सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आज नैतिकताको कस्तो अवस्था छ?

आज नैतिकताको कस्तो अवस्था छ?

आज नैतिकताको कस्तो अवस्था छ?

अप्रिल १९९९ को एक बिहान भएको घटनाले सं.रा.अ.-को कोलोराडो डेन्भर नजिकै लिटलट्‌न शहरका बासिन्दाहरू स्तब्ध भए। कालो ट्रेन्च कोट लगाएका दुई युवकहरूले स्थानीय हाई स्कूलको प्रांगणमा छात्रछात्रा तथा शिक्षकहरूलाई अन्धाधुन्ध गोली हान्‍न थाले। तिनीहरूले बम पनि पड्‌काए। बाह्र जना विद्यार्थीलगायत एक शिक्षकको मृत्यु भयो र २० जना भन्दा बढी घाइते भए। अन्तमा ती आक्रमणकारीहरूले आफ्नै ज्यान लिएर त्यस नरहत्याको अन्त गरे। ती केही खास समूहप्रति गहिरो घृणा भएका केटाहरूको उमेर १७ अनि १८ वर्ष मात्र थियो।

दुःखको कुरा, माथि उल्लिखित उदाहरण छिटपुट मात्र हुने घटना होइन। संसारभरि नै अखबार, रेडियो तथा टेलिभिजनले त्यस्ता घटनाहरूको रिपोर्ट गर्छन्‌। नेसनल सेन्टर फर एडुकेसन स्ट्याटिसटिक्सअनुसार १९९७ को दौडान अमेरिकाका स्कूलहरूमा हातहतियार प्रयोग भएका लगभग ११,००० वटा हिंस्रक घटनाहरूको रिपोर्ट गरियो। जर्मनीको हामबर्गमा १९९७ को दौडान हिंस्रक घटनाहरू १० प्रतिशतले वृद्धि भए र तीमध्ये ४४ प्रतिशत अभियुक्‍तहरू २१ वर्षमुनिका युवाहरू थिए।

राजनीतिज्ञ तथा सरकारी अधिकारीहरूमाझ पनि भ्रष्टाचार सामान्य छ। युरोपियन युनियनका (ई यु) कमिस्नर अनिता ग्रेडेनद्वारा १९९८ मा तयार पारिएको रिपोर्टअनुसार ई यु भित्र मात्रै १९९७ को दौडान १.४ अरब अमेरिकी डलर बराबरको भ्रष्टाचार भएको थियो। यसमा ट्राफिक नियम उल्लंघन गर्दा तिर्नुपर्ने जरिवाना नदिनेदेखि लिएर जालझेल गरेर कृषि वा अन्य ई यु सहायताहरू पाउनेसम्म समावेश थियो। ठूलो मात्रामा पैसाको हेराफेरि र हातहतियार तथा लागू पदार्थ तस्करी गर्ने अनुमति दिइएको थियो र ई यु-का अधिकारीहरूको मुख टाल्न अपराधिक संगठनहरूले घूस दिएका थिए। सम्पूर्ण ई यु कमिसनले १९९९ मा राजीनामा दियो।

तथापि, छलछाम गर्ने समाजका गन्‍नेमान्‍ने मानिसहरू मात्र होइनन्‌। गैरकानुनी कामदारहरूको सन्दर्भमा ई यु कमिसनको रिपोर्टले ई यु-को कुल राष्ट्रिय उत्पादनको १६ प्रतिशतभन्दा बढी आम्दानी त दर्ता नगरिएका व्यापारहरूबाट भएको थियो र तिनीहरूले कर पनि तिर्दैनन्‌। रूसमा कुल आम्दानीको ५० प्रतिशतभन्दा बढी आम्दानी गैरकानुनी तवरमा हुन्छ। यसबाहेक, एसोसिएसन अफ सर्टिफाइड फ्रड एगजामिनरअनुसार संयुक्‍त राज्यमा, अमेरिकी कम्पनीहरूले वर्षेनी आफ्ना कामदारहरूले पैसा वा सरसम्पत्ति चोरेको कारण ४ खरब भन्दा बढी अमेरिकी डलर गुमाउँछन्‌।

थुप्रै बाल यौन दुराचारीहरूले केटाकेटीलाई गैरकानुनी यौन गतिविधिमा प्रलोभित गर्न इन्टरनेटको प्रयोग गरिरहेका छन्‌। स्वीडेनको सेभ द चिल्ड्रेनका प्रवक्‍ताका अनुसार इन्टरनेटमा बाल अश्‍लील विषयवस्तुहरू बढिरहेका छन्‌। नर्वेमा यस संगठनले १९९७ मा इन्टरनेटमा बाल अश्‍लील कुराहरूको वेबसाइटबारे १,८८३ वटा सुराक पाए। अर्को वर्ष त्यस्ता सुराकहरूको संख्या बढेर ५,००० पुग्यो। प्रायः सरकार वा स्थानीय अधिकारीहरूले नियन्त्रण गर्न नसक्ने देशहरूमा यस्ता घिनलाग्दा गतिविधिका विषयवस्तुहरू उत्पादन हुने गर्छन्‌।

के अतीतका दिनहरू उत्तम थिए?

वर्तमान संसारको नैतिक अवस्था देखेर चकित हुने थुप्रै मानिसहरू आफ्ना आमाबाबु वा हजुरबुबाका पालाको जस्तो सहयोगी मनोभाव भएको दिनको चाहना गर्नसक्छन्‌। सायद तिनीहरूले त्यतिबेला मानिसहरू निकै शान्त वातावरणमा बस्थे अनि समाजमा इमानदारिता र नैतिकताका अन्य पक्षहरूलाई निकै महत्त्व दिन्थे भनेर भनेको सुनेका होलान्‌। सायद, तिनीहरूलाई त्यतिबेलाका मेहनती मानिसहरूले एकअर्कालाई मदत गर्थे, पारिवारिक बन्धन बलियो थियो अनि युवा पीढीले सुरक्षित महसुस गर्थे र आफ्ना आमाबाबुलाई खेतबारीमा वा अन्य काममा सघाउँथे भनेर बूढापाकाहरूले बताएका होलान्‌।

यी सबैको कारण यस्ता प्रश्‍नहरू खडा हुन्छन्‌: के अतीतमा मानिसहरूको नैतिक अवस्था साँच्चै राम्रो थियो? वा कतै अतीतका मीठा सम्झनाहरूले गर्दा तीता घटनाहरूलाई बिर्सेका त होइनौं? इतिहासकार तथा अन्य सामाजिक विश्‍लेषकहरूले कस्तो उत्तर दिन्छन्‌, आउनुहोस्‌ हामी हेरौं।

[पृष्ठ ३-मा भएको पेटी]

नैतिकताको परिभाषा

यी लेखहरूमा “नैतिकता” शब्द सही र गलत बानीबेहोरा बुझाउने सिद्धान्तहरूसित सम्बन्धित अर्थमा प्रयोग गरिएका छन्‌। यसमा इमानदारिता, सत्यता र यौन तथा अन्य विषयहरूमा उच्च नैतिक स्तरहरू पनि समावेश छन्‌।