सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

छोराछोरीले चाहने किसिमको बुबा

छोराछोरीले चाहने किसिमको बुबा

छोराछोरीले चाहने किसिमको बुबा

छोराछोरीले आफूलाई माया गर्ने, आफूलाई चाहिएको बेला कहिल्यै साथ नछोड्‌ने अनि जिम्मेवार र भरपर्दो वयस्क बन्‍न तिनीहरूलाई यथाशक्य गर्ने बुबा चाहन्छन्‌। तर वास्तविकता हेर्ने हो भने, छोराछोरीले यस्तो किसिमको बुबा चाहन्छन्‌ भन्‍ने कुरालाई त्यति महत्त्व दिएको पाइँदैन।

हो, आमाले बच्चा जन्माउँछिन्‌ अनि असल आमाको महत्त्वलाई हल्कासित लिन सकिंदैन। तर बुबाले पनि त्यत्तिकै महत्त्वपूर्ण भूमिका खेल्ने कुरालाई द विल्सन क्वटर्ली-ले यसो भन्यो: “अमेरिकी समाजमा भइरहेका प्रायजसो समस्याहरूको मूल जड बुबाको अनुपस्थिति हो।” अनि हामी यसमा अझै थप्न सक्छौं, सारा संसारको अवस्था पनि यस्तै छ।

ब्राजिली अखबार झर्नाल डा टार्डे-ले एउटा अध्ययनबारे गरेको रिपोर्टअनुसार युवाहरूका आचरणसम्बन्धी समस्याहरू जस्तै, निहुँखोजापन, अशिष्ट व्यवहार, स्कूलको गतिविधिमा लापरवाह र भावशून्यता अक्सर “अनुपस्थित बुबाको परिणाम” हो। अनि मार्सेलो बर्नाडीद्वारा लिखित इटालेली पुस्तक ल्यी एम्पर्फेटे जानेटोरे-ले (असिद्ध आमाबाबुहरू) जोड दिएझैं बच्चाहरूको उचित विकासको लागि आमाबाबु दुवै हुनु बेस हो।

पारिवारिक जीवन उकास्न सकिन्छ

लापरवाह बुबाले गर्दा केही समस्याहरू भएका हुन्‌ वा प्रायजसो समस्याको कारण बुबा नै भए तापनि समस्या सुल्झाउन र पारिवारिक जीवन उकास्न सकिन्छ। कसरी? बुबाले के गर्नुपर्छ?

कुरा स्पष्ट छ, छोराछोरीलाई परिवारको संरचना चाहिन्छ, तिनीहरूको हितलाई चासो राख्ने व्यक्‍तिको नियन्त्रणमा कामकुरा चलिरहेको छ भन्‍ने आभास हुनुपर्छ। आजकल अक्सर भइरहेझैं त्यो आवश्‍यकता पूरा नहुँदा छोराछोरीको जीवनमा अत्यन्तै प्रतिकूल असर पर्छ। यद्यपि, परिवारमा बुबाको सहभागिता होस्‌ या नहोस्‌, परिस्थिति पूरै निराशाजनक भने छैन। बाइबलको भजन ६८:५ ले यसो भन्छ, “परमेश्‍वर आफ्नो परमधाममा टुहुराका बाबु . . . हुनुहुन्छ।” a

कसरी मदत प्राप्त गर्ने

सफलताको लागि परमेश्‍वरको मदत अत्यावश्‍यक छ र यस्तो मदत प्राप्त गर्न सकिन्छ भन्‍ने प्रमाण यसअघिको लेखमा उल्लिखित पोल्याण्डकी लिडिया भन्‍ने केटीको अवस्थाबाट बुझ्न सकिन्छ। उनको घरमा पारिवारिक जीवनको अवस्था कस्तो थियो? त्यस परिवारले कसरी परमेश्‍वरको मदत पायो?

लिडियाको बुबा फ्रान्चिसेक आफ्ना छोराछोरी साना छँदा तिनले आफ्नी छोरीले भनेझैं परिवारलाई वास्ता नगरेको कुरा स्वीकार्छन्‌। तिनी यसो भन्छन्‌: “हाम्रा छोराछोरीले के गर्दैछन्‌ भनेर मलाई मतलबै थिएन। म कुनै स्नेह देखाउँदिन थिएँ अनि हामीबीच कुनै बन्धन थिएन।” त्यसैले लिडिया १४ वर्षकी हुँदा उनी, उनका भाइ र बहिनी हुल्याहा पार्टीमा जान थालेको, धूम्रपान गर्न अनि रक्सी पिउन थालेको र ग्याङ्‌ग फाइटमा संलग्न हुन थालेको कुराबारे तिनलाई पत्तै थिएन।

अन्तमा फ्रान्चिसेकले आफ्ना छोराछोरी कस्तो समस्यामा फसिरहेका रहेछन्‌ भनेर थाह पाए अनि तिनी अत्यन्तै विचलित भएर यसबारे केही गर्ने निर्णय गरे। तिनी भन्छन्‌, “मैले परमेश्‍वरलाई मदतको लागि प्रार्थना गरें।” अचम्मैसित त्यसको केही समयपछि नै यहोवाका साक्षीहरू तिनको घरमा आए अनि तिनी र तिनकी पत्नी बाइबल अध्ययन गर्न राजी भए। समयको दौडान यी आमाबाबुले बाइबलका शिक्षाहरू व्यवहारमा उतार्न थाले। यसले तिनीहरूका छोराछोरीमाथि कस्तो असर पाऱ्‍यो?

फ्रान्चिसेक यसरी बताउँछन्‌: “मैले रक्सी पिउन छोडेको अनि असल बुबा हुन थालेको छोराछोरीले याद गर्न थाले। उनीहरू पनि यहोवाका साक्षीहरूलाई अझ राम्रोसित चिन्‍न चाहन्थे। उनीहरूले पनि बाइबल अध्ययन गर्न थाले अनि आफ्नो खराब संगत त्यागे।” आफ्नो बुबाबारे राफाल यसो भन्छन्‌: “मैले बुबालाई एक जना साथीको रूपमा माया गर्न थालें।” उनी अझै यसो भन्छन्‌: “सडकका ग्याङ्‌गहरू एकाएक मेरो निम्ति महत्त्वपूर्ण हुन छोडे। हामी आध्यात्मिक गतिविधिहरूमा व्यस्त थियौं।”

फ्रान्चिसेक अहिले यहोवाका साक्षीहरूको मण्डलीमा मसीही प्राचीनको हैसियतमा सेवारत छन्‌ अनि आफ्नो परिवार र आफ्नो परिवारका प्रत्येक सदस्यको आध्यात्मिक वृद्धिमा अझै चासो राख्छन्‌। तिनकी पत्नी र लिडिया अग्रगामी अर्थात्‌ पूर्ण-समय प्रचारकहरूको हैसियतमा सेवा गर्दैछन्‌। राफाल र उनकी बहिनी सिल्भिया बाइबल अध्ययन गर्न, मण्डलीका सभाहरूमा टिप्पणी दिन अनि आफ्नो विश्‍वासबारे अरूलाई बताउने कार्यमा पूरा तनमनले भाग लिन्छन्‌।

तिनले जे सिकाए, आफूले त्यही व्यवहारमा उतारे

माकरीनाका बुबा लुइसलाई के भयो, त्यो पनि विचार गर्नुहोस्‌। तपाईंलाई यादै होला, उनी स्पेनकी २१ वर्षीया युवती हुन्‌ जसबारे सुरुको लेखमा उल्लेख गरिएको थियो। लुइसले आफ्नै मतवाला बुबाको जीवन शैली सिको गरेका थिए। माकरीनाले भनेझैं कहिलेकाहीं उनको बुबा आफ्ना साथीहरूसित कैयौं दिनसम्म बेपत्ता हुन्थे। साथै, तिनले आफ्नी पत्नीसित बहुमूल्य सहयोगीजस्तो नभई नोकरजस्तो व्यवहार गर्थे। तिनीहरूको विवाह टुक्रने विन्दुमा पुगिसकेको थियो अनि माकरीना र उनका भाइबहिनीहरू भावनात्मक तवरमा असाध्यै विचलित भएका थिए।

तथापि, समयमा लुइस यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न राजी भए। तिनी यसो भन्छन्‌: “मैले मेरी पत्नी र छोराछोरीसित समय बिताउन थालें। हामीले एकसाथ कुरा गऱ्‍यौं, सँगै खाना खायौं अनि सँगै बाइबल अध्ययन गऱ्‍यौं। हामीले घरायसी कामहरू अनि मनोरञ्जन पनि एकसाथ गर्न थाल्यौं।” माकरीना यसो भन्छिन्‌: “मैले आफ्नो परिवारप्रति साँचो चासो देखाउने मायालु बुबाको उपस्थिति महसुस गर्न थालें।”

अझ महत्त्वपूर्ण कुरा, लुइसले आफ्नो परिवारलाई परमेश्‍वरको सेवा गर्न प्रोत्साहन दिनुको अलावा आफूले सिकेका कुराहरू आफैले व्यवहारमा उतार्न थाले। माकरीना भन्छिन्‌, “उहाँले एकदमै चलेको व्यापार छोड्‌नुभयो किनभने त्यसले निकै समय खान्थ्यो र उहाँ आफ्नो परिवारको गतिविधिमा बढी समय बिताउन चाहनुहुन्थ्यो।” यसले पारेको प्रभाव अति उल्लेखनीय थियो। माकरीना भन्छिन्‌, “उहाँको उदाहरणले मलाई आफ्नो आँखा निर्मल राख्न अनि आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिन सिकाएको छ।” माकरीना अहिले अग्रगामी गर्दैछिन्‌ अनि उनकी आमा र भाइबहिनीहरू मसीही मण्डलीको सक्रिय सदस्यको रूपमा सेवा गर्दैछन्‌।

रेलवे निर्देशकको निर्णय

स्पष्टतः छोराछोरीले चाहने बुबा भनेको आफ्ना छोराछोरीको हितलाई ध्यान दिएर निर्णय गर्ने व्यक्‍ति हो। अघिल्लो लेखमा उल्लिखित जापानी निर्देशक, ताकेशी तामुराका किशोर छोरा आपत्तिजनक संगतमा फसिसकेका र गम्भीर समस्यातिर उन्मुख भइरहेका जस्तो देखिन्थ्यो। त्यो सन्‌ १९८६ को कुरा हो र त्यही वर्ष ताकेशीले जापानी नेसनल रेलवेज्‌मा आफ्नो जिम्मेवार ओहदा छोड्‌ने निर्णय गरे। त्यो निर्णयबारे अहिले १८ वर्षभन्दा लामो समयपछि ताकेशीलाई कस्तो लाग्छ?

तिनले हालै यसो भने, “मैले अहिलेसम्म गरेका मध्ये सायद त्यो सबैभन्दा उत्तम निर्णय होला। मेरो छोरासित बढी समय बिताउँदा अनि बाइबल अध्ययन गर्ने जस्ता कार्यहरू सँगै गर्दा यसले निकै उल्लेखनीय असर पाऱ्‍यो। हामी साथी बन्यौं अनि उसले आफ्नो खराब संगतका साथै अनुचित व्यवहार त्याग्यो।”

ताकेशीकी पत्नी भने केही वर्षअघि यहोवाको साक्षी भइसकेकी थिइन्‌ अनि उनकै उदाहरणीय आचरणले गर्दा ताकेशी बाइबललाई अझ गहिरिएर केलाउन अनि आफ्नो परिवारको गतिविधिमा अझ बढी संलग्न हुन उत्प्रेरित भएका थिए। अन्ततः तिनी, तिनको छोरा र छोरी सबै साक्षी बने। ताकेशी र तिनको छोरा अहिले आ-आफ्नो मण्डलीमा प्राचीनको हैसियतमा सेवारत छन्‌ भने तिनकी पत्नी र छोरीले अग्रगामी गर्दैछन्‌।

बुबाहरूलाई मदत चाहिन्छ

थुप्रै बुबाहरूलाई आफूले छोराछोरीको हेरचाहमा लापरवाह गर्दैछु भनेर थाह भए तापनि तिनीहरूको लागि के गर्नुपर्छ भनेर थाह हुँदैन। स्पेनी अखबार ला बाङ्‌ग्वार्ड्या-को शीर्ष समाचार यस्तो थियो, “४२ प्रतिशत [स्पेनी] बुबाहरू आफ्ना किशोर छोराछोरीलाई कसरी हुर्काउनुपर्छ भनेर आफूलाई थाह नभएको कुरा स्वीकार्छन्‌।” किशोरावस्थामा नपुगेका वा लालाबालाका बुबाहरूको विषयमा पनि यही कुरा भन्‍न सकिन्छ। थुप्रै मानिसहरूको सोचाइ विपरीत यी लालाबालाहरूलाई पनि परिवारप्रति समर्पित बुबाको उपस्थिति र चासो चाहिन्छ।

असल बुबा कसरी बन्‍ने भन्‍ने विषयमा अझ के-के कुरा सिक्न सकिन्छ? असल बुबाको सबैभन्दा राम्रा उदाहरणहरू को हुन्‌ अनि तिनीहरूबाट के सिक्न सकिन्छ? अन्तिम लेखले यी प्रश्‍नहरू केलाउनेछ। (g04 8/22)

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित पारिवारिक जीवनको रहस्य भन्‍ने पुस्तकको “आमा वा बुबा मात्र भएका परिवारहरू सफल हुनसक्छन्‌!” भन्‍ने अध्याय कृपया हेर्नुहोस्‌।

[पृष्ठ ७-मा भएको चित्र]

आफ्ना छोराछोरीहरूले चाहेको कुरा प्रबन्ध गर्ने बुबाहरू

फ्रान्चिसेक र तिनको परिवार

लुइस र तिनको परिवार

ताकेशी र तिनको परिवार