सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्कूलमा सेक्सदेखि कसरी जोगिने?

स्कूलमा सेक्सदेखि कसरी जोगिने?

युवाहरू सोध्छन्‌ . . .

स्कूलमा सेक्सदेखि कसरी जोगिने?

“साथीहरू जत्तिखेर पनि सेक्सको कुरा मात्र गर्छन्‌। केटीहरू आफै अघि सरेर केटाहरूलाई साइड दिन्छन्‌ र उनीहरू स्कूलमै यौन सम्बन्ध राख्छन्‌।”—इना, १६ वर्षीया।

“मेरो स्कूलमा समलिंगीहरू खुल्लमखुल्ला आफ्नो चर्तिकला देखाउँछन्‌।”—मुकुन्द, १५ वर्षीय। a

तपाईंका साथीहरू स्कूलमा चौबीसै घण्टा सेक्सको मात्र कुरा गरिरहन्छन्‌ कि? अझ कोहीकोही त कुरा गर्ने मात्र होइन यौन सम्बन्ध राख्नसमेत पछि पर्दैनन्‌ कि? त्यसो हो भने एउटी किशोरीलाई जस्तै तपाईंलाई पनि आफ्नो स्कूल, स्कूल नभई “ब्लू फिल्म सुटिङ गर्ने ठाउँ” जस्तो लाग्ला। हुन पनि अचेल स्कूलमा सेक्सबारे कुरा गर्ने वा यौन सम्बन्धसमेत राख्ने मौका प्रशस्त हुन्छ।

तपाईंको साथीले कुनै केटा वा केटीसित केवल रमाइलोको लागि यौन सम्बन्ध राखेको गफ छाँटेको तपाईंले सुन्‍नुभएको होला। कहिलेकाहीं किशोरकिशोरीहरू हाइ-हलो मात्र गरेका व्यक्‍तिसित अनि च्याट गर्दा भेटेका व्यक्‍तिहरूसित समेत यौन सम्बन्ध राख्छन्‌। जे होस्‌, अचेल युवाहरू यसरी कसैसित यौन सम्बन्ध राख्न मायाप्रीति बसेकै हुनुपर्छ भन्‍ने दृष्टिकोण राख्दैनन्‌। “सेक्स त, आ-आफ्नो शारीरिक तीर्खा मेट्‌ने उपाय मात्रै त हो नि,” १९ वर्षीया रचना भन्छिन्‌।

थुप्रै स्कूलहरूमा कसले कोसित यौन सम्बन्ध राख्यो भन्‍ने विषयमा मच्चिमच्चि कुराकानी गर्नु अनौठो होइन। स्कूलले निकाल्ने पत्रिकामा १७ वर्षीया केटीले यस्तो लेखिन्‌: “हरेक हप्ता बिदापछि स्कूल जाँदा बिदामा कसले कोसित यौन सम्बन्ध राख्यो भन्‍ने मात्र हैन कि, के-के गऱ्‍यो भनेर समेत बेलिविस्तार लगाएर साथीहरू गफ चुट्‌छन्‌।”

तपाईं बाइबलको स्तरअनुसार जीवन बिताउने प्रयास गरिरहनुभएको छ भने हरदम सेक्सको मात्र कुराकानी गर्ने साथीहरूमाझ तपाईंलाई आफू कागको बीचमा बकुल्लोझैं लाग्न सक्छ। साथीहरूको गफमा होमा हो मिलाउन सकिएन भने तिनीहरूले तपाईंलाई जिस्काएर हैरान पार्न सक्छन्‌। तर भन्‍ने नै हो भने, अरूले जिस्काउनेछन्‌ भनेर साँचो मसीहीहरूले आशा गर्नुपर्छ किनकि तपाईं अरूभन्दा बेग्लै हुनुको कारण नबुझेर तिनीहरूले तपाईं विरुद्ध “खराबी बोल्दछन्‌” भनी बाइबल बताउँछ। (१ पत्रुस ४:३, ४) तर, आफ्नो खिल्ली उडाएको कसलाई पो मनपर्छ र? त्यसो भए, स्कूलमा कसैले यौन प्रस्ताव राखेमा त्यसलाई इन्कार गर्न अनि यौनसम्बन्धी गफतिर कान नथाप्न तपाईं के गर्न सक्नुहुन्छ? साथै आफ्नो चरित्रमा कुनै धब्बा लाग्न नदिने अडानलाई कायमै राख्न सक्नुभएकोमा तपाईंले कसरी गर्व गर्न सक्नुहुन्छ? सर्वप्रथम, यौन आवेग किन यतिबिघ्न प्रबल हुन्छ, त्यो बुझौं।

आफैलाई बुझ्नुहोस्‌

युवावस्थामा तपाईंमा तीव्र शारीरिक तथा भावनात्मक परिवर्तनहरू भइरहेका हुन्छन्‌। यतिखेर यौन इच्छा निकै तीव्र हुन्छ। तर यस्तो भयो भन्दैमा नआत्तिनुहोस्‌। यो युवावस्थामा सबैमा हुने सामान्य प्रक्रिया हो। त्यसकारण, तपाईं आफ्नो स्कूलको कुनै केटा वा केटी देखेर भुतुक्कै हुनुभयो भने आफूलाई चरित्रहीन नठान्‍नुहोस्‌। अथवा तपाईंसित नैतिक तवरमा शुद्ध रहने क्षमता नै छैन भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। तपाईं चाहनुहुन्छ भने नैतिक शुद्धता अवश्‍य कायम राख्न सक्नुहुन्छ!

युवावस्थामा आउने परिवर्तनहरूको कारण सामना गर्नुपर्ने दबाबका साथै तपाईंले अर्को एउटा कुरा पनि बुझिराख्नु आवश्‍यक छ। असिद्ध भएको कारण सबै मानिसहरूमा खराब काम गर्ने झुकाव हुन्छ। प्रेरित पावलले समेत यसरी स्वीकारे: “मेरो बुद्धिको व्यवस्थाको विरुद्धमा लडाइँ गर्ने, र मेरा इन्द्रियहरूमा रहेको पापको अधीनमा भएको व्यवस्थाको बन्धनमा मलाई ल्याउने, मेरा इन्द्रियहरूमा भिन्‍नै व्यवस्था म देख्तछु।” आफ्नो असिद्धता देखेर सुस्केरा हाल्दै पावलले भनेका थिए: “हाय, म कस्तो दुःखी मानिस!” (रोमी ७:२३, २४) तर तिनी आफ्नो कमजोरीसित लड्‌न सफल भए। त्यसरी नै तपाईं पनि सफल हुन सक्नुहुन्छ!

साथीभाइलाई गलत नठान्‍नुहोस्‌

अगाडि नै बताइसक्यौं, तपाईंका साथीहरू चौबिसै घण्टा सेक्सकै कुरा गर्लान्‌ वा आफूले यौन सम्बन्ध राखेको कुरा मख्ख पर्दै गर्वका साथ सुनाउलान्‌। तिनीहरूले पार्न सक्ने नराम्रो प्रभावबारे तपाईं सजग हुनुपर्छ। (१ कोरिन्थी १५:३३) तर यसको मतलब तिनीहरूलाई देख्ने बित्तिकै दस हात पर भाग्नुपर्छ भनेको चाहिं होइन। किन?

किनकि तपाईंका साथीहरूले पनि तपाईंले जस्तै भावनात्मक परिवर्तन अनि प्रबल यौन चाहना अनुभव गरिरहेका हुन्छन्‌। सबै असिद्ध मानिसहरूमा जस्तै तिनीहरूमा पनि खराब काम गर्ने झुकाव हुन्छ। फरक यत्ति हो, तिनीहरूमध्ये कोहीकोही “परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने” छन्‌ भने तपाईं त्यस्तो हुनुहुन्‍न। अथवा तिनीहरू “स्वाभाविक प्रेमरहितका” घरपरिवारमा हुर्केका हुन सक्छन्‌। (२ तिमोथी ३:१-४) तपाईंका कुनै-कुनै साथीले आमाबाबुबाट मायालु अनुशासन र नैतिक शिक्षा नपाएका हुन सक्छन्‌।—एफिसी ६:४.

तपाईंसित परमेश्‍वरको वचन बाइबलले दिने बुद्धि छ। तर बाइबलको सही ज्ञान नहुने तपाईंका साथीहरू भने आफ्नो मनखुसी गर्दा कस्तो हानि हुन्छ भन्‍ने कुराबारे अनभिज्ञ हुन सक्छन्‌। (रोमी १:२६, २७) अर्को शब्दमा भन्‍ने हो भने, तपाईंका साथीहरूलाई उनीहरूका आमाबाबुले व्यस्त सडकमा तेज रफ्तारमा कुद्‌ने कार चलाउन त दिए तर कार कसरी चलाउने त्यो चाहिं सिकाएनन्‌। तेज गतिमा कार हुइँकाउन एकछिन त मज्जै आउला तर केहीबेर पछि भने पक्कै भयानक दुर्घटना हुन्छ। त्यसो भए, साथीहरूले तपाईंको अगाडि सेक्सको गफ गर्न थाले वा अनैतिक काममा सामेल हुन कर गरे भने तपाईं के गर्न सक्नुहुन्छ?

अश्‍लील गफमा ध्यान नदिनुहोस्‌

तपाईंका साथीहरूले सेक्सको गफ गर्न थाल्दा तपाईंलाई उनीहरूको गफ सुन्‍न सकसक लाग्ला अथवा कागको बीचमा बकुल्लो नहुन होमा हो मिलाएर दुईचार शब्द थप्न मन लाग्ला। तर यसो गर्नुभयो भने साथीहरूले के ठान्लान्‌, विचार गर्नुहोस्‌ त? उनीहरूको गफ रमाई रमाई सुन्‍नुभयो भने के त्यसले गलत अर्थ नदेला र?

त्यसो भए, तपाईंहरू गफ गर्दागर्दै अचानक सेक्सतिर कुरा मोडिन पुग्यो भने के गर्ने? जुरुक्क उठेर हिंड्‌नु ठीक होला? हो, तपाईंले गर्नुपर्ने यही नै हो। (एफिसी ५:३, ४) बाइबल यसो भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।” (हितोपदेश २२:३) त्यसैले तपाईं बीचैमा कुरा काटेर उठ्‌नुभयो भन्दैमा तपाईंलाई बेसोमती भन्‍न मिल्दैन, यो त तपाईं “चतुर” हुनुभएको पो हो।

साँच्चै भन्‍ने हो भने छाडा गफ भइरहेको ठाउँबाट उठेर हिंड्‌न तपाईंले कुनै अप्ठ्यारो मान्‍नुपर्दैन। सेक्स मात्र होइन अरू पनि त्यस्ता थुप्रै विषयहरू हुन्छन्‌ जसबारे कुरा हुँदा तपाईं कुनै अप्ठ्यारो नमानी जुरुक्क उठेर हिंड्‌न सक्नुहुन्छ। विशेष गरी त्यस विषयमा तपाईंको कुनै चासो छैन वा तपाईं त्यसमा सहभागी हुन चाहन्‍नुहुन्‍न भने बीचैमा कुरा काट्‌न त्यत्ति गाह्रो हुँदैन। उदाहरणका लागि, तपाईंका साथीहरूले सशस्त्र डकैती गर्ने योजना बुन्‍न थाले। के तपाईं त्यहीं बसेर उनीहरूको योजना सुनिरहनुहुन्छ र? यदि तपाईं उनीहरूको कुरा सुनेर बस्नुभयो भने उनीहरूको मतियार ठहरिनुहुनेछ। त्यसैले चतुर हुँदै तपाईं त्यो ठाउँ छोडेर जानुहुन्छ। कुराकानी सेक्सतिर मोडिन थाल्यो भने पनि यसै गर्नुहोस्‌। आफूलाई आत्मधर्मी नदेखाईकन र अरूसामु हाँसोको पात्र नबनीकनै त्यहाँबाट उठेर हिंड्‌ने उपाय खोज्नु त्यति गाह्रो छैन।

हुन त हो, यसरी जुरुक्क उठेर हिंड्‌न सधैं सम्भव नहुन सक्छ। मानि लिऊँ, तपाईंसँग एउटै बेन्चमा बस्ने साथीले सेक्सको गफ गर्न उक्साउँछ। यस्तो अवस्थामा, नझर्कीकन तर स्पष्ट शब्दमा यस्तो कुरा गरेर मलाई नअलमल्याउ भन्‍नुहोस्‌। त्यति गर्दा पनि केही लागेन भने तपाईं पनि बन्दनाले जस्तै गर्न सक्नुहुन्छ। बन्दना भन्छिन्‌, “मलाई अर्कै बेन्चमा ठाउँ सारिदिन मिसलाई कुशलतासाथ आग्रह गरें।”

विवेकी हुनुहोस्‌

यस्तो मसलेदार गफमा तपाईंले किन भाग नलिनुभएको होला भनेर कुनै न कुनै दिन तपाईंका साथीहरूले बुझ्न चाहनेछन्‌। उनीहरूले तपाईंको नैतिकताबारे जान्‍न चाहे भने जवाफ दिंदा विवेकी हुनुहोस्‌। कोहीकोहीले तपाईंको दृष्टिकोण बुझ्नभन्दा पनि तपाईंलाई गिज्याउन प्रश्‍न सोधेका हुन सक्छन्‌। तर कसैले साँचो मनले सोधेको जस्तो देखिएमा आफ्नो विश्‍वासबारे गर्वका साथ बताउनुहोस्‌। बाइबलको स्तर अनुरूप जीवन बिताउँदा के-के फाइदा हुन्छ भनेर साथीहरूलाई बुझाउन थुप्रैले युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ किताब चलाएका छन्‌। b

खुट्टा नकमाउनुहोस्‌

तपाईंको साथीले तपाईंको जीउमा हात लाउने वा तपाईंलाई किस गर्ने हिम्मत गऱ्‍यो भने के गर्ने? त्यो व्यक्‍तिले यसो गर्दा तपाईंले कुनै प्रतिवाद गर्नुभएन भने उसको साहस अझै बढ्‌छ। बाइबलले एउटा यस्तो युवकबारे बताउँछ, जसलाई एउटी वेश्‍याले समातेर चुम्बन गर्दा उसले कुनै प्रतिवाद गरेन। उसले त्यो आइमाईलाई आफूसित जिस्किन दिइरह्‍यो। यसको परिणाम कस्तो भयो? “कसाईखानाको बाटोतिर लागेको गोरुझैं” ऊ त्यसको पछि लाग्यो।—हितोपदेश ७:१३-२३.

यसको ठीक विपरीत, यस्तै अवस्था आइपर्दा यूसुफले चाहिं के गरे, विचार गर्नुहोस्‌। उनको मालिककी पत्नीले उनलाई बारम्बार फकाउन खोज्थिन्‌ तर तिनको प्रस्तावलाई उनले ठाडै इन्कार गरे। फकाउँदा केही सीप नलागेपछि तिनले यूसुफलाई च्याप्प समातेर जबरजस्ती गर्न खोजिन्‌। यूसुफले तुरुन्तै निर्णायक कदम चालिहाले। उनी त्यो ठाउँबाट टाप कसे।—उत्पत्ति ३९:७-१२.

स्कूलको साथी वा अरू कसैले तपाईंको जीउमा हात लाउन खोज्यो भने यूसुफले जस्तै तपाईंले पनि कडा कदम चाल्नुपर्ने हुन सक्छ। इना भन्छिन्‌, “कुनै केटाले मेरो जीउमा हात लाएर जिस्किन खोज्यो भने ‘मलाई नछो है’ भन्छु। उसले अझै पनि टेरेन भने उसको कानको जाली फुट्‌ने गरी ‘मलाई नछो भनेको हैन’ भनेर चिच्याइदिन्छु।” आफ्नो स्कूलका केटाहरूबारे इना अझै यसो भन्छिन्‌: “कडिकडाइका साथ भनेन भने उनीहरूले तपाईंलाई हल्कासित लिन्छन्‌।”

साथीहरूले अश्‍लील गफ गर्दा तपाईंले सुन्‍नु भएन, उपयुक्‍त मौका खोजेर आफ्नो नैतिक अडानबारे स्पष्टसित बताउनुभयो अनि कोही तपाईंसित लहसिन खोज्दा खुट्टा नकमाई ठाडै इन्कार गर्नुभयो भने तिनीहरूले तपाईंको कदर गर्नेछन्‌। साथै तपाईंको अन्तस्करण पनि सफा रहनेछ। सबैभन्दा महत्त्वपूर्ण त तपाईंले यहोवाको अनुमोदन पाउनु हुनेछ।—हितोपदेश २७:११. (g 3/06)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

एकछिन सोच्नुहोस्‌

▪ अश्‍लील गफ भइरहेको ठाउँबाट फुत्कन तपाईं के भन्‍न सक्नुहुन्छ?

▪ तपाईंको साथी तपाईंसित लहसिन खोज्यो भने के भन्‍नुहुन्छ र के गर्नुहुन्छ?

[पृष्ठ १७-मा भएको चित्र]

कुराकानी सेक्सतिर मोडियो भने जुरुक्क उठेर हिंड्‌नुहोस्‌

[पृष्ठ १८-मा भएको चित्र]

कोही तपाईंसित लहसिन खोज्यो भने खुट्टा नकमाई ठाडै इन्कार गर्नुहोस्‌