सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

संसारका थुप्रै ठाउँहरूमा, विवाहमा उपहार दिने चलन छ। यस्ता उपहारहरू दिंदा वा प्राप्त गर्दा हामीले कस्ता धर्मशास्त्रीय सिद्धान्तहरू विचार गर्नुपर्छ?

सही मनोभावसहित र सही अवसरमा दिइने उपहारलाई बाइबलले स्वीकार्य ठान्छ। दिने सन्दर्भमा, बाइबलले साँचो मसीहीहरूलाई आफ्ना उदार दाता यहोवाको अनुकरण गर्न प्रोत्साहन दिन्छ। (याकूब १:१७) प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “भलाइ गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्छ।” यसकारण, मसीहीहरूलाई उदार हुन प्रोत्साहित गरिन्छ।—हिब्रू १३:१६; लूका ६:३८.

संयुक्‍त राज्य अमेरिकामा प्रचलित चलन, गिफ्ट रजिस्ट्री अर्थात्‌ नयाँ वैवाहिक जोडीले उपहारस्वरूप चाहने सरसामानहरूको सूची भएको पुस्तक प्रयोग गर्ने विषयमा के भन्‍न सकिन्छ, जुन डिपार्टमेन्ट स्टोरमा पाइन्छ? बेलाइतमा यसलाई विवाह सूची भन्‍ने गरिन्छ। अक्सर, निकट भविष्यमा विवाह गर्न लागेका जोडीले डिपार्टमेन्ट स्टोरका सरसामानहरू जाँचबुझ गर्नुका साथै उपहारस्वरूप प्राप्त गर्न चाहेका सरसामानहरूको सूची बनाएर उक्‍त पसलमा रजिस्टर गर्छन्‌। उक्‍त जोडीका नातेदार तथा इष्टमित्रहरूलाई उपयुक्‍त स्टोरमा गएर उक्‍त जोडीले रजिस्टर गरेको सूचीबाट सरसामान किन्‍न निर्देशन दिइन्छ। व्यावहारिक दृष्टिकोणबाट हेर्ने हो भने, गिफ्ट रजिस्ट्री सूचीले गर्दा उपहार दिन चाहनेहरूले घण्टौं लगाएर उपहार खोजिरहनु पर्दैन भने, उपहार प्राप्त गर्नेहरू पनि आफूलाई नचाहेका उपहारहरू पसललाई फर्काइरहनुपर्ने झन्झटबाट मुक्‍त हुन्छन्‌।

विवाह गर्न लागेका जोडीले गिफ्ट रजिस्ट्री प्रयोग गर्ने या नगर्ने त्यो व्यक्‍तिगत निर्णयको कुरा हो। तथापि, बाइबल सिद्धान्तहरू उल्लंघन हुने कुनै पनि प्रचलनहरूमा सहभागी हुनदेखि मसीहीहरू सतर्क रहन चाहनेछन्‌। उदाहरणका लागि, मगनी भइसकेका जोडीले अत्यन्त महँगा सरसामानहरूको मात्र सूची बनाए भने नि? यस्तो अवस्थामा, कम बजेट भएका व्यक्‍तिहरू उपहार किन्‍न असमर्थ हुन सक्छन्‌ वा सस्तो उपहार ल्याएको कारण अप्ठ्यारोमा नपर्न बरु विवाहमा उपस्थित हुने निम्तो अस्वीकार गर्नु नै उनीहरूलाई बेस लाग्न सक्छ। एउटी मसीही स्त्रीले यस्तो लेखिन्‌: “यस्तो चलन बोझिलो बन्दै गइरहेको छ। मैले उदार हुने कोसिस गरेकी छु तर दिंदा मैले जुन आनन्द प्राप्त गर्थें ती सबै आजकल गुमाइसकेकी छु।” विवाहजस्तो कुरा निरुत्साहको कारण बन्यो भने कत्ति दुःखलाग्दो हुनेछ!

निश्‍चय पनि, उपहार दिन चाहनेहरूलाई उनीहरूको उपहार ग्रहणयोग्य हुनका लागि यी उपहारहरू कुनै निश्‍चित पसलबाटै किनेको हुनुपर्छ वा तोकिएको मूल्यभित्र परेको हुनै पर्छ भन्‍ने महसुस गर्न लगाउनु हुँदैन। आखिर, येशू ख्रीष्टले परमेश्‍वरको नजरमा सबैभन्दा मूल्यवान्‌ कुरा भनेको दिने व्यक्‍तिको हृदयको मनोवृत्ति हो, उपहारको भौतिक मूल्य होइन भनेर संकेत गर्नुभयो। (लूका २१:१-४) त्यस्तै गरी, दानपुण्य गर्ने सन्दर्भमा प्रेरित पावलले यस्तो लेखे: “हरेक मानिसले आफ्नो मनमा अडकले बमोजिम गरोस्‌, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.

बाइबलीय दृष्टिकोणबाट कुरा गर्ने हो भने, उपहारमै सानो नोट लेखेर उपहार दिने व्यक्‍तिको रूपमा आफूलाई चिनाउनुमा कुनै खराबी छैन। तथापि, कुनै-कुनै ठाउँहरूमा भने उपस्थित सबैको सामु उपहार दिने व्यक्‍ति चिनाउने चलन हुन सक्छ। यस्तो चलनले समस्या खडा गर्न सक्छ। उपहार दिने व्यक्‍तिहरूले आफूतिर अरूको अनावश्‍यक ध्यान नखिच्नका लागि आफूलाई अरूसमक्ष नचिनाउने इच्छा गर्लान्‌। यस्ता व्यक्‍तिविशेषले मत्ती ६:३ मा भएको सिद्धान्तअनुरूपै व्यवहार गर्छन्‌, जहाँ येशू यसो भन्‍नुहुन्छ: “तर जब तिमी दान-पुण्य गर्दछौ, तिम्रो दाहिने हातले गरेको बायाँ हातले थाह नपाओस्‌।” अन्य कतिपयले चाहिं उपहार दिने कुरा निजी मामिला हो अनि यो कुरा दिने र प्राप्त गर्ने व्यक्‍तिबीच गोप्य रहनुपर्छ भन्‍ने महसुस गर्न सक्छन्‌। यसबाहेक, उपहार दिने व्यक्‍तिहरूलाई चिनाउँदा त्यसले उपहारहरूबीच तुलना गर्ने झुकाव बढाउन सक्छ र आपसमा “डाह” गर्न लगाउँछ। (गलाती ५:२६) मसीहीहरूले निश्‍चय पनि उपहार दिने व्यक्‍तिहरूको नाउँ सबैले सुन्‍ने गरी घोषणा गरेर कुनै पनि व्यक्‍तिलाई अप्ठ्यारो वा लाजमर्दो महसुस गराउन चाहँदैनन्‌।—१ पत्रुस ३:८.

हो, परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरू अनुरूप चलेर उपहार दिंदा यो आनन्दको स्रोत भइरहनेछ।—प्रेरित २०:३५.