हितोपदेश २६:१-२८

  • अल्छी मानिस (१३-१६)

  • अरूको झगडामा नमुछिऊ (१७)

  • अरूलाई ठट्टामा नउडाऊ (१८, १९)

  • दाउरा नहुँदा आगो निभ्छ (२०, २१)

  • निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै हो (२२)

२६  जसरी गर्मी महिनामा हिउँ र बाली काट्‌ने बेला पानी परेको सुहाउँदैन, त्यसरी नै मूर्खलाई सम्मान दिएको पनि सुहाउँदैन।+  २  जसरी कारणैविना चरा भाग्दैन र गौँथली भुर्र उड्‌दैन, त्यसरी नै कारणैविना कसैले सराप्दैन।*  ३  घोडाको लागि कोर्रा, गधाको लागि लगाम+ अनि मूर्ख मानिसको पिठिउँको लागि छडी।+  ४  मूर्खलाई मूर्ख भएर जवाफ नदेऊ नत्र त तिमी र उसमा के फरक हुन्छ र?  ५  मूर्खलाई उसको मुर्ख्याइँ विचार गरेर जवाफ देऊ नत्र त उसले आफूलाई बुद्धिमान्‌ ठान्‍नेछ।+  ६  आफ्नो काम मूर्खलाई जिम्मा लगाउने मानिस आफ्नै खुट्टा काट्‌ने मानिसजस्तै हो।*  ७  मूर्खको मुखबाट निस्कने उपदेश लङ्‌गडो मानिसको लुलो खुट्टाजस्तै हो।+  ८  मूर्ख मानिसको प्रशंसा गर्नु मट्‌याङ्‌ग्रालाई* घुयेँत्रोमा बाँधेर राख्नुजस्तै हो।+  ९  मूर्खको मुखबाट निस्कने उपदेश जँड्‌याहाको हातमा परेको काँडेझारजस्तै हो। १०  मूर्खलाई वा कुनै बटुवालाई काममा लगाउने मानिस जथाभाबी काँड हान्‍ने* मानिसजस्तै हो। ११  घरीघरी मूर्ख काम गरिरहने मानिस आफ्नो बान्ता चाट्‌न फर्कने कुकुरजस्तै हो।+ १२  के आफैलाई बुद्धिमान्‌ ठान्‍ने मानिस देखेका छौ?+ यस्तो मानिसभन्दा त मूर्ख मानिस सुध्रिने आशा हुन्छ। १३  अल्छीले भन्छ: “सडकमा सिंह छ, चोकमा घोर्ले सिंह घुमिरहेको छ!”+ १४  ढोका आफ्नो कब्जामा* यताउता फर्केझैँ अल्छी मानिस ओछ्यानमा कोल्टे फेरिरहन्छ।+ १५  अल्छीले थालमा आफ्नो हात हाल्छ तर त्यसलाई मुखसम्म लैजान पनि अल्छी गर्छ।+ १६  जो अल्छी छ, उसले आफूलाई विवेक चलाएर जवाफ दिने सात जना मानिसभन्दा पनि बुद्धिमान्‌ ठान्छ। १७  बाटोमा अरूको झगडा देखेर रिसले चूर हुने मानिस* कुकुरको कान तान्‍ने मानिसजस्तै हो।+ १८  धारिलो हतियार चलाएर र काँड हानेर अरूको ज्यान लिने बौलाहा मानिस १९  अनि आफ्नो छिमेकीलाई झुक्क्याउने र “ए, मैले त ठट्टा पो गरेको!” भन्‍ने मानिस उस्तै हो।+ २०  जहाँ दाउरा हुँदैन, त्यहाँ आगो निभ्छ अनि जहाँ निन्दा गर्ने मानिस हुँदैन, त्यहाँ झगडा टुङ्‌गिन्छ।+ २१  कोइलाले भुङ्‌ग्रोलाई र दाउराले आगोलाई दन्काएझैँ निहुँ खोज्ने मानिसले झगडा सल्काउँछ।+ २२  निन्दा गर्ने मानिसको बोली मीठो गाँसजस्तै* हो; त्यसलाई निलेपछि सलक्क पेटमा जान्छ।+ २३  दुष्ट हृदयबाट निस्केको दयालु वचन खपटामा लगाइएको चाँदीको जलपजस्तै हो।+ २४  अरूलाई घृणा गर्ने मानिसको मुखले मीठो बोली बोल्छ तर उसको मनमा कपट लुकेको हुन्छ। २५  उसले मीठो बोली बोले पनि उसको कुरा नपत्याऊ किनकि उसको हृदयमा सात वटा दुष्ट कुरा लुकेको हुन्छ।* २६  उसले आफ्नो घृणा छल गरेर लुकाए पनि उसको दुष्ट काम मानिसहरूसामु प्रकट हुन्छ। २७  जसले खाडल खन्छ, ऊ आफै त्यसमा खस्छ अनि जसले ढुङ्‌गा पल्टाउँछ, त्यो फर्केर ऊमाथि नै आउँछ।+ २८  झूट बोल्ने जिब्रोले आफूले चोट पुऱ्‍याएको व्यक्‍तिलाई घृणा पनि गर्छ अनि चिप्लो घस्ने मुखले अरूलाई बरबाद पार्छ।+

फुटनोटहरू

वा सम्भवतः “कारणैविना दिइएको सराप लाग्दैन।”
शा., “हिंसा पिउने मानिसजस्तै हो।”
वा “ढुङ्‌गालाई।”
वा “सबैलाई घाइते बनाउने।”
वा “जोड्‌नीमा।”
वा सम्भवतः “अरूको झगडामा हात हाल्ने मानिस।”
वा “स्वाद लिई-लिई खाने भोजनजस्तै।”
वा “उसको मन घृणाले भरिएको हुन्छ।”