सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पौष्टिक आहारा तपाईंले पाउन सक्नुहुन्छ

पौष्टिक आहारा तपाईंले पाउन सक्नुहुन्छ

पौष्टिक आहारा तपाईंले पाउन सक्नुहुन्छ

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

एन्जेलिका अनि तिनका दस जना परिवार मेक्सिकोस्थित एउटा सानो गाउँ ओक्साकामा बस्थे। तिनीहरू गरिब थिए र तिनीहरूको मुख्य भोजनमा मकैको रोटी, सिमी, खुर्सानीको सस, खोले, गुलियो रोटी र चिया थियो। एन्जेलिका भन्छिन्‌, “हामी जति बढ्‌नु पर्ने हो त्यति बढेका छैनौं। हामी सानो र च्याँसे छौं। हामीलाई अक्सर पेट दुख्ने, जुका पर्ने र रूघाखोकी लाग्ने हुन्थ्यो।”

आफ्नो आर्थिक अवस्थामा केही उन्‍नति गर्ने आशामा एन्जेलिका अनि तिनको परिवारले मेक्सिको सिटीमा बसाइँ सर्ने निर्णय गरे। तिनलाई आफूले अहिले खाने भोजन पहिलेको तुलनामा राम्रो भएको जस्तो लाग्छ। किनकी अहिले तिनीहरू दूध, अण्डा, मासु, मक्खन, केही तरकारीहरू अनि विभिन्‍न प्रशोधित खानाहरू खाने गर्छन्‌। तर के तिनीहरूको खाना साँच्चै सन्तुलित भएको छ त?

असन्तुलित भोजन—कत्तिको व्यापक?

विश्‍वभरि झन्डै ८० करोड मानिसहरू कुपोषणको कारणले मृत्युको खतरामा छन्‌। सन्‌ १९९८ को विश्‍व स्वास्थ्य संगठनको (डब्लु एच ओ) विश्‍व स्वास्थ्य रिपोर्टअनुसार पाँच वर्षमुनिका मर्ने बच्चाहरूमा ५० प्रतशित त कुपोषणबाट पीडित थिए। बाँचेकाहरूको स्वास्थ्य अवस्था पनि ठीक छैन।

अर्कोतिर, अचाक्ली खानाको कारण झन्डै ८० करोड मानिसहरूको ज्यान खतरामा छ भनी कसै-कसैले भन्छन्‌। असन्तुलित आहारले मोटोपन, आथरोस्कलेरोसिस, उच्च रक्‍तचाप, मधुमेह, सिरोसिस र अन्य विभिन्‍न प्रकारका क्यान्सर जस्ता दीर्घकालीन रोगहरू लाग्न सक्छ। यस परिस्थितिबारे विश्‍व स्वास्थ्य संगठनले सारांशमा यसो भन्छ: “कुपोषणमा न्यूनपोषण, कुनै खास पोषणको कमी र अत्याधिक पोषण समावेश छन्‌; अनि यसको कारणले गर्दा विश्‍वभरि ठूलो संख्यामा मानिसहरू मर्ने, अंगभंग हुने, शरीरको आवश्‍यक वृद्धि नहुने, लङ्‌गडो हुने, अन्धो हुने र मानिसको विकासमा बाधा पुग्ने गर्छ।”

एउटै मुलुकमा न्यूनपोषण र मोटोपना दुवैको समस्या हुन सक्छ। एउटै घरमा पनि बच्चाहरूलाई चाहिं कुपोषण र वयस्कहरूलाई दीर्घकालीन रोगको रूपमा मोटोपनजस्ता समस्या हुन सक्छ। कहिलेकाहीं बच्चा हुँदा राम्रो पोषण नपुगेको मान्छे नै वयस्क हुँदा असाध्यै मोटाएको हुन सक्छ। यो दोस्रो परिस्थिति गाउँबाट शहरमा बसाइँ सर्ने मानिसहरूमा बढी मात्रामा देखापर्न सक्छ।

अधिकांश मानिसहरूले आफ्नो स्वास्थ्यस्थिति र खाने बानीबीचको सम्बन्ध राम्ररी बुझ्न सक्दैनन्‌। सायद यसको एउटा कारण शरीरमा पौष्टिक आहारको कमीको कारण हुने असरहरू तुरुन्तै देखिंदैन। तर सन्तुलित भोजनले मानिसहरूलाई धेरै रोगहरूबाट बचाउन सक्छ। वास्तवमा, विश्‍व स्वास्थ्य संगठनको अनुमानअनुसार राम्रो आहार लिने बानी तथा व्यायामले ४० प्रतिशत क्यान्सर रोगलाई रोक्न सकिन्छ। तर तपाईं कसरी आफ्नो आहारमा सुधार ल्याउन सक्नुहुन्छ?

खाने बानीमा कसरी सुधार ल्याउने

कसै-कसैको विचारअनुसार खानालाई मुख्य तीन भागमा विभाजन गर्न सकिन्छ। मकै, गहुँ, चामल, जौ, जुनेलो, फापर र कोदो जस्ता अन्‍नहरू तथा आलु, तरुल, पिंडालुजस्ता जमिनमुनि फल्ने कन्दमूल पहिलो समूहमा पर्छन्‌। कार्बोहाइड्रेटयुक्‍त यी खानाहरूले तुरुन्तै शक्‍ति दिन्छ। दोस्रो समूहमा सिमी, भटमास, मुसुरदाल, सानो केराउ र ठूलो सिमीजस्ता गेडागुडी तथा मासु, माछा, अण्डा र दूध अनि यसका परिकारजस्ता प्राणी स्रोतका केही खानाहरू पर्छन्‌। यी खानेकुराहरू प्रोटिन, फलाम, जिन्क अनि विभिन्‍न भिटामिनका स्रोत हुन्‌। तेस्रो समूहमा फलफूल अनि तरकारीहरू पर्छन्‌। यस समूहका खाद्यान्‍नले अत्यावश्‍यक भिटामिन तथा खनिज पदार्थ प्रदान गर्छ। यसले आहारमा पाचन शक्‍तिलाई मदत गर्ने फाइबर र शक्‍ति प्रदान गर्छ अनि यी खाद्यान्‍नहरू भिटामिन “सी”-को एकमात्र प्राकृतिक स्रोत हुन्‌।

मेक्सिकोस्थित साल्भाडोर जुबिरान नेसनल इन्स्टिच्यूट अफ न्युट्रिसनमा कार्यरत उपनिर्देशक डा. हेक्टर बुरकेसको भनाइअनुसार स्वास्थ्यकर आहार पूर्ण, पर्याप्त अनि सन्तुलित हुनुपर्छ। उनी यस्तो सुझाउ दिन्छन्‌, “हरेक पटक खाना खाँदा प्रत्येक समूहबाट एक परिकार भए पनि समावेश गर्नुहोस्‌ र सकेसम्म ती समूहहरूमा पर्ने फरक-फरक खानाहरू चलाउनुका साथै पकाउने विधिमा पनि भिन्‍नता ल्याउने कोसिस गर्नुहोस्‌।

उदाहरणका लागि, मारियाको परिस्थितिलाई विचार गर्नुहोस्‌। तिनी अनि तिनको परिवार मेक्सिकोको हिडाल्गो प्रान्तको अटोपिक्सको नामक एउटा दुर्गम क्षेत्रमा बस्थे। तिनीहरू एकदमै गरिब थिए अनि तिनीहरूको मुख्य खाना भनेकै टोरटिला सिमी, पास्टा, भात अनि खुर्सानी थियो। सुरुमा उल्लेख गरिएको एन्जेलिकाको परिवारसित तुलना गर्ने हो भने तिनीहरूको आहारमा स-सना लौका, स्कुश, च्याउ र कुल्फा साग र बेथुवा वर्गका खाद्यान्‍न पनि समावेश थिए र ती खाद्यान्‍नहरू धेरैजसो वरिपरिका गाउँबाट ल्याइन्थ्यो। तिनीहरू पाएको बेला मौसमी फलफूलहरू पनि खाने गर्थे। यस्तो प्रयासको कारण तिनीहरूको स्वास्थ्यस्थिति राम्रो थियो।

अपलाइड न्युट्रिसन तथा न्युट्रिसनल एडुकेसन डिपार्टमेन्ट अफ द इन्जका प्रमुख डा. अडोल्फो चाभेज पशुजन्य उत्पादनहरूलाई मुख्य आहार नबनाई अन्य खानाहरूसँग पूरकको रूपमा मात्र प्रयोग गर्न सल्लाह दिन्छन्‌। उदाहरणका लागि, तपाईंले आलु, तरकारी वा सिमीमा एक/दुइटा अण्डा मिसाएर पकाउन सक्नुहुन्छ। “त्यसैले पोषण सधैं बढाउँदै लैजानुपर्छ” भनी डा. चेभेज भन्छन्‌। यद्यपि, यस्तो चेताउनी पनि दिइएको छ: विशेष गरी काँचै खाने फलफूल तथा तरकारीहरू सधैं राम्ररी धुनुहोस्‌।

आहार व्यक्‍तिविशेषअनुसार सुहाउँदो पनि हुनुपर्छ जस्तै आयु, लिंग र जीवन शैलीजस्ता कुराहरूलाई ध्यान दिनैपर्छ। कोही-कोहीले वयस्कहरूको लागि प्रत्येक खानामा दुई भाग फलफूल र/वा तरकारी समावेश गर्नुका साथै अन्‍नबाट तयार पारेको खाद्यवस्तु र गेडागुडीको मात्रालाई बढाउँदै लान सल्लाह दिन्छन्‌। कसै-कसैले माछा, छालारहित कुखुराको मासु र बोसो नभएको मासुलाई प्राथमिकता दिंदै प्रत्येक खानामा पशुजन्य उत्पादनहरू निकै कम उपभोग गर्न सल्लाह दिन्छन्‌। चिल्लो पदार्थ अनि चिनीको मात्रामा कम गर्न सल्लाह दिइएको छ।

विकासोन्मुख देश तथा गरिबीको रेखामुनि भएका व्यक्‍तिहरूले समेत आफ्नो आहारमा सुधार ल्याउन सक्छन्‌। तर कसरी? पोषणयुक्‍त खानाहरू रोजेर तथा त्यसमा विविधता ल्याएर अनि मिसाएर। उदाहरणको लागि अन्‍न र गेडागुडी मिसाउने। आफ्नो भोजनमा थोरै भए पनि मासु वा अण्डा समावेश गरेर परिकारलाई पोषणयुक्‍त बनाउने। आफ्नो इलाकामा पाइने हरिया सागपात अनि मौसमी फलफूलहरूबाट पनि लाभ उठाउनुहोस्‌।

हाम्रो सृष्टिकर्ताले मानिसजातिको आनन्दको लागि “पृथ्वीबाट खाने पदार्थहरू” उब्जाउनुहुन्छ। (भजन १०४:१४) बाइबलमा उपदेशक ९:७ ले यसो भन्छ: “आफ्नो खानेकुरो खा र मोज-मजा गर्‌।” सन्तुलन अनि संयमलाई चलाएर सृष्टिकर्ताले केवल हाम्रोलागि उपलब्ध गरिदिनुभएको स्वादिष्ट अनि पोषणयुक्‍त खानाबाट हामी आनन्द उठाउन सक्छौं। (g02 5/8)

[पृष्ठ २६-मा भएको चित्र]

पहिलो समूह: अन्‍न तथा जमिनमुनि फल्ने कन्दमूलहरू

[पृष्ठ २६-मा भएको चित्र]

दोस्रो समूह: गेडागुडी, मासु, माछा, अण्डा र दुध तथा यसबाट बनेका परिकारहरू

[पृष्ठ २६-मा भएको चित्र]

तेस्रो समूह: फलफूल तथा तरकारीहरू