सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवनी

मैले बुद्धिमान्‌हरूसित सङ्‌गत गरेर धेरै कुरा सिकें

मैले बुद्धिमान्‌हरूसित सङ्‌गत गरेर धेरै कुरा सिकें

मलाई त्यो चिसो बिहानी अझै याद छ। जाडो याम सुरु हुनै लागेको थियो। अमेरिकाको दक्षिण डकोटाको एउटा गोठमा म र केही भाइबहिनी लगलग काम्दै उभिरहेका थियौं। त्यहाँ जस्तापाताको ठूलो डुँड थियो। त्यसमा भएको पानी असाध्यै चिसो थियो। हामी किन त्यसरी काम्दै उभिरहेका थियौं? अब तपाईंहरूलाई आफ्नो विषयमा केही कुरा बताउँछु।

मेरो बाल्यकाल

अल्फ्रेड अङ्‌कल र बुबा

मेरो जन्म सन्‌ १९३६, मार्च ७ मा भयो। चार सन्तानमध्ये मचाहिं कान्छो हुँ। हामी दक्षिण डकोटाको पूर्वी भागको एउटा सानो फार्ममा बस्थ्यौं। खेतीकिसानी हाम्रो परिवारको मुख्य पेसा थियो। तर यही नै हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण काम थिएन। मेरो आमाबुबाले १९३४ मा बप्तिस्मा गर्नुभयो। स्वर्गमा बस्नुहुने बुबा यहोवालाई आफ्नो जीवन समर्पण गर्नुभएकोले परमेश्वरको इच्छालाई पहिलो स्थान दिनु नै उहाँहरूको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। मेरो बुबा क्लारेन्स र पछि अल्फ्रेड अङ्‌कल दक्षिण डकोटाको कोन्डीको एउटा सानो मण्डलीमा कम्पनी सेवकको (अहिले एल्डरहरूको निकायको संयोजक भनिन्छ) रूपमा सेवा गर्नुहुन्थ्यो।

ख्रीष्टियन सभाहरूमा जानु र घरघर गएर बाइबलको सन्देश सुनाउनु हाम्रो परिवारको बानी नै थियो। आमाबुबाको उदाहरण र उहाँहरूले दिनुभएको तालिमले हामीमा गहिरो छाप पारेको थियो। डोरोथी दिदी र म छ वर्षको उमेरमा प्रकाशक भयौं। मैले सन्‌ १९४३ मा ईश्वरतान्त्रिक सेवा स्कुलमा भाग लिएँ। त्यतिबेला यो स्कुल भर्खरै मात्र सुरु भएको थियो।

सन्‌ १९५२ मा अग्रगामी सेवा गर्दै

हाम्रो लागि अधिवेशन र सम्मेलनहरू पनि जीवनको महत्त्वपूर्ण भाग थियो। सन्‌ १९४९ मा दक्षिण डकोटाको सु फल्समा भएको अधिवेशनको अतिथि वक्ता भाइ ग्रान्ट सुटर हुनुहुन्थ्यो। उहाँले “अन्त हामीले सोचेभन्दा नजिकै छ!” भन्ने भाषण दिनुभएको मलाई अझै याद छ। स्वर्गमा स्थापित भइसकेको राज्यबारे सबै ख्रीष्टियनले तनमन लगाएर प्रचार गर्नुपर्छ भनेर उहाँले जोड दिनुभएको थियो। यो कुराले मलाई यहोवामा आफ्नो जीवन समर्पण गर्न उत्प्रेरित गऱ्यो। त्यसपछि ब्रुकिन्जमा भएको क्षेत्रीय सम्मेलनमा बप्तिस्मा गर्नको लागि म तयार भएँ। सुरुमा बताएको त्यो चिसो गोठको घटना यही बेलाको हो। सन्‌ १९४९, नोभेम्बर १२ मा मैले बप्तिस्मा गरें। त्यतिबेला बप्तिस्मा गर्ने हामी चार जना थियौं। जस्तापाताले बनाइएको त्यही डुँडमा हामीले बप्तिस्मा गऱ्यौं।

त्यसपछि मैले अग्रगामी सेवा गर्ने लक्ष्य राखें। जनवरी १, १९५२ मा मैले अग्रगामी सेवा सुरु गरें। त्यतिबेला म १५ वर्षको थिएँ। बाइबल यसो भन्छ: “बुद्धिमानीहरूको सङ्‌गत गर्नाले बुद्धिमान्‌ होइन्छ।” (हितो. १३:२०) मेरो परिवारमा पनि यस्ता बुद्धिमान्‌ व्यक्तिहरू हुनुहुन्थ्यो। उहाँहरूले अग्रगामी सेवा गर्ने मेरो निर्णयलाई समर्थन गर्नुभयो। जुलियस अङ्‌कल मेरो अग्रगामी साथी हुनुभयो। उहाँ ६० वर्षको हुनुहुन्थ्यो। हाम्रो उमेर धेरै फरक भए तापनि सँगै प्रचार जाँदा निकै रमाइलो हुन्थ्यो। उहाँको अनुभवबाट मैले धेरै कुरा सिकें। पछि डोरोथी दिदीले पनि अग्रगामी सेवा सुरु गर्नुभयो।

क्षेत्रीय निरीक्षकहरूले मेरो ख्याल राख्नुभयो

म सानै छँदादेखि मेरो आमाबुबाले थुप्रै क्षेत्रीय निरीक्षक र उहाँहरूका श्रीमतीहरूलाई हाम्रो घरमा बस्नलाई बोलाउनुहुन्थ्यो। मलाई धेरै मदत गर्नुहुने एउटा दम्पतीचाहिं जेस्सी र लीन कान्ट्वेल हुनुहुन्थ्यो। मैले अग्रगामी सेवा सुरु गर्न सक्नुमा उहाँहरूको ठूलो हात छ। उहाँहरूले मेरो धेरै ख्याल राख्नुभएकोले म परमेश्वरको सेवामा विभिन्न लक्ष्य राख्न उत्प्रेरित भएँ। उहाँहरू नजिकैका मण्डलीहरूमा सेवा गर्दा कहिलेकाहीं मलाई सँगै प्रचारमा जान बोलाउनुहुन्थ्यो। यसरी समय बिताउन पाउँदा रमाइलो लाग्थ्यो। उहाँहरूबाट मैले धेरै कुरा सिक्न सकें।

पछि क्षेत्रीय निरीक्षकको भ्रमणमा भाइ बड मिलर र उहाँकी श्रीमती जोआन आउनुभयो। त्यतिबेला म १८ वर्ष पुगिसकेको थिएँ। त्यसैले सैन्य सेवामा भर्ती हुने दबाब आयो। हामी बसेको ठाउँको सैन्य भर्ती केन्द्रले मेरो नाम लेखिसकेको थियो। राजनैतिक मामिलाहरूमा तटस्थ रहने सन्दर्भमा येशूले दिनुभएको सल्लाहसँग यो कुरा मिल्दैन जस्तो लागिरहेको थियो। म परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न चाहन्थें। (यूह. १५:१९) त्यसैले मेरो नाम ख्रीष्टियन सेवकको सूचीमा राखियोस् भनेर भर्ती केन्द्रमा अपिल गरें।

सुनुवाइको दिन भाइ मिलर मसँगै भर्ती केन्द्रमा आउनुभयो। यसरी मेरो ख्याल राखेको देख्दा मेरो मन छोयो। उहाँ मित्रैलो अनि निडर स्वभावको हुनुहुन्थ्यो। यस्तो व्यक्तित्व भएको आध्यात्मिक व्यक्ति मेरो साथमा भएकोले मेरो आत्मविश्वास बढ्‌यो। फैसला हाम्रो पक्षमा सुनाइयो। त्यसपछि सन्‌ १९५४ मा गर्मी महिनाको अन्ततिर भर्ती केन्द्रले मेरो नाम ख्रीष्टियन सेवकको सूचीमा राख्यो। यसले गर्दा मैले परमेश्वरको सेवामा अर्को लक्ष्य राख्न सकें।

बेथेल सेवा सुरु गर्दा

त्यही समयतिर मैले बेथेलमा सेवा गर्ने निम्तो पाएँ। त्यतिबेला बेथेल ‘वाचटावर फार्म’ भन्ने नामले चिनिन्थ्यो र यो न्यु योर्कको स्टेटन आइलैण्डमा थियो। त्यहाँ मैले लगभग तीन वर्ष सेवा गर्ने सुअवसर पाएँ। त्यहाँ थुप्रै बुद्धिमान्‌ भाइबहिनीलाई भेट्‌ने अनि उहाँहरूसँगै काम गर्ने मौका पाएँ। त्यहाँ छँदा मैले धेरै राम्रा-राम्रा कुरा सिकें।

बेथेल सेवा

डब्ल्यु बि बि आर-मा भाइ फ्रान्जसँगै

स्टेटन आइलैण्डको फार्ममा डब्ल्यु बि बि आर (WBBR) रेडियो स्टेसन पनि थियो। यहोवाका साक्षीहरूले यो स्टेसन सन्‌ १९२४ देखि १९५७ सम्म चलाए। यो फार्ममा बेथेल परिवारको १५-२० जना सदस्य मात्र खटाइएका थिए। हामीमध्ये प्रायजसो जवान भएकोले काममा खासै अनुभव पनि थिएन। तर एक जना पाको अभिषिक्त भाइ एल्डन उड्‌वर्थ हामीसँगै काम गर्नुहुन्थ्यो। उहाँ साँच्चै बुद्धिमान्‌ हुनुहुन्थ्यो। उहाँले बुबाले जस्तै ख्याल राख्नुभएकोले यहोवासितको हाम्रो सम्बन्ध अझ बलियो भयो। कहिलेकाहीं अरूको कमीकमजोरीले गर्दा गाह्रो हुँदा भाइ उड्‌वर्थ यसो भन्नुहुन्थ्यो, “प्रभुले त्रुटिपूर्ण मानिसलाई नै चलाएर आफ्नो काम पूरा गरिरहनुभएको देख्दा साँच्चै अचम्म लाग्छ।”

ह्यारी पिटरसन प्रचारकार्यमा असाध्यै जोसिलो हुनुहुन्थ्यो

हामीले भाइ फ्रेडरिक डब्ल्यु. फ्रान्जसित सङ्‌गत गर्ने विशेष मौका पनि पायौं। उहाँसित बाइबलको असाधारण ज्ञान थियो र उहाँ बुद्धिमान्‌ हुनुहुन्थ्यो। यसले हामीमा अमेट छाप पाऱ्यो। उहाँ हामी प्रत्येकको निकै ख्याल राख्नुहुन्थ्यो। हाम्रो भान्छे भाइ ह्यारी पिटरसन हुनुहुन्थ्यो। उहाँको थर वास्तवमा पापारियेरोपुलोस हो। तर यो उच्चारण गर्न साह्रै गाह्रो भएकोले हामी उहाँलाई पिटरसन भन्थ्यौं। उहाँ पनि अभिषिक्त जन हुनुहुन्थ्यो। उहाँ प्रचारकार्यमा असाध्यै जोसिलो हुनुहुन्थ्यो। भाइ पिटरसन तनमन लगाएर बेथेलको काम गर्नुहुन्थ्यो। तर प्रचारकार्यलाई कहिल्यै बेवास्ता गर्नुहुन्नथ्यो। उहाँ हरेक महिना सयौं पत्रिका वितरण गर्नुहुन्थ्यो। उहाँलाई पनि बाइबलको धेरै कुरा थाह थियो। हामीले सोधेको धेरैजसो प्रश्नको जवाफ बाइबलबाटै दिनुहुन्थ्यो।

बुद्धिमान्‌ बहिनीहरूबाट थुप्रै कुरा सिकें

फार्ममा हामीले उत्पादन गरेको फलफूल अनि तरकारी प्रशोधन गरेर बट्टामा प्याक गर्थ्यौं। हरेक वर्ष सम्पूर्ण बेथेल परिवारको लागि करिब ४२,६०० लिटर फलफूल अनि तरकारी प्याक गरिन्थ्यो। मैले बहिनी एट्टा हथसँग काम गर्ने मौका पाएँ। उहाँ साँच्चै बुद्धिमान्‌ हुनुहुन्थ्यो। उहाँले फलफूल अनि तरकारी कसरी प्रशोधन गर्ने भनेर सिकाउनुहुन्थ्यो। यो काममा मदत गर्न नजिकैको मण्डलीका बहिनीहरू आउनुहुन्थ्यो। ती बहिनीहरूको काम एट्टाले नै बाँडफाँड गरिदिनुहुन्थ्यो। प्रशोधनसम्बन्धी कामबारे धेरै ज्ञान भए तापनि एट्टा फार्मका निरीक्षकहरूको निकै आदर गर्नुहुन्थ्यो। शिरत्वको अधीनमा बस्ने सन्दर्भमा उहाँ हाम्रो लागि राम्रो उदाहरण हुनुहुन्थ्यो।

एन्जेला र एट्टा हथसँगै

प्रशोधन गर्ने काममा मदत गर्न आएकी एक जना जवान बहिनी एन्जेला रोमानो थिइन्‌। तिनलाई यहोवाको साक्षी हुन एट्टा बहिनीले नै मदत गर्नुभएको थियो। बेथेल सेवा गर्दा भेटेको अर्को बुद्धिमान्‌ बहिनी यिनी नै हुन्‌। मैले सन्‌ १९५८, अप्रिलमा एन्जीसित (एन्जेलाको छोटो नाम) विवाह गरें। हामी दुवै जना मिलेर यहोवाको सेवा गरेको अहिले ५८ वर्ष भइसक्यो। एन्जी यहोवाप्रति सधैं वफादार रहेकोले हाम्रो वैवाहिक सम्बन्ध झनै बलियो भएको छ। जीवनमा जस्तोसुकै गाह्रो अवस्था आइपरे पनि उसको साथ पाउने कुरामा म ढुक्क छु।

मिसनरी सेवा र परिभ्रमण कार्य

स्टेटन आइलैण्डमा रहेको डब्ल्यु बि बि आर रेडियो स्टेसन सन्‌ १९५७ मा बेचियो। त्यसपछि केही समयको लागि मैले ब्रूक्लिन बेथेलमा सेवा गरें। एन्जीसँग विवाह गरेपछि मैले बेथेल छोडें र हामीले लगभग तीन वर्षजति स्टेटन आइलैण्डमा अग्रगामी सेवा गऱ्यौं। अनि केही समयको लागि डब्ल्यु पि ओ डब्ल्यु (WPOW) रेडियो स्टेसनमा पनि काम गरें। यो वास्तवमा डब्ल्यु बि बि आर-को नयाँ नाम थियो।

आवश्यक परेको बेला जुनसुकै ठाउँमा सेवा गर्न सकियोस् भनेर हामीले आफ्नो जीवन सरल बनाइराख्यौं। यसले गर्दा १९६१ को सुरुतिर विशेष अग्रगामी सेवा गर्ने निम्तो स्विकार्न सक्यौं। हामीलाई नेब्रास्काको फल्स सिटी भन्ने सहरमा खटाइयो। यो सेवा सुरु गरेको केही समय पनि नबित्दै हामीले राज्य सेवा स्कुलमा उपस्थित हुने निम्तो पायौं। यो स्कुल न्यु योर्कको साउथ ल्यान्सिङमा सञ्चालन गरिएको थियो। त्यतिबेला यो स्कुल एक महिनासम्म हुने गर्थ्यो। हामीले स्कुलबाट थुप्रै कुरा सिक्यौं। स्कुल सकेपछि फेरि नेब्रास्कामा सेवा गर्न पाइएला भनेर सोचिरहेका थियौं। त्यसैले दक्षिणपूर्वी एसियाको कम्बोडियामा मिसनरीको रूपमा नयाँ असाइनमेन्ट पाउँदा तीनछक पऱ्यौं! कम्बोडिया निकै सुन्दर छ। त्यहाँको जस्तो मनोरम दृश्यहरू हामीले कहिल्यै देखेका थिएनौं। त्यहाँको आवाज र बास्ना पनि हाम्रो लागि नौलो थियो। त्यहाँका मानिसहरूलाई सुसमाचार सुनाउन निकै उत्सुक थियौं।

तर अचानक त्यहाँको राजनैतिक अवस्था परिवर्तन भयो र हामी भियतनामको दक्षिणी भागमा सर्नुपऱ्यो। त्यसको दुई वर्षपछि मेरो स्वास्थ्य एकदमै बिग्रियो। त्यसैले हामी अमेरिका फर्कनुपर्ने भयो। केही समयपछि मेरो स्वास्थ्य राम्रो भयो अनि हामीले फेरि पूर्ण-समय सेवा सुरु गऱ्यौं।

सन्‌ १९७५ मा टिभीमा अन्तरवार्ता दिनुअघि एन्जेलासँगै

सन्‌ १९६५, मार्चदेखि हामीलाई परिभ्रमण कार्य गर्ने जिम्मा दिइयो। एन्जी र मैले ३३ वर्षसम्म क्षेत्र तथा जिल्लाको परिभ्रमण कार्य गऱ्यौं। साथै अधिवेशनको अघि र त्यस दौडान विभिन्न काम गर्ने मौका पायौं। मलाई अधिवेशन एकदमै विशेष लाग्छ। त्यसैले अधिवेशनहरू आयोजना गर्न सघाउन पाउँदा धेरै खुसी लाग्थ्यो। हामीले केही वर्ष न्यु योर्क सहरमा परिभ्रमण कार्य गऱ्यौं। त्यतिबेला धेरैजसो अधिवेशन याङ्‌की रङ्‌गशालामा हुने गर्थ्यो।

फेरि बेथेल सेवा सुरु र ख्रीष्टियन स्कुलहरू

धेरैजसो विशेष पूर्ण-समय सेवकले बेला-बेलामा नयाँ र चुनौतीपूर्ण असाइनमेन्टहरू पाउने गर्छन्‌। हामीले पनि त्यस्तै अनुभव गऱ्यौं। सन्‌ १९९५ मा मलाई मिनिस्टेरियल ट्रेनिङ स्कुलको प्रशिक्षकको जिम्मेवारी दिइयो। यसको तीन वर्षपछि हामीलाई बेथेलमा बोलाइयो। मैले ४० वर्षअघि बेथेलबाटै विशेष पूर्ण-समय सेवा सुरु गरेको थिएँ। त्यसैले फेरि बेथेल फर्कन पाउँदा म असाध्यै खुसी थिएँ। मैले केही समय सेवा विभागमा काम गर्नुका साथै विभिन्न स्कुलमा प्रशिक्षकको रूपमा सेवा गरें। बेथेलमा सञ्चालन गरिंदै आएका स्कुलहरूलाई सन्‌ २००७ मा परिचालक निकायले ईश्वरतान्त्रिक स्कुल विभागअन्तर्गत राख्यो। मैले केही वर्ष यस विभागको निरीक्षकको रूपमा सेवा गर्ने सुअवसर पाएँ।

सङ्‌गठनले सञ्चालन गर्दै आएका स्कुलहरूमा हालै थुप्रै परिवर्तन भएको हामीले याद गरेका छौं। सन्‌ २००८ मा ‘मण्डलीका एल्डरहरूका लागि स्कुल’ सुरु भयो। दुई वर्षको अवधिमा प्याटर्सन र ब्रूक्लिन बेथेलमा सञ्चालन गरिएको कक्षाबाट १२,००० भन्दा धेरै एल्डरले तालिम पाए। यो स्कुल तालिमप्राप्त प्रशिक्षकहरूद्वारा अरू विभिन्न ठाउँमा पनि सञ्चालन हुँदै छ। सन्‌ २०१० मा मिनिस्टेरियल ट्रेनिङ स्कुलको नाम ‘अविवाहित भाइहरूका लागि बाइबल स्कुल’ भनेर परिवर्तन गरियो र पछि ‘ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कुल’ भन्ने नयाँ स्कुल पनि सुरु गरियो।

यी दुइटा स्कुललाई गाभेर सन्‌ २०१५ सेवा वर्षको सुरुतिर ‘राज्य प्रचारकहरूका लागि स्कुल’ भन्ने नयाँ स्कुल सुरु गरियो। यस स्कुलमा विवाहित र अविवाहित भाइबहिनीले भाग लिन सक्छन्‌। यो स्कुल विभिन्न शाखा कार्यालयमा सञ्चालन गरिनेछ भन्ने जानकारी पाउँदा थुप्रै भाइबहिनी खुसी भए। यस्तो विभिन्न स्कुलमा भाग लिने मौका धेरैको लागि खुला हुनु साँच्चै राम्रो कुरा हो। यस्तो प्रशिक्षण लिन विभिन्न छाँटकाँट गरेका भाइबहिनीलाई भेट्‌न पाएकोमा म निकै खुसी छु।

मैले यस अनुभवको सुरुमा आफूले बप्तिस्मा गर्न लाग्दाको घटनाबारे बताएको थिएँ। आफ्नो जीवनलाई फर्केर हेर्दा सत्यको बाटोमा हिंड्‌न मलाई जो-जतिले मदत गर्नुभयो, ती बुद्धिमान्‌ भाइबहिनीको साथ पाएकोमा म यहोवाप्रति आभारी छु। उहाँहरूमध्ये कोही मभन्दा सानो अनि कोही मभन्दा ठूलो हुनुहुन्थ्यो। अनि हाम्रो पृष्ठभूमि पनि एउटै थिएन। तर उहाँहरूको काम र मनोवृत्तिले उहाँहरू यहोवालाई धेरै माया गर्नुहुन्थ्यो भन्ने प्रस्टै देखिन्थ्यो। यहोवाको सङ्‌गठनमा हामीलाई साथ दिने बुद्धिमान्‌ भाइबहिनीहरू थुप्रै हुनुहुन्छ। मैले पनि त्यस्तै साथ पाएँ र उहाँहरूबाट धेरै कुरा सिकें।

विभिन्न देशका विद्यार्थीहरूसँग भेट्‌दा खुसी लाग्छ