौंको दौडान हामीले थुप्रै अधिवेशनहरूको तयारीमा मदत गर्ने विशेष सुअवसर पाएका छौं। मैले विशेष गरी बोर्डोमा सन्‌ १९६६ मा भएको अधिवेशनको मीठो सम्झना सँगालेको छु। त्यतिबेला पोर्चुगलमा यहोवाका साक्षीहरूको कार्यमा प्रतिबन्ध लगाइएको थियो। त्यसैले फ्रान्ससम्म आएका साक्षीहरूको हितलाई ध्यानमा राखेर सम्मेलनको कार्यक्रम पोर्चुगाली भाषामा पनि प्रस्तुत गरियो। पोर्चुगलबाट हाम्रा सयौं मसीही भाइबहिनीहरू आइपुगे तर एउटा समस्या तिनीहरूको आवास थियो। बोर्डोमा भएका साक्षीहरूको घरमा पर्याप्त कोठाहरू नभएकोले हामीले एउटा खाली चलचित्र भवन भाडामा लियौं र त्यसलाई शयनकक्षको रूपमा चलायौं। हामीले शयनकक्ष बनाउन सबै मेचहरूका साथै मञ्चबाट पर्दा हटायौं र एउटा भाइहरूको लागि र एउटा बहिनीहरूको लागि भनेर दुइटा शयनकक्ष बनायौं। हामीले नुहाउने ठाउँ र हात धुने ठाउँ पनि मिलायौं र सिमन्टीको भुईंमा पराल राख्यौं र यसलाई एकदमै बाक्लो कपडाले छोप्यौं। यस्तो प्रबन्धबाट सबै खुसी भए।

अधिवेशन कार्यक्रमपछि हामी हाम्रा भाइबहिनीहरूलाई भेट्‌न शयनकक्षमा गयौं। त्यहाँको वातावरण विशेष थियो। निकै वर्षको सतावटको बावजुद तिनीहरूले बटुलेका अनुभवहरू सुनेर हामी कत्ति प्रोत्साहित भयौं! तिनीहरू सम्मेलनपश्‍चात्‌ घर फर्कंदा हामी सबैको आँखा रसाएको थियो।

अर्को सुअवसर त्यसको दुई वर्षअघि सन्‌ १९६४ मा पाएँ जब मलाई जिल्ला निरीक्षकको हैसियतमा सेवा गर्न भनियो। फेरि एक चोटि ममा आफू योग्य छु वा छैन भन्‍ने प्रश्‍न आयो। तर मैले आफूलाई यसो भनें, यदि जिम्मेवार भाइहरूले यो कार्यभार स्वीकार्न भन्‍नुहुन्छ भने निश्‍चय पनि उहाँहरूले मलाई यो सँभाल्न योग्य नै ठान्‍नुभएको होला। अन्य परिभ्रमण निरीक्षकहरूसित सँगै मिलेर काम गर्न पाउनु एउटा राम्रो अनुभव थियो। मैले तिनीहरूबाट थुप्रै कुरा सिकें। तिनीहरूमध्ये थुप्रै धैर्य र लगनशीलताको असल उदाहरण थिए जुन गुणहरू यहोवाको नजरमा महत्त्वपूर्ण छन्‌। हामीले पर्खन सिक्यौं भने हामीलाई कहाँ भेट्टाउने भनेर यहोवालाई थाह हुन्छ भनी मैले अहिले बुझेको छु।

सन्‌ १९८२ मा शाखा कार्यालयले हामीलाई पेरिस सहरको छेउमा पर्ने बुलोन-बियाङ्‌कुर भन्‍ने ठाउँमा रहेको १२ जना पोलिस प्रकाशकको सानो समूहलाई पनि हेर्न भन्यो। त्यो एउटा अप्रत्याशित कुरा थियो। मलाई पोलिसमा ईश्‍वरतान्त्रिक पदावलीहरू थाह थियो तर सिङ्‌गो वाक्य बनाउन भने गाह्रो थियो। तैपनि, ती भाइहरूको दया र राजीखुसी दिएको मदतले मलाई निकै मदत गऱ्‍यो। आज, त्यो मण्डलीमा झन्डै १७० जना प्रकाशक छन्‌ र त्यसमा पनि लगभग ६० जना अग्रमामी छन्‌। पछि रोजा र मैले अस्ट्रिया, डेनमार्क र जर्मनीमा रहेका पोलिस समूह तथा मण्डलीहरूमा पनि भ्रमण गऱ्‍यौं।

बद्‌लँदो परिस्थिति

विभिन्‍न मण्डलीहरूको भ्रमण गर्नु हाम्रो जीवनको भाग भइसकेको थियो तर खराब स्वास्थ्यस्थितिको कारण हामीले २००१ मा परिभ्रमण कार्य छोड्‌नुपऱ्‍यो। पेटभे भन्‍ने सहरमा हामीले एउटा अपार्टमेन्ट पायौं। यही ठाउँमा मेरी बहिनी रूथ पनि बस्छिन्‌। शाखा कार्यालयले हामीलाई दयालुपूर्वक हाम्रो अवस्थाअनुसार पुऱ्‍याउनुपर्ने घण्टाको छाँटकाँट गरेर विशेष अग्रगामीको रूपमा नियुक्‍त गऱ्‍यो।

रोजा: हामीले क्षेत्रीय काम छोडेको पहिलो वर्ष त मलाई धेरै गाह्रो भयो। यो यस्तो ठूलो परिवर्तन थियो कि मलाई आफू बेकाम लाग्थ्यो। त्यसपछि मैले आफूलाई यसरी सम्झाएँ, ‘तिमीले अझै आफ्नो समय र बल अग्रगामीको हैसियतमा सदुपयोग गर्न सक्छौ।’ आज, हाम्रो मण्डलीका अन्य अग्रगामीहरू सँगसँगै काम गर्न पाएकोमा म खुसी छु।

यहोवाले सधैं हाम्रो हेरचाह गर्नुभएको छ

मारियन: विगत ४८ वर्षदेखि सहयोगीको रूपमा रोजा पाएकोमा म यहोवाप्रति धेरै कृतज्ञ छु। परिभ्रमण कार्यमा लागेका ती वर्षहरूभरि तिनले मलाई निकै सघाइन्‌। ‘घरजम गरेर बस्न पाए कस्तो हुन्थ्यो’ भनेर उनले भनेको मैले कहिल्यै सुनिनँ।

रोजा: कहिलेकाहीं कसै-कसैले मलाई यसो भन्‍ने गर्थे, ‘तपाईंको जीवन शैली त सामान्य छैन। तपाईं सधैं अरूसँग बस्नुहुन्छ।” तर ‘सामान्य जीवन शैली’ भनेको वास्तवमा कस्तो हो? कहिलेकाहीं हामी यस्ता कुराहरूको घेरामा पर्छौं जुन हाम्रो आध्यात्मिक गतिविधिको लागि अवरोध हुन सक्छन्‌। हामीलाई साँच्चै चाहिने कुरा भनेको, राम्रो ओछ्यान, टेबुल र अन्य केही आधारभूत कुराहरू हुन्‌। अग्रगामीको हैसियतमा हामीसित भौतिक तवरमा खासै केही थिएन तैपनि यहोवाको इच्छा पूरा गर्न आवश्‍यक सबै कुरा थियो। कहिलेकाहीं मलाई यस्तो प्रश्‍न गरिन्थ्यो, “बूढाबुढी भएपछि तपाईं के गर्नुहुन्छ, तपाईंको घर छैन, पेन्सन छैन।” त्यतिबेला मैले भजन ३४:१० उद्धृत गर्थें: “जस जसले परमप्रभुको खोजी गर्दछन्‌, तिनीहरूलाई कुनै उत्तम कुराको खाँचो पर्नेछैन।” यहोवाले सधैं हाम्रो हेरचाह गर्नुभएको छ।

मारियन: साँच्चै हो! यहोवाले हामीलाई चाहिनेभन्दा बढी दिनुभएको छ। उदाहरणका लागि, सन्‌ १९५८ मा न्यु योर्कमा हुने अन्तरराष्ट्रिय अधिवेशनमा हाम्रो क्षेत्रको प्रतिनिधित्व गर्न मलाई भनियो। तथापि, रोजाको लागि टिकट किन्‍न हामीसँग पैसा थिएन। एउटा साँझ एक जना भाइले हामीलाई “न्यु योर्क” लेखिएको खाम हाम्रो हातमा थमाइदिए। त्यसमा रोजाको टिकटको लागि पुग्ने पैसा थियो!

रोजा र मलाई यहोवाको सेवामा बिताएका वर्षहरूमा पटक्कै पछुतो छैन। हामीले कुनै पनि कुरा गुमाएनौं बरु, थुप्रै पायौं—पूर्ण-समय सेवामा सन्तोषजनक र सुखी जीवन। यहोवा अत्यन्तै असल परमेश्‍वर हुनुहुन्छ। हामीले यहोवामा पूर्ण भरोसा राख्न सिकेका छौं र उहाँप्रतिको हाम्रो प्रेम अझ गहिरो भएको छ। हाम्रा केही मसीही भाइहरूले आफ्नो विश्‍वासको कारण आफ्नो जीवन गुमाएका छन्‌। तथापि, मलाई लाग्छ, मानिसले वर्षौंको दौडान अलि-अलि गरेर आफ्नो जीवन त्याग गर्न सक्छ। रोजा र मैले अहिलेसम्म यही कुरा गर्ने कोसिस गरेका छौं र भविष्यमा पनि यसै गरिरहने हाम्रो कटिबद्धता छ।

[फुटनोट]

a “म ‘मृत्यु यात्राबाट’ बचें” भन्‍ने लुई पिहोटाको जीवनी सन्‌ १९८० अगस्त १५ को द वाचटावर-मा प्रकाशित भएको थियो।

[पृष्ठ २०-मा भएको चित्र]

फाँस्वा र आन्‍ना जुमिगा र तिनीहरूका बच्चाहरू स्टेफानी, स्टेफान, मेलानी र मारियन सन्‌ १९३० तिर। मारियन स्टुलमा उभिरहेका छन्‌

[पृष्ठ २२-मा भएको चित्र]

माथि: सन्‌ १९५० मा उत्तरी फ्रान्सको आर्मेन्टिर्यरस भन्‍ने ठाउँको बजारमा बाइबल साहित्य प्रस्तुत गर्दै

[पृष्ठ २२-मा भएको चित्र]

बायाँ: सन्‌ १९५० मा स्टेफान बेहुनिकसँग मारियन

[पृष्ठ २३-मा भएको चित्र]

मारियन र रोजा तिनीहरूको विवाहको अघिल्लो दिन

[पृष्ठ २३-मा भएको चित्र]

रोजा (बायाँको पहिलो) आफ्नो अग्रगामी साथी आइरिनसँग (बायाँबाट चौथो), सन्‌ १९५१ मा सम्मेलनको विज्ञापन गर्दै

[पृष्ठ २३-मा भएको चित्र]

क्षेत्रीय भ्रमणको दौडान हामी अक्सर साइकलमा यात्रा गर्थ्यौं