सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जवान हो, आमाबाबुको मनमा खुसियाली छरिदिनुहोस्‌

जवान हो, आमाबाबुको मनमा खुसियाली छरिदिनुहोस्‌

जवान हो, आमाबाबुको मनमा खुसियाली छरिदिनुहोस्‌

वृद्ध प्रेरित यूहन्‍नाले “मेरा छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ्‌ता आनन्द अरू मलाई हुँदैन” भनी लेखे। (३ यूहन्‍ना ४) यस बाइबल पदमा बताइएको छोराछोरी येशूका चेलाहरू भए तापनि परमेश्‍वरको डर मान्‍ने आमाबाबुले यूहन्‍नाका यी शब्दहरूको भाव सजिलै बुझ्न सक्छन्‌। जसरी आमाबाबुले आफ्नो सन्तानको जीवनमा धेरै फरक पार्छन्‌, त्यसै गरी छोराछोरीले पनि आफ्नो आमाबाबुको जीवनमा फरक पार्छन्‌।

छोराछोरीले आमाबाबुको जीवनमा कत्तिको फरक पार्न सक्छन्‌, सो कुरा इस्राएलका राजा सुलेमानले याद गरे। तिनले लेखे: “बुद्धिमान छोराले बाबुलाई खुशी तुल्याउँछ, मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।” (हितोपदेश १०:१) त्यसैकारण छोराछोरीहरू—चाहे हुर्किसकेका नै किन नहोऊन्‌, आफूले चाल्ने कदमले आमाबाबुलाई कस्तो असर पार्छ भनी विचार गर्नु बुद्धिमानी हुनेछ। यसो गर्नु किन उचित छ?

परमेश्‍वरको डर मान्‍ने बा-आमाले तपाईंको लालनपालनमा दिन-रात नभनी कत्ति मेहनत गर्नुभएको छ, एकछिन सोच्नुहोस्‌ त! तपाईं जन्मिनुअघि नै उहाँहरूले तपाईंको लागि चिन्ता र प्रार्थना गर्न थालिसक्नुभएको थियो। तपाईं जन्मेपछि आमाबाबु दुवैले तपाईंसित आत्मीय सम्बन्ध बढाउँदै लैजानुभयो। सायद आमाबाबु हुने सुवर्ण अवसर र गम्भीर जिम्मेवारी पाएकोमा उहाँहरूले परमेश्‍वरलाई धन्यवाद पनि चढाउनुभयो होला। एउटा अबोध शिशुको हेरचाह गर्ने जिम्मेवारी उहाँहरूको थाप्लोमा आयो र उहाँहरू यहोवाको उपासक भएकोले यसलाई गम्भीरतासाथ लिनुभयो।

तपाईंका आमाबाबु परमेश्‍वरका साँचो उपासक हुनुभएकोले भरपर्दो डोऱ्‍याइको लागि बाइबल र बाइबल आधारित प्रकाशनहरूमा भर पर्नुभयो। अरू अनुभवी आमाबाबुहरूको सर-सल्लाह पनि लिनुभयो। प्रार्थनामा पनि उहाँहरूले आफ्ना चिन्ता पोखाउनुभयो। (न्यायकर्त्ता १३:८) तपाईं ठूलो हुँदै जाँदा आमाबाबुले तपाईंका राम्रा गुणहरू थाह पाउनुभयो तर तपाईंका कमजोरीहरूप्रति पनि आँखा चिम्लिनु भएन। (अय्यूब १:५) किशोरावस्था पुगेपछि नयाँ-नयाँ चुनौतीहरू आए। कहिलेकाहीं तपाईंले आफ्नो आमाबाबुको टेरपुच्छर लगाउनुभएन होला। त्यसैले गर्दा तपाईंलाई यहोवाकै उपासक रहिरहन मदत गर्नको लागि तपाईंको आमाबाबुले डोऱ्‍याइको लागि अझ धेरै प्रार्थना गर्नुपऱ्‍यो होला, उहाँहरूले परमेश्‍वरको वचन अझ धेरै पढ्‌नुका साथै चिन्तन-मनन गर्नुभयो होला।

आमाबाबु सधैं आमाबाबु नै रहिरहन्छन्‌। तपाईं ठूलो भइसक्नुभएपछि पनि उहाँहरूले तपाईंको शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक हितको चिन्ता गर्न छोड्‌नुहुन्‍न। तर आमाबाबुलाई यो कुरा पनि थाह छ कि ठूलो भएपछि जीवनमा तपाईं आफैले निर्णयहरू गर्नुपर्छ र तपाईंको जीवन पछि गएर कस्तो हुने हो भन्‍ने कुराको कुनै ग्यारेन्टी छैन। कुन मार्ग पछ्याउने भन्‍ने निर्णय त आखिर तपाईं आफैले लिनुहुनेछ।

त्यसैकारण, आमाबाबुलाई “छोरा-छोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ्‌ता आनन्द अरू” केहीमा हुँदैन भनेझैं छोराछोरी सत्यबाट तर्किंदा पनि उहाँहरूलाई उत्तिकै दुःख लाग्छ भनेर भन्‍न सकिंदैन र? साँच्चै, मूर्ख मार्गमा हिंड्‌ने छोराछोरीले आमाबाबुलाई पिरोल्छन्‌ मात्रै। सुलेमानले यसो भने: “मूर्ख छोराले आफ्ना बाबुलाई पिर्छ, औ त्यसलाई जन्माउने आमाको निम्ति त्यो अत्यन्तै शोकको कारण हुन्छ।” (हितोपदेश १७:२५) छोराछोरीले साँचो परमेश्‍वरको मार्ग त्याग्दा आमाबाबुलाई कत्ति चोट पुग्छ!

परिवारमा र बाहिर केही हदसम्म अवश्‍यै तपाईंको जोर चल्छ होला। तपाईंको आचरणले आमाबाबुलाई गहिरो प्रभाव पार्छ। तपाईंले परमेश्‍वर र उहाँका सिद्धान्तहरूप्रति पीठ फर्काउनुभयो भने आमाबाबु दुःखी हुनुहुनेछ। तर परमेश्‍वरप्रति आज्ञाकारी र विश्‍वासी रहनुभयो भने आमाबाबुको मनमा खुसीयाली छाउनेछ। त्यसैले तपाईंको आमाबाबुको मनमा खुसीयाली छरिदिने संकल्प गर्नुहोस्‌! तपाईंलाई हुर्काउनुहुने, सुरक्षित राख्नुहुने र माया गर्नुहुने आमाबाबुलाई दिने त्योभन्दा अनमोल उपहार अरू के हुन सक्छ र? (w07 5/1)