सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वास अनि साहस जगाउने कथा युक्रेनमा यहोवाका साक्षीहरू

विश्‍वास अनि साहस जगाउने कथा युक्रेनमा यहोवाका साक्षीहरू

विश्‍वास अनि साहस जगाउने कथा युक्रेनमा यहोवाका साक्षीहरू

प्रथम शताब्दीका मसीहीहरूले सतावट भोगेजस्तै आज पनि परमेश्‍वरका जनले सतावट भोगेका छन्‌। (मत्ती १०:२२; यूहन्‍ना १५:२०) राज्य-प्रचारकार्य ५२ वर्षसम्म प्रतिबन्धित र लामो समयसम्म अनि घोर सतावट भोगेको युक्रेन जस्तो मुलुक अरू विरलै होला।

सन्‌ २००२ को यहोवाका साक्षीहरूको वार्षिक पुस्तक अर्थात्‌ यरबूक अफ जेहोभाज विटनेसस्‌-ले त्यस मुलुकका यहोवाका जनले भोगेको कथा बतायो। यो कटु विरोधको घडी देखाइएको विश्‍वास, साहस अनि बलको कथा हो। यहोवाका साक्षीहरूको युक्रेन शाखाले प्राप्त गरेको मूल्यांकनका केही टिप्पणीहरू तल दिइएका छन्‌:

“मैले २००२ को वार्षिक पुस्तक पढिसकें। युक्रेनमा तपाईंहरूको क्रियाकलापबारे पढ्‌दा मैले आँसु थाम्नै सकिनँ। तपाईंहरूको जोसिलो उदाहरण अनि बलियो विश्‍वासबाट मैले धेरै प्रोत्साहन पाएँ भन्‍ने कुरा म तपाईंहरूलाई बताउन चाहन्छु। म पनि तपाईंहरूकै आध्यात्मिक परिवारको सदस्य हुन पाएकोमा गर्व गर्छु। भित्री हृदयदेखि तपाईंहरूलाई धन्यवाद छ।”—एनड्री, फ्रान्स।

सन्‌ २००२ को वार्षिक पुस्तक-को लागि म तपाईंहरू अनि यहोवाप्रति कत्ति कृतज्ञ छु भन्‍ने कुरा शब्दमा वर्णन गर्नै सक्दिनँ। आफ्नो जीवनका सुनौला क्षणहरू जेल अनि यातना शिविरमा बिताउने भाइहरूको अनुभव पढ्‌दा मेरो आँखाबाट बर्रर आँसु झऱ्‍यो। म तिनीहरूको साहसको सम्मान गर्छु। म साक्षी भएको २७ वर्ष भइसक्यो तर अझै ती भाइबहिनीहरूबाट धेरै कुरा सिक्न सक्छु। स्वर्गमा बस्नुहुने हाम्रो पिता यहोवाप्रतिको मेरो विश्‍वासलाई उहाँहरूले अझ बलियो बनाइदिनुभयो।”—भेरा, भूतपूर्व युगोस्लाभिया।

“विरोधका ती वर्षहरूमा तपाईंहरूले बसाल्नुभएको असल उदाहरण अनि वफादारीताको कारण म हर्षविभोर भई यो पत्र लेख्दैछु। यहोवामाथि तपाईंहरूको पूर्ण विश्‍वस्तता अनि विश्‍वासी रहिरहने तपाईंहरूको संकल्पले गर्दा तपाईंहरूले आदर कमाउनुभएको छ। यसको अलावा, परीक्षाको घडीमा तपाईंहरूले देखाउनुभएको नम्रताले यहोवाले आफ्ना जनहरूलाई त्याग्नुहुन्‍न भन्‍ने मेरो संकल्पलाई दह्रिलो बनाएको छ। तपाईंहरूको साहस, कटिबद्धता अनि दृढताको असल उदाहरणको कारण हामी आफ्ना सानातिना समस्याहरूलाई सजिलै स्वीकार्न सक्छौं।—टुटेरीहिया, फ्रेन्च पोलिनेसिया

वार्षिक पुस्तक पढेपछि यी दुई शब्दहरू नलेखी म बस्नै सकिनँ। ती सब उत्थानदायी अनुभवहरूले मेरो मन छोयो। एक जना मायालु, ख्याल राख्नुहुने पिताको डोऱ्‍याइमा चल्ने यस्तो वफादार, एकताबद्ध संगठनको सदस्य हुन पाएकोमा मलाई गर्व लाग्यो र उहाँले नै हामीलाई चाहिएकै बेला बल प्रदान गर्नुहुन्छ। यहोवाका त्यति धेरै साहसी अनि जोसिला सेवकहरूले यति विघ्न कष्ट भोगेको अनि ज्यानसमेत गुमाएको सुन्दा म उदास भएँ। तर म खुसी पनि भएँ किनकि तिनीहरूको साहस अनि जोसले गर्दा कति धेरै मानिसहरूले सत्य सिके अनि हाम्रा मायालु पितालाई चिन्‍न सके।”—कोलेट, नेदरल्याण्ड्‌स।

वार्षिक पुस्तक-मा युक्रेनको विवरण पढ्‌दा हाम्रो हृदय छोएको कुरा नभनी बस्न नसकेको हुँदा मेरी पत्नी र मैले यी शब्दहरू लेखेका हौं। लामो समयसम्म चलेको अनि ठूलो कठिनाइको घडीमा तपाईं विश्‍वासी भाइहरूले धीरजको उत्कृष्ट उदाहरण बसाल्नुभयो। हितोपदेश २७:११ का शब्दहरू अनुरूप युक्रेनका यति धेरै विश्‍वासी भाइहरूले दियाबलका सारा धूर्त कर्तुतहरूको बावजुद अटल निष्ठा कायम राखेकोमा यहोवा कत्ति खुसी हुनुहुन्छ होला।—एलन, अष्ट्रेलिया।

युक्रेनका भाइहरूबारे पढ्‌दा मेरो गहभरि आँसु भरिएर आयो। तिनीहरूले धेरै कष्टहरू सहे—वर्षौंको जेल सजाय, यातना, अत्याचार अनि परिवारबाट बिछोड। तपाईंहरूको मण्डलीहरूमा अझै सेवा गर्ने ती सबै भाइहरूलाई म धेरै प्रेम अनि सम्मान गर्छु भनी बताउन चाहन्छु। म तिनीहरूको जोस अनि दृढताबाट हर्षित छु। मलाई तिनीहरूको शक्‍तिको स्रोत थाह छ र त्यो यहोवाको आत्मा हो। यहोवा हाम्रो नजिक हुनुहुन्छ अनि उहाँ हामीलाई मदत गर्न चाहनुहुन्छ।”—सेर्गे, रूस।

“मैले २००२ को वार्षिक पुस्तक पढें र रोएँ। हाम्रो मण्डलीका धेरै भाइबहिनीहरूले तपाईंहरूको विषयमा कुरा गरेका छन्‌। तपाईंहरू साँच्चै अमूल्य हुनुहुन्छ। म यस ठूलो आध्यात्मिक परिवारको भाग हुन पाएकोमा धेरै खुसी छु।”—युनही, दक्षिण कोरिया।

यहोवा अनि उहाँको राज्यप्रति तपाईंहरूले देखाउनुभएको विश्‍वास, धीरज अनि अटल प्रेमका रेकर्डहरूले मेरो मन असाध्यै छोयो। कहिलेकाहीं हामी आफूले पाएको स्वतन्त्रता अनि यहोवाले हाम्रो लागि प्रबन्ध गरिदिनुभएको प्रचुर आध्यात्मिक भोजनको मूल्यांकन गर्न चुक्छौं। यद्यपि, तपाईंहरूले यसो गर्नुभएन। यदि परमेश्‍वरसित हाम्रो घनिष्ठ सम्बन्ध छ भने उहाँले सबै प्रकारका परीक्षाहरूको सामना गर्ने बल दिनुहुन्छ भन्‍ने कुरा बुझ्न तपाईंहरूको विश्‍वासको उदाहरणले हामीलाई मदत गर्छ।”—पाउलो, ब्राजिल।

“मैले २००२ को वार्षिक पुस्तक-मा तपाईंहरूको अनुभव पढ्‌ने मौका पाएँ। ती अनुभवहरूमध्ये विशेष गरी बहिनी लिडिया कुरदासको हृदयस्पर्शी अनुभवले मेरो मनै छोयो। मैले यी बहिनीसित नजिक भएको महसुस गरें।”—निदिया, कोस्टारीका।

“मैले आज २००२ को वार्षिक पुस्तक पढिसकें। पढ्‌दै जाँदा यहोवाप्रतिको मेरो विश्‍वास बलियो भयो। नेतृत्व लिनेहरूप्रति मनमा शंका उब्जँदाको विवरण म कहिल्यै बिर्सन सक्दिनँ। यसले मलाई नेतृत्व लिने भाइहरूलाई कहिल्यै शंकाको दृष्टिले नहेर्ने पाठ सिकायो। धेरै धन्यवाद! यो आध्यात्मिक भोजन हृदयको लागि असल छ अनि हाम्रो विश्‍वास जाँचिन सक्ने घडीको लागि हामीलाई तयार बनाउँछ।”—लेटिसिया, संयुक्‍त राज्य अमेरिका

“उत्कृष्ट वार्षिक पुस्तकको लागि हामी आभारी छौं। धेरै प्रकाशकहरूले पहिलो पटक युक्रेनमा हाम्रा भाइहरूको गतिविधिबारे पढें। यहाँका भाइहरूले बल प्राप्त गरे। धेरैले विशेष गरी युवाजनहरूले आफ्ना सेवा गतिविधि बढाएका छन्‌। कोही-कोहीले नियमित अथवा सहायक अग्रगामीको हैसियतमा सेवा गर्न थालेका छन्‌। त्यस प्रतिबन्धको दौडान यहोवाको सेवा गरेका भाइबहिनीहरूको कथाबाट सबै प्रोत्साहित भए।”—एउटा मण्डलीको सेवा समिति, युक्रेन।

साँच्चै भन्‍ने हो भने, युक्रेनमा हाम्रा भाइबहिनीहरूले देखाएको विश्‍वास विश्‍वभरिका यहोवाका जनहरूको लागि प्रोत्साहनको स्रोत बनेको छ। वास्तवमा, हरेक वर्ष वार्षिक पुस्तकमा छापिने हृदयस्पर्शी विवरणहरू नियमित रूपमा पढ्‌नु अहिलेको महत्त्वपूर्ण घडीमा हाम्रो विश्‍वास अनि धीरज बलियो बनाउने एउटा राम्रो तरिका हो।—हिब्रू १२:१.