सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू राष्ट्रवादी क्रियाकलापहरूमा किन भाग लिँदैनन्‌?

यहोवाका साक्षीहरू राष्ट्रवादी क्रियाकलापहरूमा किन भाग लिँदैनन्‌?

 हामी यहोवाका साक्षीहरू सरकार अनि राष्ट्रिय चिन्हहरूको आदर गर्छौँ। तर झन्डा सलामी गर्ने र राष्ट्रिय गान गाउने जस्ता क्रियाकलापहरूमा भाग नलिने छनौट गर्छौँ किनभने ती कुराहरू बाइबलको शिक्षासित मेल खाँदैनन्‌।

 अरू मानिसले भने झन्डा सलामी गर्ने र राष्ट्रिय गान गाउने छनौट गर्न सक्छन्‌ भनेर हामीले बुझेका छौँ। हामीले अरूको छनौटलाई आदर गरेजस्तै उनीहरूले पनि हाम्रो छनौटलाई आदर गरेको चाहन्छौँ।

यस लेखमा

 यसमा कस्ता बाइबल शिक्षाहरू मुछिएका छन्‌?

 यी दुई वटा महत्त्वपूर्ण शिक्षा मुछिएका छन्‌:

  •   परमेश्‍वर मात्र हाम्रो उपासनाको योग्य हुनुहुन्छ। बाइबलमा यस्तो बताइएको छ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।” (लुका ४:८) अक्सर राष्ट्रिय गानमा अरू कुराको भन्दा देशभक्‍तिको गुणगानगरिन्छ। त्यसैले यहोवाका साक्षीहरूलाई त्यस्ता क्रियाकलापहरूमा भाग लिन उचित लाग्दैन।

     यहोवाका साक्षीहरू झन्डा सलामी गर्नुलाई उपासना गर्नु अर्थात्‌ मूर्तिपूजा गर्नुसरह ठान्छन्‌। अनि मूर्तिपूजालाई बाइबलमा निषेध गरिएको छ। (१ कोरिन्थी १०:१४) केही इतिहासकारले राष्ट्रिय झन्डा पनि वास्तवमा धार्मिक प्रतीक नै हुन्‌ भन्‍ने कुरा मानिलिएका छन्‌। इतिहासकार कार्ल्टन जे. एच. हायसले यस्तो लेखे: “राष्ट्रवाद भनेको धर्मजस्तै हो र यसको प्रमुख प्रतीक झन्डा हो।” a सुरु-सुरुतिरका ख्रिष्टियनहरूबारे डानियल पि. म्यानिक्सले यस्तो टिप्पणी गरे: ‘प्राचीन रोममा मानिसहरूले सम्राट्‌लाई भगवान्‌ मान्थे र तिनको उपासना गर्थे। तर ख्रिष्टियनहरू सम्राट्‌को उपासना गर्दैनथे। त्यतिबेला सम्राट्‌को उपासना गर्न इन्कार गर्नु र अहिले झन्डा सलामी गर्न इन्कार गर्नु उस्तै-उस्तै कुरा हो।’ b

    हुनत यहोवाका साक्षीहरू झन्डा सलामी गर्दैनन्‌ तर तिनीहरू झन्डालाई वा अरू कुनै राष्ट्रिय प्रतीकलाई तोडफोड गर्ने, जलाउने वा अनादर गर्ने पनि गर्दैनन्‌।

  •   परमेश्‍वरको नजरमा सबै मानिस बराबर छन्‌। (प्रेषित १०:३४, ३५) बाइबलमा बताइएअनुसार परमेश्‍वरले “एउटै मानिसबाट जातिजातिका मानिसहरू बनाउनुभयो।” (प्रेषित १७:२६) त्यसैले यहोवाका साक्षीहरूको विचारमा कुनै एउटा जाति वा राष्ट्रको अचाक्ली गुणगान गाएर अरूलाई तुच्छ ठान्‍नु गलत हो। हामी हरप्रकारका मानिसको आदर गर्छौँ, चाहे तिनीहरू जुनसुकै ठाउँ वा जातिका होऊन्‌।—१ पत्रुस २:१७.

 सरकारले नै राष्ट्रवादी क्रियाकलापमा भाग लिनुपर्ने नियम बनायो भने नि?

 यहोवाका साक्षीहरू सरकार विरोधी होइनन्‌। बरु सरकारहरू “परमेश्‍वरको प्रबन्ध” हुन्‌ अनि उहाँले नै ती रहन दिनुभएको हो भनेर हामीले बुझेका छौँ। (रोमी १३:१-७) ख्रिष्टियनहरू अख्तियारवालाहरूको अधीनमा बस्नुपर्छ भनेर पनि हामीले बुझेका छौँ।—लुका २०:२५.

 तर सरकारले बनाएको नियम अनि परमेश्‍वरको नियम बाझियो भने यहोवाका साक्षीहरू के गर्छन्‌? कुनै-कुनै अवस्थामा नियमहरू संशोधन गर्नको लागि सरकारलाई अपिल गर्न सम्भव हुन सक्छ। c तर नियमहरू संशोधन भएनन्‌ भने पनि यहोवाका साक्षीहरू सरकारप्रति आदर देखाउँदै ‘मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍ने’ छनौट गर्छन्‌।—प्रेषित ५:२९.

 के यहोवाका साक्षीहरूले सामाजिक वा राजनैतिक मामिलामा कसैको पक्ष लिएको देखाउन खोजेका हुन्‌?

 होइनन्‌। यहोवाका साक्षीहरू सामाजिक र राजनैतिक मामिलामा कसैको पक्ष लिँदैनन्‌। हामी राजनैतिक परिवर्तन खोज्ने अभियन्ता भएकोले झन्डा सलामी गर्न वा राष्ट्रिय गान गाउन इन्कार गरेका होइनौँ। बरु बाइबलको शिक्षाअनुसार चल्न चाहेकोले यस्ता राष्ट्रवादी क्रियाकलापमा भाग लिँदैनौँ।

a Essays on Nationalism, पृष्ठ १०७-१०८.

b The Way of the Gladiator, पृष्ठ २१२.