सीधै सामग्रीमा जाने

शास्त्रपदको व्याख्या

यर्मिया ११:११—“म तिनीहरूमाथि विपत्ति ल्याउनेछु”

यर्मिया ११:११—“म तिनीहरूमाथि विपत्ति ल्याउनेछु”

“त्यसकारण यहोवा यसो भन्‍नुहुन्छ, ‘म तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनेछु, जसबाट तिनीहरू उम्कन सक्नेछैनन्‌। अनि तिनीहरूले सहायताको निम्ति पुकार्दा म तिनीहरूको पुकारा सुन्‍नेछैनँ।’”—यर्मिया ११:११, नयाँ संसार अनुवाद।

“यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ: ‘म तिनीहरूमाथि विपत्ति ल्याउनेछु, जसबाट तिनीहरू उम्कन सक्दैनन्‌। तिनीहरूले मेरो पुकार गरे तापनि म सुन्‍नेछैनँ।’”—यर्मिया ११:११, नयाँ संशोधित संस्करण।

यर्मिया ११:११ को अर्थ

 परमेश्‍वरले यो चेतावनी भविष्यवक्‍ता यर्मियाको समयका यहुदीहरूलाई दिनुभएको थियो। त्यतिबेला थुप्रै यहुदीले यहोवाको a व्यवस्था र उहाँका भविष्यवक्‍ताहरूले दिएको मायालु सल्लाह सुन्‍न इन्कार गरे। त्यसैले उहाँले तिनीहरूलाई नराम्रो नतिजा भोग्नदेखि जोगाउनुहुने थिएन।—हितोपदेश १:२४-३२.

 “त्यसकारण यहोवा यसो भन्‍नुहुन्छ।” “त्यसकारण” भन्‍ने शब्दले अघिल्ला पदहरूलाई त्यसपछि भनिएका कुराहरूसित जोड्‌छ। यर्मिया ११:१-१० मा यहोवाले आफ्ना मानिसहरूले करार तोडेको कुरा बताउनुभयो, जुन करार तिनीहरूका पितापुर्खाले उहाँसित गरेका थिए। (प्रस्थान २४:७) यहुदीहरूले आफ्ना सृष्टिकर्ताको उपासना गर्नुको साटो मूर्तिलाई पुज्न थाले। ती धर्मत्यागी यहुदीहरूले हरेक किसिमको खराब काम गर्न थाले। तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि समेत चढाए।—यर्मिया ७:३१.

 “म तिनीहरूमाथि . . . विपत्ति ल्याउनेछु।” बाइबलमा कुनै-कुनै कुरा परमेश्‍वरले नै गर्नुभएको जस्तोगरि लेखिए तापनि वास्तवमा ती उहाँले हुन मात्र दिनुभएको हो। के यस पदको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ? झूटा देवीदेवताको उपासना गरेर अनि यहोवाको उच्च स्तरलाई बेवास्ता गरेर यहुदीहरूले आफैमाथि थुप्रै विपत्ति ल्याए। तिनीहरूले यहोवाबाट सुरक्षा पनि पाएनन्‌। नतिजास्वरूप तिनीहरूको शक्‍तिशाली शत्रु अर्थात्‌ बेबिलोनका राजाले यरुसलेमलाई हराए र त्यहाँका बासिन्दाहरूलाई निर्वासनमा लगे। तिनीहरूले भरोसा गरेको झूटा देवीदेवताले तिनीहरूलाई बचाउन सकेनन्‌।—यर्मिया ११:१२; २५:८, ९.

 “तिनीहरूले सहायताको निम्ति पुकार्दा म तिनीहरूको पुकारा सुन्‍नेछैनँ।” “हात रगतले लतपतिएका” वा छुटकाराको लागि झूटा देवीदेवतामा भर पर्ने मानिसहरूको प्रार्थना यहोवा सुन्‍नुहुन्‍न। (यसैया १:१५; ४२:१७) तर आफूले गरेको खराब कामको लागि मनैदेखि पश्‍चात्ताप गर्ने र नम्र भई उहाँकहाँ फर्कने मानिसहरूको प्रार्थना भने उहाँ सुन्‍नुहुन्छ।—यसैया १:१६-१९; ५५:६, ७.

यर्मिया ११:११ को प्रसङ्‌ग

 ईसापूर्व ६४७ मा यहोवाले यर्मियालाई भविष्यवक्‍ता नियुक्‍त गर्नुभयो। तिनले ४० वर्षसम्म यहुदाका मानिसहरूलाई परमेश्‍वरले ल्याउनुहुने न्यायबारे चेतावनी दिए। तर तिनीहरूले तिनको कुरा सुनेनन्‌। त्यही समयमा तिनले यर्मिया ११:११ मा उल्लिखित शब्दहरू लेखे। अन्ततः ईसापूर्व ६०७ मा बेबिलोनीहरूले यरुसलेम विनाश गर्दा त्यो भविष्यवाणी पूरा भयो।—यर्मिया ६:६-८; ३९:१, २, ८, ९.

 यर्मियाको किताबमा आशाको सन्देश पनि पाइन्छ। यहोवाले यसो भन्‍नुभयो: “तिमीहरू बेबिलोनमा बसेको ७० वर्ष पूरा भइसकेपछि म . . . तिमीहरूलाई फेरि तिमीहरूको ठाउँमा फर्काएर आफ्नो प्रतिज्ञा पूरा गर्नेछु।” (यर्मिया २९:१०) ईसापूर्व ५३७ मा मादी र फारसले बेबिलोनलाई पराजित गरेपछि यहोवाले त्यो “प्रतिज्ञा पूरा” गर्नुभयो। उहाँले बेबिलोन साम्राज्यमा छरिएर बसेका आफ्ना मानिसहरूलाई तिनीहरूको ठाउँमा फर्काएर ल्याउनुभयो र तिनीहरूले शुद्ध उपासना पुनर्स्थापित गरे।—२ इतिहास ३६:२२, २३; यर्मिया २९:१४.

 यर्मियाको किताबको विषयवस्तुबारे बुझ्न यो छोटो भिडियो हेर्नुहोस्‌।

a यहोवा नेपाली भाषामा परमेश्‍वरको नाम हो, जुन हिब्रू भाषाबाट अनुवाद गरिएको हो। धेरैजसो बाइबल अनुवादमा परमेश्‍वरको नामको सट्टा “प्रभु”-जस्ता पदवीहरू प्रयोग गरिनुको कारणबारे बुझ्न “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।