सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

योग्य जनहरूको खोजी केन्यामा

योग्य जनहरूको खोजी केन्यामा

योग्य जनहरूको खोजी केन्यामा

केन्या अथाह प्राकृतिक सौन्दर्यले भरिभराउ मुलुक हो। हराभरा जंगल, खुला मैदान, उखुम मरुभूमि अनि हिउँले ढाकिएका पर्वतहरूले यस मुलुकलाई सिंगारेको छ। यो, दस लाखभन्दा धेरै नू र दुर्लभ गैंडाहरूको वासस्थान हो। यहाँका घाँसे मैदानमा जिराफहरूको डफ्फा पनि देख्न सकिन्छ।

हावामा उड्‌ने पंक्षीहरू, आकासमा माथि माथिसम्म कावा खानसक्ने बलिष्ठ चीलहरूदेखि चिरबिरचिरबिर गर्दै भुर्र भुर्र उडिरहेका रंगीचंगी गाइनेचरीको बथान पनि यहाँ प्रशस्तै देख्न पाइन्छन्‌। अनि हात्ती र सिंहहरूलाई त कसले बिर्सन सक्ला र? केन्याको दृश्‍य अनि कर्णप्रिय ध्वनिलाई बिर्सन सकिन्‍न।

यद्यपि, यस सुन्दर मुलुकमा एउटा अर्को ध्वनि पनि सुनिंदैछ। यो, हजारौंले बाँडिरहेको आशाको सन्देशको ध्वनि हो। (यशैया ५२:७) अहिले यी आवाज ४० भन्दा बढी जाति र भाषाका मानिसहरूसम्म पुगिरहेका छन्‌। यस अर्थमा केन्यालाई आध्यात्मिक सौन्दर्यले सम्पन्‍न मुलुक भन्दा पनि फरक नपर्ला।

केन्याका प्रायजसो मानिसहरू धार्मिक प्रवृत्तिका छन्‌ र आध्यात्मिक विषयवस्तुमा छलफल गर्न रुचाउँछन्‌। तर यसको बावजूद, अन्य मुलुकहरूमा जस्तै केन्यामा पनि गतिशील परिवर्तनहरूले गर्दा कुरा गर्न इच्छुक मानिस भेट्टाउन गाह्रो हुन थालेको छ।

कठिन आर्थिक परिस्थितिले थुप्रैलाई आफ्नो जीवनशैलीमा काँटछाँट गर्न बाध्य पारेको छ। आइमाईहरू घरैमा काम गर्ने परम्परालाई छोडेर कार्यालयमा काम गरिरहेका हुन्छन्‌ वा बाटोमा फलफूल, तरकारी, माछा र टोकरीहरू बेचिरहेका छन्‌। परिवारको हातमुख जोर्न पुरुषहरू घण्टौंसम्म काममा घोटिन्छन्‌। बच्चाहरूसमेत आफ्ना कलिला हातमा भुटेको बदाम, उसिनेको अण्डा आदि लिएर सडकमा बेच्न हिंडेका छन्‌। फलतः दिउँसो कमै मानिसहरूलाई मात्र घरमा भेट्‌न सकिन्छ। यस्तो परिस्थितिका कारण परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्नेहरूले काँटछाँट गर्नैपर्ने भएको छ।

यहोवाका साक्षीहरूको मण्डलीलाई घरबाहिर, आफ्नो दैनिक कामकुरामा लागेका मानिसहरूका साथै साथीसँगी, नातेदार, व्यापारी र सहकर्मीहरूलाई भेट्‌ने सल्लाह दिइयो। अनि भाइहरूले मानिसहरूलाई जहाँ जहाँ भेट्टाउन सकिन्छ, त्यहींत्यहीं कुरा गरेर त्यो सल्लाह पालन गरे। (मत्ती १०:११) के धेरैभन्दा धेरै मानिसकहाँ पुग्ने तिनीहरूको यो प्रयास सफल भएको छ? पक्कै छ! केही उदाहरण विचार गर्नुहोस्‌।

हाम्रा नजिकका छिमेकी—नातेदारहरू

केन्याको राजधानी नाइरोबीको जनसंख्या ३० लाख जति छ। शहरको पूर्वतिर बसोबास गरिरहेका अवकाशप्राप्त सेनानीले साधारणतया यहोवाका साक्षीहरूलाई मन पराउँदैनथे तर आफ्नै छोरा यहोवाको साक्षी भई दिंदा तिनलाई फसाद पऱ्‍यो। एकदिन फेब्रुअरी महिनामा उक्‍त सेनानी १६० किलोमिटर पर नाकुरु शहरको रिफ्ट भ्यालीमा आफ्नो छोराको घर गए। त्यहाँ छँदा तिनको छोराले तिनलाई ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्‍याउँछ* पुस्तक उपहारस्वरूप दिए। बुबाचाहिंले त्यो उपहार स्वीकारे र घर फर्के।

तिनले त्यो पुस्तक आफ्नी श्रीमतीलाई दिए र त्यो पुस्तक यहोवाका साक्षीहरूले प्रकाशित गरेको हो भन्‍ने कुरा थाह नभएकोले उनले त्यो किताब पढ्‌न थालिन्‌। बिस्तारै बाइबल सच्चाइले उनको हृदय छुन थाल्यो र ती जानकारीहरू उनले आफ्ना श्रीमान्‌लाई पनि बताइन्‌। कौतूहलतावश तिनले पनि त्यो किताब पढ्‌न थाले। उक्‍त पुस्तकको प्रकाशक को हो भन्‍ने थाह पाएपछि तिनीहरू आफूलाई यहोवाका साक्षीहरूबारे सत्य कुरा नबताइएको रहेछ भन्‍ने निष्कर्षमा पुगे। तिनीहरूले स्थानीय यहोवाका साक्षीहरूसित सम्पर्क राखे र बाइबल अध्ययन सुरु भयो। आफैले पढेर तिनीहरूले सुर्तिको प्रयोग वा बेचबिखन अशास्त्रीय हो भनेर पनि थाह पाए। (मत्ती २२:३९; २ कोरिन्थी ७:१) बिना हिचकिचाहट तिनीहरूले आफ्नो पसलमा भएका सबै चुरोट नष्ट गरे। केही महिनापछि तिनीहरू बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्यको भए र त्यसको केही समयभित्रै तिनीहरूले जिल्ला अधिवेशनमा बप्तिस्मा लिए।

फोहरको डुंगुरमा खजाना

राजधानीको कुनै कुनै ठाउँमा लाखौं मानिसहरूको आश्रय बनेका झुपडीहरू जताततै पाइन्छन्‌। यहाँ माटो, काठ, जस्ता वा कर्कटपाताले बनाइएका छाप्राहरू लहरका लहर देख्न सकिन्छ। कलकारखानामा काम नहुँदा मानिसहरू आफै काम निकाल्छन्‌। जुआ काली (स्वाहिलीमा “चर्को घाम”) कामदारहरू घाममै बसेर गाडीका पुराना टायरहरूबाट चप्पल बनाउने वा फ्याँकिएका टिनहरूबाट मट्टितेलको टुकी बनाउने गर्छन्‌। अरूचाहिं फोहरको डुंगुर र कन्टेनरमा फेरि प्रशोधन गर्न सकिने कागज, ट्‌वाक र सिसीहरू खोज्छन्‌।

के फोहरको डुंगुरमा पनि खजाना पाउन सकिन्छ? सकिन्छ! एक जना भाइ सम्झन्छन्‌: “फ्याँकिएका समाचारपत्र र पत्रपत्रिकाले भरिएको प्लास्टिकको ठूलो बोरा बोकेको एक जना बलियो तर फोहरी लोग्नेमान्छे हाम्रो सम्मेलन भवनको चौरमा आए। उनको नाउँ विलियम हो भनेर मलाई बताइसकेपछि उनले सोधे: “तपाईंसित प्रहरीधरहरा-का नयाँ अंकहरू छन्‌ कि? हैन, यो मान्छेले के गर्न लाग्यो हँ भन्‍ने शंका मेरो मनमा उब्जियो। उनलाई पाँचवटा पत्रिका देखाउँदा उनले एक एक गर्दै ती पत्रिकाहरू राम्ररी हेरे र ‘म यी सब लान्छु’ भने। छक्क पर्दै म कोठामा पसें र पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ a किताब लिएर बाहिर आएँ। मैले उनलाई प्रमोदवनको चित्र देखाएँ र हामी मानिसहरूसित पैसा नलिईकनै बाइबल अध्ययन गर्छौं भनेर बताएँ। त्यसपछि मैले उनलाई यस्तो सुझाउ दिएँ: ‘तपाईंको के विचार छ, हुन्छ भने हामी भोलिदेखि नै अध्ययन सुरु गरौं न, हुन्‍न?’ उनी भोलिपल्ट नै आए!

“एक आइतबार उनी पहिलो पटक सभामा आए। त्यो दिन म जन भाषण दिइरहेको थिएँ। भित्र पस्ने बित्तिकै विलियमले चारैतिर श्रोताहरूलाई हेरे, मलाई मञ्चमा देखे र त्यहाँबाट सुइँकुच्चा ठोके। पछि मैले उनलाई त्यसो गर्नुको कारण सोधें। लजाउँदै उनले यस्तो जवाफ दिए: ‘त्यहाँ एकदमै सफा मानिसहरू देखेर मलाई अप्ठ्यारो लाग्यो।’

“विलियमले अध्ययनमा उन्‍नति गर्दै जाँदा बाइबल सच्चाइले उनको जीवनमा परिवर्तन ल्याउन थाल्यो। उनले नुहाउन थाले, कपाल काट्‌न थाले, सफा लुगा लगाउन थाले र चाँडै सभाहरूमा नियमित तवरले उपस्थित हुन थाले। ज्ञान जसले अनन्त जीवन तर्फ डोऱ्‍याउँछ पुस्तक विमोचन भएपछि हामीले त्यसैबाट अध्ययन थाल्यौं। त्यतिञ्जेल, उनले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा दुई पटक भाषण दिइसकेका र बप्तिस्मा अप्राप्त प्रकाशक पनि भइसकेका थिए। विशेष सम्मेलन दिनमा मैले उनलाई आफ्नो आध्यात्मिक भाइ भनेर बोलाउन पाउँदा खुसीले मेरो खुट्टा भुइँमै थिएन।”

विलियमले कहाँबाट प्रहरीधरहरा पत्रिकाको महत्त्व बुझेछन्‌ त? “मैले रद्दी कागजको थुप्रोमा केही अंक पाएको थिएँ।” हो, उनले यस्तो अनौठो तरिकामा खजाना भेट्टाएका थिए!

काम गर्ने ठाउँमा साक्षी दिंदै

के हामी आफ्नो काम गर्ने ठाउँमा अनौपचारिक साक्षी दिने मौका खोज्न सधैं सजग हुन्छौं? नाइरोबी मण्डलीका प्राचीन जेम्स यसरी नै बाइबल सच्चाइमा आएका थिए। फलतः अहिले तिनी त्यही तरिका अपनाएर मानिसहरूलाई भेट्टाउन खप्पीस भएका छन्‌। उदाहरणका लागि, एक पटक एक जना सहकर्मीले “येशूले उद्धार गर्नुहुन्छ” लेखिएको ब्याज भिरेर अफिस आएको जेम्सले देखे। सुसमाचारवाहक फिलिपको अनुकरण गर्दै जेम्सले उक्‍त सहकर्मीलाई सोधे: “के तपाईंलाई यी शब्दहरूको अर्थ साँच्चै थाह छ?” (प्रेरित ८:३०) यो प्रश्‍नले गर्दा राम्रो छलफल सुरु भयो। बाइबल अध्ययन सुरु गरियो र पछि त्यस सहकर्मीले पनि बप्तिस्मा लिए। के जेम्सले यस्तै अरू पनि सफलता पाए? तिनकै शब्दमा सुनौं:

“टम र म एउटै कम्पनीमा काम गर्थ्यौं। हामी अक्सर कम्पनीको एउटै स्टाफ बसमा चढ्‌थ्यौं। एकदिन बिहान तिनी र म बसको एउटै सिटमा बस्न पुगेछौं। म हाम्रै पुस्तक पढिरहेको थिएँ र टमले पनि त्यो पुस्तक राम्ररी हेर्न सकून्‌ भनेर मैले त्यो पुस्तक तिनीतिरै फर्काएर समातें। मैले आशा गरेअनुसारै त्यो किताबले तिनको ध्यान खिच्यो र मैले खुसीसाथ आफ्नो पुस्तक तिनलाई पढ्‌न दिएँ। पढेको कुराले तिनी निकै प्रभावित भए र बाइबल अध्ययन गर्न राजी भए। अहिले तिनी र तिनकी श्रीमती बप्तिस्मा प्राप्त यहोवाका साक्षीहरू भइसकेका छन्‌।”

जेम्सको कुरा सिद्धिएको छैन: “खाजा खाने समयमा अक्सर रमाइलो वार्तालाप हुन्छ। खाजा खाने समयमै बेग्लाबेग्लै अवसरमा मैले इप्रैम र वल्टरसित कुरा गर्न पाएँ। तिनीहरू दुवैलाई म यहोवाको साक्षी हुँ भनेर थाह थियो। इप्रैम यहोवाका साक्षीहरूसित मानिसहरू किन यतिबिघ्न वैमनस्य राख्छन्‌ भनेर बुझ्न चाहन्थे। वल्टरचाहिं यहोवाका साक्षी र अरू धर्महरूमा के भिन्‍नता छ भन्‍ने जान्‍न चाहन्थे। तिनीहरू दुवै मैले धर्मशास्त्रबाट दिएको जवाफबाट सन्तुष्ट भए र अध्ययन गर्न तयार भए। इप्रैमले छिटो प्रगति गरे। समयको क्रममा तिनी र तिनकी श्रीमती दुवैले आफ्नो जीवन यहोवालाई समर्पण गरे। अहिले तिनी प्राचीनको रूपमा र तिनकी श्रीमती नियमित अग्रगामीको रूपमा सेवा गर्दैछन्‌। तथापि, वल्टरले चाहिं निकै सतावट आएकोले अध्ययन गर्ने आफ्नो किताब नै फ्याँकिदिए। तर मैले हार नमानेको हुनाकारण तिनले फेरि अध्ययन गर्न थाले। अहिले तिनी पनि प्राचीनको रूपमा सेवा गर्ने विशेषाधिकारको आनन्द उठाइरहेका छन्‌।” यसरी जेम्सले आफ्नो कार्यालयमा अनौपचारिक साक्षी दिने मौकालाई हातबाट फुत्कन नदिंदा जम्माजम्मी ११ जना व्यक्‍तिहरू साँचो मसीही भएका छन्‌।

सबैभन्दा अचम्मलाग्दो नतिजा

लेक भिक्टोरियाको किनारमा बसालिएको सानो गाउँमा अन्त्येष्टिका लागि चिहानमा मानिसहरू जम्मा भएका थिए। शोकाकुलहरूमध्ये एक जना पाको उमेरका साक्षी पनि थिए। तिनले डली नाउँ गरेकी स्कूलकी शिक्षिकासित कुरा थाल्दै मृतकहरूको अवस्था र मृत्युलाई सदाका लागि हटाउने यहोवाको उद्देश्‍यबारे बताए। उनको सकारात्मक प्रतिक्रिया देखेर हाम्रो भाइले उनलाई यस्तो आश्‍वासन दिए: “तपाईं आफ्नो घर फर्कनुभएपछि हाम्रा मिसनरीहरू तपाईंलाई भेट्‌न आउनेछन्‌ र तपाईंलाई बाइबलबाट सिकाउनेछन्‌।”

डलीको घर केन्याको तीन ठूला शहरहरूमध्ये एउटामा पर्छ। त्यतिखेर त्यहाँ चार जना मिसनरीहरूले मात्र सेवा गरिरहेका थिए। वास्तवमा, यस वृद्ध भाइले डलीलाई भेट्‌न जानुस्‌ भनेर कुनै पनि मिसनरीलाई खबर गरेका थिएनन्‌। तर परिस्थिति त्यस्तै हुनेछ भन्‍ने पक्का विश्‍वास तिनमा थियो। अनि त्यस्तै भयो पनि! केही समय नबित्दै एक जना मिसनरी बहिनीले डलीलाई भेटिन्‌ र उनीसित बाइबल अध्ययन थालिन्‌। अहिले डलीले बप्तिस्मा लिइसकिन्‌, तिनकी सानी छोरीले ईश्‍वरतान्त्रिक सेवकाई स्कूलमा भाग लिएकी छिन्‌ र तिनका दुई छोराहरूले पनि बप्तिस्मा लिइसके। तिनले पाइनियर सर्भिस स्कूलमा भर्ती हुने आनन्दसमेत अनुभव गर्न पाएकी छिन्‌।

वृद्धिको सुपरिवेक्षण

अनौपचारिक साक्षीमा जोड दिइएकोले केन्यामा हजारौं मानिसहरूले सुसमाचार सुन्‍न पाएका छन्‌। झन्डै १५,००० भन्दा धेरै प्रकाशकहरू अहिले यो सर्वमहत्त्वपूर्ण कार्यमा व्यस्त छन्‌ र गत वर्ष ख्रीष्टको स्मरणार्थ उत्सवमा ४१,००० भन्दा धेरै उपस्थित भएका थिए। केन्याभरि सभाको उपस्थिति संख्या अक्सर राज्य प्रकाशकहरूभन्दा दुई गुणा बढी हुन्छ। यसले गर्दा नयाँ राज्यभवनहरू आवश्‍यक परेका छन्‌।

ठूलठूला शहरहरू र दुर्गम इलाकाहरूमा राज्यभवनहरू निर्माण हुँदैछन्‌। यीमध्ये एउटा नाइरोबीबाट ३२० किलोमिटर उत्तरपूर्वमा पर्ने पृथक गाउँ सामबुरु पनि हो। यस गाउँमा छाएको कर्कटपाताको छत टलटल टल्किने भएकोले १९३४ गाउँको नाउँ नै सामबुरु भाषामा मारालाल अर्थात्‌ “टल्कने” भनेर राखियो। बयसट्ठी वर्षपछि मारालालमा कर्कटपाताले नै छाएको अर्को घर निर्माण गरियो। यो साँचो उपासनाको निम्ति स्थानीय ठाउँ भएकोले यो पनि “टल्कन्छ” अनि “चम्कन्छ”।

केन्याको यस दुर्गम इलाकामा १५ जना प्रकाशकहरूले पहिलो राज्य भवन बनाउने प्रशंसनीय प्रयास गरे। सीमित पैसा भएकोले भाइहरूले स्थानीय साधनहरूमा भर पर्नुपऱ्‍यो। तिनीहरूले भुइँमा लहरै गतिला खम्बाहरू गाडेर बीचबीचमा मज्जाले रातो माटो कोचे। पछि ती गाराहरूलाई गोबर र खरानी दलेर सम्म पारियो। यसरी तिनीहरूले वर्षौं लगाएर गारो तयार पारे।

भवनका लागि खम्बाहरू बनाउन भाइहरूले रूख काट्‌ने अनुमति प्राप्त गरे। तर नजिकैको जंगल पनि लगभग दस किलोमिटर टाढा पर्थ्यो। भाइबहिनीहरू जंगलसम्म हिंडेर जान्थे, रूख काट्‌थे, छाँट्‌थे र खामाहरू बोकेर निर्माणस्थलसम्म ल्याइपुऱ्‍याउँथे। एक पटक जंगलबाट फर्कंदै गर्दा भाइहरूलाई प्रहरीले रोकेछ र भाइहरूको अनुमति पत्र पर्याप्त छैन भन्‍न थालेछ। उक्‍त प्रहरीले एक जना विशेष अग्रगामी भाइलाई रूख काटेको अभियोगमा पक्रेछन्‌। यो देखेर समाजमा निकै चिरपरिचित र त्यस प्रहरीले पनि राम्ररी चिनेकी एउटी स्थानीय बहिनी बोलिन्‌: “तपाईंले हाम्रो भाइलाई थुन्‍नुभयो भने हामी सबैलाई थुन्‍नुपर्नेछ किनकि हामी सबैले नै रूख काटेका हौं!” त्यसपछि त्यो प्रहरीले तिनीहरू सबैलाई जान दिए।

जंगली जनावरहरू पनि भएकोले जंगलमा हिंड्‌नु एकदमै खतरनाक थियो। एक दिन एउटी बहिनी रूख ढाल्दै थिइन्‌। रूख गर्ल्याम्म भुइँमा ढलेको मात्र के थियो, के हो कुन्‍नी बुर्कुसी मारेर भागेको तिनले देखिन्‌। झट्ट हेर्दा, फुस्रो फुस्रो रंग मात्र देखेकी हुनाले तिनले चिरु होला भन्ठानिन्‌ तर पछि पदचिह्न देखे पछि मात्र पो सिंह रहेछ भनेर थाह पाइन्‌! यस्ता खतराहरूको बावजूद, भाइहरूले भवन निर्माण गरिसिध्याए र उक्‍त भवन “चमचम चम्कने” यहोवाको प्रशंसाको थलो भएको छ।

फेब्रुअरी १, १९६३ केन्याको ईश्‍वरतान्त्रिक इतिहासको उल्लेखनीय दिन थियो। त्यस दिन ७.४ वर्ग मिटरको एउटा कोठा मात्र भएको पहिलो शाखा कार्यालय खुलेको थियो। अक्टोबर २५, १९९७ केन्याको ईश्‍वरतान्त्रिक इतिहासको अर्को उल्लेखनीय दिन साबित भयो। त्यस दिन ७,८०० वर्ग मिटरको नयाँ बेथेल कम्प्लेक्सको समर्पण गरियो! यो योजना तीन वर्षको कडा मेहनतको फल थियो। पच्चीस मुलुकहरूबाट आएका स्वयम्‌सेवकहरूले हिलाम्मे अनि झारपातले भरिएको ७.८ एकड जमिनलाई बेथेल परिवारका ८० जना सदस्य बस्न मिल्ने बगैंचासहितको रमाइलो भवनमा परिणत गरिदिए।

यहोवाले आफ्ना जनहरूका लागि गरिदिनुभएको कामका लागि रमाउने हामीसित प्रशस्तै कारण छ। आफ्ना जनलाई अझ खुलस्त भएर मानिसहरूसित कुरा गर्न उत्प्रेरित गर्नु भएकोमा र केन्यालाई आध्यात्मिक सौन्दर्यले भरिएको मुलुक बनाउन योग्य जनहरू जोडतोडले खोज्ने मौका दिनु भएकोमा यहोवालाई मुरी-मुरी धन्यवाद छ।

[फुटनोट]

a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।