सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशूको जन्मको विवरणबाट पाठहरू

येशूको जन्मको विवरणबाट पाठहरू

येशूको जन्मको विवरणबाट पाठहरू

येशू जन्मनुभएको बेला घटेका घटनाहरूप्रति करोडौं मानिसहरू आकर्षित हुनेगर्छन्‌। यो आकर्षण क्रिसमसको समयमा सारा विश्‍वभरि प्रदर्शन गरिने असंख्य येशूको जन्मसम्बन्धी तस्विर र नाटकहरूमा देख्न सकिन्छ। यी घटनाहरूमा मानिसहरूको आकर्षण जति नै भए तापनि येशू जन्मेको बेला घटेका घटनाहरू मानिसहरूलाई मनोरञ्जन दिनका लागि बाइबलमा लिपिबद्ध गरिएका होइनन्‌। बरु, ती विवरणहरू सिकाउन अनि सच्याउनको लागि परमेश्‍वरद्वारा प्रेरित सम्पूर्ण धर्मशास्त्रका एक भाग हुन्‌।—२ तिमोथी ३:१६.

यदि मसीहीहरूले येशूको जन्मोत्सव मनाएको परमेश्‍वरले चाहनुभएको भए बाइबलमा पक्कै पनि येशूको जन्म मिति तोकैरे दिइएको हुन्थ्यो होला। होइन र? गोठालाहरू राती खुला ठाउँमा आफ्ना बगालको हेरचाह गरिरहेको समयमा येशूको जन्म भएको कुरा उल्लेख गरिसकेपछि १९ औं शताब्दीका विद्वान्‌ अलवर्ल्ट बानर्स यस्तो निष्कर्षमा पुगे: “यसबाट हाम्रा उद्धारक डिसेम्बर २५ भन्दा अघि जन्मनुभएको थियो भन्‍ने कुरा स्पष्ट हुन्छ। . . . डिसेम्बर महिनामा जाडो हुन्छ अनि विशेष गरेर बेतलेहेम नजिकैको उच्च पर्वतिय इलाकामा अझै बढी जाडो हुन्छ। परमेश्‍वरले [येशूको] जन्मको समय प्रकट गर्नुभएको छैन। . . . न त त्यो समय थाह पाउनु आवश्‍यक नै छ; यदि आवश्‍यक भइदिएको भए परमेश्‍वरले पक्कै पनि येशू जन्मनुभएको समयको विवरणलाई सुरक्षित राख्नुहुने थियो।”

अर्कोतर्फ, येशू मर्नुभएको दिनबारे भने चारै जना सुसमाचारका लेखकहरूले स्पष्ट बताएका छन्‌। यो घटना निस्तार चाडको दिनमा घट्यो जुन वसन्त ऋतुमा यहूदी महिनाको निसान १४ मा मनाइन्थ्यो। यसको अतिरिक्‍त, येशूले आफ्ना अनुयायीहरूलाई तोकेरै त्यो दिन उहाँको सम्झनामा स्मरणार्थ उत्सवको रूपमा मनाउने आज्ञा दिनुभयो। (लूका २२:१९) बाइबलमा न येशूको न त अन्य कुनै व्यक्‍तिको जन्मदिन मनाउने आज्ञा दिइएको छ। दुःखको कुरा, येशू जन्मेको मितिबारे उठ्‌ने वाद-विवादले त्यस बेला घटेका महत्त्वपूर्ण घटनाहरूलाई ओझेलमा पार्ने प्रबल सम्भावना छ।

परमेश्‍वरले रोज्नुभएका आमाबाबु

आफ्नो पुत्रलाई हुर्काउन इस्राएलका हजारौं परिवारहरूमध्येबाट यहोवा परमेश्‍वरले कस्तो आमाबाबुलाई रोज्नुभयो? के उहाँले प्रतिष्ठा र धन जस्ता कुराहरूलाई महत्त्व दिनुभयो? दिनुभएन। बरु, यहोवाले ती आमाबाबुका आध्यात्मिक गुणहरूलाई हेर्नुभयो। मरियमलाई मसीहको आमा बन्‍ने विशेष सुअवसर दिइएको कुरा बताइएपछि लुका १:४६-५५ मा लिपिबद्ध तिनले गाएको प्रंशसाको भजनलाई केलाउनुहोस्‌। अन्य कुराहरूका साथै तिनले यसो भनिन्‌: “मेरो प्राणले परमप्रभुको प्रशंसा गर्दछ . . . किनभने उहाँले आफ्नो दासीको नम्रतामा [“तुच्छतामा” NW] कृपादृष्टि गर्नुभयो।” तिनले आफूलाई नम्रतापूर्वक “तुच्छ” अर्थात्‌ यहोवाको दासी ठानिन्‌। महत्त्वपूर्ण कुरा त मरियमको भजनमा व्यक्‍त गरिएका प्रशंसाका ती सुन्दर अभिव्यक्‍तिहरूले तिनी एक जना धर्मशास्त्रको ज्ञानमा निपुण आध्यात्मिक स्त्री थिइन्‌ भन्‍ने कुरा थाह हुन्छ। आदमको पापी सन्तान भए तापनि परमेश्‍वरको पुत्रको पार्थिव आमा हुन तिनी एक आदर्श छनौट थिइन्‌।

मरियमको पतिबारे के चाहिं भन्‍न सकिन्छ, जो पछि गएर येशूका धर्मपिता बने? यूसुफ सिकर्मी कलामा निपुण थिए। आफ्ना दुइ हात नङ्‌ग्रा खियाएर काम गर्न कहिल्यै पछि नहट्‌ने भएकाले नै उनले आफ्ना पाँच छोरा र कम्तीमा पनि दुई छोरीसहितको परिवार पाल्न सके। (मत्ती १३:५५, ५६) यूसुफ धनी थिएनन्‌। आफ्नो जेठो छोरालाई मरियमले परमेश्‍वरको मन्दिरमा हाजिर गराउन ल्याउने समय आउँदा यूसुफले एउटा थुमाको बलिदान चढाउन नसक्दा पक्कै पनि निराश महसुस गरेको हुनुपर्छ। त्यसको सट्टा, तिनीहरूले गरिबहरूको लागि छुट्याइएको प्रबन्ध अपनाउनुपऱ्‍यो। नयाँ जन्मेको पुत्रको आमाको सन्दर्भमा परमेश्‍वरको व्यवस्थामा यस्तो उल्लेख गरिएको थियो: “थुमा ल्याउने त्यसको औकात छैन भने त्यसले दुइटा ढुकुर अथवा परेवाका दुइटा बच्चा—एउटा होमबलिको निम्ति र अर्को पापबलिको निम्ति ल्याओस्‌, तब पूजाहारीले त्यसको प्रायश्‍चित गरोस्‌, र त्यो शुद्ध ठहरिनेछ।”—लेवी १२:८; लूका २:२२-२४.

यूसुफ “धार्मिक मानिस” थिए भनी बाइबलले बताउँछ। (मत्ती १:१९, नयाँ संशोधित संस्करण) उदाहरणका लागि, येशूको जन्म नहोउन्जेल उनले आफ्नी कुमारी पत्नीसित सहवास गरेनन्‌। यस तथ्यले येशूको वास्तविक पिताबारे सबै भ्रमहरूलाई हटायो। भर्खरै विवाह गरेको जोडीको लागि एउटै ठाउँमा बसेर पनि सहवासबाट वञ्चित हुनु सजिलो कुरो थिएन। तर तिनीहरू दुवैले परमेश्‍वरको पुत्रको लालनपालन गर्न पाएको सुअवसरलाई धेरै महत्त्व दिन्थे भन्‍ने कुरा यसबाट प्रष्ट हुन्छ।—मत्ती १:२४, २५.

मरियम जस्तै यूसुफ पनि एक आध्यात्मिक व्यक्‍ति थिए। उनी हरेक वर्ष वार्षिक निस्तार चाडमा उपस्थित हुन आफ्नो काम रोकेरै भए पनि परिवारसहित तीन दिनको लामो बाटो हिंडेर नासरतबाट यरूशलेमसम्म यात्रा गर्थे। (लूका २:४१) साथै, यूसुफले जवान येशूलाई साप्ताहिक रूपमा स्थानीय सभाघरमा हुने उपासनामा भाग लिन पनि सिकाएको हुनुपर्छ जहाँ परमेश्‍वरको वचन पढिन्थ्यो र व्याख्या गरिन्थ्यो। (लूका २:५१; ४:१६) त्यसैले, परमेश्‍वरले आफ्नो पुत्रको लागि सही पार्थिव माता र धर्मपिता छान्‍नुभयो भन्‍ने कुरामा कुनै शंका छैन।

सीधासाधा गोठालाहरूको लागि एउटा महान्‌ आशिष्‌

नौ महिनाको गर्भ भएकी आफ्नी पत्नीलाई गाह्रो हुने भए तापनि सिजरको उर्दी बमोजिम यूसुफले दर्ताको लागि आफ्ना पितापूर्खाको शहरसम्म यात्रा गरे। ती दम्पती बेतलेहेम आइपुग्दा शहरमा एकदमै भीड भएकोले बास पाउन सकेनन्‌। यसरी परिस्थितिले तिनीहरूलाई घोडाको तबेलामा बास बस्न बाध्य तुल्यायो जहाँ येशूको जन्म भयो र उहाँलाई डुँडमा सुताइयो। तिनीहरूको विश्‍वास बलियो बनाउनको लागि यहोवाले यो जन्म परमेश्‍वरको इच्छाअनुसारै भएको हो भनी विश्‍वस्त गराउनुभयो। ती दम्पतीलाई आश्‍वासन दिन के उहाँले बेतलेहेम शहरका नाम चलेका पाको व्यक्‍तिहरूलाई पठाउनुभयो? उहाँले त्यसो गर्नुभएन। बरु, आफ्ना बथानहरूको हेरचाह गर्न खुला ठाउँमा रात बिताउने ती परिश्रमी गोठालाहरूलाई यहोवा परमेश्‍वरले त्यो कुरा प्रकट गर्नुभयो।

परमेश्‍वरको स्वर्गदूत तिनीहरूसामु देखा परे र तिनीहरूलाई बेतलेहेम जान आग्रह गरियो जहाँ तिनीहरूले “डूँड़मा सुताइराखेको” मसीहलाई भेट्टाउनेथिए। नयाँ जन्मेका मसीह तबेलामा भएको खबर सुनेर के यी नम्र मानिसहरू स्तब्ध भए वा संकोच माने? कदापि मानेनन्‌! आफ्नो बथान छाडेर बेतलेहेमतिर लाग्न तिनीहरूले कुनै ढिलासुस्ती गरेनन्‌। येशूलाई भेट्टाएपछि तिनीहरूले यूसुफ र मरियमलाई परमेश्‍वरको स्वर्गदूतले भनेका सबै कुरा बताए। निस्सन्देह, यस कुराले सबै काम परमेश्‍वरकै उद्देश्‍यअनुसार भइरहेको छ भन्‍ने कुरामा त्यस दम्पतीको विश्‍वासलाई अझ बलियो बनायो। “तिनीहरूले सुनेका र देखेका सबै कुराहरूका निम्ति, परमेश्‍वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के।” (लूका २:८-२०) हो, ईश्‍वरभीरु गोठालाहरूलाई यी कुराहरू प्रकट गर्नुभएर यहोवाले सही छनौट गर्नुभयो।

माथिको विवरणबाट यहोवाको निगाह पाउन हामी कस्तो प्रकारको व्यक्‍ति हुनु आवश्‍यक छ भनेर सिक्यौं। हामी प्रतिष्ठा वा धनको पछाडि लाग्नु आवश्‍यक छैन। बरु, यूसुफ, मरियम र ती गोठालाहरू जस्तै हामीले परमेश्‍वरको आज्ञा पालन गर्नुपर्छ र भौतिक कुराहरूलाई भन्दा आध्यात्मिक गतिविधिहरूलाई प्राथमिकता दिएर हामी उहाँलाई प्रेम गर्छौं भन्‍ने कुराको प्रमाण दिन्छौं। वास्तवमा, येशू जन्मेको बेला घटेका घटनाहरूको विवरणमा मनन गरेर सिक्नुपर्ने धेरै असल पाठहरू छन्‌।

[पृष्ठ ७-मा भएको चित्र]

मरियमले चढाएको दुइटा ढुकुरले कुन कुरालाई संकेत गर्छ?

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरले येशू जन्मेको कुरा प्रकट गर्न थोरै सीधासाधा गोठालाहरूलाई रोज्नुभयो