सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आवरण लेख | परिवारमा शान्ति कायम गर्नुहोस

पारिवारिक कलह कसरी रोक्न सकिन्छ?

पारिवारिक कलह कसरी रोक्न सकिन्छ?

तपाईंको परिवारमा रातोदिन कलह हुन्छ भने के गर्न सक्नुहुन्छ? अझ कलहले ठूलै रूप लिएको छ भने नि? कुरा कसरी बिग्रियो, त्योसमेत तपाईंलाई थाह नहुन सक्छ। कलह भए पनि तपाईं आफ्नो जीवनसाथीलाई माया गर्नुहुन्छ र तिनको चित्त दुखाउन चाहनुहुन्न।

आपसमा विचार मिलेन भन्दैमा परिवार टुट्छ भन्ने छैन। तर परिवारमा शान्ति हुने हो या कलह, कुनै कुरालाई हामी कसरी सुल्झाउँछौं, त्यसमा भर पर्छ। कलह रोक्न कस्ता कदम चाल्न सकिन्छ, विचार गरौं।

१. बदला नलिनुहोस्।

झगडा गर्न कम्तीमा पनि दुई जना चाहिन्छ। एक जनाले बोल्न छोडेर सुन्न थालेमा समस्या सुल्झिन थाल्छ। त्यसैले रिस उठ्दा बदला लिन नखोज्नुहोस्। आफूलाई सम्हाल्नुभयो भने तपाईं भित्रैदेखि खुसी हुन सक्नुहुन्छ। झगडा जित्नुभन्दा परिवारको शान्ति महत्त्वपूर्ण हो भन्ने कुरा सधैं सम्झनुहोस्।

“दाउराविना आगो निभ्छ, कुरौटे विना झगडा शान्त हुन्छ।”हितोपदेश २६:२०.

२. परिवारका सदस्यहरूको भावना बुझ्नुहोस्।

कुराकानीको बेला बीचमै नबोल्नुहोस् वा पहिल्यै अडकल नकाट्नुहोस्। बरु सहानुभूति देखाउँदै ध्यान दिएर सुन्नुहोस्। यसो गर्दा रिस मर्न थाल्छ र शान्ति कायम हुन्छ। परिवारका सदस्यहरूको विषयमा गलत सोचाइ राख्नुको सट्टा तिनीहरूको भावना बुझ्ने कसिस गर्नुहोस्। त्रुटिपूर्ण भएकोले अरूले हाम्रो चित्त दुखाउन सक्छन्‌। तर मनमा नलिनुहोस्। सोचविचार नपुऱ्याएकोले वा मन भाँचिएकोले चोट पुग्ने बोली निस्कन्छ, कठोर भएकोले वा बदला लिन मन लागेकोले होइन।

“कोमल करुणा, दया, विनम्रता, कोमलता र धीरज धारण गर।”कलस्सी ३:१२.

३. शान्त हुनुहोस्।

तपाईंलाई झनक्क रिस उठेमा शिष्टतापूर्वक त्यस ठाउँबाट निस्कनुहोस्। तपाईं अर्को कोठामा जान सक्नुहुन्छ वा आफ्नो रिस नमरेसम्म कतै हिंडडुल गर्न सक्नुहुन्छ। यसो गर्नु भनेको समस्यादेखि भाग्नु वा मिलाप गर्न नखोज्नु होइन अनि धुमधुम्ती बस्नु पनि होइन। यस्तो बेला धैर्य गर्न, समझदार हुन र अन्तरदृष्टि देखाउन परमेश्वरसित मदत माग्नुहोस्।

“विवाद चर्कनुअघि नै त्यस ठाउँबाट निस्केर बाहिर जाओ।”हितोपदेश १७:१४, NW.

४. के भन्ने र कसरी भन्ने राम्ररी विचार गर्नुहोस्।

चित्त दुख्ने बोलीले समस्या सुल्झिंदैन। त्यसैले आफूले माया गरेको व्यक्तिको चोट निको हुने शब्दहरू बोल्नुहोस्। तिनले के सोचिरहेका होलान्‌ भनेर आफैले भन्नुको साटो तिनलाई नै कुरा स्पष्ट पारिदिन विनम्र अनुरोध गर्नुहोस्। कुरा स्पष्ट भएपछि आफूलाई कस्तो फाइदा भयो, बताउनुहोस् र धन्यवाद दिनुहोस्।

“व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमान्‌को बोलीले मानिसलाई निको पार्छ।”हितोपदेश १२:१८.

५. चर्को स्वरमा र रूखो आवाजमा नबोल्नुहोस्।

परिवारमा एक जना रिसाउँदा अरूलाई पनि रिस उठ्न सक्छ। तपाईंलाई रिस उठेको छ भने पनि छेडपेच नगर्नुहोस् र चर्को स्वरले नबोल्नुहोस्। “तपाईंलाई मेरो वास्तै छैन” वा “तपाईं मेरो कुरै सुन्नुहुन्न” जस्ता शब्दहरू नचलाउनुहोस्। बरु आफ्नो जीवनसाथीको व्यवहारले तपाईंलाई कस्तो असर गऱ्यो, शान्त भई बताउनुहोस् (“तपाईंले . . . गर्दा मेरो मन दुख्छ।”) धकेल्ने, थप्पड हान्ने, लात्ती हान्नेजस्ता हिंसात्मक व्यवहार कुनै हालतमा उचित होइन। नराम्रो नामले बोलाउनु, नकारात्मक टिकाटिप्पणी गर्नु वा धम्की दिनु पनि ठीक होइन।

“हरकिसिमको कटुता, रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने बानीका साथै सबै किसिमका खराबी त्याग।”एफिसी ४:३१.

६. तुरुन्तै माफी माग्नुहोस् र समस्या सुल्झाउन तपाईं के गर्न चाहनुहुन्छ, बताउनुहोस्।

तपाईंको लक्ष्य शान्ति कायम गर्ने हो। त्यसैले नकारात्मक भावनाको कारण त्यस लक्ष्यबाट विमुख नहुनुहोस्। नबिर्सनुहोस्, तपाईंले झगडा गर्नुभयो भने दुवैको हार हुन्छ। शान्ति कायम गर्नुभयो भने दुवैको जित हुन्छ। त्यसैले विवाद हुँदा आफ्नो गल्ती स्वीकार्नुहोस्। आफ्नो केही गल्ती छैन भने पनि रिसाएकोमा, त्यस्तो प्रतिक्रिया देखाएकोमा वा अनजानमै रिस उठाएकोमा माफी माग्नुहोस्। घमन्डी हुनु वा जित्नुभन्दा शान्ति कायम गर्नु महत्त्वपूर्ण कुरा हो। अनि कसैले माफी माग्दा तुरुन्तै क्षमा दिनुहोस्। (g15-E 12)

“अब हामी आपसमा शान्ति कायम हुने अनि एक-अर्काको उत्थान हुने कुराहरूको पछि लागौं।”रोमी १४:१९.

विवाद साम्य भएपछि परिवारको शान्ति कायम राख्न तपाईं के गर्न सक्नुहुन्छ? अर्को लेखमा हामी यस विषयमा चर्चा गर्नेछौं।