सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“बिर्सिएका पीडितहरू”-को सम्झना गरिन्छ

“बिर्सिएका पीडितहरू”-को सम्झना गरिन्छ

राज्य उद्‌घोषकहरूको रिपोर्ट

“बिर्सिएका पीडितहरू”-को सम्झना गरिन्छ

सन्‌ २००१ को प्रारम्भमा, १५ वर्षीय यहोवाको साक्षी हाइगेज, नाजीहरूले यहोवाका साक्षीहरूलाई दिएको सतावटसित सम्बन्धित स्वीजरल्याण्डको बर्नमा “बिर्सिएका पीडितहरू” नामक एउटा प्रदर्शनीको भ्रमण गर्न गएका थिए। भ्रमणको अन्तमा, हाइगेजले यसो भने: “नाजी शासनअन्तर्गत यहोवाका साक्षीहरूले भोगेका अमानवीय व्यवहार तथा दुःखकष्टबारे मैले सुनेको त थिएँ तर त्यस समयको आधिकारिक कागजात तथा तस्विरहरू देखेको चाहिं यही नै पहिलो पटक हो। प्रदर्शनीमा राखिएका कुरा, प्रत्यक्षदर्शीहरूको रिपोर्ट र इतिहासकारहरूले गरेका टिप्पणीहरूले मेरो मन अनि हृदयमा गहिरो छाप पाऱ्‍यो।”

केही समयपछि हाइगेजलाई उच्च माध्यामिक स्कूलको आफ्नो कक्षाको लागि एउटा रिपोर्ट लेख्न खटाइँदा तिनले “यहोवाका साक्षीहरू—नाजी शासनअन्तर्गत बिर्सिएका पीडितहरू” भन्‍ने विषय रोजे। तिनको शिक्षकले त्यस विषयमा लेख्ने अनुमति त दिए तर आफ्ना स्रोतहरूमा सांसारिक साहित्यहरू पनि समावेश गर्नुपर्ने कुरा हाइगेजलाई भनियो। हाइगेजले खुसीसाथ त्यो कुरा स्वीकारे। “नाजी शासनको दौडान यहोवाका साक्षीहरूले भोगेका यातनाबारे लेखिएका केही पुस्तकहरू मैले केलाएको थिएँ र मैले ती पुस्तकहरूकै सारांश लेखें। ‘बिर्सिएका पीडितहरू’ नामक प्रदर्शनीले मलाई कस्तो छाप पाऱ्‍यो भनेर मैले आफ्नो व्यक्‍तिगत अनुभव सुनाएँ। यस ४३ पृष्ठे रिपोर्टमा दृष्टान्त तथा तस्विरहरू थिए।”

नोभेम्बर सन्‌ २००२ मा, हाइगेजले सहपाठी, शिक्षक-शिक्षिका, परिवार तथा साथीभाइहरूलाई आफ्नो रिपोर्ट प्रस्तुत गरे। त्यसपछि, प्रश्‍न-उत्तरको कार्यक्रम थियो, जसले तिनलाई आफ्नो बाइबल आधारित विश्‍वासबारे बताउने मौका प्रदान गऱ्‍यो। श्रोतामध्येबाट एउटी केटीले यो विषय रोज्नुको कारण सोद्धा हाइगेजले धेरैजसो इतिहासका पुस्तकहरूमा यहोवाका साक्षीहरूबारे केही पनि बताइएको हुँदैन भनी बताए र साक्षीहरू आफ्नो मसीही विश्‍वासको पक्षमा कत्ति साहसपूर्वक खडा भएका थिए भन्‍ने कुरा मानिसहरूले बुझेको तिनी चाहन्थे। तिनको प्रस्तुतिको परिणाम कस्तो भयो?

हाइगेजले यसो भने, “मेरा सहपाठीहरू छक्क परे। समूहको रूपमा यहोवाका साक्षीहरूले क्रूर सतावट भोगेका थिए भन्‍ने कुरा तिनीहरूलाई थाहै रहेनछ। साथै, नाजी यातना शिविरमा साक्षीहरूले विशेष चिनारी अर्थात्‌ बैजनी रङको त्रिकोण लगाएका थिए भन्‍ने कुरा पनि थुप्रैलाई थाहै थिएन।”

प्रस्तुतिपछि हाइगेजले आफ्ना सहपाठीहरूसित कुरा गर्ने र रक्‍तक्षेपण, रक्सी तथा नैतिकतासम्बन्धी साक्षीहरूले लिने बाइबल आधारित अडानबारे छलफल गर्ने धेरै मौका पाए। हाइगेजले यसो भने, “मेरा सहपाठीहरूमध्ये कसैले पनि मलाई गिल्ला वा खिसी गरेनन्‌।” त्यति मात्र कहाँ हो र, तिनको रिपोर्ट अहिले स्कूलको पुस्तकालयमा राखिएको छ। यसले गर्दा यहोवाका साक्षीहरूको साहसिक अडान बिर्सिइनेछैन।