Photo by Stringer/Getty Images
जागा रहो!
मध्यपूर्वमा भइरहेको युद्ध—यसबारे बाइबल के भन्छ?
अमेरिका, इजरायल र इरानमा भइरहेको युद्धको नतिजा कस्तो हुने होला भनेर संसारभरिका मानिसहरू चिन्तित छन्। के त्यो युद्ध अझै चर्किनेछ? अनि के त्यसले अझ थुप्रै देशहरूलाई असर गर्नेछ? अथवा के सरकारहरूले अहिले भइरहेको युद्ध रोक्न र चिरस्थायी शान्ति ल्याउन सक्नेछन्?
बाइबलका भविष्यवाणीहरूबारे थाह भएकाहरूलाई अहिले मध्यपूर्वमा भइरहेको युद्ध प्रकाशको किताबमा उल्लेख गरेको आरमागेडोनको युद्धको सुरुवात हो कि जस्तो लाग्न सक्छ।
यसबारे बाइबल के भन्छ?
के सरकारहरूले मध्यपूर्वमा भइरहेको युद्ध रोक्न सक्नेछन्?
बाइबल यसो भन्छ: “शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्।”—भजन १४६:३.
मध्यपूर्वमा भइरहेको युद्धलाई सरकारहरूले रोक्न सक्लान् कि नसक्लान्, त्यो त समयले नै देखाउनेछ। तर बाइबलमा कुनै पनि राजनैतिक नेता, मानव सरकार अथवा मानिसहरूको समूहले युद्धको अन्त गर्न र चिरस्थायी शान्ति ल्याउन सक्दैन भनेर स्पष्टसित बताइएको छ। बरु परमेश्वरले मात्र पृथ्वीबाट “युद्ध नामेट” पार्न सक्नुहुन्छ।—भजन ४६:९.
यसबारे थप कुरा जान्न “युद्ध अन्त हुने समय नजिकै छ!” शीर्षकको प्रहरीधरहरा पत्रिका पढ्नुहोस्।
के मध्यपूर्वमा भइरहेको युद्धले बाइबलको भविष्यवाणी पूरा गर्छ?
बाइबल यसो भन्छ: “तिमीहरूले युद्धको कोलाहल अनि युद्धको खबर सुन्नेछौ . . . जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।”—मत्ति २४:६, ७.
अहिले मध्यपूर्वमा भइरहेको युद्ध हामी “यस युगको आखिरी समयमा” बाँचिरहेका छौँ भन्ने कुराको अर्को प्रमाण हो, जसलाई बाइबलमा “अन्तको दिन” पनि भनिएको छ। (मत्ति २४:३; २ तिमोथि ३:१) अहिले भइरहेका युद्धहरूले के देखाउँछ भने परमेश्वरले युद्धको अन्त गर्न चाँडै कदम चाल्नुहुनेछ र मानिसहरूलाई पिरोलिरहेका अरू समस्याहरू पनि हटाउनुहुनेछ।
यसबारे थप कुरा जान्न “‘अन्तको दिन’ वा ‘अन्तको समय’-को चिन्ह के हो?” भन्ने लेख पढ्नुहोस।
के आरमागेडोनको युद्ध मध्यपूर्वमा सुरु हुनेछ?
बाइबल यसो भन्छ: “अनि तिनीहरूले ती राजाहरूलाई हिब्रू भाषामा आरमागेडोन भन्ने ठाउँमा जम्मा गरे।”—प्रकाश १६:१६.
आरमागेडोनको युद्ध मानव सरकारहरूबीच हुने युद्ध होइन, जुन मध्यपूर्वमा सुरु भएको छ। बरु यो सबै मानव सरकारहरू र परमेश्वरबीच हुने युद्ध हो, जसले पुरै पृथ्वीमा असर गर्नेछ।
यसबारे थप कुरा जान्न “आरमागेडोनको युद्ध भनेको के हो?” भन्ने लेख पढ्नुहोस्।
अहिलेको तनावपूर्ण अवस्थाको सामना गर्न हामीलाई केले मदत गर्न सक्छ?
बाइबल यसो भन्छ: “कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।”—फिलिप्पी ४:६.
यहोवा a परमेश्वर हामीले उहाँलाई प्रार्थना गरेको चाहनुहुन्छ। हाम्रो ख्याल राख्नुहुने भएकोले उहाँ हाम्रो प्रार्थना सुन्नुहुन्छ र चिन्ता-फिक्रीको सामना गर्न मदत गर्नहुन्छ। (१ पत्रुस ५:७) कसरी? एउटा तरिका भनेको, अहिले युद्धहरू हुनुको कारण बुझ्न उहाँले हामीलाई मदत गर्नुभएको छ। त्यति मात्र होइन, युद्ध कसरी अन्त हुनेछ अनि अहिले हामीले भोगिरहेका दुःख र पीडा उहाँले कसरी हटाउनुहुनेछ भन्नेबारे पनि बुझ्न मदत गर्नुभएको छ।—प्रकाश २१:३, ४.
परमेश्वरले हामीलाई कसरी मदत गर्नुहुन्छ भन्नेबारे अझ धेरै जान्न “तपाईँ बाइबलमा सान्त्वनादायी कुराहरू पाउन सक्नुहुन्छ” भन्ने लेख पढ्नुहोस्।