सीधै सामग्रीमा जाने

किन यहोवाका साक्षीहरू कुनै पनि राजनैतिक गतिविधिमा भाग लिंदैनन्‌?

किन यहोवाका साक्षीहरू कुनै पनि राजनैतिक गतिविधिमा भाग लिंदैनन्‌?

 बाइबलको शिक्षामा आधारित विभिन्‍न कारणले गर्दा यहोवाका साक्षीहरू कुनै पनि राजनैतिक गतिविधिमा भाग लिंदैनन्‌। हामी सरकारलाई कुनै पनि किसिमको दबाब दिंदैनौं, कुनै पार्टी वा पार्टीको सदस्यको लागि भोट खसाल्दैनौं, उम्मेदवारको रूपमा उठ्‌दैनौं अनि सरकार बदल्नतिर पनि हामी लाग्दैनौं। हामीले यस्तो कदम चाल्नुका केही ठोस कारण छन्‌। ती हुन्‌:

  •   हामी येशूको उदाहरण पछ्याउँछौं। उहाँले राजा हुनदेखि इन्कार गर्नुभयो। (यूहन्‍ना ६:१५) उहाँले चेलाहरूलाई “तिनीहरू यस संसारका होइनन्‌” भनेर बुझाउनुभयो अनि कुनै पनि राजनैतिक मामिलाहरूमा नमुछिन स्पष्ट निर्देशन दिनुभयो।—यूहन्‍ना १७:१४, १६; १८:३६; मर्कूस १२:१३-१७.

  •   येशूले यसो भन्‍नुभयो: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।” (मत्ती २४:१४) हामी त्यही राज्यको प्रजा हुने पर्खाइमा छौं। यस राज्यबारे घोषणा गर्ने जिम्मा हामीले पाएका छौं। परमेश्‍वरको राज्यको प्रतिनिधि भएकोले हामी आफू बसेको राष्ट्रलगायत अरू कुनै पनि राष्ट्रको राजनैतिक मामिलाहरूमा हात हाल्दैनौं।—२ कोरिन्थी ५:२०; एफिसी ६:२०.

  •   कुनै पनि राजनैतिक गतिविधिमा नमुछिएकोले हामी जस्तोसुकै राजनैतिक विचारधाराका मानिसहरूसित परमेश्‍वरको राज्यबारे स्वतन्त्र भएर कुरा गर्न सक्छौं। संसारभरि भइरहेको समस्याहरूलाई परमेश्‍वरको राज्यले समाधान गर्नेछ भन्‍ने कुरामा हामीलाई भरोसा छ अनि यो कुरा हामी आफ्नो बोली र व्यवहारमा देखाउँछौं।—भजन ५६:११.

  •   कुनै पनि राजनैतिक विचारधाराको समर्थन नगर्ने भएकोले विश्‍वभरि नै हामी दाजुभाइको रूपमा एक छौं र हामीबीच कुनै किसिमको विभाजन छैन। (कलस्सी ३:१४; १ पत्रुस २:१७) तर राजनीतिमा हात हाल्ने थुप्रै धार्मिक सङ्‌गठन विभाजित भएका छन्‌।—१ कोरिन्थी १:१०.

 सरकारी नियमकानुनको पालना। हुन त हामी कुनै पनि राजनैतिक गतिविधिमा भाग लिंदैनौं तर आफू बसेको राष्ट्रको नियमकानुन पालन गर्छौं। बाइबलले पनि यही सिकाउँछ: “हरेक मानिस उच्च अख्तियारवालाहरूको अधीनमा रहोस्‌।” (रोमी १३:१) हामी नियममा बस्छौं, कर तिर्छौं अनि जनताको हितको लागि सरकारले गरेको जुनसुकै कामको समर्थन गर्छौं। सरकारलाई ढाल्ने जस्तो कुनै पनि किसिमको काममा हामी सहभागी हुँदैनौं बरु बाइबलको सल्लाहअनुसार “राजाहरू र सबै उच्च पदाधिकारीहरूका लागि” प्रार्थना गर्छौं, विशेषगरि धार्मिक स्वतन्त्रताको विषयमा नियम बनाइँदा।—१ तिमोथी २:१, २.

 राजनैतिक मामिलाहरूमा अरूले गरेको निर्णयको हामी कदर गर्छौं। जस्तै, निर्वाचन हुँदा त्यहाँ हामी कुनै पनि किसिमको भाँजो हाल्दैनौं न त भोट खसाल्न चाहनेहरूलाई नै रोक्छौं।

 राजनीतिमा भाग नलिने हाम्रो निर्णय के हालसालै मात्र गरिएको निर्णय हो? होइन। येशूका चेलाहरू अनि प्रथम शताब्दीका ख्रीष्टियनहरूले पनि यस्तै अडान लिएका थिए। ख्रीष्टियन धर्म र राजनीतिबीचको सम्बन्धबारे लेखिएको एउटा किताबमा a ती ख्रीष्टियनहरूबारे यस्तो बताइएको छ: “हुन त तिनीहरू सरकार र सरकारी अख्तियारप्राप्त व्यक्‍तिहरूको आदर गर्नुलाई आफ्नो दायित्व ठान्थे, तर राजनैतिक गतिविधिमा भने भाग लिंदैनथे।” सुरु-सुरुका ख्रीष्टियनहरूले “कुनै पनि सरकारी ओहदा पाउन खोज्दैनथे” भनेर अर्को एउटा किताबले b पनि बताउँछ।

 के हाम्रो यस्तो निर्णय राष्ट्रको लागि खतरा हो? होइन। हामीहरू शान्तिप्रिय नागरिकहरू हौं। त्यसैले हामीबाट देशलाई कुनै खतरा हुँदैन। सन्‌ २००१ मा नेशनल एकेडेमी अफ साइन्स अफ युक्रेन नामक एउटा संस्थाले राजनीतिप्रति हाम्रो दृष्टिकोणबारे यस्तो रिपोर्ट गऱ्‍यो: “आज कोही-कोहीलाई यहोवाको साक्षीहरूको यो निर्णय मनपर्दैन। विगतमा नाजीहरूको एकदलीय सरकार र कम्युनिष्ट सरकारले उनीहरूलाई सताउनुको एउटा मुख्य कारण यही नै थियो।” रिपोर्टअनुसार सोभियत सङ्‌घले दमन गरेको बेला पनि यहोवाका साक्षीहरू कहिल्यै “सरकारको नियमविपरित चलेनन्‌। इमानदार भई अनि विना कुनै स्वार्थ तिनीहरूले सरकारी फार्महरू अनि औद्योगिक कल-कारखानामा काम गरे।” आज पनि यहोवाका साक्षीहरू आफू बसेको राष्टप्रति वफादार छन्‌ अनि उनीहरूको विश्‍वास र गतिविधिले “देशको सुरक्षालाई खतरामा पार्दैन” भनी उक्‍त रिपोर्टले बताएको थियो।

a बियोन्ड गुड इनटेन्सन्स्‌

b अन द रोड टु सिभिलाइजेसन