सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वरले केटाकेटीहरूको साँच्चै चासो राख्नुहुन्छ?

के परमेश्‍वरले केटाकेटीहरूको साँच्चै चासो राख्नुहुन्छ?

बाइबलको दृष्टिकोण

के परमेश्‍वरले केटाकेटीहरूको साँच्चै चासो राख्नुहुन्छ?

वर्षेनी करोडौं केटाकेटीहरू शोषण, दुर्व्यवहार र हिंस्रक आक्रमणको सिकार हुन्छन्‌। धेरै जना खतरनाक परिस्थितिमा दासजस्तै घोटिएर काम गर्छन्‌। अन्य कतिपयलाई चाहिं अपहरण गरिन्छ र जबरजस्ती सैनिक अथवा बाल-वेश्‍या बन्‍न लगाइन्छ। हाडनाताकरणी तथा बाल-दुर्व्यवहारका अन्य भयावह कार्यद्वारा थुप्रै केटाकेटीहरूको भरोसामा थप घात पुगेको छ।

त्यसैकारण, केटाकेटीहरूको बिजोग देखेर निष्कपट तथा अरूको ख्याल राख्ने मानिसहरू विचलित हुनुको कारण हामी बुझ्न सक्छौं। यस्तो दुर्व्यवहारको लागि धेरै हदसम्म मानव लोभ र विकृति जिम्मेवार भए तापनि प्रेमको परमेश्‍वरले यस्तो घोर अन्याय हुने अनुमति दिनुहुन्छ भनेर विश्‍वास गर्न कसै-कसैलाई अझै पनि गाह्रो लाग्न सक्छ। परमेश्‍वरले यी केटाकेटीहरूलाई त्याग्नुभएको छ र उहाँले साँच्चै चासो राख्नुहुन्‍न जस्तो तिनीहरूलाई लाग्न सक्छ। के त्यो कुरा साँचो हो? केटाकेटीहरूलाई शोषण तथा अक्सर दुर्व्यवहार गरिन्छ भन्‍ने दुःखद तथ्यको मतलब के परमेश्‍वरले तिनीहरूको चासो नै राख्नुहुन्‍न भन्‍न खोजिएको हो? बाइबलले के भन्छ?

परमेश्‍वर दुर्व्यवहार गर्नेहरूको निन्दा गर्नुहुन्छ

निर्दयी वयस्कहरूले केटाकेटीहरूको शोषण गरून्‌ भन्‍ने उद्देश्‍य यहोवा परमेश्‍वरको कहिल्यै थिएन। केटाकेटीहरूमाथिको दुर्व्यवहार त अदनको बगैंचामा मानिसजातिले गरेको विद्रोहको सबैभन्दा दुःखदायी परिणाममध्ये एक हो। परमेश्‍वरको सार्वभौमिकतालाई लत्याउँदा सँगी मानिसहरूद्वारै मानिसजातिको निर्ममतापूर्वक शोषण हुने थियो।—उत्पत्ति ३:११-१३, १६; उपदेशक ८:९.

कमजोर तथा निहत्था व्यक्‍तिहरूको शोषण गर्ने व्यक्‍तिहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। यहोवाको सेवा नगर्ने प्राचीन समयका थुप्रै राष्ट्रहरूले बाल-बलि चढाउने गर्थे तर ‘त्यसो गर्ने आज्ञा दिएको थिइनँ। त्यो कुरा मेरो मनमा उब्जेको थिएन’ भनेर यहोवाले भन्‍नुभयो। (यर्मिया ७:३१) परमेश्‍वरले उहाँका प्राचीन जनहरूलाई यस्तो चेतावनी दिनुभयो: “[टुहुरालाई] दुःख नदेओ। यदि तिनीहरूले कुनै किसिमले मेरो पुकारा गरे भने म निश्‍चय तिनीहरूको पुकारा सुन्‍नेछु, र मेरो क्रोध दन्कनेछ।”—प्रस्थान २२:२२-२४.

यहोवाले केटाकेटीहरूलाई माया गर्नुहुन्छ

परमेश्‍वरले आमाबाबुलाई दिनुहुने बुद्धिमानी निर्देशनहरूमा छोराछोरीप्रतिको उहाँको चासो प्रकट हुन्छ। सुरक्षित घरमा हुर्के-बढेका केटाकेटीहरू परिपक्व र सुशील वयस्क हुने सम्भावना बढी हुन्छ। त्यसैकारण, हाम्रो सृष्टिकर्ताले विवाहको स्थापना गर्नुभयो जुन एउटा यस्तो आजीवन प्रबन्ध हो जसको कारण “मानिसले आफ्ना आमा-बाबुलाई छोड़छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” (उत्पत्ति २:२४) स्थायी वातावरणमा बच्चाको हेरविचार गर्न सकियोस्‌ भन्‍ने हेतुले बाइबलमा विवाहभित्र मात्रै यौनसम्बन्ध राख्ने अनुमति दिइएको छ।—हिब्रू १३:४.

धर्मशास्त्रमा आमाबाबुले प्रशिक्षण दिनुको महत्त्वलाई पनि जोड दिइएको छ। बाइबल यसो भन्छ: “छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌, गर्भको फलचाहिं उहाँको इनाम हो। वीर योद्धाको हातमा भएका काँड़झैं युवावस्थाका छोराहरू हुन्छन्‌।” (भजन १२७:३, ४) छोराछोरी परमेश्‍वरले दिनुभएको अमूल्य वरदान हुन्‌ र उहाँ तिनीहरू फलेफूलेको चाहनुहुन्छ। काँड हान्‍नुभन्दा अघि धनुर्धरले होसियारीसाथ ताकेझैं आफ्ना छोराछोरीलाई जीवनमा राम्रो निर्देशन दिनू भनेर परमेश्‍वर आमाबाबुलाई आग्रह गर्नुहुन्छ। परमेश्‍वरको वचन यस्तो निर्देशन दिन्छ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४.

छोराछोरीलाई निर्दयी व्यक्‍तिहरूबाट जोगाउन आमाबाबुलाई सिकाउनुभएर पनि यहोवाले अर्को तरिकामा केटाकेटीहरूप्रतिको आफ्नो माया देखाउनुभएको छ। पुरातन इस्राएलमा “बालक[लाई]” समेत व्यवस्था सुन्‍ने आज्ञा दिइएको थियो, जसमा उचित र अनुचित यौन आचरणसम्बन्धी नियमहरू समावेश थिए। (व्यवस्था ३१:१२; लेवी १८:६-२४) शोषण वा दुर्व्यवहार गर्न सक्ने कुनै पनि व्यक्‍तिबाट आफ्ना छोराछोरीलाई जोगाउन आमाबाबुले यथाशक्य प्रयास गरेको परमेश्‍वर चाहनुहुन्छ।

छोराछोरीको लागि आशा

आफ्नो पिताको व्यक्‍तित्व दुरुस्त झल्काउनुहुने येशू ख्रीष्टले केटाकेटीप्रतिको यहोवाको स्थायी प्रेमलाई सुन्दर ढङ्‌गमा प्रदर्शित गर्नुभयो। (यूहन्‍ना ५:१९) येशूलाई मदत गर्ने गलत प्रयास गर्दै उहाँका प्रेरितहरूले आमाबाबुहरूलाई उनीहरूका साना छोराछोरी येशूकहाँ ल्याउन नदिंदा क्रोधित हुँदै उहाँले तिनीहरूलाई सुधार्नुभयो। येशूले यसो भन्‍नुभयो, “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ।” त्यसपछि “उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो।” (मर्कूस १०:१३-१६) यहोवा परमेश्‍वर वा उहाँको पुत्र, दुवैको नजरमा केटाकेटीहरू मूल्यवान्‌ छन्‌।

हो, आफ्नो नियुक्‍त राजा येशू ख्रीष्टमार्फत परमेश्‍वरले चाँडै दुर्व्यवहारको सिकार भएका केटाकेटीहरूलाई राहत प्रदान गर्न कदम चाल्नुहुनेछ। यस संसारका लोभी शोषणकारी तथा दुर्व्यवहार गर्ने व्यक्‍तिहरूलाई सदाको लागि नाश गरिनेछन्‌। (भजन ३७:१०, ११) यहोवाको खोजी गर्ने नम्र व्यक्‍तिहरूको विषयमा बाइबल यसो भन्छ: “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

त्यतिन्जेलसम्म, शोषण तथा दुर्व्यवहारको सिकार भएका सम्पूर्ण व्यक्‍तिहरूलाई आध्यात्मिक अनि भावनात्मक मदत दिनुभएर अहिल्यै पनि परमेश्‍वर आफ्नो प्रेम देखाउनुहुन्छ। उहाँ यस्तो प्रतिज्ञा गर्नुहुन्छ, “हराएकोलाई म खोज्नेछु, बाटो बिराएकोलाई म फेला पारेर ल्याउनेछु, घाइतेलाई म मलहम—पट्टी लगाइदिनेछु, रोगीलाई स्वस्थ तुल्याउनेछु।” (इजकिएल ३४:१६) आफ्नो वचन, उहाँको पवित्र आत्मा अनि मसीही मण्डलीमार्फत यहोवाले शोषित तथा दरिद्र केटाकेटीहरूलाई सान्त्वना दिनुहुन्छ। भविष्यमा गर्नुहुने जस्तै गरी अहिल्यै “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर[ले] . . . हाम्रा सबै सङ्‌कष्टमा सान्त्वना” दिनुहुन्छ भन्‍ने कुरा थाह पाउनु साँच्चै आनन्दको कुरा हो।—२ कोरिन्थी १:३, ४. (g04 8/8)

[पृष्ठ १२-मा भएको चित्रको स्रोत]

© Mikkel Ostergaard /Panos Pictures