सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उम्कने बुबाहरू—तिनीहरू साँच्चै उम्कनसक्छन्‌ र?

उम्कने बुबाहरू—तिनीहरू साँच्चै उम्कनसक्छन्‌ र?

युवा जनहरू सोध्छन्‌ . . .

उम्कने बुबाहरू—तिनीहरू साँच्चै उम्कनसक्छन्‌ र?

“उनले, ‘म तिम्रो बच्चाकी आमा बन्‍न लागें’ भन्दा, म अक्क न बक्क भएँ। त्यो बच्चालाई कसले स्याहार्ने? म घरजम गर्ने अवस्थामा थिइनँ। मलाई कतै भागेर उम्कन मन लाग्यो।”—जीम। a

एलेन गूटमाकर इन्सटिच्युटको रिपोर्टअनुसार “वर्षेनी झन्डै १० लाख किशोरीहरू . . . गर्भवती हुन्छन्‌।” अनि “किशोरीहरूले जन्माउने ७८% जति बच्चाहरू त विवाह नगरीकनै जन्मिएका हुन्छन्‌।”

विगतमा, पुरुषहरू बच्चाको बुबा भएपछि जिम्मेवारी लिनैपर्छ भन्‍ने बाध्यता महसुस गर्थे। तर टीनएज फादर्स (किशोर बुबाहरू) पुस्तकअनुसार “विवाह नगरी गर्भ रहनु आज लाजसरम अनि अपमानको कुरा रहेन।” केही समाजका युवाहरूमा बच्चाको बुबा हुनुलाई प्रतिष्ठाको चिह्नसमेत ठानिन्छ! तैपनि, कमै युवकहरूले मात्र आफूबाट जन्मिएका बच्चाहरूको पछिसम्म हेरचाह गर्ने दायित्व स्वीकार्छन्‌। कति त अन्ततः चटक्कै छोडेर हिंड्‌छन्‌ अथवा उम्कन्छन्‌। b

के एक युवक आफ्नो अनैतिक आचरणको फल नभोगी पूर्णतया उम्कनसक्ला र? बाइबलले बताएअनुसार सक्दैन। बाइबल यस्तो चेताउनी दिन्छ: “धोकामा नपर, परमेश्‍वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” (गलाती ६:७) यौन अनैतिकताका परिणाम केटा र केटी दुवैले अक्सर जीवनभर नै भोग्छन्‌ भनेर अब हामी छलफल गर्नेछौं। यौन अनैतिकतादेखि पर बस्नू भन्‍ने बाइबलको सुस्पष्ट सल्लाहलाई पालन गरेर युवा जनहरू यस्ता परिणामहरूबाट जोगिनसक्छन्‌।

उम्कन त्यति सजिलो छैन

बच्चाको हेरचाह गर्दा प्रशस्त मात्रामा समय, पैसा र व्यक्‍तिगत स्वतन्त्रता त्याग्नुपर्छ। यङ अनवेड फादर्स पुस्तक उल्लेख गर्छ: “अरूको हेरचाह गर्दा आफूलाई पर्याप्त खर्च नपुग्ने भएकाले केही युवकहरू ‘अरूको हेरचाह गर्ने’ कुरामा त्यति चासो लिंदैनन्‌।” तथापि, यस्तो स्वार्थी मनोवृत्ति थुप्रैलाई महँगो साबित हुन्छ। उदाहरणका लागि, थुप्रै मुलुकका अदालत र न्यायकर्मीहरू आफ्ना छोराछोरीको बन्दोबस्त नमिलाउने पुरुषहरूलाई त्यतिकै छाड्‌दैनन्‌। बुबा हो भन्‍ने कानुनन्‌ ठहर भइसकेपछि युवा बुबाहरूले वर्षौंसम्म खर्च बेहोर्नुपर्ने हुनसक्छ र यो उचित पनि हो। यस्ता दायित्व पूरा गर्न थुप्रै युवकहरू स्कूल छोड्‌न वा कम तलब पाइने जागिर खान बाध्य भएका छन्‌। “बुबा बन्दा उमेर जत्ति कम हुन्छ, औपचारिक शिक्षा हासिल गर्ने मौका पनि त्यत्तिकै कम हुन्छ” भनी स्कूल-एज प्रेग्नेन्सी एण्ड पेरेन्टहूड पुस्तक बताउँछ। अनि खर्च बेहोर्न सकिएन भने ऋणको भारले दबिनुपर्ने पनि हुनसक्छ।

हो, सबै युवकहरू आफ्ना सन्तानप्रति कठोर हुँदैनन्‌। सुरु-सुरुमा तिनीहरूको आशय राम्रै हुन्छ। एउटा सर्वेक्षणअनुसार ७५ प्रतिशत किशोर बुबाहरूले आफ्नो बच्चालाई अस्पतालमा छँदै भेट्‌न गएको पाइयो। तैपनि, केही समय बित्न नपाउँदै प्रायजसो किशोर बुबाहरू बच्चाको हेरचाह गर्नुपर्ने जिम्मेवारीदेखि अतासिन्छन्‌।

थुप्रैले आफूसित सुहाउँदो जागिर पाउन सीप वा अनुभव नभएको पाएका छन्‌। आर्थिक मदत दिन असमर्थ भएको लाजले गर्दा केही समयपछि तिनीहरू आफ्नो जिम्मेवारीबाट भाग्छन्‌। तथापि, वर्षौंपछिसम्म पनि पश्‍चात्तापको आगोले युवकहरूलाई भतभती पोलिरहन्छ। एक युवा बुबा स्वीकार्छन्‌: “कहिलेकाहीं म छोरा कस्तो अवस्थामा होला भनेर सोच्छु। . . . [उसलाई] छोड्‌नुपर्दा मलाई निको लागेको थिएन। तर के गरूँ, मैले उसलाई गुमाइसकें। सायद, कुनै दिन उसले मलाई खोज्छ होला।”

बच्चाहरूलाई पुग्ने चोट

उम्कने बुबाहरूले अत्यन्तै लज्जित महसुस गर्नुपर्ने हुनसक्छ अर्थात्‌ आफ्नै बच्चालाई चोट पुऱ्‍याएको कारण लाजको सामना गर्नुपर्ने हुन्छ। आखिर, बाइबलले बच्चालाई आमा बुबा दुवै चाहिन्छ भनेर बताउँछ। (प्रस्थान २०:१२; हितोपदेश १:८, ९) एक पुरुषले आफ्नो बच्चालाई त्याग्दा उसले आफ्नो सन्तानलाई सम्भावित खतराहरूको सिकार हुन दिइरहेको हुन्छ। यु.एस. डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्‍युम्यान सर्भिसेजको रिपोर्ट यस्तो छ: “आमाले मात्र हुर्काएका स-साना केटाकेटीहरूको मौखिक तथा हिसाबका परीक्षाहरूमा निकै कम अंक प्राप्त गरेको पाइएको छ। एक्लो आमा वा बुबाले हुर्काएका ७-१० वर्षका बच्चाहरूले पनि जाँचमा कम अंक ल्याएका हुन्छन्‌ भने तिनीहरू अलि अप्ठ्यारो खालका हुनुका साथै तिनीहरूमा दीर्घकालीन स्वास्थ्य समस्या तथा मानसिक असन्तुलन हुनसक्ने सम्भावना निकै बढी हुन्छ। आमा एक्लैले मात्र हुर्काएको बच्चा किशोरावस्थामा पुगिसकेका वा युवावस्थामा प्रवेश गरिसकेका छन्‌ भने तिनीहरूले पनि किशोरावस्थामै बच्चा जन्माउने, माध्यामिक विद्यालयमा छँदै पढाइ छोड्‌ने अनि रोजगारविहीन र बिना स्कूलका हुने सम्भावना धेरै हुन्छ।”

एटलान्टिक मन्थ्ली पत्रिका अन्तमा यसो भन्छ: “आमा र बुबा दुवै भएको परिवारको तुलनामा पारपाचुकेको कारण टुक्रिएको परिवारमा अनि विवाह नगरीकनै जन्मिएका बच्चाहरू थुप्रै कुराहरूमा पछाडि पर्ने गरेको प्रशस्त सामाजिक तथा वैज्ञानिक प्रमाणहरूले देखाएको छ। एक्लो आमा वा बुबाले जन्माएका बच्चाहरू गरिब हुने सम्भावना पनि छ गुणा बढी हुन्छ। तिनीहरू गरिब नै भइरहने सम्भावना पनि छ।”

नबिर्सनुहोस्‌, यी खतराहरू समूहलाई लिएर गरेको अध्ययनमा आधारित छ तर प्रत्येक व्यक्‍तिविशेषलाई यस्तै हुन्छ भन्‍ने छैन। असफल पारिवारिक पृष्ठभूमिको बावजूद कतिपय बच्चाहरू हुर्केर सन्तुलित असल वयस्क बनेका छन्‌। तैपनि, आफ्नो बच्चालाई त्याग्ने युवकलाई दोषी भावले असाध्यै पिरोलि रहनसक्छ। एक अविवाहित बुबा भन्छन्‌, “मैले कतै उसको जिन्दगी नै [बर्बाद] त गरिदिइनँ भन्‍ने डरले मलाई सताउँछ।”— टीनएज फादर्स।

सहयोग गर्दा आइपर्ने चुनौति

सबै किशोर बुबाहरू उम्केर भाग्ने गर्दैनन्‌। आफ्नो बच्चाप्रतिको नैतिक दायित्वलाई केही युवाहरूले राम्ररी बुझेका छन्‌ र तिनीहरूलाई हुर्काउन साँच्चै मदत गर्न चाहन्छन्‌। तैपनि, अक्सर यो भनेजति गर्नचाहिं सजिलो छैन। उदाहरणका लागि, अविवाहित बुबासित त्यत्ति धेरै कानुनी हक नहुनसक्छ। फलतः आफ्नो बच्चासित कति समय बिताउन पाइन्छ वा पाइँदैन त्यो पनि केटी वा केटीका आमाबाबुले नियन्त्रण गरेको हुन्छ। सुरुमा उल्लेख गरिएका जीम यसो भन्छन्‌: “बच्चालाई हात पार्न निरन्तर दाउपेच गर्नुपर्छ।” फलतः किशोर बुबाले एकदमै विरोध गर्ने निर्णयहरू अर्थात्‌ बच्चालाई धर्मपुत्र वा धर्मपुत्री बनाउन दिइने वा गर्भपातसमेत गर्ने जस्ता निर्णयहरू हुन सक्छन्‌। c एक किशोर बुबा दुःख पोखाउँछन्‌, “तिनीहरूले उसलाई अन्जान मान्छेको हातमा सुम्पिएको हेरिरहनु सिवाय मैले केही गर्न सकिनँ, यो साह्रै असह्‍य थियो।”

केही युवकहरूले आफ्नो बच्चाकी आमालाई विवाह गर्ने प्रस्ताव राखेका छन्‌। d हो, विवाह गर्नाले केटी भोग्नुपर्ने अपमानबाट जोगिनुका साथै बच्चा, आमा र बुबा दुवैको रेखदेखमा हुर्कन्छ। आफ्नो खराब आचरणको बावजूद, ती कलिला दम्पतिहरू एकअर्काको मायामा डुबेका हुनसक्छन्‌। तथापि, सन्तान जन्माउन सक्यो भन्दैमा त्यो केटा लोग्ने अनि बुबा हुन मानसिक तथा भावनात्मक तवरमा परिपक्व छ भन्‍न पटक्कै मिल्दैन। न त ऊ स्वास्नी र बच्चालाई आर्थिक तवरमा सहयोग गर्नसक्ने अवस्थामा हुन्छ भनेर नै त्यसले प्रमाणित गर्छ। गर्भ रहेपछि विवाह भएको रहेछ भने त्यो विवाह लामो समयसम्म टिक्नसक्दैन भनेर अध्ययनबाट थाह लागेको छ। त्यसकारण, हतारिंदै विवाह गर्नु सधैं बुद्धिमानी समाधान नहुनसक्छ।

थुप्रै युवकहरू आफ्नो बच्चालाई आर्थिक तवरमा सहयोग गर्न चाहन्छन्‌। सुरुमा उल्लेख गरिएझैं त्यसो गर्न साँच्चै दृढ निश्‍चयी हुनुपर्छ किनकि किशोर बुबाले यस्तो सहयोग निकै समयसम्म अर्थात्‌ १८ वर्ष वा त्योभन्दा बढी समयसम्म गर्नुपर्ने हुन्छ! तर निरन्तर पाइने आर्थिक सहयोगले आमा र बच्चा दुवैलाई गरिबीबाट भने जोगाउनसक्छ।

मिलिजुली बच्चा हुर्काउनेबारे के भन्‍न सकिन्छ? यो पनि ठूलो चुनौती हुनसक्छ। केटा र केटीबीच अझै यौन सम्बन्ध कायमै रहला भनेर कहिलेकाहीं दुवै पक्षका आमाबाबुहरू डराउँछन्‌ र तिनीहरूलाई भेट्‌न नदिन वा प्रतिबन्धसमेत लगाउनसक्छन्‌। केटा बच्चाको बुबा भए तापनि आफ्नो लोग्ने नभएकोले केटी आफैले बच्चालाई त्यो पुरुषसित भावनात्मक तवरमा नजिकिएको नचाहन सक्छिन्‌। जे सुकै होस्‌, बुबालाई नियमित तवरमा आफ्नो बच्चा भेट्‌न दिइएको छ भने पनि फेरि खराब आचरण देखा नपरोस्‌ भनेर यस्ता भेटघाटहरूमा अर्को व्यक्‍ति पनि साथै छ कि छैन पक्का गर्ने परिवार बुद्धिमान्‌ हुनेछ।

आफ्नो बच्चासित घनिष्ठ हुने चाहले केही अविवाहित बुबाहरूले आमाबाबुले गर्नैपर्ने केही आधारभूत कामहरू जस्तै बच्चालाई नुहाइदिने, खुवाउने वा कथा पढेर सुनाउने कामहरू गर्न सिकेका छन्‌। बाइबलका स्तरहरूप्रति मूल्यांकन देखाउन थालेका युवकले आफ्नो बच्चालाई परमेश्‍वरको वचनका सिद्धान्तहरू सिकाउनसमेत चाहलान्‌। (एफिसी ६:४) बुबाको माया पाउँदै नपाउनुभन्दा थोरै भए पनि पाउनु निस्सन्देह राम्रो भए तापनि, दिनदिनै माया गर्ने बुबा भएजस्तो चाहिं कदापि हुँदैन। अनि बच्चाको आमाले विवाह गरिन्‌ भने बच्चा हुर्काउने आफ्नो जिम्मेवारी अर्कै पुरुषले लैजाँदा त्यो किशोर बुबाले टुलुटुलु हेर्नु सिवाय अरू केही गर्न सक्दैन।

स्पष्ट छ, विवाह नगरी बुबा बन्दा आमा, बुबा र बच्चा सबैले थुप्रै क्लेश खप्नुपर्ने हुन्छ। यी व्यावहारिक विषयहरूको अलावा अवैध यौन सम्बन्धको भर्त्सना गर्नुहुने यहोवा परमेश्‍वरको अनुमोदन गुमाउने डर पनि हुन्छ। (१ थिस्सलोनिकी ४:३) किशोरावस्थामा गर्भ रहँदा यो नराम्रो परिस्थितिको सामना गर्नु सम्भव भए तापनि सुरुमै अनैतिक आचरणमा पर्नदेखि टाढा रहनु सर्वोत्तम हुन्छ। एक किशोर बुबा स्वीकार्छन्‌: “विवाह नगरीकनै बच्चा जन्माउने बित्तिकै तपाईंको जीवन पहिलेको जस्तो कहिल्यै हुनसक्दैन।” हो, वास्तवमा किशोर बुबाले जीवनभर आफ्नो गल्तीको परिणाम भोग्नुपर्ने हुनसक्छ। (गलाती ६:८) फेरि पनि बाइबलको “व्यभिचारदेखि अलग रहो” भन्‍ने सल्लाह बुद्धिमान्‌ साबित भएको छ।—१ कोरिन्थी ६:१८.

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b ब्यूँझनुहोस्‌!, मे ८, २००० को “युवा जनहरू सोध्छन्‌ . . . आफ्नो पुरुषार्थ देखाउन बुबा बन्‍नैपर्छ र?” लेख हेर्नुहोस्‌। विवाह नगरी आमा बनेकी युवतीहरूमाथि पर्ने प्रभावबारे अवेक!, जुलाई २२, १९८५ को “युवा जनहरू सोध्छन्‌ . . . अविवाहित आमा—म पनि विहे नगरीकनै आमा पो बन्‍न पुग्ने हो कि?” लेख हेर्नुहोस्‌।

c अवेक!, मार्च ८, १९९५ को “युवा जनहरू सोध्छन्‌ . . . के गर्भपतन नै जवाफ हो त?” लेख हेर्नुहोस्‌।

d मोशालाई दिइएको व्यवस्थाबमोजिम कुनै कन्या केटीलाई बिगारेको छ भने त्यो पुरुषले त्यस केटीलाई विवाह गर्नु आवश्‍यक पर्थ्यो। (व्यवस्था २२:२८, २९) तथापि, केटीको बुबाले मनाही गर्नसक्ने भएकोले विवाह हुनैपर्छ भन्‍नेचाहिं थिएन। (प्रस्थान २२:१६, १७) आज मसीहीहरू व्यवस्थाको अधीनमा त छैनन्‌, तैपनि यसले विवाहपूर्व राखिने यौन सम्बन्ध कत्ति गम्भीर पाप रहेछ भनी जोड दिन्छ।— वाचटावर, नोभेम्बर १५, १९८९ अंकको “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

[पृष्ठ १५-मा भएको चित्र]

सुरुमै अनैतिक आचरणमा पर्नदेखि टाढा रहनु सर्वोत्तम हुन्छ