सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किशोरावस्थामा डेटिङ गर्दा के-कस्ता हानिहरू हुन्छन्‌?

किशोरावस्थामा डेटिङ गर्दा के-कस्ता हानिहरू हुन्छन्‌?

युवा जनहरू सोध्छन्‌ . . ..

किशोरावस्थामा डेटिङ गर्दा के-कस्ता हानिहरू हुन्छन्‌?

“आजकल स्कूलका केही केटाहरूले मलाई तिनीहरूसँग डेटिङ गर्न वा तिनीहरूको गर्लफ्रेन्ड बन्‍न कर गरिरहेका छन्‌।”—बेक्की, ११ वर्षीया। a

“मेरो स्कूलका धेरैजसो केटाकेटीहरू डेटिङ गर्छन्‌। अब त क्लास बाहिर केटाकेटीहरू चुम्बन गरिरहेको देखिनु साधारण भइसक्यो।”—लियाना, १० कक्षामा अध्ययनरत विद्यार्थी।

थुप्रै युवाहरू कलिलो उमेरमै डेटिङ गर्न सुरु गर्छन्‌। डेटिङ गर्दैमा कुनै हानि हुँदैन भनेर सञ्चार माध्यमले उक्साइरहेको हुन्छ। बाह्र वर्षीया ओनेडा यसो भन्छिन्‌: “स्कूलमा बोइफ्रेन्ड र गर्लफ्रेन्ड नहुने त कोही पनि हुँदैनन्‌।” जेनिफर नाउँ गरेकी युवती यसो भन्छिन्‌: “तीन कक्षामा पढ्‌ने केटाकेटीहरूको समेत आ-आफ्नो बोइफ्रेन्ड र गर्लफ्रेन्डसित गहिरो प्रेम सम्बन्ध भएको कुरा मलाई अझै याद छ।” तिनी अझ थप्छिन्‌: “म ११ वर्षकी हुँदा नै डेटिङ गर्नुपर्ने दबाउ महसुस गर्न थालें।”

त्यसैकारण, यदि तपाईं कसैसित डेटिङ गरिरहनुभएको छैन भने, तपाईंलाई आफू मात्र विचित्रको जस्तो लाग्न सक्छ। साँच्चै भन्‍ने हो भने, डेटिङ नगर्दा उपहास र खिसीको पात्र बन्‍नुपर्ने हुन सक्छ। डेटिङ गर्ने आफ्नो उमेरै नपुगेको जस्तो लागेर जेनिफरले डेटिङ गर्न केटाहरूले राखेको प्रस्तावलाई अस्वीकार गरिन्‌। केटाहरूको प्रतिक्रिया? जेनिफर यसो भन्छिन्‌: “तिनीहरूले मेरो खिसी गरे अनि मलाई ठट्टामा उडाए।” हो, कसैलाई पनि उपहासको पात्र बन्‍न मन लाग्दैन। तर अरूले डेटिङ गरिरहेको छ भन्दैमा के तपाईंले पनि त्यसो गर्नैपर्छ र? वास्तवमा डेटिङ भनेको के हो? डेटिङ गर्नुको उद्देश्‍य के हो?

डेटिङ भनेको के हो?

‘हामी कहाँ डेटिङ गरिरहेका छौं र! हामी त साथीहरू मात्र हौं,’ विपरीत लिंगको व्यक्‍तिसित धेरै समय बिताइरहेको भए तापनि प्रायजसो जवानहरूले यसो भन्‍ने गर्छन्‌। तर यस्तो क्रियाकलापलाई चाहे तपाईं डेटिङ भन्‍नुहोस्‌ वा सँगै हिंडेको वा यसो भेटघाट गरेको मात्र भन्‍नुहोस्‌, केटा र केटी मात्र एकअर्कासित धेरै समय बिताउन थाल्छ भने त्यसलाई मित्रता मात्र भन्‍न मिल्दैन। अनि डेटिङ गर्न मान्छेलाई भेट्‌नैपर्छ भन्‍ने पनि छैन। इन्टरनेट च्याटरूम, टेलिफोन, चिठी वा इ-मेलमार्फत पनि डेटिङ गर्न सकिन्छ।

त्यसैले यस्तो प्रश्‍न उठ्‌छ, विपरीत लिंगको एक जना व्यक्‍तिसित मात्र समय बिताउनु कत्तिको खतरनाक हुन्छ?

डेटिङ गर्नुका खतराहरू

हितोपदेश ३०:१९ मा बाइबलले “स्त्रीसँग पुरुषको चाल[बारे]” बताउँछ। यस अभिव्यक्‍तिअनुसार पुरुष र स्त्रीबीचको सम्बन्धको चालढाल प्रस्ट हुन्छ। दुवै पक्ष परिपक्व छन्‌ र परमेश्‍वरका नैतिक स्तर पालन गर्छन्‌ भने मात्र डेटिङ गरेपछि माया बस्न सक्छ अनि अन्ततः आदरणीय विवाह हुन सक्छ। हुन पनि हो, परमेश्‍वरले नै स्त्री र पुरुषलाई एकआपसमा आकर्षित हुने गरी सृष्टि गर्नुभएको थियो। तर तपाईं विवाहको जिम्मेवारी उठाउन सक्ने उमेरको भइसक्नुभएको छैन भने नि? उमेरै नपुगी डेटिङ गर्दा, तपाईंले आफ्नो खुट्टामा आफैले बन्चरो हानिरहनुभएको हुनेछ।

किन? किनकि यदि तपाईंले कुनै विपरीत लिंगको व्यक्‍तिसित धेरै समय बिताउनुभयो भने यसले स्वाभाविकतः तपाईंका भावनाहरूलाई उत्तेजित गर्छ। थाहै नपाई तपाईं उसलाई भेट्‌ने प्रतिक्षा गर्न थाल्नुहुन्छ। दुई जना सँगै नहुँदा तपाईं उसैको यादमा डुबिरहनुभएको हुनुहुनेछ। अक्सर यस्ता रोमान्टिक भावना एकतर्फी हुन्छ अनि अन्तमा गएर एक जनाको मन टुट्‌छ। अनि दुवैतर्फ रोमान्टिक भावनाहरू बराबर भए तापनि दुई वा दुईमध्ये कुनै एक जना परिपक्व छैन वा विवाह गर्ने उमेरै पुगेको छैन भने मन भाँच्चिन सक्छ। त्यसोभए, त्यस्तो सम्बन्धको परिणाम कस्तो हुन्छ? बाइबल हितोपदेश यसो भन्छ: “आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्नसक्छ?”—हितोपदेश ६:२७.

नीना नाउँ गरेकी युवतीलाई विचार गर्नुहोस्‌। तिनी यसो भन्छिन्‌: “मैले इन्टरनेटमा एक जना केटालाई भेटें। हामी हरेक दिन इन्टरनेटमा घण्टौं च्याट गर्ने गर्थ्यौं। म ऊप्रति मोहित हुन थालें र ऊविना बाँच्नै नसक्ने अवस्थासम्म पुगें। तर हाम्रो सम्बन्ध धेरै समयसम्म टिकेन। जब हाम्रो सम्बन्ध टुट्यो म साह्रै निराश भएँ। त्यसरी बिछोड भएको कारण उसले मर्ने विचार गरेको कुरा मलाई फोनमा भन्यो। यो सुनेर म झनै निराश भएँ।” ती दिनहरूलाई सम्झँदै नीना यसो भन्छिन्‌: “मैले बेकारमा त्यो भूल गरेछु! ऊसित सम्बन्ध टुटेको दुइ वर्ष भइसक्यो र म अझै निराश छु।” कसैसित त्यसरी भावनात्मक सम्बन्ध गाँस्ने नीनाको उमेरै पुगेको थिएन।

चाखलाग्दो कुरा त के छ भने, बाइबलले “स्त्रीसँग पुरुषको चाल[बारे]” बताउँदा यसले यौन सम्पर्कलाई संकेत गरिरहेको हुन सक्छ। आजको संसारमा यौन सम्बन्धतर्फ उन्मुख गर्ने अक्सर पहिलो कदम नै डेटिङ हुन्छ। सुरुमा कुनै गलत मनसाय नराखेर हात समाइएला। त्यसपछि कुरै कुरामा अँगालो हालिएला अनि चुम्बन गरिएला। गम्भीर वाचा बाँधेका परिपक्व वयस्कहरूले यस्ता अभिव्यक्‍तिहरू व्यक्‍त गर्नु अर्कै कुरा हो। तर विवाह गर्ने उमेरै नपुगी यस्ता क्रियाकलापहरू गर्दा यसले केवल गलत यौन इच्छालाई जगाउँछ। “स्नेह” व्यक्‍त गर्ने यस्ता क्रियाकलापहरू बढ्‌दै गएर पछि यसले गलत वा अनैतिक रूप लिन सक्छ। यसको परिणामस्वरूप कुनै न कुनै प्रकारको व्यभिचार हुन सक्छ। b

व्यभिचारको फल पीडादायी हुन्छ। यसमा संलग्न कोही-कोही यौनजन्य रोगहरूका सिकार हुन्छन्‌। अरू कति जनाले चाहिं आफ्नो आत्मसम्मान गुमाउनुका साथै आफ्नो अन्तस्करणलाई चोट पुऱ्‍याउँछन्‌। केही किशोरीहरू गर्भवती भएका छन्‌। त्यसैकारण त बाइबलले यो आज्ञा दिएकोमा कुनै अचम्म मान्‍नुपर्दैन: “व्यभिचारदेखि अलग रहो।” (१ कोरिन्थी ६:१३, १८; १ थिस्सलोनिकी ४:३) उमेर नपुगी डेटिङ गर्नुभएन भने तपाईंलाई यो आज्ञा पालन गर्न सजिलो हुनेछ।

डेटिङ कहिले गर्ने

यसको अर्थ तपाईंको डेटिङ गर्ने उमेर कहिल्यै हुनेछैन भन्‍ने खोजेको चाहिं होइन। तर तपाईं किशोर वा किशोरी हुनहुन्छ भने, बाइबलले भनेअनुसार तपाईं आफ्नो “बैंस[मा]” हुनुहुन्छ। (१ कोरिन्थी ७:३६) यो समय एउटा परिपक्व पुरुष वा महिला बन्‍ने सुरुआत हो। यस अवधिमा तपाईंको शारीरिक, भावनात्मक अनि यौन विकास हुन थाल्छ। यस समयमा यौन इच्छालगायत अन्य भावनाहरू सबैभन्दा प्रबल हुन्छ। यद्यपि, यसै बेला तपाईंका ती सब भावनाहरू छिन-छिनमा परिवर्तन भइरहन सक्छ। यसैकारणले गर्दा, किशोरकिशोरीहरूको रोमान्स छोटो समयमै अन्त हुने गर्छ। एक किशोरी यसो भन्छिन्‌: “मेरो डेटिङ प्रायः एक हप्ताको लागि मात्र हुन्थ्यो।”

स्पष्टतः “बैंस[मा]” डेटिङ गर्नु बुद्धिमानी देखिंदैन। आफूलाई राम्ररी नचिनेसम्म, आफ्नो इच्छा र चाहनालाई राम्ररी बुझ्न सक्ने नभएसम्म, आफ्नो लक्ष्य राम्ररी निर्धारण गर्न नसकेसम्म पर्खनु नै बेस हुन्छ। साथै, विवाहको जिम्मेवारी वहन गर्न सक्ने उमेर पनि हुनुपर्छ। उदाहरणका लागि, पतिले आफ्नो परिवारको लागि शारीरिक, भौतिक अनि आध्यात्मिक कुराको प्रबन्ध गरेको यहोवा आशा गर्नुहुन्छ। तपाईं एक जना किशोर हुनुहुन्छ भने, के तपाईं जागिर खान र आफ्नो पत्नीको र सम्भवतः छोराछोरीको रेखदेख गर्न तयार हुनुहुन्छ? के तपाईं तिनीहरूको आध्यात्मिकतालाई कायम राख्न मदत दिन सक्ने अवस्थामा हुनुहुन्छ? यदि तपाईं किशोरी हुनुहुन्छ भने नि? पत्नीले आफ्नो पतिलाई प्रेम र आदर गर्नुपर्छ; पतिले गरेका निर्णयहरूलाई समर्थन गर्नुपर्छ। के सधैंभरि त्यसो गर्न तपाईं साँच्चै तयार हुनुहुन्छ? के तपाईं दिनदिनै खाना पकाउन र छोराछोरीको रेखदेख गर्नेजस्ता घरका कामहरू गर्न तयार हुनुहुन्छ?—एफिसी ५:२२-२५, २८-३१; १ तिमोथी ५:८.

उदाहरणका लागि, पश्‍चिमी मुलुकहरूमा किशोरकिशोरीहरूको आफ्नो परिवारको गाडी हाँक्ने सपना हुन्छ। तर यसो गर्नुअघि युवा युवतीहरूले के गर्नुपर्छ? अधिकांश देशहरूमा लाइसेन्स प्राप्त गर्नुअघि केही प्रशिक्षण लिनुका साथै परीक्षा दिनुपर्ने हुन्छ। किन? किनकि गाडी हाँक्नु एउटा गम्भीर जिम्मेवारी हो। गाडी हाँक्दा तपाईंलगायत अरू व्यक्‍तिहरूको जीवन तपाईंकै हातमा हुन्छ। त्यसै गरी, विवाह पनि एउटा गम्भीर जिम्मेवारी हो! तपाईं किशोर वा किशोरी हुनुहुन्छ भने, सायद तपाईं यी जिम्मेवारीहरू वहन गर्न तयार हुनुहुन्‍न होला। यस्तो परिस्थितिमा डेटिङ गर्ने दबाउलाई विरोध गर्नु नै बुद्धिमानी हुनेछ किनकि डेटिङ भनेको विवाहित जोडी खोज्ने कदम हो। सरल अर्थमा भन्‍ने हो भने: यदि तपाईं विवाहको लागि तयार हुनुहुन्‍न भने, तपाईंले डेटिङ गर्नुहुँदैन।

यस सन्दर्भमा बुद्धिमानी निर्णय गर्न, बाइबलले भनेझैं तपाईंमा “ज्ञान र विवेक” हुनु आवश्‍यक छ। (हितोपदेश १:४) यसको लागि कुनै पाको मानिसको ज्ञान र अनुभवबाट सिक्नु बेस हुनेछ। तपाईं विवाहको लागि तयार हुनुहुन्छ कि हुनुहुन्‍न भनी निर्णय गर्न मदत गर्ने तपाईंका मसीही आमाबाबुभन्दा उत्तम अरू को नै हुन सक्ला र! अनि तपाईं मसीही मण्डलीका केही परिपक्व सदस्यहरूबाट पनि मदत लिन चाहनुहुन्छ होला। यदि तपाईंका आमाबाबु तपाईंले अहिले डेटिङ गरेको चाहनुहुन्‍न भने, उहाँहरूको कुरा सुन्‍नु नै उचित हुनेछ। उहाँहरू तपाईंको “शरीरको दुःखलाई” हटाउन चाहनुहुन्छ।—उपदेशक ११:१०.

यदि उहाँहरूलाई तपाईं डेटिङको लागि अझै तयार भइसक्नुभएको छैन जस्तो लागेमा, उहाँहरूले तपाईंलाई एउटै व्यक्‍तिमा मात्र आफ्नो ध्यान केन्द्रित नगरेर आफ्ना साथीहरूको दायरालाई बढाउने सल्लाह दिनुहोला। अविवाहित र विवाहित, वृद्ध र जवान अनि आफ्नै दौतरीहरूसित संगत गर्नुभएमा तपाईंले आफ्नो व्यक्‍तित्वलाई अझ प्रखर बनाउन सक्नुहुन्छ अनि जीवन र विवाहबारे अझ व्यावहारिक दृष्टिकोण राख्न सक्नुहुन्छ।

हुन त डेटिङ गर्ने उमेर नपुगेसम्म पर्खनु सजिलो हुनेछैन। तर यसरी पर्खन गरेको प्रयास बेकार हुनेछैन। आफ्नो ‘बैंस[लाई]’ परिपक्वतातर्फ बढ्‌न, जिम्मेवार वयस्क बन्‍न प्रयोग गरेर तपाईंले आफूलाई धेरै समस्याहरूबाट जोगाउन सक्नुहुनेछ। यसो गरेर तपाईं आफूलाई विवाहका समस्या तथा जिम्मेवारीहरू वहन गर्न सक्ने योग्य व्यक्‍तिको रूपमा उभ्याउन सक्नुहुनेछ। साथै, तपाईंले आफ्नो आध्यात्मिकता विकास गर्न पनि मदत पाउनुहुनेछ। यस प्रकार, जब तपाईं डेटिङको लागि साँच्चै तयार हुनुहुन्छ, तपाईं चिनजान बढाउन लायकको व्यक्‍ति हुनुहुन्छ भन्दै अरू आफै अग्रसर हुनेछन्‌। (g01 12/22)

[फुटनोटहरू]

a केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

b व्यभिचार अर्थ बुझाउने युनानी शब्द पोरनिया हो। यसले विवाहित जोडीबाहेक अन्य व्यक्‍तिसित यौनांगहरू चलाएर गरिने कुनै पनि यौन क्रियाकलापलाई संकेत गर्छ। यसमा यौनांगहरू सुम्सुम्याउनु र मुख मैथुन पनि समावेश छन्‌।

[पृष्ठ १४-मा भएको चित्र]

स्नेह व्यक्‍त गर्ने क्रियाकलापहरू अक्सर बढ्‌दै जान्छन्‌