सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मिश्र देशको खजानाभन्दा ठूलो सम्पत्ति

मिश्र देशको खजानाभन्दा ठूलो सम्पत्ति

मिश्र देशको खजानाभन्दा ठूलो सम्पत्ति

मोशा इतिहासका महान्‌ व्यक्‍तित्वहरूमध्ये एक हुन्‌। चारवटा बाइबल पुस्तक अथवा प्रस्थानदेखि व्यवस्थासम्म प्रायजसो परमेश्‍वरले मोशाको नेतृत्वमा भएको इस्राएल राष्ट्रसँग कसरी व्यवहार गर्नुभयो भन्‍ने कुरा पाइन्छ। तिनले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याए, व्यवस्थाको करारको लागि मध्यस्थता भए अनि इस्राएललाई प्रतिज्ञा गरिएको देशको सीमासम्म डोऱ्‍याए। मोशा फिरऊनको घरमा हुर्केका थिए तर तिनी परमेश्‍वरको जनको नियुक्‍त प्रमुखका साथसाथै अगमवक्‍ता, न्यायाधीश र ईश्‍वरप्रेरित लेखक थिए। यद्यपि, तिनी “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए।”—गन्ती १२:३.

बाइबलमा दिइएको मोशाको प्रायजसो विवरणले तिनको जीवनको अन्तिम ४० वर्ष अर्थात्‌ इस्राएलको दासत्वबाट मुक्‍तिदेखि मोशाको १२० वर्षको उमेरमा मृत्युसम्मको समयावधिलाई ढाक्छ। तिनी ४० देखि ८० वर्षसम्म मिद्यानमा गोठालो थिए। तर एउटा स्रोतअनुसार, तिनको जीवनको सुरुको ४० वर्ष अर्थात्‌ तिनको जन्मदेखि मिश्रबाट नभागेसम्मको “जीवन सबैभन्दा रोमाञ्चक तर अस्पष्ट समय थियो।” यस समयावधिबारे हामी के थाह पाउन सक्छौं? मोशा हुर्केको परिस्थितिले तिनलाई जीवनमा पछि कसरी असर गऱ्‍यो? तिनी कस्ता प्रभावहरूमा परेका हुन सक्छन्‌? तिनले कस्ता चुनौतीहरू सामना गर्नुपर्ने थियो? अनि यी सबैबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

मिश्रमा दासत्व

मिश्रमा इस्राएलीहरूको संख्या बढ्‌दै गएकोले फिरऊन डराउन थाले भनी प्रस्थानको पुस्तकले बताउँछ। “बुद्धिले काम” गरेको भन्ठान्दै तिनले तिनीहरूको संख्या घटाउन कोर्रा लगाउने, कामदारीहरूको निगरानीमा तिनीहरूलाई भारी बोकाउने, माटोको काम, इँटा बनाउने जस्ता कठिन कामहरू गर्न लगाए।—प्रस्थान १:८-१४; ५:६-१८.

मोशा जन्मेको समयको मिश्र देशबारे दिइएको विवरण ऐतिहासिक प्रमाणसँग मिल्छ। पुरातन पपाइरस र कम्तीमा पनि एउटा चिहानमा कुँदिएको चित्रले सा.यु.पू. दोस्रो शताब्दी वा त्योभन्दा अघि दासहरूले माटोको इँटा बनाएको चित्रण गरेको छ। इँटा आपूर्तिको जिम्मा पाएका अधिकारीहरूले सयौं दासहरूलाई ६ देखि १८ जनाको समूहमा छुट्याउँथे र एक जना कामदारी वा टोली नेता नियुक्‍त गर्थे। इँटाको निम्ति तिनीहरूले माटो आफै खनेर निकाल्नुपर्थ्यो र इँटा बनाउने ठाउँसम्म पराल पुऱ्‍याउनुपर्थ्यो। विभिन्‍न राष्ट्रका मानिसहरूले पानी निकाल्थे र तिनीहरूले साबेल प्रयोग गरेर माटो तथा पराल मिसाउँथे। चारपाटे साँचोबाट लाइनका लाइन इँटाहरू निकालिन्थ्यो। त्यसपछि कामदारहरूले घाममा सुकाइएका इँटाहरू निर्माणस्थलसम्म पुऱ्‍याउनुपर्थ्यो र कहिलेकाहीं तिनीहरू अलि भिरालो बनाएर तलतिर पठाइदिन्थे। मिश्री निरीक्षकहरू हातमा कोर्रा लिएर निगरानी गर्थे वा यताउता डुलिरहन्थे।

एउटा पुरातन लेखा कागजातले, ६०२ जना कामदारले ३९,११८ वटा इँटा बनाएको उल्लेख गर्छ। त्यसको अर्थ हो, एक चोटिमा एक जना कामदारले सरदर ६५ वटा इँटा बनाउनुपर्थ्यो। अनि सा.यु.पू. १३ औं शताब्दीको एउटा कागजातमा यसो भनिएको छ: “मानिसहरू . . . दिनहुँ आफ्नो भागमा परेको इँटा बनाउँदैछन्‌।” यी सबै कुरा प्रस्थानको पुस्तकमा इस्राएलीहरूको अवस्थाबारे गरिएको विवरणसित मेल खान्छ।

शोषणको बावजूद हिब्रू जनसंख्यामा कमी आएन। बरु, “जति जति [मिश्रीहरूले] उनीहरूलाई सताए उति उति उनीहरूको संख्या बढ़नलाग्यो, . . . यसैले इस्राएली जातिसँग तिनीहरू डराउनलागे।” (प्रस्थान १:१०, १२) यसर्थ, फिरऊनले पहिला हिब्रू सुँडेनीहरूलाई अनि आफ्ना जनहरूलाई इस्राएलीहरूले बच्चा जन्माउँदा छोरा रहेछ भने मार्ने आदेश दिए। यस्तो डरलाग्दो परिस्थितिको बेला अम्राम र योकेबेदको कोखबाट हेर्दै रहरलाग्दो बालक मोशाको जन्म भयो।—प्रस्थान १:१५-२२; ६:२०; प्रेरित ७:२०.

लुकाएको, भेट्टाएको र गोद लिएको

मोशाका आमाबाबुले फिरऊनको आज्ञा पालन गरेनन्‌ र आफ्नो सानो छोरालाई लुकाए। के तिनीहरूले बालकहरू छन्‌ कि छैनन्‌ भनी खोज्दै हिंडेका जासुसहरूको खतराको बावजूद आफ्नो छोरालाई लुकाए? हामीले यकिनका साथ भन्‍न सक्दैनौं। तर जे होस्‌, मोशा तीन महिनाको भएपछि आमाबाबुले तिनलाई लुकाएर राख्न सकेनन्‌। त्यसैले विचलित भएकी तिनकी आमाले कुशको एउटा टोकरी बनाइन्‌ र त्यसमा पानी पस्न नदिनको निम्ति अलकत्राले लिपिन्‌ र बच्चालाई त्यसैमा राखिन्‌। योकेबेदले हिब्रूहरूका जत्ति छोरा जन्मन्छन्‌ तिनीहरू सबैलाई नील नदीमा फालिदिनू भन्‍ने फिरऊनको आज्ञा अक्षरशः पालन गरे तापनि त्यसप्रति पूर्ण सहमत भने थिएनन्‌। त्यसपछि मोशाको दिदी मरियमचाहिं के हुँदो रहेछ भनी हेर्नलाई टाढा उभिरहिन्‌।—प्रस्थान १:२२–२:४.

फिरऊनकी छोरी नदीमा नुहाउन आउँदा मोशालाई भेट्टाओस्‌ भन्‍ने योकेबेदको मनसाय थियो कि थिएन भनेर त थाह छैन तर त्यस्तै भयो। राजकुमारीले त्यो हिब्रूहरूको बच्चा हुनुपर्छ भनेर थाह पाइन्‌। तिनले के गरिन्‌? के तिनले आफ्नो बुबाको आदेश पालन गर्दै त्यस बालकलाई मार्ने आज्ञा दिने थिइन्‌? अहँ त्यसो गरिनन्‌ तर साधारणतया स्त्रीहरूले जे गर्नेथिइन्‌, त्यसै गरिन्‌। तिनले अनुकम्पापूर्ण व्यवहार गरिन्‌।

मरियम तुरुन्तै त्यहाँ पुगिहालिन्‌। “के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजूरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊँ?” भनी प्रश्‍न गरिन्‌। कसै-कसैलाई यो विवरण एकदम अमिल्दो लाग्छ। मोशाकी दिदीको व्यवहार फिरऊनको भन्दा ठीक विपरीत छ जसले आफ्ना सल्लाहकारहरूसित मिलेर हिब्रूहरूसँग “बुद्धिले काम” गर्न चाल चले। निस्सन्देह, राजकुमारी मोशाको दिदीको योजनामा सहमत भएपछि मात्र मोशा सकुशल हुने कुरा पक्का भयो। “हुन्छ, जा” भनेर फिरऊनकी छोरीले जवाफ दिइन्‌ र मरियमले तुरुन्तै गएर आफ्नी आमालाई बोलाएर ल्याइन्‌। यसरी योकेबेदलाई आफ्नै छोरा हुर्काउने काम दिइनु र त्यो पनि शाही सुरक्षासहित साँच्चै उल्लेखनीय कुरा हो।—प्रस्थान २:५-९.

राजकुमारीको अनुकम्पा निश्‍चय पनि तिनको पिताको क्रूरताको विपरीत थियो। बच्चाको जातबारे न त तिनी अनजान थिइन्‌ न त तिनलाई झुक्याइएको नै थियो। दयाले भरिएको कारण तिनले गोद लिइन्‌ र एक जना हिब्रू आइमाईलाई धाईको रूपमा राख्नुबाट तिनले फिरऊनको जस्तो पूर्वाग्रह राखेकी थिइनन्‌ भनी थाह पाउन सक्छौं।

लालनपालन र शिक्षा

योकेबेदले “बालकलाई लगिन्‌, र त्यसलाई दूध खुवाउने गरिन्‌। बालक ठूलो भयो, र तिनले त्यसलाई फिरऊनकी छोरीकहाँ ल्याइन्‌। औ त्यो तिनको छोरो भयो।” (प्रस्थान २:९, १०) मोशा आफ्नो जन्म दिने आमाबाबुसँग कतिन्जेल बसे भनेर बाइबलले बताउँदैन। कसै-कसैले तिनलाई दुई वा तीन वर्षको उमेरमा दूध नछुटाएसम्म आमाबाबुसँगै बसे होलान्‌ भन्छन्‌ तर त्योभन्दा लामो समय बसेका पनि हुन सक्छन्‌। प्रस्थानले केवल तिनी “ठूलो भयो” भन्छ र यसले कुनै पनि उमेरलाई बुझाउन सक्छ। जेहोस्‌, अम्राम र योकेबेदले आफ्नो छोरालाई तिनको हिब्रू मूलबारे थाह दिनुका साथै यहोवाबारे सिकाए भन्‍नेबारे कुनै शंका छैन। मोशाको हृदयमा धार्मिकताप्रति विश्‍वास र प्रेम गाड्‌न कत्तिको सफल भए भन्‍ने कुरा समयले मात्र बताउनेछ।

मोशालाई फिरऊनकी छोरीकहाँ ल्याइएपछि तिनलाई “मिश्रीहरूका सारा विद्यामा निपुण गराए।” (प्रेरित ७:२२) यसमा मोशालाई सरकारी ओहदाहरूको निम्ति योग्य हुन प्रशिक्षणहरू पनि दिइएको हुन सक्छ। मिश्रीहरूको सारा विद्यामा गणित, ज्यामिति, वास्तुकला, निर्माणसम्बन्धी र विज्ञान तथा कलाका क्षेत्रहरू पनि समावेश थिए। सायद, तिनले मिश्री धर्मसम्बन्धी पनि शिक्षा पाओस्‌ भन्‍ने शाही परिवार चाहन्थे।

मोशाले यस्तो विशेष शिक्षा राजपरिवारका अन्य सदस्यहरूसँगसँगै पाएको हुनुपर्छ। त्यस्तो विशिष्ट शिक्षाबाट लाभ उठाउनेहरूमा “अन्य देशका शासकका सन्तान वा मिश्रमा बन्दीको रूपमा लगिएकाहरूलाई ‘सभ्य’ हुन पठाइएकाहरू थिए र तिनीहरूलाई पछि” फिरऊनको वफादार “वशवर्ती शासकको रूपमा” पठाइन्थ्यो। (द रेन अफ थट्‌मस चौथो, बेट्‌सी एम. ब्रायनद्वारा लिखित) राजकीय परिवारसित सम्बन्धित शिशु स्याहार केन्द्रहरूले शाही अधिकारीको रूपमा सेवा गर्न राम्रो प्रशिक्षण दिएको जस्तो देखिन्छ। a मिश्रका मध्य र नयाँ राज्यका शिलालेखहरूले फिरऊनका व्यक्‍तिगत चाकर तथा उच्च अधिकारीहरूले वयस्क हुँदा समेत सम्माननीय पदवी “शिशु स्याहार केन्द्रका बच्चा” भन्‍ने पदवी राखिराखे।

शाही जीवनले मोशाको परीक्षा गर्ने थियो। यसले धन, सुविधा र शक्‍ति सबै दिन्थ्यो। तर नैतिक खतराहरू पनि थिए। मोशाले कस्तो प्रतिक्रिया देखाउने थिए? तिनी कसप्रति वफादार हुनेथिए? के तिनी हृदयदेखि नै यहोवाका सेवक, शोषित हिब्रूहरूका भाइ हुनेथिए वा मूर्तिपूजक मिश्रीहरूको पक्षमा खडा हुनेथिए?

महत्त्वपूर्ण निर्णय

मोशा ४० वर्षको हुँदा तिनी पूरै मिश्री हुन सक्थे तर तिनी “आफ्ना भाइ-बन्धुहरूकहाँ गए, र तिनीहरूका दुःख देखे।” त्यसपछिको तिनको कार्यबाट तिनी आफ्नो कौतूहलता मेटाउन मात्र हेर्न गएका थिएनन्‌ तर साँच्चै मदत गर्न चाहन्थे भनेर स्पष्ट हुन्छ। एक जना मिश्रीले एक जना हिब्रूलाई हिर्काइरहेका देख्दा तिनले हस्तक्षेप गरे र शोषणकारीलाई मारे। यस कार्यबाट मोशाको मन आफ्ना भाइहरूतर्फ नै थियो भनी प्रमाणित हुन्छ। तिनले मारेका मानिस सम्भवतः आफ्नो कर्तव्य पूरा गरिरहेका अधिकारी थिए। मिश्रीहरूको नजरमा मोशा फिरऊनप्रति वफादार हुनुपर्ने हर कारण थियो। यद्यपि, मोशालाई त्यस्तो कदम चाल्न उत्प्रेरित गरेको कारण न्यायप्रतिको प्रेम पनि थियो किनभने भोलिपल्ट एक जना हिब्रूले आफ्नो साथीलाई अन्यायपूर्ण ढंगमा पिटिरहेका देख्दा तिनले गाली गरे। मोशा हिब्रूहरूलाई शोषणकारी दासत्वबाट मुक्‍त गर्न चाहन्थे तर जब फिरऊनले तिनी अन्तै भागेको खबर पाएपछि मोशालाई मार्न खोजेकोले तिनी भागेर मिद्यान जान बाध्य भए।—प्रस्थान २:११-१५; प्रेरित ७:२३-२९. b

मोशाले परमेश्‍वरका जनहरूलाई मुक्‍त गर्न चाहेको समयतालिका यहोवाको भन्दा बेग्लै थियो। यद्यपि, तिनको कार्यमा विश्‍वास प्रकट भयो। हिब्रू ११:२४-२६ मा यसो भनिएको छ: “विश्‍वासैबाट मोशा जवान भएपछि फिरऊनकी छोरीको छोरा कहलिनालाई इन्कार गरे। केही समयसम्म पापको सुख भोग्नभन्दा बरू परमेश्‍वरका मानिसहरूका साथमा थिचोमिचोमा पर्न रोजे।” किन? “मिश्र देशको खजानाभन्दा ख्रीष्टको निम्ति निन्दित हुन ठूलो सम्पत्ति सम्झे, किनभने तिनले आफ्नो दृष्टि प्रतिफलतिर लाएका थिए।” “अभिषिक्‍त जन” भन्‍ने अर्थ लाग्ने “ख्रीष्टको” भन्‍ने असामान्य पदावली मोशाको निम्ति प्रयोग गर्नु उचित छ किनभने पछि यहोवाले तिनलाई विशेष काम गर्न अह्राउनुभयो।

यसो विचार गर्नुहोस्‌! मोशाले पाएको लालनपालन उच्च घरानियाँ मिश्रीहरूले मात्र पाउन सक्थे। राजपरिवारमा आफ्नो स्थानको कारण मोशाले जस्तो पनि राम्रो काम र आफूले कल्पनासमेत नगरेको सबै सुखसुविधा पाउन सक्थे तर तिनले ती सबै तिरस्कार गरे। यहोवा र न्यायप्रतिको प्रेमको कारण तिनले शोषणकारी फिरऊनको राजदरबारमा जिन्दगी बिताउनै सकेनन्‌। आफ्ना पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसँग परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको ज्ञान र त्यसमा मनन गरेको हुँदा मोशाले ईश्‍वरीय अनुमोदनको चाहना गरे। फलस्वरूप, यहोवाले मोशालाई उहाँको उद्देश्‍य पूरा गर्न विशेष सुअवसर प्रदान गर्नुभयो।

कुन कुरा सबैभन्दा महत्त्वपूर्ण छ भनी हामी सबैले छनौट गर्नुपर्छ। सायद मोशाले जस्तै तपाईंले पनि गाह्रो निर्णय गर्नुपरेको होला। के तपाईंले ठूलो मूल्य चुकाएर केही बानी वा लाभप्रद जस्तो देखिने कुराहरू त्याग्नुपरेको छ? तपाईंले त्यस्तो छनौट गर्नुपरेको छ भने नबिर्सनुहोस्‌, मोशाले मिश्रको सबै खजानाभन्दा यहोवासँगको मित्रतालाई मूल्यवान्‌ ठाने र तिनले कहिल्यै पछुतो गरेनन्‌।

[फुटनोटहरू]

a यो शिक्षा दानियल तथा तिनका मित्रहरूले बेबिलोनमा पाएको शिक्षाजस्तै हुन सक्छ। (दानियल १:३-७) यहोवाका साक्षीहरूद्वारा प्रकाशित दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌! पुस्तकको अध्याय ३ तुलना गर्नुहोस्‌।

b मोशाले न्यायलाई कत्तिको प्रेम गर्थे भन्‍ने कुरा तिनले मिद्यानमा भगुवा जीवन बिताइरहेको बेला गोठालो गरिरहेकी निस्सहाय केटीलाई मदत गरेको घटनाबाट पनि थाह पाउन सक्छौं।—प्रस्थान २:१६, १७.

[पृष्ठ ११-मा भएको पेटी

धाईआमाको प्रबन्ध

साधारणतया आमाहरूले आफ्नै बच्चालाई मात्र स्तनपान गराउँछन्‌। तथापि, जर्नल अफ बिब्लिकल लिटरेचर-मा ब्रेभर्ड चाइल्ड्‌स नाउँ गरेका शास्त्रविद्‌ले बताएअनुसार “[पूर्वका] केही घरानियाँ परिवारहरूले स्तनपान गराउन धाईआमा राख्थे। त्यस्तो केही विशेष कारणले आमा बच्चालाई दूध खुवाउन असमर्थ हुँदा वा बच्चाको आमा थाह नहुँदा पनि धाईआमा राख्ने गरिन्थ्यो। धाईआमाले बच्चाको लालनपालन गर्नुका साथै केही निश्‍चित समयको निम्ति दूध खुवाउने जिम्मा पनि लिन्थिन्‌।” केही पपाइरसहरूमा स्तनपान गराउने धाईआमाहरूको प्रबन्धसम्बन्धी प्रमाणहरू भेटिएका छन्‌। ती कागजातहरूले सुमेरी समयदेखि मिश्रको युनानी समयसम्म व्याप्त चलनको प्रमाण दिन्छ। यी कागजातहरूमा एउटा सामान्य कुरा, त्यस कामको समयावधि, काम गर्ने अवस्था, खुवाउनुपर्ने कुराहरूको विवरण, ज्याला र पैसा कसरी तिरिने जस्ता कुराहरू थिए। चाइल्ड्‌सका अनुसार “धाईआमाको काम साधारणतया दुई वा तीन वर्ष लामो हुन्थ्यो। धाईले आफ्नै घरमा बच्चाको स्याहारसुसार गर्थिन्‌ तर समय-समयमा मालिककहाँ देखाउन लैजानुपर्थ्यो।”

[पृष्ठ ९-मा भएका चित्रहरू]

पुरातन चित्रमा देखाइएझैं मिश्रमा मोशाको समयदेखि इँटा बनाउने तरिकामा खास परिवर्तन भएको छैन

[स्रोत]

Above: Pictorial Archive (Near Eastern History) Est.; below: Erich Lessing/Art Resource, NY