सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

दानियल ९:२४ मा उल्लेख गरिएको “सबैभन्दा पवित्रस्थान[को]” अभिषेक कहिले भयो?

दानियल ९:२४-२७ मा “एक अभिषेक जन, एक राजकुमार” देखापर्ने सम्बन्धमा भविष्यवाणी गरिएको छ। तसर्थ, “सबैभन्दा पवित्रस्थान[को]” अभिषेकले यरूशलेमस्थित मन्दिरको महा पवित्रस्थानको अभिषेकलाई संकेत गर्दैन। बरु, यो “सबैभन्दा पवित्रस्थान” भन्‍ने अभिव्यक्‍तिले स्वर्गमा यहोवाको महान्‌ आत्मिक मन्दिरको स्वर्गीय वासस्थान अर्थात्‌ सबैभन्दा पवित्र स्वर्गीय स्थानलाई बुझाउँछ। aहिब्रू ८:१-५; ९:२-१०, २३.

परमेश्‍वरको आत्मिक मन्दिर कहिलेदेखि सञ्चालन हुन थाल्यो? सा.यु. २९ मा येशूले बप्तिस्मा लिनुहुँदा के भएको थियो, विचार गर्नुहोस्‌। त्यसबेलादेखि येशूले भजन ४०:६-८ पूरा गर्न थाल्नुभयो। प्रेरित पावलले पछि येशूले परमेश्‍वरलाई यसरी प्रार्थना गर्नुभएको थियो भनेर संकेत गरे: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर मेरो निम्ति एक शरीर तयार पारिदिनुभयो।” (हिब्रू १०:५) परमेश्‍वरले यरूशलेमको मन्दिरमा निरन्तर चढाइने जनावरको बलिदान “चाहनुभएन” भनेर येशूलाई थाह थियो। बरु, बलिदान दिनको निम्ति यहोवाले येशूलाई सिद्ध शरीर दिनुभएको थियो। आफ्नो हार्दिक इच्छा व्यक्‍त गर्दै येशूले यसो भन्‍नुभयो: “हेर्नुहोस्‌, हे परमेश्‍वर, तपाईंकै इच्छा पूरा गर्नालाई म आएको छु।’ (पुस्तकको मुट्ठामा मेरो विषय लेखिएको छ)।” (हिब्रू १०:७) अनि यहोवाले के जवाफ दिनुभयो? मत्तीको सुसमाचार यसो भन्छ: “अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, र हेर स्वर्ग उहाँको निम्ति उघ्रियो, र उहाँले परमेश्‍वरका आत्मालाई ढुकुर झैं ओर्लदै गर्नुभएको औ आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो। औ हेर स्वर्गबाट यसो भन्‍ने एउटा शब्द भयो, ‘यिनी मेरो प्यारो पुत्र हुन्‌, जोसँग म खुशी छु।’ ”—मत्ती ३:१६, १७.

बलिदानको निम्ति येशूले चढाउनुभएको शरीरलाई यहोवा परमेश्‍वरले ग्रहण गर्नुको अर्थ यरूशलेमको मन्दिरमा भएको वेदीभन्दा पनि ठूलो वेदी अस्तित्वमा आउनु थियो। यो वेदी परमेश्‍वरको “इच्छा[को]” वेदी अथवा येशूको मानव शरीरलाई बलिदानको रूपमा ग्रहण गर्ने प्रबन्ध थियो। (हिब्रू १०:१०) येशूलाई पवित्र आत्माले अभिषेक गर्नुको अर्थ परमेश्‍वरले आफ्नो आत्मिक मन्दिरको सम्पूर्ण प्रबन्ध प्रयोगमा ल्याउनु थियो। b यसकारण, येशूको बप्तिस्मा हुँदा महान्‌ आत्मिक मन्दिरमा परमेश्‍वरको स्वर्गीय वासस्थानको अभिषेक भयो वा “सबैभन्दा पवित्रस्थान[को]” रूपमा अलग पारियो।

[फुटनोटहरू]

a परमेश्‍वरको आत्मिक मन्दिरका विभिन्‍न पक्षबारे छलफलका लागि प्रहरीधरहरा, जुलाई १, १९९६, पृष्ठ १४-१९ हेर्नुहोस्‌।

b पे अटेन्सन टु डानियल्स प्रोफेसी! पुस्तकको पृष्ठ १९५ मा यसबारे संकेत गरिएको थियो।

[पृष्ठ २७-मा भएको चित्र]

येशूले बप्तिस्मा लिनुहुँदा “सबैभन्दा पवित्रस्थान[को]” अभिषेक भएको थियो