सीधै सामग्रीमा जाने

विश्‍वव्यापी अभियानले JW.ORG को विज्ञापन गर्छ

विश्‍वव्यापी अभियानले JW.ORG को विज्ञापन गर्छ

सन्‌ २०१४ अगस्तमा यहोवाका साक्षीहरूले jw.org को विज्ञापन गर्न विश्‍वभरि पर्चा वितरण गरे। त्यसले गर्दा हाम्रो वेबसाइट हेर्नेहरूको सङ्‌ख्या त्यस महिना २० प्रतिशतभन्दा धेरै वृद्धि भएर झन्डै ६ करोड ५० लाख पुग्यो। विश्‍वभरि नै लगभग १० हजार मानिसले निश्‍शुल्क बाइबल अध्ययनको लागि अनुरोध गरे—अघिल्लो महिनाभन्दा ६७ प्रतिशतले धेरै। यस अभियानबाट थुप्रै मानिसले लाभ उठाए।

जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउन चाहनेहरूलाई मदत

क्यानाडाकी एक साक्षीले म्याडलनलाई लिफ्टमा भेटिन्‌ अनि अभियानमा प्रयोग गरिएको जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ? भन्‍ने पर्चा देखाइन्‌। म्याडलनले अघिल्लो रात कौसीमा गएर यस्ता प्रश्‍नहरूको जवाफ पाउन सकियोस्‌ भनेर आफूले मनैदेखि परमेश्‍वरलाई प्रार्थना गरेको कुरा बताइन्‌। यसअघि उनी विभिन्‍न चर्चमा गएर बाइबल अध्ययन गर्न मदत मागेकी थिइन्‌ तर कसैले उनलाई मदत गरेन। साक्षी बहिनीलाई भेटेको केही समयपछि नै उनले बाइबल अध्ययन गर्न थालिन्‌।

बाइबलबारे त्यत्ति थाह नभएकाहरूलाई मदत

फिलिपिन्समा रोएना भन्‍ने बहिनीले रेस्टुराँअगाडि उभिरहेका चिनियाँ भाषा बोल्ने मानिससित कुरा गरिन्‌। तिनले त्यस व्यक्‍तिलाई पर्चा दिइन्‌ र यहोवाका साक्षीहरूले मानिसहरूलाई निःशुल्क बाइबल अध्ययन गर्न मदत गरिरहेको कुरा बताइन्‌।

ती मानिसले पहिला कहिल्यै पनि बाइबल नदेखेको कुरा बताए। कुराकानीको दौडान ती बहिनीले यहोवाका साक्षीहरूको सम्मेलनमा उपस्थित हुन निम्तो दिइन्‌। उनले निम्तो स्वीकारे अनि सम्मेलनमा उपस्थित भए। उनले बाइबलबारे अझ धेरै जान्‍न चाहेको अनि हाम्रो वेबसाइटबाट बाइबल डाउनलोड गर्न चाहेको कुरा पनि बताए।

बहिराहरूलाई मदत

गेयर्मो भन्‍ने भाइ स्पेनका एक बहिरा साक्षी हुन्‌। उनले आफ्नो स्कुलको पुरानो साथीलाई भेटे। तिनको नाम होर्हा थियो र तिनी पनि बहिरा थिए। होर्हाकी आमाको हालसालै मृत्यु भएको थियो अनि तिनको मनमा थुप्रै शङ्‌का-उपशङ्‌का र प्रश्‍नहरू उब्जिएको थियो। गेयर्मोले तिनलाई अभियानमा चलाइरहेको पर्चा दिए अनि तिनका धेरैजसो प्रश्‍नको जवाफ jw.org मा साङ्‌केतिक भाषामा कसरी भेट्टाउन सकिन्छ भनेर पनि बताए। गेयर्मोले होर्हालाई राज्यभवनमा हुने सभाको लागि निम्तो दिए। सभामा आउन तिनले ६० किलोमिटर यात्रा गर्नुपर्छ। तैपनि त्यसदेखि यता तिनले कुनै सभा छुटाएका छैनन्‌।

दुर्गम ठाउँमा बसिरहेकाहरूलाई मदत

ग्रीनल्याण्डका दुई जोडी साक्षी दम्पती सानो डुङ्‌गामा छ घण्टा यात्रा गरेर २८० जना मानिस बसोबास गर्ने इलाकामा गए। तिनीहरू ठूलो रकम खर्च गरेर त्यहाँ गएका थिए। त्यहाँ तिनीहरूले प्रचार गरे, पर्चा वितरण गरे अनि jw.org को भिडियो ग्रीनल्यान्डीक भाषामा देखाए। तिनीहरूले एउटा दम्पतीसित बाइबल अध्ययन पनि सुरु गरे। अहिले त्यस दम्पतीसित टेलिफोनमार्फत हप्ताको दुई पटक अध्ययन गरिंदै छ।

यस्तो प्रयास पृथ्वीको सूदुर-उत्तरमा पर्ने इलाकामा मात्र गरिएको थिएन। निकारागुआका साक्षीहरूले पनि क्यारेबियन जङ्‌गलका माइयाग्ना भाषा बोल्ने मानिसहरूलाई पर्चा दिने प्रबन्ध मिलाए। तिनीहरूले कतै नरोकी खाल्डैखाल्डा भएको बाटो हुँदै थोत्रो बसमा २० घण्टा यात्रा गरे। त्यसपछि ११ घण्टा पैदल यात्रा गरे। बेलाबेलामा हिलैहिलो भएको बाटोमा पनि हिंड्‌नुपऱ्‍यो। त्यहाँ पुगेपछि तिनीहरूले पर्चा वितरण गरे अनि माइयाग्ना भाषाको भिडियो देखाए। यो देखेर त्यहाँका मानिसहरू तीन छक परे अनि असाध्यै खुसी भए।

एस्टेलाले एक जना मानिसलाई पर्चा दिइन्‌ जो ब्राजिलको अमेजन जङ्‌गलको एउटा सानो सहर भएर जाँदै थिए। ती व्यक्‍तिले पर्चा लिए अनि खासै चासो नदेखाई त्यो पर्चा आफ्नो खल्तीमा राखे। तिनी डुङ्‌गामा घर फर्किरहेका थिए तर त्यो डुङ्‌गाको इन्जिन बिग्रियो अनि केही समय खोलामै पर्खनुपऱ्‍यो। मदतको लागि पर्खिरहेको बेला तिनले त्यो पर्चा पढे। तिनले आफ्नो मोबाइल फोनबाट jw.org चलाए। हाम्रो वेबसाइटमा भएका विभिन्‍न लेखहरू पढे अनि भिडियोहरू पनि डाउनलोड गरे। केही दिनपछि तिनले एस्टेलाको श्रीमान्‌लाई भेटे अनि पर्चाको लागि एस्टेलालाई धन्यवाद भनिदिनू भने। तिनले यसो भने, “मलाई मदत गर्न अर्को डुङ्‌गा नआउन्जेल मैले केही लेखहरू पढें। ती लेखहरूले मलाई शान्त रहन मदत गऱ्‍यो। मेरा छोराछोरीहरू मनीषको भिडियो मन पराउँछन्‌। म jw.org चलाइरहनेछु।”